काबुल विमानस्थल अस्तव्यस्त, कम्तीमा पाँच जनाको मृत्यु
बीबीसी। तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि देश छाड्न खोजिरहेका सयौँ मानिसहरूबीच काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अनियन्त्रित अवस्था सिर्जना हुँदा केही मानिसहरू मारिएका छन्। त्यहाँ कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका छन्। अफगानहरू विमानमा टाँसिएका र त्यो धावनमार्गबाट उडेपछि खसेको देखिएको छ।
यात्रुहरूका अनुसार भिसाबिनै मानिसहरूलाई यात्रा गर्न दिइएको हल्लाले गर्दा ठूलो भिडभाड भएको त्यहाँ रहेका बीबीसी संवाददाता बताउँछन्। ”सामाजिक सञ्जालमा देखा परेका भिडिओमा मानिसहरू ठेलमठेल गरेर विमान चढ्न खोजेको देखिन्छ। अफगान सञ्चारमाध्यमहरूले पाएका एउटा भिडिओमा उडेको विमानमा टाँसिएका तीन जना खसेको देखिन्छ,” संवाददाता सिकन्दर केर्मानीले भने।
सोमवार दिल्ली आइपुगेकी एक महिलाले विश्वले अफगानिस्तानलाई यसरी अलपत्र छाडेकोमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिइन्। ”हाम्रा साथीहरू मारिनेछन्। उनीहरूले मार्नेछन्। हाम्रा महिलाहरूले अब अधिकार पाउनेछैनन,” काबुलबाट आइपुगेकी उनले रुँदै भनिन्। प्रत्यक्षदर्शीहरूका अनुसार अमेरिकी फौजले विमानतर्फ देखा परेका अनियन्त्रित भीडलाई तितरबितर पार्न हवाई फायर गरेको थियो।
तीन जनाको शव फेला परे पनि उनीहरूको मृत्यु गोली लागेर वा भाग दौडमा के भएर भएको हो भन्ने स्पष्ट छैन। अमेरिकी राष्ट्रपति जो बाइडनका सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन फिनरले अफगानिस्तानको अवस्था आफूहरूले सोचेभन्दा तीव्र गतिमा बिग्रिएको स्विकारेका छन्।
उनले अमेरिकाले सोमवारसम्ममा काबुल विमानस्थललाई सुरक्षित पार्ने बताएका छन्। तालिबान लडाकुहरू काबुल प्रवेश गरेको दोस्रो दिन आज अफगानिस्तानको राजधानीमा एउटा असहज स्थिरता देखा परेको छ।
दिनभरजसो अधिकांश व्यवसाय र कार्यालयहरू त्यहाँ बन्द रहे। सशस्त्र लडाकुहरूले पीकअप भ्यानहरूमा तालिबानको झन्डा फहराउँदै सडकमा गस्ती गरेका थिए। तर अझै काबुल सहर वा अफगानिस्तानको नेतृत्व कसले गरिरहेको छ भन्ने स्पष्ट छैन।
एकजना महिला अधिकारवादी महबुवा सेर्जाले भनिन्, ”हामी एउटा ज्वालामुखीभित्र बसेका छौँ। किनकि यहाँबाट जुनकुनै बेला जे पनि विस्फोट हुन सम्भव छ।”
तालिबानले भने सरकारी कर्मचारीहरूलाई काममा फर्कन भनेको छ। केही खबरहरूका अनुसार लडाकुहरूले केही पत्रकारका घरमा खानतलासी गरेका थिए।
तर यसअघि बीबीसीसँग बोल्दै तालिबानका प्रवक्ताले तटस्थ रहेको अवस्थासम्म पत्रकारहरूले काम गर्न पाउने बताएका थिए। चीनले आफू तालिबानसँग मैत्री सम्बन्ध विकास गर्न चाहेको जनाएको छ। रुसले काबुलमा रहेका आफ्ना राजदूतले मङ्गलवार तालिबानसँग भेट्ने र उसका व्यवहारका आधारमा नयाँ सरकारलाई समर्थन जनाउने-नजनाउने निर्णय गर्ने जनाएको छ।
इरानका नयाँ उग्रपुरातनवादी राष्ट्रपति इब्राहिम रइसीले पछिल्लो घटनाक्रमलाई उनकै शब्दमा अमेरिकाको पराजय बताउँदै त्यसले अफगानिस्तानमा दीर्घकालीन शान्तिको बाटो खोल्नुपर्ने बताएका छन्। ब्रिटेनका रक्षामन्त्री बेन वालेसले तालिबानको नियन्त्रणलाई अन्तर्राष्ट्रिय समूदायको असफलता बताएका छन्।
पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एक जना राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अफगानिस्तानबाट हात झिक्नुले अमेरिकीहरू स्वार्थीजस्तो देखापरेको बताएका छन्। अफगानिस्तानको राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएसँगै त्यहाँ अस्थिरता बढेको बताइएको छ।
अफगानिस्तानका मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम गरेपछि तालिबान लडाकुहरू आइतवार राजधानी काबुल प्रवेश गरेका थिए। उनीहरूले सोही दिन राष्ट्रपति भवनलाई पनि आफ्नो नियन्त्रणमा लिएका थिए। अफगान राष्ट्रपति अशरफ गनी तथा अन्य केही वरिष्ठ अधिकारीहरू देश छोडेर अन्यत्र पलायन भएपछि त्यहाँ शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने प्रयास भइरहेको छ।
अहिले काबुलका सडकहरूमा तालिबान लडाकुहरू यत्रतत्र देखिन्छन् भने ठूलो सङ्ख्यामा मानिसहरू विदेश जाने प्रयासमा विमानस्थलमा भेला भएका छन्। साठीभन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर मानिसहरूलाई अफगानिस्तानबाहिर जान दिन तालिबानलाई आह्वान गरेका छन्।
सोमवार बिहान विमानस्थलमा अनियन्त्रित भिडलाई तितरबितर पार्न अमेरिकी सेनाले हावामा गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएका छन्। दौडिएर विमान चढ्न खोज्ने मानिसहरूको “अनियन्त्रित” भिडलाई रोक्न सैनिकहरूले गोली चलाउनुपरेको एक अधिकारीले रोएटर्सलाई बताएका छन्।
तालिबान नेतृत्वले आफ्ना लडाकुहरूलाई अफगान नागरिकहरूलाई केही नगर्न फेरि निर्देशन दिएको छ। आइतवार दोहास्थित तालिबान वार्ता टोलीका एक सदस्यले बीबीसीसँग कुरा गर्दै अफगान जनतासँग “प्रतिशोध” नलिने बताएका थिए। “हामी अफगान जनता विशेषतः काबुलवासीलाई उनीहरूको सम्पत्ति र जीवन सुरक्षित छ, कसैसँग पनि प्रतिशोध लिइनेछैन भनेर विश्वस्त पार्न चाहन्छौँ,” बीबीसीका याल्दा हकिमसँग सुहैल शाहीनले भनेका थिए।
तर धेरै अफगानहरूमा सन् १९९० को दशकको जस्तो निर्दयी शासन फर्किन्छ कि भन्ने डर देखिन्छ। पहिला शासनमा हुँदा तालिबानले सार्वजनिक रूपमा मृत्युदण्ड दिने गरेको थियो भने बालिकाहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको थियो।
कसरी होला सत्ता हस्तान्तरण
पूर्वराष्ट्रपति हामिद कार्जाईले देशमा शान्ति स्थापना गर्ने विषयमा कुरा गर्न आफू तालिबानको सम्पर्कमा रहेको बताएका छन्। का0र्जाई तालिबान सत्ताच्युत भएपछि सन् २००१ देखि २०१४ सम्म अफगानिस्तानका नेता थिए।
तालिबानलाई अहिले शान्तिपूर्वक शक्ति हस्तान्तरण गर्न कार्यरत एउटा तीनसदस्यीय समितिमा आफू पनि भएको उनले बताएका छन्। राजनीतिमा प्रवेश गरेका पूर्वयुद्धनाइके गुल्बुद्दिन हेक्मत्यार र भूतपूर्व विदेशमन्त्री अब्दुल्लाह अब्दुल्लाह पनि छन्। बीबीसीसँगको अन्तर्वार्तामा कार्जाईले उक्त समिति तालिबान नेतृत्वको सम्पर्कमा रहेको र उनीहरूसँग समन्वय गर्ने बताएका छन्।
“सबै अफगान जनताको जीवन र सुरक्षा अहिले महत्त्वपूर्ण कुरा हो अनि हाम्रो उद्देश्य त्यो स्थापना गर्नु हो। तालिबानले मलाई उनीहरूले सहरको सुरक्षामा केन्द्रित हुन मानिसहरू नियुक्त गरको बताएका छन्…,” उनले भने।
“डा. अशरफ गनी (राष्ट्रपति) ले आफ्नो दायित्व परित्याग गरेर गएका छन्। उनी परिदृश्यमा छैनन्। यो रिक्ततालाई भर्न वैधानिकता फेरि कायम गर्नुपर्छ। केवल कुनै वैधानिक निकायमार्फत् काबुल र पूरै देशको सुरक्षा उपयुक्त पात्रलाई दिन सकिन्छ,” उनले भने। “अहिले तालिबानको वर्चस्व छ र यो बलियो रहेको तथा अफगानिस्तानको राम्रोका लागि भएको मेरो अपेक्षा छ।”
तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम
अप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
मे: तालिबानद्वारा दक्षिणी हेल्मन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
२१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
अफगान
१३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
१४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
१५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, काबुलस्थित राष्ट्रपति भवनमा तालिबान प्रवेश
के हो तालिबान?
अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो। अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए। साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।
पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।
तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।
तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो। टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।
दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्यो। सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।
राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो। सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो। सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।
तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो। तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ।
तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यस बेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए। दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।







डिसी नेपाल








Facebook Comment