साउदी अरेबिया : जित्न नसकेका ‘काँपिरहेकी’ महिला बन्दी सहितका ती मुद्दा
बीबीसी । साउदी अरेबियाको नेतृत्व त्यसमा पनि खासगरी एमबीएस भनेर चिनिने शक्तिशाली युवराज मोहम्मद बिन सलमानको निम्ति सबैभन्दा असहज परिस्थिति छ।
देशभित्र उनको लोकप्रियता कायम छ। तर अन्तर्राष्ट्रिय रूपमा उनले सन् २०१८ मा पत्रकार जमाल खशोग्जीको हत्यामा उनको शङ्कास्पद भूमिकाबाट छुटकारा पाउन सकेका छैनन्।
अहिले भने ह्वाइट हाउसमा प्रवेश गर्ने तयारीमा रहेको नयाँ अमेरिकी प्रशासन र राष्ट्रपति निर्वाचित जो बाइडनले साउदी अरेबियाप्रति आफ्ना पूर्ववर्तीभन्दा कडा नीति अपनाउने स्पष्ट पारेका छन्। त्यस्ता के विषय छन् जो रियाद र वाशिङ्टनको निम्ति खास अर्थ राख्छन्?
यमन युद्ध
यसमा संलग्न सबैको निम्ति खराब साबित भए पनि यमनका गरिब र कुपोषणपीडित जनताको निम्ति सबैभन्दा नराम्रो भएको छ। हुन त साउदी अरेबियाले यो युद्ध शुरू गरेको होइन।
हुथी विद्रोहीहरूले वैधानिक सरकार अपदस्थ गर्न सन् २०१४ मा राजधानी सानातर्फ अघि बढेर त्यसको आरम्भ गरेका हुन्। हुथीहरू उत्तरी पहाडी क्षेत्रका आदिवासी हुन् जसले देशको जनसङ्ख्याको १५ प्रतिशत प्रतिनिधित्व गर्छन्।
सन् २०१५ मा रक्षामन्त्रीको हैसियतमा सलमान अबर देशहरूको गठबन्धन बनाएर हुथीहरूलाई केही महिनाभित्रै आत्मसमर्पण गराउने अपेक्षाका साथ युद्धमा प्रवेश गरेका थिए।
तर करिब ६ वर्ष हुँदा हजारौँ मारिए र विस्थापित भए। दुवैपक्षबाट युद्ध अपराध भयो। साउदी अरेबिया नेतृत्वको गठबन्धनले राजधानी साना र धेरै जनसङ्ख्या रहेको पश्चिमी यमनमा हुथीलाई परास्त गर्न सकेन।
इरानको साथ पाएका हुथीले साउदी अरेबियामै क्षेप्यास्त्र र विस्फोटक ड्रोन हमला बढाए र जेद्दास्थित तेल केन्द्रहरूमा क्षति पुर्याए। युद्धले यमनका नागरिक मारिए, साउदी अरेबियाको सम्पत्तिमा क्षति पुग्यो जसले अन्तर्राष्ट्रिय आलोचना बढायो।
साउदी अरेबियाले सम्मानजनक अवतरण खोज्दैछ तर उसले इरानको समर्थनप्राप्त कुनै पनि सशस्त्र मिलिसिया यमनको शक्तिमा रहेको स्वीकार गर्न नसक्ने बताएको छ।
उसका निम्ति समय घर्किँदै गएको छ। सन् २०१६ मा अमेरिकी राष्ट्रपतिले साथ दिन छाडे पनि डोनल्ड ट्रम्पले उसले मागेको सहयोग गरेका थिए।
जसलाई बाइडन प्रशासनले निरन्तरता नदिने सङ्केत दिइसकेको छ। युद्ध अन्त्य गर्ने दबाव साउदी अरेबियामाथि छ।
महिला बन्दी
साउदी अरेबियाको नेतृत्वको निम्ति यसले अन्तर्राष्ट्रिय तहमा ठूलो हानी पुर्याएको छ। गाडी चलाउने अधिकार र पूर्ण पुरुष अभिभावकत्व सम्बन्धी प्रणाली अन्त्यको माग गरेको अभियोगमा १३ जना महिला अधिकारकर्मीहरू गिरफ्तार गरिएका छन् र कतिपयलाई भयानक दुर्व्यवहार गरिएको छ।
महिलालाई सवारी साधन चलाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्नुअघि सन् २०१८ मा उच्च पहिचान बनाएकी लौजियन अल हथलौल सहित कयौँलाई पक्राउ गरिएको थियो।
अधिकारीहरूले हथलौलले जासुसी गरेको र विदेशी शक्तिसँग पैसा लिएको आरोपमा दोषी पाइएको बताए पनि प्रमाण प्रस्तुत गर्न विफल भएका छन्।
उनका साथीहरू राष्ट्रसङ्घमा जागिरको निम्ति आवेदन दिने र विदेशमा मानवअधिकार सम्मेलनमा भाग लिनेबाहेक उनले अरू केही नगरेको बताउँछन्।
उनलाई पिटिएको, विद्युतीय झट्का दिएको र बलात्कारको धम्की दिइएको उनको परिवारले जनाएको छ। पछिल्लो समय परिवारले देख्दा उनी नियन्त्रण नै गर्न नसक्ने गरी काँपिरहेकी थिइन्।
यमन युद्धसँगै साउदी अरेबियाको नेतृत्वले यो प्रकरणमा पनि आफ्नो निम्ति खाल्डो खनेको छ र अहिले त्यसबाट जोगिएर निस्किने बाटोको खोजीमा छ। र, त्यो पक्कै पनि आम माफीको बाटो हुनेछ। बाइडन प्रशासनले यो मुद्दा पनि उठाउने ठानिएको छ।
क्षमा दिन र विश्वास गर्न वर्षौँ लाग्ने बहिष्कार
अदृष्य रूपमा यो कुवेतको मध्यस्थतामा समाधानको खोजी भइरहेको देखिन्छ। तर समस्या गहिरो छ। सन् २०१७ मा ट्रम्पको रियाद भ्रमणको केही दिनमा साउदी अरेबियाले यूएई, बराइन र इजिप्टसँग छिमेकी कतारलाई बहिष्कार गर्न हातेमालो गरेको थियो।
उनीहरूले ‘आतङ्कवादलाई प्रश्रय दिने इस्लामिक समूहरूलाई कतारको साथ’ अस्वीकार्य भएको बताएका थिए। यूएईले कतारमा बसिरहेका भनिएका आतङ्कवादीहरूको सूची नै तयार गर्यो तर कतारले आतङ्कवादीलाई साथ दिएको कुराको खण्डन गर्दै अल जजीरा टेलिभिजनलाई नियन्त्रण गर्ने लगायत चारवटा देशको माग अस्वीकार गर्यो।
यमनमा हुथीले जस्तै कतारले लत्रिएर आत्मसमर्पण गर्ने अपेक्षा गलत साबित भयो। अथाह सम्पत्ति, ब्रिटेनको अर्थतन्त्रमा कतार एक्लैको ५३ अर्ब डलर लगानी र उसलाई टर्की र इरानको साथ पनि। यसको अर्थ व्यवहारमै मध्यपूर्वमा पछिल्ला वर्षहरूमा गहिरो विभाजन देखिएको छ।
एकातर्फ खाडीका राजतन्त्रात्मक परम्परावादी सुन्नी देशहरू साउदी अरेबिया, यूएई र बहराइन र उनीहरूको सहयोगी इजिप्ट छन्। अर्कोतर्फ कतार र थुप्रै राजनीतिक इस्लामवादी अभियानहरू छन् जसले मुस्लिम ब्रदरहूड र गाजामा हमासलाई समर्थन गर्छन्।
साढे तीन वर्ष लामो कतार बहिष्कारले दुवैतर्फ आर्थिक र राजनीतिक क्षति पुगेकोमा कुनै सन्देह छैन। बाइडनले पनि पक्कै विवाद अन्त्य चाहनेछन्।
कतारमै पेन्टागनको ठूलो सैन्य आधार छ। तर मध्यस्थतामा जे सहमति भए पनि त्यो अभ्यासमै स्वीकार्य हुनुपर्ने देखिन्छ। कतारले छिमेकीहरूलाई क्षमा गर्न वर्षौँ लाग्नेछ र उनीहरूले कतारलाई फेरि विश्वास गर्न कैयौँ वर्ष लाग्नेछ।







डिसी नेपाल








Facebook Comment