तामाङ सोसाइटी अफ ग्रेटर वाशिंगटनको १५ औं वार्षिकोत्सवमा सोनाम ल्होछार २ चरणमा मनाइयो

डिसी नेपाल
२ फागुन २०७६ १५:४६

अमेरिका । तामाङ सोसाइटी अफ ग्रेटर वाशिंगटन स्थापनाको १५ औं बार्षिक शुभ अवसरमा अमेरिकाको राजधानी वाशिंगटन डीसी मेट्रो क्षेत्रमा यो वर्ष सोनाम ल्होछार २८५६ दुई चरणमा धुमधामका साथ मनाइएको छ ।  यही फरवरी २ तारिखका दिन बौद्ध गुम्बामा गएर, सम्पूर्ण प्राणी जगतको सुख र शान्तिको लागि छोग, मण्डल, मारमेन मोलम र ग्यप्शी पूजा-प्रार्थना गरेर पहिलो चरणमा मनाईयो भने फरवारी ९ आईतवार का दिन दोस्रो चरणमा स्टार्लिंग, भर्जिनियामा करीब ४०० जति सहभागीहरुको उपस्थितमा विविध सास्कृतिक साँझको आयोजना गरेर मनाएको थियो ।

सोसाइटीका उपाध्यक्ष फौदा लामाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा मुख्य अतिथि संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कुमार कार्की थिए भने अमेरिकी सरकारका बर्तमान सेनानी (कर्णेल) अलविनस्च्वाप तथा मेजर जस्टिन देपुए, सस्थापक अध्यक्ष श्याम लामा बल र सस्थापक उपाध्यक्ष डिग बहादुर तामाङ लगायत विभिन्न संघसंस्थाका प्रतिष्ठित व्यक्तिहरुलाई परमपरगत खादा अर्पण गरेर स्वागत गरिएको थियो । राजदूत कार्कीले यसरि तामाङ सोसाइटीले बिदेशमा पनि नेपाली स‌ंस्कृतिलाई जीवन्त राखेकोमा नेपाल सरकार, नेपाली राजदूताबास र आफ्नै तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

तामाङ सोसाइटीका अध्यक्ष उत्तर लामा दोङ्गले आफ्नो मन्तव्यमा आज नेपालका तामाङहरु बिश्वका कुनाकाप्चा सम्म पुगेका र हाम्रो ल्होछार लगायतका तामाङ संस्कृति संस्कारहरु बिश्वभरि फैलिएर भूमण्डलीकारण भईसकेको बताउँदै उपस्थित सम्पूर्ण नेपाली तथा अमेरिकन सहभागिहरूलाई स्वागत गर्न पाउदा आफू र सम्पूर्ण तामाङ सोसाइटी परिवार धेरै खुशी भएको बताए । उनले भने ‘हामी हाम्रो परम्परागत परिकारहरुका साथै सांस्कृतिक मनोरन्जनका गीत संगीत लिएर आएका छौं । त्यत्ति मात्रै नभएर यसपाली हामीले समावेशी रुपमा तामाङ स‌स्कृतिका साथै नेवाः, गुरुङ, मारुनी, भारत नाट्ट्यम लगायत अन्य नेपाली संस्कृतिको कोसेलीहरु पनि लिएर आएका छौ ।’

उनले अगाडि भने ‘हाम्रो काभ्रे जिल्लामा बहुसंग्ख्यक तामाङ जातिको बसोवास भए पनि त्यहाँ खनाल थोक, खरेल थोक, कानपुर भन्ने गाउँहरु छन जहाँ प्रशस्तै तामाङहरु त्यहाँको अन्य जातिहरुसंग बर्षौदेखि मिलेर बसोवास गरिआएका छौं। हामीले ती गाउँहरुको नाम मान्दै आएका छौ। तर हाल नेपाल सरकारले नेवाः तामसालिङ नामको पहिचान सम्बन्धि मागलाई पूर्णतः वेवास्ता गरेर ३ नम्बर प्रदेशको नाम बागमती राख्ने निर्णय गर्यो । नेवाः ताम्सालिंग नाम राख्दा कसलाइ के नोक्सान पुग्थ्यो रु तसर्थ यो हाम्रो माग अझै जारी छ, पुनः संशोधन गरेर यो मागलाई सम्बोधन गरिनुपर्छ ।’

वालबालिकाहरुबाट अमेरिका र नेपालका राष्ट्रिय गान प्रस्तुति पश्चात सोसाइटीका सदस्यहरुका तामाङ सामुहिक ‘म्हेंदोमाया’ नृत्यवाट सास्कृतिक कार्यक्रम शुरु भएर, एञ्जेल्स ब्यान्डका राजु लामा लागायत पेमा दोङ्ग, राजेश खड्गी, पेमा मानसिंह तामाङले करिब १२ बजे सम्म सबैलाई थाक्ने गरी नचाउनुका साथै भरपुर मनोरञ्जनका साथ कार्यक्रम सम्पन्न भएको थियो।

सबैभन्दा कम उमेरका अमेरिकन तामाङ नानीहरुले संगीत सम्राट गोपाल योञ्जनको ‘सुन सुन है मैच्यांग’ बोलको गीतमा नृत्य गरेका थिए भने उपस्थित थुप्रै कलाकारहरुले निक्कै आकर्षक गीत तथा नृत्यहरु प्रस्तुति गरेका थिए। कार्यक्रम प्रस्तोताहरु हेमकला तामाङ, पेमायांग तामाङ र इश्वर तामाङका साथै चिरपरिचित कलाकार तथा मास्टर अफ सेरमोनी पूजा चन्द लामाको प्रस्तुति अत्यन्तै आकर्षक थियो।

न्युयोर्कबाट आएका कलाकारद्वय सन्जोग योञ्जन र गोमा योञ्जनको तामाङ सेलो गीतहरुको प्रस्तुति सबैका लागि कर्णप्रिय थियो भने नाच्नेलाई ‘ताक धिंग ताक’ को सुन्दर तालले बुरुकबुरुक उफारेको थियो । डाक्टर बिमल दोङ्ग र उनका भाई इन्जिनिर पेमा दोङ्ग लगायत, रत्न तामाङ, बिनोद मोक्तान, गोमा योञ्जनको समुहले प्रस्तुत गरेको टिपिकल तामाङ गीत ‘सांगाला जिर्म ग्वैबरी म्हेंदो’ प्रस्तुतगर्दा कार्यक्रम स्थल नै नेपालको झझल्को दिने खालको भएको थियो ।

नोर्थ क्यारोलिन, न्युयोर्क, पेन्सलभानिया, लगायत मेट्रो क्षेत्रका भर्जिनिया, वाशिंगटन डिसी र मेरिल्याण्डबाट धेरै सहभागीहरु आएका थिए भने कार्यक्रममा जेन ट्राभल लगायतका प्रायोजकहरुको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *