मानिसलाई ‘हराउन मद्दत गर्ने’ कम्पनी

डिसी नेपाल
४ साउन २०७८ ८:२७
352
Shares

बीबीसी विश्वभरि चाहे अमेरिका, जर्मनी, यूके जहाँसुकै होस् केही मानिसहरू आफ्नो जीवनबाट हराउने निर्णय गर्छन्। धेरैजसो कहिल्यै पछाडि नफर्किने गरी दोस्रो जीवन सुरु गर्न आफ्नो घर, जागिर, परिवारलाई छोड्छन्।

जापानमा, यस्ता मानिसहरूलाई “जोहात्सो” भनिन्छ। जापानी शब्दमा “वाष्पीकरण” लाई जोहात्सो भनिन्छ। तर जो मानिस कुनै प्रयोजनका लागि वर्षौँ वा दशकौँसम्म पनि गायब हुन्छन् उनीहरूलाई पनि जोहात्सो भनिन्छ।

“म मानवसँगका सम्बन्धबाट वाक्क भएँ। एउटा सानो सुटकेश बोकेर गायब भएँ,” ४२ वर्षीय सुगिमोटोले भने। उनले आफ्नो थरमात्रै भन्न चाहे। “म भागेजस्तै हो।” उनले आफ्नो सानो गृहनगरमा परिवारका र उनीहरूको प्रभावशाली स्थानीय व्यापारका कारण आफूलाई सबैले चिन्ने गरेको बताए।

त्यो पहिचानलाई सुगिमोटोले जारी राखुन् भन्ने परिवारको अपेक्षा थियो। तर त्यो भूमिका आफूमाथि थोपरिँदा त्यसले यति दबाब पर्‍यो उनले अचानक कसैलाई आफू कहाँ जाँदैछु नभनेर सधैँका लागि गृह नगरबाट अलप भए।

जोहात्सुलाई अलप हुनका लागि प्रेमविहीन विवाहदेखि छुटकारा पाउन नसकेका ऋणसम्म फरक फरक कुरा कारक बन्छन्। कारण जे भए पनि यो प्रक्रियाबाट गुज्रिँदा मद्दत गर्ने कम्पनीमा उनीहरू पुग्छन्।

यसलाई नाइट मुभिङ अर्थात् “राति सुटुक्क घर सर्ने” सेवाहरू भनिन्छ जसले जोहात्सु बन्ने गोप्य प्रकृतिको सङ्केत गर्छ। यसले आफ्नो जीवनबाट अलप हुन चाहने मानिसहरूलाई मद्दत गर्छ र गोप्य ठाउँमा बस्ने बन्दोबस्त मिलाउँछ।

“सामान्यतया, विश्वविद्यालयमा पढ्नका लागि, नयाँ जागिर पाएर वा विवाह गर्ने जस्ता सकारात्मक कारण नै यस्तो गरिएको हुन्छ।”

“तर केही चाहिँ विश्वविद्यालयबाट निकालिएर, जागिर गुमाएर वा आफ्नोबारे चियोचर्चो गर्नेबाट छुटकारा पाउन पनि यस्तो गर्छन्,” सन् ९० को दशकमा जापानमा आर्थिक कठिनाइका बेला “राति सुटुक्क घर सर्ने” कम्पनी स्थापना गरेका शो हतोरीले भने।

सुरुमा त आर्थिक सङ्कटकै कारण मानिसहरू समस्याग्रस्त जीवनबाट भाग्न चाहेको उनले ठाने। तर लगत्तै यसका “सामाजिक कारण” पनि रहेको उनले पाए। “हामी मानिसहरूलाई दोस्रो जीवन सुरु गर्न मद्दत गर्छौँ,” उनले भने।

समाजशास्त्री हिरोकी नाकामोरीले एक दशकभन्दा बढी समयदेखि जोहात्सुबारे अनुसन्धान गर्दै आएका छन्। उनले सन् ६० को दशकमा हराउन चाहेका मानिसहरूलाई व्याख्या गर्न जोहात्सु शब्दको पहिलो पटक प्रयोग हुन थालेको बताए।

जापानमा सम्बन्ध विच्छेद दर पहिला (र, अझै पनि) एकदमै कम छ। त्यसैले केही मानिसहरू औपचारिक सम्बन्ध विच्छेदको प्रक्रियामा जानुभन्दा आफ्नो जोडिलाई छोडेर अन्यत्र जान सहज हुने ठान्छन्। “जापानमा, अलप हुन सजिलो छ,” नाकामोरीले भने।

गोपनीयता एकदमै सुरक्षित गरिएको छ: हराइरहेका मानिसले एटीएमबाट स्वतन्त्र रूपमा पैसा निकाल्न सक्छन्, र उनीहरूका परिवारका सदस्यले पनि कसैले देखेर भिडिओ खिचेको छ भने पनि त्यसको पहुँचमा पुग्न सक्दैन।

“प्रहरीले अपराध वा दुर्घटनाजस्ता अरू कारण नहुँदासम्म हस्तक्षेप गर्दैन। परिवारले गर्न सक्ने भनेको निजी जासुसलाई धेरै रकम तिर्ने वा कुर्ने हो।”

प्रियजनका लागि छोडेर गएकाहरूको खोजी निकै पीडादायी हुन्छ। “म अचम्ममा परेँ,” आफ्नो २२ वर्षीय छोरा गायब भएकी एक महिलाले भनिन्। नाम खुलाउन नचाहेकी ती महिलाका छोरा हराएयता सम्पर्कमा आएका छैनन्।

“आफ्नो जागिर छोडेपछि उ दुई पटक फेल भएको थियो। आफ्नो विफलताका कारण उसले असाध्यै नराम्रो महसुस गरेको हुनसक्छ।” आफ्नो छोरा बस्ने गरेको ठाउँमा उनी गइन्, वरपर खोजिन्, कतै देखा परिहाल्छ कि भनेर केही दिनसम्म गाडीमै बसेर कुरिन्। तर उनी कहिल्यै देखा परेनन्।

प्रहरी कहिल्यै सहयोगी नबनेको र यदि आत्महत्याको शङ्का लागेको भए मात्रै त्यसको अनुसन्धानमा संलग्न हुने जवाफ दिएको उनले बताइन्।

“म बुझ्छु चियोचर्चो गर्नेहरू छन् – सूचनाको दुरुपयोग हुनसक्छ। सायद यो आवश्यक कानुन हो। तर अपराधी, चियोचर्चो गर्ने र आफ्ना सन्तान आफैँ खोज्न नसक्ने अभिभावकहरूलाई सुरक्षाको कारण देखाएर एउटै व्यवहार गरिएको छ। के हो यो?” उनले भनिन्।

“विद्यमान कानुनअनुसार पैसा नभए मैले गर्न सक्ने भनेको कुनै मृत शरीर मेरो छोराको हो कि भनेर जाँच गर्ने मात्रै हो – मैले गर्न सक्ने अब यति नै रह्यो।”

जोहात्सु स्वयंकै लागि आफूले घर छोडेर हिँडेको धेरैपछि दुख लाग्छ वा पछुतो हुन्छ। “मैले केही गलत गरेँ भन्ने भावना ममा निरन्तर रहिरहन्छ,” सुगिमोटोले भने। व्यापारी रहेका उनले आफ्नो सन्तान र श्रीमतीलाई सानो नगरमै छोडेर हिँडेका थिए।

“मैले एक वर्षसम्म आफ्ना सन्तानलाई देखेको छैन। मैले उनीहरूलाई एउटा व्यापारिक भ्रमणमा छु भनेको छु।” उनको एउटै पछुतो सन्तानलाई छोड्नु हो। सुगिमोतो अहिले टोक्योको आवासीय जिल्लास्थित एउटा घरमा बस्छन्।

उनलाई बस्न दिने “नाइट मुभिङ” कम्पनी साइता नाम गरेकी महिलाले चलाएकी छन्। उनले पनि आफ्नो परिचय खुलाउन नचाहेर थर बताएकी हुन्। १७ वर्षअघि हराएकी उनी आफैँ जोहात्सु हुन्।

शारीरिक दुर्व्यवहार गर्ने सम्बन्धबाट छुटकारा पाउन उनी ‘हराएकी’ थिइन् र भन्छिन् “एक तरिकाले भन्ने हो भने म अहिले पनि बेपत्ता व्यक्ति हुँ।”

“मसँग एकदमै गम्भीर प्रकृतिका सेवाग्राही छन्,” उनले भनिन्। “गम्भीर खालका घरेलु हिंसा वा अहंभाव वा स्वेच्छाले भागेकाहरू छन्। म उनीहरूबारे कुनै धारणा बनाउँदिन। म कहिल्यै भन्दिनँ, ‘तिम्रो अवस्था त्यति गम्भीर छैन’। सबैको आआफ्नै सङ्घर्षहरू हुन्छन्।”

सुगिमोतोजस्ता मानिसहरूका लागि उनको कम्पनीले उनका सङ्घर्षहरूलाई सम्बोधन गर्न मद्दत गर्छ। तर उनी हराउन सके पनि विगतको जीवनले पछ्याउन भने छोड्दैन।

सुगिमोटोजस्ता मानिसलाई उनीहरूले गरिरहेको सङ्घर्षको सम्बोधन गर्न साइताको कम्पनीले मद्दत गर्छ। तर हराउन सके पनि विगतको जीवनले पछ्याउन भने छोड्दैन।

“मेरो जेठो छोरालाई मात्रै सत्य थाहा छ। उ अहिले १३ वर्षको भयो,” उनले भने। “मैले उसका यी शब्दहरू बिर्सन सक्दिनँ, ‘तपाईँले जे निर्णय गर्नुभयो यो तपाईँको जीवन हो, म त्यसलाई परिवर्तन गर्न सक्दिनँ।’ उ मभन्दा परिपक्व सुनिन्छ, सुनिँदैन त?'”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *