पार्टीलाई एकतावद्ध बनाउने एमालेको निर्णय

डिसी नेपाल
१७ साउन २०७८ १७:५१
1.1k
Shares

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले स्थायी कमिटीको बैठकले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको छ। पार्टीको आन्तरिक विवाद समाधानका लागि वार्ता, छलफल चलिरहेको भन्दै आइतबारको बैठकले थप कुनै निर्णय नगरेको महासचिब ईश्वर पोखरेलले जनाए।

उनले पार्टी भित्रको असहज परिस्थितिलाई हटाएर अगाडि बढ्ने कुरा भएको बताए। उनले कुनै नेताबाहेक एकता गर्ने कुरा पनि नभएको बताए। माधव नेपालबाहेकलाई समेटेर पार्टीको विवाद समाधान गर्ने अध्यक्ष ओलीको रणनीति रहेको चर्चा चलिरहेका बेला महासचिब पोखरेलले कुनै व्यक्तिलाई रोक्ने कुरा नहुने बताएका हुन्।

उनले दुई अध्यक्ष प्रणालीको विषयमा भने विधान अनुसार निर्णय हुनुपर्ने बताए। तर, पार्टीको विवाद समाधानका लागि उन्नत निर्णय संस्थागत रुपमा गर्न सकिने उनको भनाइ छ। बैठक सोमबार पनि फेरि बस्ने छ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारलाई प्रतिगामी भएको आरोप लगाएका छन्। तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन ओलीले जनताबाट चुनिएर आएको सरकार नभएको भन्दै देउवा सरकार प्रतिगामी भएको टिप्पणी गरे।

सम्बोधनका क्रममा उनले माधव नेपालमाथि पनि तिखो टिप्पणी गरे। देउवा सरकारलाई दक्षिणपन्थी भन्दै उनले पार्टीका केही नेताहरु प्रतिगामी र दक्षिणपन्थीसँग मिल्न गएको टिप्पणी गरे। आफ्नो सरकार ढाल्ने, पार्टीको सरकारलाई प्रतिपक्षमा पुर्याउने र दक्षिणपन्थीसँग गठबन्धन बनाउने भन्दै उनले नाम नलिएरै माधव नेपालको आलोचना गरे। उनले माधव नेपाल समूह सत्तापक्षको गठबन्धनमा सहभागी भएको विषयमा पनि आपत्ति जनाए।

ओलीले अनुशासनहीन र अराजकहरुले नै नेकपा फुटाएको आफ्नै पार्टीको नेतृत्वको सरकार पनि ढालेको आरोप लगाए। उनले त्यस्ताहरुले कम्युनिस्ट आन्दोलनलाई अघि नबढाउने दावी पनि गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.