कथा: माकुरो

डिसी नेपाल
२४ असोज २०७७ ७:५९

‘किन यी मेरा आँखा मान्छेका दुःखलाई मात्र देख्छन् ?’

स्वीकृतिको प्रश्नले मेरो दिमागमा करेन्टजस्तो झट्का लागेको थियो । म रन्थनिएको थिएँ यी शब्द उनको निराश अनुहारसहितको आवाजमा सुन्नु पर्दा । उनका दुःख देख्ने आँखाहरुमा मैले आफूप्रति स्नेहभाव उम्लेको देखेको थिएँ । त्यो स्नेह एकदिन प्रेममा परिणत हुने सपना पनि सजाएको थिएँ मैले ।

प्रायः लामो कुरा र अनावश्यक गन्थन मन नपराउने उनीसँगको भेटमा म तौलेर बोल्ने गर्थें । कतै आफूले बोलेका कुरा उनलाई मन परेन भने ! म उनीसँग जसरी हुन्छ नजिक हुन चाहन्थेँ । तर, उनी अर्कै थिइन् । कसैसँग पनि उतिसारो नजिक हुनै नचाहने ! दूरीसहितको मित्रता सायद उनको प्राथमिकता थियो ।

त्यस दिन मैले बडो हिम्मतका साथ उनलाई कफी खान मनाएको थिएँ । कोटेश्वरदेखि नक्सालस्थित ‘ओल्ड हाउस क्याफे’सम्म मोटरसाइकलमा राखेर लगेको थिएँ ।

ढल्कँदो अपराह्नको समय । अचानक बाटोमा उनलाई भेटको थिएँ मैले । र, केहीबेर हामी त्यहीँ रोकिएका थियौँ । तीनकुने, नयाँ बानेश्वर, माइतीघर अनि सिँहदरबारको ट्राफिक जाममा मोटरसाइकल चलाउन मलाई निकै गाह्रो परेको थियो । आफू एक्लै वा पछाडि अरुलाई राखेर चलाउँदा मलाई कुनै सकस हुँदैनथ्यो । तर, स्वीकृति जो थिइन् मेरो मोटरसाइकलमा ! म त्यसैत्यसै नर्भसजस्तो भएको थिएँ ।

केही पटक भेटिसकेर थुप्रै कुरा गरिसकेको अन्य मान्छेसँग मलाई यस्तो महसुस कहिल्यै भएन । तर, स्वीकृतिसँगको हरेक भेटमा मभित्र बेग्लैखालको सचेतता उत्पन्न हुन्छ । त्यो दिन ब्रेक लगाउँदा उनी हुत्तिएलिन् कि भनेर सचेत हुँदै बल्लतल्ल नक्साल पुर्याएको थिएँ । मैले सिकारुले जसरी मोटरसाइकल चलाएको थिएँ त्यतिखेर । हैन, यस्तो पनि हुन्छ र भन्या ? आफैसँग पटकपटक प्रश्न सोधेको थिएँ ।

अलि लामो समय उनीसँग बस्न पाउँदा आफ्ना मनका कुरा गर्न सकिएला भन्ने मेरो सोच थियो । तर, उनीसँगको भेटमा मैले आफ्ना कुरा भन्न पाएकै छैन । त्यो मौका उनी मलाई सायद दिनै चाहन्नन् । झन्डै अढाइ घन्टा बस्यौँ हामी ओल्ड हाउस क्याफेमा । दुई/दुई कप कफी खायौँ ।ओल्ड हाउस क्याफेमा प्रायः भीड हुँदैनथ्यो । चिया तथा कफीका विभिन्न स्वाद अनि केही पेस्ट्रीमात्रै पाइन्थ्यो त्यहाँ । ग्राहक क्याफेभित्र प्रवेश गर्दासाथ एउटा वाक्यले स्वागत गर्छ– कृपया शान्त बस्नु होला । केही समयअघि क्याफेको यही शान्त बस्ने आग्रहको विषयमा एउटा ग्राहकले ठूलो आपत्ति जनाउँदै भनको थियो– यो लाइब्रेरी हो र शान्त बस्न ? त्यसपछि क्याफे सञ्चालकले ‘कृपया शान्त बस्नु होला’ भन्ने वाक्यलाई झनै ठूलो फन्टमा लेखेर टाँसेको थियो ।

