जो बाडइनलाई सत्ता हस्तान्तरणमा विलम्ब हुँदा गुप्तचर निकायहरू किन चिन्तित ?
बीबीसी। पदमुक्ति र नयाँ नियुक्तिको शृङ्खला तथा अझै त्यसो हुनसक्ने हल्लाले अमेरिकी गुप्तचर र राष्ट्रिय सुरक्षा निकायहरूमा अन्योल उत्पन्न भएको छ। अरूलाई राष्ट्रपति डोनल्ड ट्रम्पले शक्तिमै बसिरहने प्रयास गरेको लाग्छ।
तर ती निकायभित्र धेरै जना व्यक्तिगत प्रतिशोधका कारण त्यसो भइरहेको अनि द्वन्द्वको यो चरण ट्रम्पको राष्ट्रपतीय कार्यकालको चित्रण गर्न पर्याप्त भएको ठान्छन्।
सत्ता हस्तान्तरणको सङ्क्रमणमा देखिएको यो अन्योल साँच्चै खतरनाक हुनसक्ने डर पनि छ। रक्षामन्त्रीसहित पेन्टागनबाट उच्च पदस्थ अधिकारीहरूलाई हटाउनु त्यसको आरम्भ भएको धेरैको मत छ।
यीमध्ये केहीमा राष्ट्रपतिले आफ्नो कार्यकालको अन्त्यतिर आफूले चाहेअनुसार नीतिगत कुरा गर्न खोजेको अनि त्यसको विपक्षमा हुने व्यक्तिलाई हटाएको हुनसक्छ।
जस्तै अफगानिस्तानबाट सेना फिर्ता गर्ने विषयमा। तर केही पर्यवेक्षकहरूलाई यो दमित आक्रोशको परिणाम र लामो युद्धको अन्तिम कार्य हो भन्ने लाग्छ।
अमेरिकाको राष्ट्रिय सुरक्षा समुदाय राष्ट्रपति ट्रम्पको कोपभाजनको निसानामा परेको छ। सुरक्षा निकायले नै आफूविरुद्ध षड्यन्त्र गरेको आरोप उनले लगाएका छन्।
सन् २०१६ को निर्वाचनमा रुसले उनलाई सघाउन हस्तक्षेप गरेको भन्ने गुप्तचर समुदायको आकलन आफ्नो जितको वैधानिकताका लागि खतरा भएको ट्रम्पलाई लाग्यो। उनले तत्कालै आक्रामक कदम उठाए अनि कहिल्यै रोकिएनन्।
त्यस्तो आकलन गलत थियो भन्ने देखाउन उनले केही महिनायता सम्बन्धित सूचनाहरू सार्वजनिक गराउन ठूलो प्रयास गरिरहेका छन्।
ह्वाइट हाउसले ट्रम्पसँग राजनीतिक सम्बन्ध भएका रिचर्ड ग्रेनेललाई न्याश्नल इन्टेलिजन्सको निर्देशक नियुक्त गर्यो। उनले ट्रम्पको इच्छाअनुसार काम गर्न खोजे पनि प्रतिरोध खेप्नुपरिरहेको छ।
सीआईएकी निर्देशक जीना ह्यास्पेल पनि हटाइने सूचीमा परेको चर्चा छ। उक्त पदमा उनले सन्तुलित रूपमा काम गरेकी छन्। आलोचकहरू उनी ह्वाइट हाउससँग अतिनिकट भएको भन्ठान्छन्। उनीहरूका अनुसार ह्यास्पेल राष्ट्रपतिको ‘स्टेट अफ द यूनियन’ सम्बोधनका बेला देखा पर्नु र ताली बजाउनु त्यसको प्रमाण भएको उनीहरूको भनाइ छ।
तर उनका समर्थकहरू ह्यास्पेलले सावधानीपूर्वक सीआईएलाई राजनीतिकीकरणबाट जोगाउन राष्ट्रपतिले गरेका उचित कुराको समर्थन गरेको तर्क गर्ने गरेका छन्। उनलाई हटाइयो भने कुनै राजनीतिक कार्यकर्ता उनको ठाउँमा नियुक्त हुनसक्ने उनीहरूको डर छ।
अनि सन् २०१६ को निर्वाचनमा रुसले हस्तक्षेप गरेको विषयसम्बन्धी जानकारी सार्वजनिक गर्न उनले देखाएको अनिच्छाका कारण ट्रम्पका समर्थकहरू उनीसँग रिसाएका छन्। एफबीआईका निर्देशक क्रिस रेलाई पदबाट हटाउनु अझ बढी विवादास्पद हुनेछ।
जो बाइडनका छोरा हन्टर बाइडनको वैदेशिक व्यापारिक सम्बन्धको छानबिन गर्न उक्त सङ्घीय निकायले नसकेकोमा ट्रम्प रिसाएको ठानिन्छ।
एफबीआईका तात्कालिक निर्देशक जेम्स कोमीले सन् २०१६ मा हिलरी क्लिन्टनका इमेलबारे गरेको सार्वजनिक घोषणाजस्तै एफबीबाईले फेरि केही गरोस् भन्ने उनको चाहना थियो। कोमीले त्यसो गरेपछि निर्वाचन अभियानको अन्तिमतिर क्लिन्टनलाई क्षति पुगेको थियो।
नयाँ राष्ट्रपतिले प्रायः सीआईएका निर्देशकहरू फेर्ने भए पनि एफबीआईका निर्देशकको नियुक्ति १० वर्षका लागि हुन्छ। साइबरसिक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर एजेन्सी (सिसा) का प्रमुख क्रिस क्रेब्सको पद पनि सङ्कटमा परेको चर्चा छ। उक्त निकायले सञ्चालन गर्ने एउटा वेबसाइटले राष्ट्रपति र उनका समर्थकले निर्वाचनमा धाँधली भएको दाबी मिथ्या भएको बताएको थियो।
अहिले नयाँ नियुक्ति र पदमुक्त दुवैप्रति चासो देखिएको छ। राजनीतिक व्यक्तिहरूलाई रक्षा मन्त्रालयमा उच्च पद दिइएको छ। न्याश्नल सिक्युरिटी एजेन्सी (एनएसए) का प्रमुख पल नाकासोनीको इच्छाविपरीत माइकल एलिसलाई जेनरल काउन्सेल अर्थात् मुख्य कानुनी अधिकारी नियुक्त गरिएको छ।
यसबाट जो बाइडनले ज्यानुअरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गरेपछि पनि राष्ट्रिय सुरक्षा प्रणालीमा भूमिका निर्वाह गर्न सक्ने मान्छे ट्रम्प पक्षले स्थापित गर्न खोजेको हो कि भन्ने आशङ्का उत्पन्न भएको छ।
अथवा जाँदाजाँदै आफूप्रति बफादार व्यक्तिलाई पुरस्कृत गर्न खोजिएको पनि हुनसक्छ। नयाँ राष्ट्रपतिले तीमध्ये धेरैलाई हटाउन र नयाँ नियुक्ति गर्न सक्छन्। तर त्यसो गर्दा पर्ने प्रभावबारे पनि प्रश्न उठ्नेछ।
पदासीन राष्ट्रपतिले निर्वाचनमा बाइडन विजयी भएको स्वीकार गर्न नमान्दा बाइडनले अमेरिकी सुरक्षा चुनौतीबारे स्वाभाविक रूपमा दिनहुँ पाउनुपर्ने गुप्तचरी सूचना पाएका छैनन्।
यो अवस्था जति लम्बिन्छ राष्ट्रिय सुरक्षा हेर्ने नयाँ समूहले उति नै समस्या खेप्नुपर्ने हुनसक्छ। इरानजस्ता अरू देशले पनि यो अन्योलग्रस्त परिस्थितिको लाभ लिन सक्छन्।
सत्ता हस्तान्तरणको सङ्क्रमणकाल जटिल भइदिँदा त्यसले राष्ट्रिय सुरक्षालाई प्रभावित पार्नेछ। सन् २००१ को सेप्टेम्बर ११ मा भएका घटनाबारे छानबिन गर्न गठित आयोगले बिल क्लिन्टनले जर्ज डब्ल्यू बुशलाई सत्ता हस्तान्तरण गर्ने अवधि छोटो भएकाले न्यूयोर्क र वाशिङ्टनमा रोक्न नसकिएको निष्कर्ष निकालेको थियो।
सन् २००० को निर्वाचनमा पनि विवाद उत्पन्न भएकाले सत्ता हस्तान्तरणका बेला नयाँ टोली निर्माण गर्न र आवश्यक गतिमा काम गर्न कठिन भएको बताइन्छ।







डिसी नेपाल








Facebook Comment