नियमित महाधिवेशन गर्न नसकिने भए विशेष महाधिवेशन गर्नुपर्ने पौडेल पक्षको प्रस्ताव
काठमाडौं। आगामी भदौ १६ देखि १९ सम्मका लागि तोकिएको काँग्रेस महाधिवेशनको समय तालिका प्रभावित भइसक्दा अब सो मितिमा महाधिवेशन नहुने लगभग पक्का भएको छ। पार्टीको क्रियाशील सदस्यताको विवाद हालसम्म समाधान हुन नसकेपछि स्थानीय र जिल्ला अधिवेशनहरु भने प्रभावित भइसकेका छन्। साउन १२ मा वडा अधिवेशनको कार्यतालिका थियो भने त्यसपछि स्थानीय तह क्षेत्र र जिल्ला अधिवेशनको कार्यतालिका थियो। अब सो तालिका प्रभावित भइसकेकाले महाधिवेशन पनि तोकिएको मितिमा नहुने पक्का जस्तै छ।

संविधानले दिएको सुविधाअनुसार काँग्रेसको वर्तमा कार्य समितिको पदावधि आगामी भदौ २३ सम्ममात्र छ। त्यसैले जसरी पनि पार्टीको वैधानिकता जोगाउन सो मितिमा महाधिवेशन गर्नुपर्ने भएपनि हालसम्मको तयारी हेर्दा काँग्रेस नेतृत्व महाधिवेशन गर्न तयार नभएको देखिएको छ।
यही विषयमा छलफल गर्न विहीबार सभापति शेरबहादुर देउवा इतर समूहको बैठक पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सी बारीमा बस्यो। सो बैठकले नियमति महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशन गर्न प्रस्ताव गरेको छ।
बैठकमा पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन भए पनि गर्नुपर्ने प्रस्ताव गरिएको बैठकमा सहभागी एक नेताले जनाए। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन हुन नसके आगामी भदौ २३ पछि वडादेखि केन्द्रका कुनै पनि समितिहरु वैधानिक नहुने भन्दै त्यसपछि देउवालाई सभापति नमान्ने बताएका छन्। पौडेको यो भनाइमा बैठकमा उपस्थित सबैले सहमति जनाएका छन्।

बैठकबारे जानकारी दिँदै पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले जसरी पनि महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालिएको बताए। उनले विवादित क्रियाशील सदस्यताको विषयमा सकेसम्म मिलाउने तर मिलाउन नसकिए १३ औं महाधिवेशनको क्रियाशील सदस्यतालाई आधार मानेर अगाडि बढ्नुपर्ने बैठकको निष्कर्ष रहेको बताए।








डिसी नेपाल








Facebook Comment