त्यस क्याफेका ग्राहकका अनुहार प्रायः उज्यालो देखिँदैनथ्यो, थाकेका जस्ता देखिन्थे । जिन्दगीसँग हारेका मान्छेजस्ता लाग्थे ती । यो मेरो अनुभूति हो । हल्ला त पटक्कै नहुने त्यहाँ । युवावयका मान्छे पनि शान्त बस्थे । सानो र मधुरो आवाजमा कुरा गर्थे । एउटा विशेषता नै मान्न सकिन्छ यसलाई उक्त क्याफेको ।

अर्को अनौठो कुरा पनि त्यस क्याफेमा देखिन्थ्यो । काउन्टरको ठीक पछाडिपट्टि माकुराको चित्र टाँसिएको थियो । चित्र ठूलो र त्यहाँको माकुरो रंगिन पनि थियो । चित्रमा माकुरो कुनै जालमा परेको थिएन, त्यो स्वतन्त्र थियो । चित्रको मुन्तिर एउटा शब्द थियो– अराच्नोफोबिया । कालो अक्षरमा लेखिएको अराच्नोफोबियाको अघिल्तिर रातो क्रस संकेत लगाइएको थियो ।

काउन्टरमा बसेको माकुरोप्रेमी क्याफे सञ्चालकको हुलिया झन् वर्णनलायक थियो । आधा फुलेका दाह्री जुँगा र कपाल अनि आँखामा बाक्लो पावरदार चस्मा । कपाल चुल्ठो बाटेको र दाह्रीमा हातमा लगाउने बाला उनेको ! बालाले उसले आफ्नो दाह्री सम्हालेको थियो । र, उसले लगाएको कालो टीसर्टमा लेखिएको थियो– मेरो दाह्री दुनियाँलाई किन भारी ?

पाखुराको दाहिनेतिर उसले माकुराकै ट्याटु खोपेको थियो । ग्राहकसँग ऊ लामो कुरा गर्दैनथ्यो । ग्राहकको प्रश्नको आवश्यक जवाफमात्रै दिन्थ्यो । क्याफेमा कुनै नयाँ ग्राहक प्रवेश गर्यो भने सञ्चालकको हुलियाले आकर्षित गरिहाल्थ्यो । ग्राहकले आफूलाई ट्वालट्वाल्ती हेरिरहँदा पनि ऊ कुनै प्रतिक्रिया जनाउँदैनथ्यो ।

नामअनुसारको सजावट थियो त्यस क्याफेको । २०७२ साल, वैशाख १२ गतेको भूकम्पले क्याफेको झिँगटीको छानो केही ढल्केको थियो । पछाडिबाट ठूल्ठूला काठको टेको लगाएर अडाइएको थियो छानोमुनिको भित्तोलाई ।

भुइँचालोले हल्लाउँदा छेउतिरका केही झिँगटी आँगनमा खसेर फुटेका थिए । त्यसको सट्टामा नयाँ झिँगटी लगाइएको थियो । ‘कालो भइसकेको पुरानो झिँगटी र नयाँ झिँगटी अनि क्याफेसाहुको आधा फुलेका र आधा कालो कपाल, दाह्री–जुँगा उस्तैउस्तै देखिन्छ’ कुनै एक ग्राहकले यसो भन्दा सधैँ गम्भीर देखिने क्याफे सञ्चालक खित्का छाडेर हाँसेको थियो ।

