अम्रेला स्ट्रीटकाे नक्कल गर्दै बाैद्धमा ‘डाेकाे स्ट्रीट’

फुर्पा शेर्पा
३१ चैत २०७७ १२:३२

काठमाडौं। कोरोनाले थलिएको व्यापार, लामो समय घरभित्र बस्दाबस्दै निशासिएका मान्छेहरु, टिकटक जस्तो लोकप्रिय प्रविधिको एप्लिकेसन अनि बौद्ध जस्तो पर्यटकीय स्थल।

माथिका शब्दहरुले धेरै कुरा बोलेको छ। तर, सबैलाई बुझ्ने गरी भन्दा अहिले कुनै पनि ठाउँलाई नयाँ तरिकाले सजावट गरेपछि त्यहाँ आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ।

आजभोलि त्यो भीड बौद्धको पिपलबोटको तरकारी बजारमा देखिन्छ। तरकारी किन्नेको भन्दा बढी क्यामेराबाट सेल्फी खिच्ने, टिकटकमा बजाएको गीतको तालमा नाच्चे, अभिनय गर्नेहरुको भीड बढी देखिन्छ। युवायुवतीदेखि प्रौढ उमेर समूहकाले पनि क्यामेरामा आफूलाई र तरकारी बजारको ‘डोको स्ट्रीट’ लाई कैद गर्ने गरेको देखिन्छ।

केही महिनामात्र पहिला न्यूरोडमा आकासमा छाता झुण्ड्याएर ‘अम्रेला स्ट्रीट’ बनाइएका थियोे। व्यापार व्यवसाय बढाउने उद्देश्यले बनाइएको उक्त स्ट्रिटमा टिकटक बनाउनेको गन्तव्य भएको थियो। पिपलबोटको तरकारी पसलका व्यवसायीले पनि त्यही कुरालाई आत्मसाथ गरेर सुरुवात गरे ‘डोको स्ट्रीट’को।

कोरोनाको प्रभावले नेपालमात्र नभएर विश्वभरको व्यापार व्यवसाय ठप्प छ। त्यसको असर नेपालमा पनि परेको छ। नेपालका ठूलादेखि साना व्यवसायीहरु कसरी ग्राहकलाई आफूतर्फ तान्ने भन्ने विषयका बारेमा विभिन्न तरिका अपनाउ थालेका छन्।

बौद्धको पिपलबोटको तरकारी बजार पनि लामो समयको कोरोनाको प्रभावका कारण शिथिल भएको थियो। स्थानीय व्यापारीहरुले व्यापारलाई बढाउन विभिन्न तरिका खोजे। ती मध्येमा ‘डोको स्ट्रीट’ बनाउन सुझाइन् सरु लामाले।

न्यूरोडको अम्रेला स्ट्रीटबाट प्रभावित भएकी लामाले डोको वा नाङ्लोको अवधारणा ल्याएको बताइन्। उनले भनिन्, ‘यो अवधारणा मेरो हो। डोको विस्तारै हराउँदै गएको छ। नेपालीपन झल्काउन पनि डोकोको स्ट्रीट बनाउँ भन्ने सोच आयो। न्यूरोडमा बनाइएको अम्रेला स्ट्रीट देखेर सबैले त्यही गरौँ भन्नु भएको थियो। त्यो एक पटक भइसकेकोले नयाँ नहुने भन्ने भएपछि डोको पास गरेका हौं।’

व्यापार व्यवसायलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने अनेकौं तरिका सोच्दा सोच्दै डोको स्टी«टको अवधारणा आएको उनीहरुको भनाइ छ। ‘यो मार्केटिङ गर्ने तरिका पनि हो,’ लामाले भनिन्, ‘नयाँ जेनेरेसनले के कुरालाई मन पराउँछ भन्ने कुरा पनि ख्याल गर्नु पर्छ। डोको स्ट्रीट पनि युवा पुस्तामा नयाँ भएकाले प्रभावकारी हुने विश्वास छ।’

तरकारी बजारका २५ जना व्यवसायी मिलेर उक्त अवधारणालाई मूर्तरुप दिएको लामाको भनाइ छ। भीडभाड हुने बजारमा मान्छेको चहलपहल हुन छोडेपछि स्वभाविक रुपमा कसरी मान्छेलाई आकर्षित गर्ने भन्ने कुरा उठ्नु स्वभाविक भएको उनले बताइन्।

नयाँ वर्ष २०७८ लाई प्राथमिकतामा राख्दै आन्तरिक पर्यटक ल्याउने उद्देश्य रहेको ब्यापारीहरु बताउँछन्। विभिन्न रंगले रंग्याइएका डोकाहरुले त्यहाँको वातावरणलाई रंगिन बनाएका छन्। त्यहाँ पुगेपछि मन प्रफूल्ल नहुने को होला।

‘सबै खुसी भएको देखिन्छन्,’ लामाले भनिन्, ‘विशेष गरी टिकटक बनाउनेहरु आएका देखिन्छन्। फोटो पनि खिचाउनु स्वभाविकै भयो। हामीलाई व्यापारमा पनि सहयोग मिलेको छ।’

डोरी बाँधेर आकासमा राखिएका डोकाहरु पाँच सय छन्। ती पाँच सय डोकाहरु रामेछापबाट ल्याइएका हुन्। निगालोको चोयाबाट बनेको उक्त डोकाहरुमा रंग लगाउने काम भने व्यापारी आफैले गरेका थिए। ‘आफैले रंग लगाएका हौं,’ लामाले भनिन्।

डोका राख्ने कुरा चलेपछि लगतै पैसा कलेक्सन भएर काम अघि बढेको उनले बताइन्। उनका अनुसार सुनसान रहेको तरकारी बजारमा अहिले चहलपहल बढेको छ। विहान १० बजेदेखि राति ८ बजेसम्म पनि टिकटक बनाउनेहरु रमाइरहेको देख्न सकिन्छ।

‘ललितपुर, भक्तपुर, काभ्रे र काठमाडौंका पर्यटकहरु आएको देखिन्छ।’ लामाले भनिन्, ‘बाहिरको पर्यटक आउँछ भन्ने लागेको थिएन। हामीले आन्तरिक पर्यटकलाई लक्षित गरेर बनाएको हो। राम्रो ठाउँ भनेपछि बाहिरबाट पनि आइहाल्दो रहेछन्।’

‘गाउँघरमा मेलापात गर्न अत्यावश्यक डोको अहिले एकदमै कम देखिन थालेको छ,’ लामाले भनिन्, ‘डोको भनेको हाम्रो सान हो। हामीले नेपाली मौलिक पनको पनि जगेर्ना गर्दै लैजानु पर्छ भन्ने हो। नाङ्गोको पनि प्रस्ताव आएको थियो। तर, डोको नै फाइनल भयो र हामीले त्यही गर्यौं।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *