रोहिंग्याका लागि संकटपूर्ण बन्दै बंगलादेशको यो टापु

डिसी नेपाल
२९ कार्तिक २०७७ २०:५०
152
Shares

ढाका (बीबीसी)। हजारौंको संख्यामा रोहिंग्याहरुले म्यानमार छोडेपछि जहाँ शरण लिए त्यहाँपनि उनीहरुमाथि खतराका बादलहरु देखिएका छन्। बंगलादेशको कोक्स बजारमा एक ठूलो शरणार्थी शिविर छ। जहाँबाट रोहिंग्याहरुमा भाग्ने, हिंसा, ड्रग्स र मानव तस्करीका घटनाहरुमा बढोत्तरी भइरहेको पाइएको छ।

बंगलादेश सरकारले सयौंको संख्यामा यी शरणार्थीहरुलाई उनीहरुको इच्छाविपरित यहाँबाट टाढाको टापू ‘भाषन चौर’ पठाउन शुरु गरिदिएको छ। एक् अनिश्चित जीवनमा बाँचिरहेका रोहिंग्याहरुको यो टापुमा भविष्य के हुने भन्ने विषयमा बीबीसीले स्थलगत अवलोकन गरेको छ।

५५ वर्षीया राशिदा खातुनले आफ्ना बालबालिकाबारे सुनेको ६ महिना भइसक्यो। खातुन र उनको परिवार कोक्स बजारमा बस्छन्। फेब्रुअरीमा कोरोना भाइरस फैलिएपछि उनका दुई छोरा र छोरी उज्ज्वल भविष्यका लागि जोखिमपूर्ण यात्रामा निस्किएका थिए। उनकी १७ वर्षीयाँ छोरी र २२ वर्षीय छोरा माछा मार्ने नाउमार्फत मलेशियाका लागि १० दिनको यात्रामा गएका थिए।

खातुन २०१७ मा सैन्य आक्रमणपछि म्यानमार छोडेर आउनुपर्ने कारण सुनाउँछिन्। उनले आफ्नो गाउँ मंगडावमा आक्रमण गरिएको र घर जलाइएको बताइन्। तीन वर्ष पहिला म्यानमारमा भएको सैन्य आक्रमणमा रोहिंग्या मुसलमानहरुको पूरा गाउँ उजाडियो।

सँयुक्त राष्ट्र संघका जाँचकर्ताहरुले यसक्रममा करिब १० हजार मानिस मारिएको र ७ लाख ३० हजारभन्दा धेरै यो नरसंहारपछि भागेर बंगलादेश पुगेको बताएका छन्। राष्ट्र संघले यसलाई ‘नश्लीय सफाई’ भनेको छ। आफ्नो देश फिर्ता हुन नपाइने भएपछि हतास र निराश भएका खातुनका छोराछोरीले मुस्लिम बहुल देश मलेशिया जाने निर्णय गरे।

खातुन भन्छिन्, ‘मलेशियास्थित मेरा एक नातेदारले गएको वर्ष फोन गरेर मलेशियाली पुरुष रोहिंग्या महिलासँग बिहे गर्न चाहन्छन् भने। उनले मलाई विश्वास दिलाए, मेरी छोरीको बिहे त्यहाँ हुनेछ। र छोराले रोजगारी पाउने छ।’

नाउमार्फत यात्रा गरेर बंगलादेशबाट मलेशिया जानु युवा रोहिंग्याहरुका लागि सामान्य बाटो हो। तर, यो एक जोखिमपूर्ण यात्रा पनि हो। जुन हप्ता खातुनका छोरा छोरी नाउमार्फत मलेशिया जाँदै थिए, सोही हप्ता दर्जनौ शरणार्थीलाई लिएर मलेशिया जाँदै गरेको नाउँ बंगलादेशको तटमा जफत गरिएको थियो। यो घटनामा १४ बालबालिका मारिएका थिए।