दुई तले त्यो घरको भ¥याङ काठको अनि भुइँमा पुरानो तेलीइँटा छापिएको थियो ।

हामी बसेको टेबुलको पूर्वपट्टिको कुनोमा माकुराको बाक्लो जालो थियो । जालोसँगै ट्युबलाइट बलेकाले त्यो प्रस्टै देखिन्थ्यो । र, जालो बनेको दलिन भाँच्चिने अवस्थामा पुगेको थियो । दलिन लच्किएर केही तल आएको थियो । एउटा युवा सिकर्मी त्यसलाई मर्मत गर्ने धुनमा थियो । फलामको पाता ठोकेर काठको दलिन सोझ्याउने प्रयासमा ऊ थियो । माकुराको जालोले आफ्नो काममा बाधा पारेको महसुस उसलाई हुँदै थियो । लामो समयदेखि त्यो माकुरो आफैले बनाएको उक्त जालोबाट बाहिर निस्कन खोजिरहेको थियो । त्यो सूक्ष्मजीव माथि उक्लेर बाहिर निस्कने बाटो खोज्थ्यो । तर, भेट्दैनथ्यो । पुनः तल ओर्लन्थ्यो, बाहिर निस्कने मार्ग खोज्दै । फेरि दायाँबायाँ गर्दै माथि चढ्थ्यो । त्यहाँ पनि कुनै निकास थिएन । बन्द थियो चारै दिशा । जाल बुन्दा उसले निकासको कल्पना नै गरेको थिएन सायद ।

दलिन सोझ्याउन छाडेर सिकर्मी एकछिन टोलायो र माकुरोलाई एकोहोरो हेर्न थाल्यो । माकुरोसँग उसलाई खुब रिस उठिरहेको थियो । समातिरहेको ह्यामरले अचानक झटारो हान्यो उसले माकुरालाई ताकेर । ‘वैकुन्ठको बास होस् यो जीवको,’ उसले बोल्यो, ‘अबदेखि मलाई डिस्टर्ब गर्न कहिल्यै नआउनु है ।’ उसलाई विश्वास के थियो भने, ह्यामरले माकुरो कच्याककुचुक भएको छ ।

केहीबेर अघिसम्म उसले बोलेको कसैले सुनेको थिएन । फलामको पातामा किला ठोक्न ह्यामर प्रहारको लयमा ऊ बेसुरा गीत गुनगुनाइरहेको थियो । आआफ्ना टेबुलबाट मुन्टो उठाउँदै सबैले सिकर्मीतिर हेरेका थिए । सबैका आँखामा प्रश्न थिए, तर कसैले पनि बोलेका थिएनन् । ऊ पुनः किला ठोक्न थाल्यो– ट्याक…ट्याक…ट्याक । किला ठोक्दा निस्कने लयहीन आवाज उसलाई जीवनजस्तै लाग्छ सायद । त्यसैले ऊ आवाजलाई लय दिन चाहँदैन ।

हामी दुई पनि नमिलेको हाम्रो कुराकानीलाई लय दिने प्रयास गरिरहेका थियौँ । स्वीकृतिले बढी समय संसारका ख्यातिप्राप्त समाजसेवी मान्छेहरुका कुरा गरेकी थिइन् । सरकारले किन वृद्धाश्रम खोल्ने कुरा गर्छ भनी प्रश्न मतिर हेर्दै गरेकी थिइन् । वृद्धाश्रम खोल्नु भनेको शरीरका अंगहरु शिथिल भएपछि आफ्ना आमाबाबुलाई घरबाट निकाल्नु हो भनेकी थिइन् । मलाई भने यस्ता विषयमा रत्तिभर चासो र रुचि थिएन । अर्थात्, उनको कुराको लय र मैले गर्न चाहेको कुराको लय एउटै गतिमा थिएनन् । मैले आफ्ना कुरा एउटै गर्न पाइरहेको थिइनँ । उनका कुरामा मैले टाउको हल्लाउनेबाहेक अर्थोक केही पनि गनै सकिरहेको थिइनँ ।

मलाई समाजसेवा विषयमा कुनै चासो नै थिएन । अलिकति साहित्यिक कुरा जोड्ने, त्यसपछि आफ्ना निजी कुरा सुनाउने योजनामा हुन्थेँ म । मैले उठाएको विषयलाई उनी तत्कालै मोडिदिन्थिन् । मेरा कुरा उनले सुन्थिन्, तर एकैछिनमा आफू कसरी प्रभावकारी ढंगमा समाजसेवामा लाग्ने र उदाहरणीय काम गर्ने भन्ने चिन्तामा हुन्थिन् । त्यसका निम्ति के काम गर्दा उचित हुन्छ भनी मसँग सल्लाह माग्थिन् ।

मलाई उनका कुरा माकुराले निकै मेहनत गरेर बनाएको जालोजस्तै लागेको थियो । मान्छेका दुःख कम गर्न कसरी सकिन्छ भन्ने उनको चिन्तन मलाई ‘आदर्श’ कुरामात्रै लागेको थियो । आफू अर्थोकै कुरा गर्न चाहन्थेँ, तर मौका पाउन कठिन परिरहेको थियो ।

एक्कैछिन् हामीले आफ्नो मुखलाई आराम दियौँ, अर्थात् चुपचाप रह्यौँ । त्यो क्याफे प्रेमलीलाका निम्ति पनि प्रख्यात थियो, मौन प्रेम खुब चल्थ्यो त्यहाँ । समान उमेर, नयाँ साथी खोज्ने र बनिसकेका साथीसँग प्रेम साट्ने थलो बनेको थियो त्यो । तर, त्यहाँ जाने ग्राहक शान्त रहनु र आफ्ना कुराकानीलाई अघि बढाउनु क्याफेको अघोषित, तर कडा नियम थियो । त्यसैले त्यहाँ जाने अधिकांश ग्राहक आँखाको लयमा कुरा गर्थे । कैयौं पटकम एक्लै पनि त्यहाँ पुगेको थिएँ । कारण थियो, अरुका प्रेमलीला हेरेर वा प्रेमवार्ताको चियो गरेर आनन्द लिने ! मेरो टाइमपास जंक्सन बनिसकेको थियो त्यो क्याफे । एक्लै जाँदा पनि म त्यहाँ घन्टौँ बस्थेँ ।

म स्वीकृतिसँग टेबुललाई अनुल्लंघनीय सीमा बनाएर बसिरहेको थिएँ । मन चुलबुलिएको थियो । आँखा क्याफेका प्रेमिल ग्राहकतिर पनि ठोक्किन्थे यस्सो कुनैकुनै बेला । अचानक सुरु भएको चुपचापमय अवस्थामा म केही कुरा उनीसँग साट्न र सोध्न चाहन्थेँ ।

तर, उनले हाम्रो टेबुलको मौनता तोड्दै आफ्नै कुरा दोहो¥याउँदै भनिन्– ‘किन यी मेरा आँखा मान्छेका दुःखलाई मात्र देख्छन् ?’
थप कुरा पनि जोडिन् उनले मौनता तोड्दै ।

केही समयअघि मेरो मनमा एउटा प्रश्न उठेको थियो, किन म यसरी एक्लै बसिरहेको होला ! यसले मलाई कमजोर देखाइरहेको छ । अब जिन्दगी नयाँ तरिकाबाट जिउन सुरु गर्नु पर्छ । यसका निम्ति एउटा सहृदयी साथी आवश्यक पर्छ । र, त्यसो गर्न सर्वप्रथम मैले आफूलाई परिवर्तन गर्न आरम्भ गर्नु पर्छ । तर, आफूले आफैलाई परिवर्तन गर्नु एउटा चुनौती रहेछ ।

मैले कतै पढेको थिएँ– आजको तनाव र चिन्ताग्रस्त दुनियाँमा कोही पनि मान्छे एक्लो बस्नु हानिकारक छ । लामो समयसम्म एक्लो बस्नाले मान्छे डिप्रेसनको सिकार भएको थुपै्र उदाहरण छन् । त्यसैले साथी बनाउनु पर्छ, मन मिल्नेलाई । प्रेम गर्नुपर्छ । मित्रता र प्रेमले मान्छेको आयु लम्ब्याउँछ । यो दुनियाँका कैयौँ मान्छेले सत्तरी–असी वर्षको उमेरमा पनि बिहा गरेका छन्, किन ? एकाकीपन हटाउन । उत्तराद्र्ध अर्थात् सकिनै लागेको जीवनको दियोरुपी बत्तीको तेल मित्रताले थपिदिन्छ र त्यो धेरै बेरसम्म बलिरहन्छ ।

उनको कुरामा केही थप्न म जसरी सकिरहेको थिइनँ, उसैगरी उनलाई नसुन्न पनि सकिरहेको थिइनँ । म एकोहोरो उनलाई सुनिरहेको थिएँ, बेलाबखत टाउको हल्लाइरहेको थिएँ । उनी क्याफेमा माकुराले लगाएको जालोतिर हेर्दै बोलिरहेकी थिइन् । उनका कुरा मलाई पुनः उही माकुराको जालोजस्तै लागिरहेको थियो ।

धनीहरुले एक्काईसौँ शताब्दीलाई सूचनाको शताब्दी भनिदिएका छन् । तर, मैले मेरै देशका वासिन्दाबारे एक प्रतिशत पनि सूचना पाउन सकेको छैन, खोज्न सकेको छैन । सूचनाको शताब्दी तिनका लागि होला, जो सम्पन्न छन्, सफल छन्, शिक्षित छन् र मनग्गे पैसा छ । तिनले आफूहरुजस्तै तहका मान्छेबारे जानकारी सहजै पाउने हुनाले यसलाई सूचनाको शताब्दी भनेको हुनुपर्छ ।

गरिब र गरिबीको सूचना गरिबवस्तीसम्म पुगेकै छैन । त्यसैले आजसम्म उनीहरुले आफू गरिब हुनुको कारण पहिल्याउन सकेका छैनन् । जब गरिबहरुले आफ्नो गरिबीको कारण थाहा पाउने छन् तब उनीहरु गरिब हुने छैनन् । आजसम्म गरिब र गरिबीका बारेमा जेजति चर्चा–परिचर्चा वा भाषण गरिएका छन्, ती सबै धनीहरुले नै गरेका छन् ।

संसारमा सबैभन्दा निरङ्कुश तत्व धन नै हो कि भन्ने मलाई लाग्दैछ अचेल । पैसा दिएर लिन सकिने वस्तुको उत्पादन आफै गर्न सके गरिबमाथि धनीहरुको राजनीतिको अन्त्य हुन्थ्यो होला ! मान्छे पैसाको शरणमा जान छाड्थ्यो होला र एउटा वर्गहीन समाज बन्थ्यो होला ! पैसा नै ‘सबथोक’ हो भन्ने मान्यता केही कमजोर भएर पैसा ‘केहीथोक’ मात्रै बन्थ्यो होला ! अलि बहकिएँ पो कि म ! तर, असम्भव त होइन नि यो कुरा हैन त ?

स्वीकृति अलिमात्र होइन, धेरै नै बहकिइरहेकी थिइन् । बहकिँदा उनका आँखा मतिर ठोक्किन्थे । अनि मचाहिँ माकुराको जालोतिर दृष्टि फ्याँक्थेँ । उनी फेरि बोल्न थालिहाल्थिन् ।

तर, केचाहिँ पक्का छ भने, अशिक्षित हुनुको अन्तरकथा जब गरिबहरुले बुझ्नेछन् तब असमानताको साङ्लो चुँडाल्ने छन् । उनीहरु स्वयम्ले गरिबीबाट मुक्तिको मार्ग आविष्कार गर्नेछन् । म यसमा सहयोगी बन्न चाहन्छु । सायद मेरो दुःखको अन्त्य पनि यही नै हुनेछ ।

साँझपख बलेको बत्तीले स्वीकृति र उनका तिलचामले कपाललाई टल्काइदिएको थियो । उनको कपाल उमेरभन्दा चाँडो फुलेका थिए । टल्किएको कपालसँगै उनका आँखा विस्फारित र चम्किला पनि देखिएका थिए ।

उनी अचानक चुप लागिन् । मसँग बोल्ने कुनै विषय थिएन । मेरा कुराका सिलसिला कतै नमिल्ने भइसकेका थिए, त्यसकारण पनि मैले चुप बस्नु श्रेयस्कर ठानेको थिएँ । साँझ विस्तारै छिप्पिँदै थियो । म आफूभित्र हुरी चलाएर बसिरहेको थिएँ, उनको र आफ्नो सम्बन्धका बारे । एउटा अलग र अनौठोखालको सम्बन्ध थियो हाम्रो । यसलाई कुनै परिभाषामा बाँध्न सक्ने अवस्था थिएन । परिभाषित गर्नै सकिँदैनथ्यो वा मुस्किल थियो त्यसो गर्न । न त कुनै नाम दिन नै सकिन्थ्यो त्यो सम्बन्धलाई ।

स्वीकृतिको मनमा पनि यी र यस्तै विषयले हुरी चलाएको उनको हाउभाउबाट बुझ्न सकिन्थ्यो । तर, ती सबै अप्रकट थिए । प्रकट गर्न अग्रसर हुने हिम्मत हामी दुवैले गर्न सकिरहेका थिएनौँ ।

हामी दुवैको मनमा अप्रकटरुपमा चलेको हुरीले जीवनको पे्रमरुपी पात हल्लाउन सकिरहेको थिएन । त्यो हुरीले विश्राम लिने अवस्था पनि बनेको थिएन ।

जिन्दगीको आधा उमेर नाघिसकेका हामी दुई । सुदूर भविष्यतिर दृष्टि पनि लगाइरहेका थियौँ । तर, त्यो सुदूर झनै ‘सु–दूर’ बनेको थियो । एउटै र उस्तै वस्तुको खोजीमा दुवै जना भौँतारिएका थियौँ । आँखाअगाडि त्यो वस्तु हुन्थ्यो पनि, तर टिप्ने हिम्मत हामीसँग थिएन । कहिलेकाहीँ हामी दुवैका आँखाले परपरसम्म हेरिरहेका हुन्थे । त्यो परको वस्तुको आकृति ‘एउटै’ पनि हुन्थ्यो ।

केहीबेरको मौनता पुनः भंग भयो, स्वीकृतिद्वारा ।

मान्छेको जिन्दगीमा साँचो प्रेम एक पटकमात्रै हुन्छ भन्ने मान्यता मलाई मन पर्दैन र पत्यार पनि लाग्दैन । एकदम थोत्रो लाग्छ मलाई यो मान्यता । मान्छेहरुले आफ्नो अनुकूलतामा निर्माण गरेकोजस्तो लाग्छ यस्तो मान्यता । जीवनमा एक पटक पनि त नहुन सक्छ प्रेम । अनि पटकपटक पनि त हुनसक्छ ! बाध्यता हो र प्रेम ! र, गर्नै पर्ने क्रिया हो र ?

उनका कुराले मेरो दिमाग रन्थनिएको थियो । उनको अनुहारमा पनि चिन्ताका बाक्ला रेखाहरु कुदिरहेका थिए ।

***

दलिनमा पुनः माकुरो देखापर्यो । एउटामात्र होइन, दुइटा । क्याफेमा हामी दुईमात्र बाँकी थियौँ, माकुरा पनि दुईटा । हाम्रो ध्यान माकुराले आकर्षित गरिरहेको थियो । त्यो आकर्षण अहिले फेरि निकै बाक्लिएको थियो । त्यो सूक्ष्म जीवको क्रियाकलाप हामी दुई संसारका सबैभन्दा चेतनशील भयानक जीवले आँखा नझिम्काई हेरिरहेका थियौँ । अँ, क्याफे सञ्चालक त स्वयम्मा माकुरोप्रेमी उसले त झन् माकुराको क्रियाकलाप नहेर्ने कुरै भएन ।

सिकर्मीले केहीबेरअघि नै ह्यामरले हानेर मारेको भनेको माकुरो त्यो हो कि होइन, थाहा छैन । तर, ती दुई माकुरा उकालो चढिरहेका थिए । र, आफैले बुनेको जालोबाट बाहिर निस्कने प्रयासमा थिए । एउटा माकुरो आफ्ना आठवटा खुट्टाको बलले जालोको टुप्पोमा पुगिसकेको थियो । एकछिन त्यो टक्क अडियो र तल रहेको आफ्नो साथीलाई हे¥यो । यस्तो लाग्थ्यो, त्यो माकुरो अर्को माकुरोलाई आफ्ना आठवटै खुट्टाको बल लगाएर माथि उक्लने सल्लाह दिइरहेको थियो । जालोको पुछारमा रहेको माकुरो फटाफट माथितिर उक्लेर अर्को माकुरोलाई भेट्यो । केही सेकेन्ड ती सूक्ष्मजीवले यताउति हेरिरहे । अन्त्यमा, तिनले बाहिर निस्कने बाटो पाए । दुवै माकुरोले एकैचोटि आफैले बनाएको जालोबाट मुक्ति पाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *