तराई–मधेशमा मधुश्रावणीको रौनक

डिसी नेपाल
१८ साउन २०७८ १९:०४
340
Shares

सप्तरी। तराई मधेशका नव विवाहिता बेहुलीले साउन कृष्ण पंचमीको तिथीदेखि १५ दिन सम्मगरिने मधुश्रावणी पूजा बुधबार बिधिवत शुरू गरेका छन्।
ब्राह्मण ,देव, कायस्थ ,सोनार चारजातिका नवविवाहिता बेहुलीले विवाहको पहिलो वर्ष साउन महिनाको कृष्ण पंचमी तिथीदेखि शुक्ल तृतीया तिथिसम्म गरिने पूजामा बिशेष गरि नाग नागिन (बिषहारा) शिव पार्वतीको पूजा गर्दै आएका छन्। नागनागिनको आकृति बनाई पूजा कोठामा शिव पार्वती र बिसहाराको पूजा गर्दै आएका हुन्।

राजविराज नगरपालिका २ कि ७५ वर्षिया सावित्री देवीका अनुसार पूजाको अघिल्लो दिन नुहाईध्वाई चोखो खाने भोलिपल्ट व्रत बसेर नवबिबाहिता व्रतालुहरूले बिधिवत रूपले मधुश्रावणी पूजा गर्छन्। यो पूजामा मटोले बनाएको हात्ती, अहिवात (माटोको भाँडो)। चारमुखे दियो, माटोको घैला, मानको पात, पान, सुपारी, सिन्दुर, वेलको पात, विभिन्न प्रकारका फलफुल, गाईको काँचो दुध ,धानको लावा मिठाइँ अनिवार्य आवश्यक रहेको र यी सबै ब्रतालु महिलाको ससुरालीबाट आउने को देव बताउँछिन्।

उनी थप्छिन्, ‘यो पूजामा थोरै फुलले पुग्दैन् ,धेरै फुल चाहिन्छ।’ पूजाको सामाग्रीसँगै जतिदिनसम्म पूजा हुन्छ। त्यतिवटा मानको ठूल्ठूला पात श्रीमानको घरबाट पठाइएको हुन्छ। पूजा गर्ने स्थानमा मानको सबैपात ओछ्याई पूजा समापन गर्ने बेलामा दिनहुँ फुल छर्कने चलनले यो पूजाको छुट्टै महत्त्व बिशेषता झल्काउँछ।

राजविराज ७ कि नवबिबाहिता व्रतालु ज्योति देवले भनिन्, ‘बुधबारदेखि यो व्रत बसेकी छु, आनन्द महशुस भएको छ।’ पहिले पहिले नातेदारका अफन्तले यो पूजा गर्दा उनी सहभागी भएकी थिइन्। अहिले आफैले गर्न पाउँदा सकारात्मक सन्देश पाएको महशुस भएको उनले बताइन्। शिव पार्वतीको दाम्पत्य जीवनको कथा , विवाहित दम्पतीले जीवनमा गर्नुपर्ने संघर्ष, आइपरेका कठिनाइहरू कसरी समाधान गर्ने, यो पुजाको कथा र गीतबाट आफ्नो वैवाहिक जीवनमा निकै सहयोग पुग्ने उनको विश्वास छ।

उनले थिपन्, ‘आफ्नो दाम्पत्य जीवनलाई सहजरूपमा संचालन गर्न यो पूजाले मार्ग दर्शन गरेको छ।’ हिन्दु धर्ममा गरिने पूजा मध्ये मधुश्रावणी सन्देशमुलक र उपयोगी रहेको ज्योतिको अनुभव छ।

अध्ययन गर्ने रोजगारी गर्ने महिलालाई पन्ध्र दिनसम्म यो पूजा गर्न समस्या भए पनि यस पूजामा पन्ध्र दिनसम्म भनिने कथा र गीतमा मौलिकता भएको अर्की व्रतालु ज्योति झा बताउँछिन्। उनी भन्छिन्, ‘यसले हामीलाई दाम्पत्य जीवन सहज र सरल तरिकाले निर्वाह गर्न प्रेरणा दिएको छ।’

राजविराज नपा ७ कि साहित्यकार एवं शिक्षिका ललिता झा भन्छिन् ,‘खासगरी मधेसी समूदायमा छोरीको घरमा कुनै पनि कार्यक्रमको आयोजना गर्दा माइतीबाट नै बिधिविधानको आवश्यक सामाग्री ल्याउनुपर्ने बाध्यता हुन्छ, तर यो पूजामा श्रीमानको घरवाट श्रीमतीको माइतीमा आवश्यक सामाग्री अनिवार्य पठाउँनुपर्ने भएकोले यो पूजाले घरलाई जिम्मेवार बनाएको छ।’

नयाँ बिबाहिता बेहुलीले ससुरालीमा भोगेका अनुभव पोख्ने, साथी, आफन्त भेट्ने अवसरको रूपमा पनि मधुश्रावणीलाई लिन सकिने ललिता बताउँछिन्। उनी थप्छिन्, ‘कुमाले र डोम समूदायको पुर्खौली पेशाको सम्मानसँगै निरन्तरताका लागि यो पूजाले निकै सहयोग गरेको छ।’

साहित्यकार एवं समाजसेवी करूणा झाले यस पूजामा शुरूदेखि अहिलेसम्म महिलाले मात्र नेतृत्व लिदैं आएकोले मधुश्रावणी पूजाले मधेसका महिलालाई कतैन कतै नेतृत्व लिन सिकाउँदै आएको बताइन्। उनले भनिन्, ‘यस पूजामा संलग्न पूजा गर्ने, कथा भन्ने, कथा सुन्ने, गीत गाउने, फूल टिप्ने सबै महिला नै हुन्छन्।’

यो पूजाले पर्यावरण र प्रकृतिको रक्षाको रक्षा गर्न सहयोग पुगेको झाको भनाइ रहेको छ। अहिले सर्वसाधारणले दिनप्रतिदिन बोटविरूवा मास्दै छन्। यो पूजामा अन्य पूजाभन्दा धेरै किसिमको फलफुल अवश्यक्ता हुने भएकोले पूजाको बाहानामा पनि ती बोटविरूवाको रक्षा गर्न, खोज्न सर्वसाधारणलाई बाध्य हुनुपरेको उनको बुझाइ रहेको छ।

उनी भन्छिन्, ‘यहि पृथ्वीमा सृष्टि भएको सर्पलाई विष भएकै कारण वरिपरि देख्ने बित्तिकै सर्वसाधारणले मार्ने गरेका छन्। विसहाराको पूजा गरेर सर्परूपी जीवको रक्षा गर्नुपर्ने पाठ यो पूजाले सिकाउँदै आएको छ।’

यो पूजा गर्ने एक जना व्रतालु महिला भए पनि फुल टिप्ने, पूजाको समयमा गीत गाउने, कथा भन्ने महिलाहरूको हुल हुने भएकोले आपसी सहयोग र सद्भावको पूजाको रूपमा पनि मधुश्रावणीलाई लिन सकिने झाको भनाइ छ।

नवबिबाहिता व्रतालु महिलाले १५ दिनसम्म आफ्ना साथीसंगीसँग विभिन्न रंग डिजाइनको साडी चोलो गहना लगाएर दिनहुँ बेलुका फुल टिप्न निस्कन्छन्। बिहान त्यही फूलले विषहारा, शिवपार्वती , चनाई बरसिको पूजा गर्छन्।

पन्ध्रदिनसम्म पूजा अवधिभर शुद्ध शाहकारी, अनिलो खाना खाने गरेको राजविराज ७ की सुषमा देव बताउँछिन्। पूजाको अन्तिम दिन् श्रीमानसँगै श्रीमानको घरबाट बेहुलीसँगै बेहुलीको माइतीको सबै सदस्यका नयाँ नयाँ लुगा , दहिचिउरा फलफुल मिठाईको भार श्रीमानको घरबाट आउँछ।

अन्तिम दिन श्रीमान् श्रीमती दुबै जना पूजामा बस्ने कथा सुन्ने र टेमी दिने चलन छ। पहिले पहिले दियोको बत्तीले व्रतालुको घुँडामा डामेर टेमी दिने चलन थियो। अहिले डाम्ने प्रथा हराएर जाँदैछ। कतै कतै बाहेक घुँडामा चन्दनको टीका लगाएर सितल टेमी दिएर यो पूजालाई समापन गर्ने चलन रहेको राजविराज ७ कि बबिता देवको भनाइ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.