१० दिनसम्म समुद्री यात्रा गरेपछि खातुनका दुबै छोराछोरी मलेशियाको तटमा देखिए। उनीहरुको नाउलाई मलेशियाली नेभीले देखे। र उनीहरुलाई तटमा उत्रिने अनुमति दिएनन्। उनीहरुको सानो नाउ एक महिनासम्म अंडमान सागरमा यस्तै घुमिरह्यो। अन्त्यमा स्थानीय सञ्चार माध्यम र मानवअधिकारवादी समूहको दबाबमा बंगलादेश तट रक्षकले यसमा दख्खल दियो।

सयौं अन्य शरणार्थीसँगै जसलाई मलेशियामा प्रवेशको अनुमित दिइएको थिएन, खातुनका छोराछोरीलाई पनि कोक्स बजार शिविरमा आउन दिइएन। यसपछि उनीहरुलाई बंगलाको खाडीस्थित टापु भाषन चौरमा लगियो।

खातुनलाई कुनै अपरिचित नम्बरबाट फोन आयो। जसबारे खातुन भन्छिन्, ‘मेरी छोरी निकै तनावमा थिइन। उ रुँदै कुरा गर्थी, उसलाई भाषन चौर लगिँदै थियो।’ यो अन्तिम पटक थियो जब उनको छोरीसँग कुरा भएको थियो।

बंगलादेशको तटदेखि ६० किलोमिटरको दूरीमा भाषन चौर टापु छ। यो टापुबारे थाहा भएको २० वर्ष पनि भएको छैन। यो समुद्र तटभन्दा ६ फिटभन्दा कम उँचाईमा छ। गएका तीनवर्षदेखि यहाँ सरकारले ३५० मिलियन डलरको लागतमा नयाँ शहर बनाइरहेको छ। सरकारको लक्ष्य यहाँ एकलाखभन्दा धेरै शरणार्थीलाई शिफ्ट गर्ने छ। जसले शिविरमा दबाब कम हुने अपेक्षा सरकारको छ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसीनाले पटक पटक आफ्नो यो योजनाको बचाउ गरिरहेकी छन्। उनले अन्तर्राष्ट्रिय समूदायलाई कोक्स बजारको शरणार्थी शिविरमा लाखौं शरणार्थी बस्ने भएकाले हिंसा, ड्रग्स र मानव तस्करी बढेकाले यो शिविर सुरक्षित नरहेको बताउँछिन्।

उनले गएको वर्ष राष्ट्र संघको आमसभामा भनेकी थिइन्, ‘वर्तमान संकट क्षेत्रीय खतरा बन्दै गएको छ। बढ्दो भीड र पर्यावरणमा आएको गिरावटका साथै यो क्षेत्रमा स्वास्थ्य र सुरक्षाका मोर्चा पनि चुनौतिपूर्ण बन्दै गएको छ।’

तर कैयौं रोहिंग्याहरुका लागि भाषन चौर कुनै शरणार्थी शिविरभन्दा पनि जेल जस्तै छ। यहाँ सबैलाई उनिहरुको इच्छाविपरित ल्याइएको हो। र यहाँबाट बाहिर जाने अनुमति पनि छैन।

सँयुक्त राष्ट्र संघको मानवअधिकार परिषदको तर्फबाट बंगलादेश सरमाथि शरणार्थीको इच्छाविपरित भाषन चौरमा नलिन परेको दबाबपछि सरकार उनीहरुलाई लोभ्याउन लागिपरेको छ।

यो टापु शिविरभन्दा खुला र आधुनिक सुविधासम्पन्न हुने सरकारले बताइरहेको छ। यसै प्रयासअनुसार केही पत्रकारहरुलाई टापु जाने एक पत्रकार टूर आयोजित गरियो। जसमा बीबीसीको टिम पनि सहभागी थियो। तीन घण्टाको यात्रापछि जब पत्रकारको समूह यहाँ पुग्यो, सरकारी अधिकारी अब्दुल्लाह अल मामुम चौधरीले उनीहरुलाई नवनिर्मित स्थलतर्फ लगे।

यहाँ सयौं रातो छत भएका घर बनाइएका थिए। उनीहरुसबै अहिले हजारौं शरणार्थीको पर्खाइमा खाली थिए। सबै घरको माथि र कर्नरमा सुरक्षाका लागि सिसि क्यामेरा पनि जोडिएको छ।

नेभीका अधिकारीहरुको चासो पत्रकारहरुलाई दुई विद्यालय, एक मस्जिद र २ वटा ४० बेडका अस्पताल देखाउनमा धेरै थियो। यसका साथै दुई सामुदायिक क्लीनिक पनि निर्माण भइरहेका थिए।

अब्दुल्लाह अल मामुम चौधरीले यहाँको आधारभुत संरचना इको फ्रेण्डली भएको बताए। उनले यहाँ विद्युतको पनि सुविधा हुने बताए। उनले सबैभन्दा आवश्यक रोहिंग्या बालबालिकाको शिक्षाका लागि विद्यालय पनि बनाएको बताए।

यस वर्षको शुरुमा एमनेस्टी इन्टरनेशनले यहाँ बस्ने ३०६ जना रोहिंग्याको अवस्थाबारे एक रिपोर्ट प्रकाशित गरेको थियो। यो रिपोर्टमा तनावपूर्ण वातावरण बस्नुपरेको आरोप लगाइएको थियो।

तर, सरकारी अधिकारी चौधरीले भने यी आरोपको खण्डन गरे। उनले रोहिंगग्यलाई पाहुना जस्तै ख्याल गरिएको बताए।

टापुमा सयौं भैसी र भेडा चरिरहेका थिए। गोठालोको काम गरिरहेका ५० वर्षीय ताजुल हक यहाँ पाँच वर्षदेखि यो काम गरिरहेका छन्। उनले आफूले १०० भैसीको गोठालो गरिरहेको बताए। उनले यो टापुमा भैंसीका लागि पर्याप्त घाँस रहेको र जमीन पनि निकै उब्जाउ रहेको बताए।

बंगलादेश सरकारले राष्ट्र संघका अधिकारीहरुलाई भाषन चौर टापुको भ्रमण गरेर जानकारी लिन सक्ने बताउँदै आएको छ। तर, हालसम्म राष्ट्रसंघीय अधिकारीहरुलाई टापुमा जान दिइएको छैन। त्यसैले यहाँ एक लाख शरणार्थीका लागि पर्याप्त सुविधा छ ? भन्नेमा आशंका उब्जिएको छ।

राष्ट्र संघीय शरणार्थी आयोगका उच्च आयुक्तले भाषन चौर टापुको अवलोकन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। तर बंगलादेशको सरकारले अझसम्म अवलोकनका लागि अनुमति नदिएको उनले बताएका छन्। रोहिंग्याहरुले टापु समुद्र तटदेखि मात्र ६ फिटमाथि रहेकाले यहाँ चक्रवात, ज्वारभाटा र अतिवृष्टिको धेरै जोखिम रहेको बताएका छन्।

पत्रकारहरुलाई जानकारी दिँदै सरकारी अधिकारी चौधरीले यो टापुको वरीपरी १४ किलोमिटर लामो समुद्री पर्खाल बनाउने काम जारी रहेको बताए। उनले विशेषज्ञहरुले यहाँ चक्रवातको जोखिम निकै कम रहेको बताएको जानकारी दिए। उनले गएका १७२ वर्षहरुमा यहाँ चक्रवातको केन्द्र नरहेको बताए। उनले १२० चक्रवात शेल्टपनि देखाए। जसले २६० किलोमिटर प्रतिघण्टाको गतिको हावालाई रोक्न सक्छन्।

तर, चौधरीको दावीभन्दा ठिक उल्टो १९९१ र १९९७ मा यहाँ चक्रवात आएको प्रमाण भेटिएका छन्। र चक्रवातबाट क्षति त्यसको केन्द्रमात्र होइन निकै टाढासम्म पनि क्षति हुन्छ। बंगलादेशमा हरेक वर्ष औसत रुपमा एक चक्रवात आउँछ। र बीबीसीका मौसम विज्ञले भाषन चौरमा भविष्यमा चक्रवात आउने सम्भावना प्रवल रहेको बताएका छन्। (बीबीसीबाट अनुवाद)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.