भोजपुरमा विराट ज्ञान महायज्ञ र अरुण सांस्कृतिक महोत्सव

डिसी नेपाल
१९ माघ २०७६ २०:५९

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिकामा ऐतिहासिक विराट ज्ञान महायज्ञ तथा अरुण सांस्कृतिक महोत्सव शरुरु भएको छ। सो ज्ञान महायज्ञमा हिन्दु, बौद्ध र किराँत गुरुहरुबाट प्रवचन हुनेछ।

संस्कार र संस्कृति जोगाई पहिचान दिन र जिल्लामा भएका मठमन्दिर, गुम्वा तथा शक्तिपीठ जस्ता सम्पदाको संरक्षण गर्ने उद्देश्यका साथ माघ १८ देखि माघ २६ गतेसम्म सञ्चालन हुने महायज्ञको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शनिबार उद्घाटन गरे।

सो क्रममा मुख्यमन्त्री राईले यस्ता धार्मिक महोत्सवले सबै जातजातीबीच भाइचाराको भावना जाग्रित गर्ने बताउँदै साँस्कृतिक पाठशाला स्थापनाका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताए।

मुख्यमन्त्री राईले पाठशाला सञ्चालनका लागि आयोजना गरिएको कार्यक्रमको लक्ष्य पूरा गर्न प्रदेश सरकार तयार रहेको बताए।

अरूण गाउँपालिकाको केन्द्र प्याउलीमा अतिथि, अनाथ, वृद्धलगायत, सबैको आश्रय थलो बन्न सक्ने बहुउद्देश्यीय भवन निर्माण गरी संस्कार पाठशाला सञ्चालन गर्नका लागि पनि ज्ञान महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका सदस्य डिल्ली सापकोटाले जानकारी दिए।

भोजपुर धार्मिक तथा साँस्कृतिक सम्पदाले सम्पन्न जिल्ला रहेको बताउँदै उनले महोत्सवले लोपोन्मुख अवस्थामा रहेको स्थानीय लाखे, बालन, साकेला, संगिनी, चण्डी नाच, सोरठी नाँच, मारूनी जस्ता संस्कृतिको संरक्षण गर्न महत्वपूर्ण योगदान पुग्ने बताए।

महायज्ञ र महोत्सवबाट भोजपुरमा उल्लेख्य संख्यामा रहेका मठमन्दिर, गुम्वा लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गर्न चेतना फैलने तथा सहयोग पुग्ने सापकोटाको भनाइ छ। महोत्सवमा योग तथा स्वास्थ्य शिविरका अलावा निःशुल्क औषधिसमेत वितरण हुनेछ।

विराट ज्ञान महायज्ञ मूल समारोह समितिका सदस्य सचिव सोमनाथ कोइरालाले विराट ज्ञान महायज्ञ तथा अरुण साँस्कृतिक महोत्सवले बालागुरू षडानन्द र महिला अग्रणी योगमाया जस्ता प्रसिद्ध महानुभावहरूको तपस्थलीका रूपमा रहेको ठाउँको प्रचार हुने बताए।

उनले मौलिक सभ्यता, दर्शन र शिक्षाको प्रचार प्रसारका निम्ति गुरूकूल, बहुउद्देश्यीय आश्रम, संस्कार पाठशाला स्थापना तथा सञ्चालनमा आफूहरूको जोड रहेको स्पष्ट पारे।

कोइरालाले सनातन परम्पराका रूपमा विकसित बौद्ध, किँरात धर्मका मर्म बुझाएर महायज्ञ र महोत्सवमार्फत पुस्तान्तरण गर्न जरुरी रहेको बताए।

महोत्सवले स्थानीय जनताको जीवनसँग प्रत्यक्ष जोडिएका अरूण गाउँपालिकाका पेन्सन गढी, पाताले गुफा, दूरबिन डाँडा, हरेलो डाँडा, वडा पोखरीजस्ता पर्यटकीयस्थलहरूको प्रचारसमेत हुने आयोजकको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *