कांग्रेस नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

डिसी नेपाल
२६ मंसिर २०७८ १६:२८
12
Shares

काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ । शनिबार सभापति पदमा उम्मेदवारी दिएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले भने उम्मेदवारी फिर्ता लिएका छन् । पाँच जनामध्येबाट सभापतिमा एकजना निर्वाचित गर्नुपर्ने छ ।

यसैगरी दुई जना उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह गरी सातै जनाको उम्मेदवारी कायमै छ । दुई महामन्त्री पदका लागि छ जनाको उम्मेदवारी परेको छ । महामन्त्रीमा डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्कीको उम्मेदवारी कायमै छ ।

एक महिला सह–महामन्त्री पदमा कमला पन्त र डीना महालक्ष्मी उपाध्याय, दलित एक सह–महामन्त्री पदमा मानबहादुर विश्वकर्मा, जीवन परियार र गङ्गा सुनारको उम्मेदवारी परेको छ । आदिवासी जनजातितर्फ एक सहमहामन्त्री पदका लागि विकास लामा र भीष्मराज आङदाङवेको उम्मेदवारी कायमै छ । खस आर्यतर्फ एक सहमहामन्त्री पदका लागि देवराज चालिसे र किशोरसिंह राठौर दुई जना प्रतिस्पर्धामा छन् ।

मधेशीतर्फ एक सहमहामन्त्री पदमा रञ्जीत कर्ण, रामकृष्ण यादव र महेन्द्र यादवको उम्मेदवारी कायम छ । मुस्लिमतर्फ एक सहमहामन्त्री पदका लागि फरमुल्लाह मन्सुर र शेख वकीलको उम्मेदवारी छ । थारुतर्फ एक सहमहामन्त्री पदका लागि तेजुलाल चौधरी र उमाकान्त चौधरीको उम्मेदवारी छ । थारुतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिएपछि दुई जनामात्र प्रतिस्पर्धामा कायम रहेको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.