पहिला न्यूनतम साझा कार्यक्रम, त्यसपछि मन्त्रिपरिषद विस्तार

डिसी नेपाल
१८ साउन २०७८ १९:३९

काठमाडौं। गठबन्धन सरकारमा सहभागी रहेका दलहरुबीच पहिला न्यूनतम साझा कार्यक्रम बनाएपछि मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ। सोमबार प्रधानमन्त्री देउवा र गठबन्धनका शीर्ष नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा भएको छलफलमा यस्तो सहमति भएको हो।

सरकारलाई सहयोग गर्न गठित कार्यदलका संयोजक काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पहिला न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको जानकारी दिएका छन्।

खड्का संयोजकत्वको कार्यदलको सोमबार बैठक बसेको थियो। सोमबार न्यूनतम साझा कार्यक्रमबारे मोटामोटी छलफल भएको छ। मंगलबारसमम टुंगो लगाउने कार्यदलका संयोजक खड्काले जानकारी दिएका छन्। मंगलबार कार्यदलले न्यूनतम साझा कार्यक्रमका लागि सुझाव प्रधानमन्त्री देउवालाई बुझाउने सम्भावना छ। मंगलबार कार्यदलले आफ्नो काम गरे बुधबारसम्म मन्त्रिपरिषद विस्तार हुने जनाइएको छ।

देउवा गत असार २९ गते प्रधानमन्त्री बनेका थिए। सोही दिन थप ४ जनामन्त्रीले शपथ लिएका थिए भने साउन १० गते स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्ति गरिएको थियो। हाल मन्मिण्डल ६ सदस्यीय छ।

माधव समूह सरकारमा सहभागी हुने वा नहुनेबारे टुंगो नहुँदा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो। अब माधव समूह सरकारमा सहभागी नहुने निष्कर्षका साथ गठबन्धनका दलहरु मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने सहमतिमा पुगेका छन्। तर, गठबन्धनका तीन दलबीच मन्त्रालयको भागबण्डा भने मिलिसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *