कोरोना त्रासले होटल व्यवसायी चिन्तित
काभ्रेपलाञ्चोक। गत साउन महिनादेखि कोरोना सङ्क्रमणदर ओरालो लाग्दै गर्दा धुलिखेलका होटल व्यवसायी प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रनेमा निकै खुसी लागेको थियो ।
यसलगत्तै आफ्नो होटलमा चहलपहल बढ्न थालेसँगै कार्यक्रमका बुकिङले उलाई उत्साह पनि थप्दै लगेको थियो । वर्ष नबत्दै उनलाई आजभोलि उही पहिलेकै चिन्ताले ‘डेरा’ जमाइसक्यो । “व्यवसायले रुप फेर्लाझै लागेको थियो, कोरोना तेस्रो लहरको चिन्ताले सताउन थालिसक्यो”, उनले भने । कोरोनाका दुई वटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा ब्यहोर्न बाध्य बनाइरहेका बेला पुनः तेस्रो लहरको कोरोना महामारी (ओमिक्रोन) प्रक्षेपणले उहाँलगायत धुलिखेलका होटल व्यवसायीलाई हाल थप चिन्ताको भारी बोकाएको छ ।
यही साल कोरोनाको दोस्रो लहरले होटल ब्यवसाय थप धरासायी बनाएपछि पुनः तङ्ग्रन थालेको समयमा तेस्रो लहरको प्रक्षेपणले व्यवसायलाई निकै मार पर्ने क्षेत्रीय होटल सङ्घ (हान)को सचिव ज्योत्स्ना सैँजुले बताए । उनले भने, “नेपालमा कोरोना तेस्रो लहर ओमिक्रोनको डरले होला धुलिखेलमा विदेशी पाहुना आउन छाडिसके, हाल आन्तिरिक पर्यटक मात्रै धुलिखेल आउनुहुन्छ, तर यसलाई सन्तोषजनक मान्नुपर्छ ।” केही महिनाअघि नेपाल आउँदा क्वारेन्टिन बस्नुपर्ने नियम हटेपछि उहाँको धुलिखेलस्थित होटल माउण्ट प्रिन्समा विदेशी पर्यटकसमेतको निकै चहलपहल बढेको थियो ।
उनका अनुसार कोरोना महामारीका कारण होटल–व्यवसाय धरासायी हुँदा धुलिखेलका चार होटल बन्द भएका छन् । “होटल निर्माणको ब्याज तथा घर भाडासमेत सतर्न नसक्दा धुलिखेलका होटल बन्द हुनुप¥यो, नयाँ व्यवसायी यो पेशामा आउन डराइरहनुभएको छ”, उनले भने। २० कोठा क्षमता रहेको उनको होटलमा स्वास्थ्य मापदण्ड अनपाई पाहुनालाई सेवा प्रदान गर्दै आइएको छ ।
पर्यटकीयस्थल धुलिखेलमा ठूलासाना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । काभ्रेपलाञ्चोकस्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको सङ्घले जनायो । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
गत चैतमा दोस्रो लहर सुरु भएसँगै वैशाख अन्तिम सातासम्म धुलिखेलका होटलमा बुकिङ रद्द भएका थिए । जेठ, असार र साउनमा होटल ठप्पै रह्यो । कोरोनाको जोखिमपछि हाल पुनः असोज महिनादेखि बामे सर्दै गरेका होटल बन्द हुने हो कि भन्ने चिन्ताले सताउने गरेको गुनासो आउन थालेको हानका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले बताए ।
“तेस्रो लहरको कोरोना आउने र सावधानी अपनाउनुपर्ने सूचना सरकारी पक्षबाटै आउन थालेपछि होटल व्यवसायी निकै तनावमा छन्, होटल व्यवसाय चौपट हुने भयो, व्यवसायी टाट पल्टने भए । हालसम्म त आन्तरिक पर्यटक बढ्दै छन्, तर पछिल्लो दिनमा कोरोना सङ्क्रमण बढ्दै गएपछि विदेशी पाहुनाको चहलपहल घट्दै गएको छ ।”
यही वर्षको कोरोना कहरपछि आन्तरिक एवं बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित बनाएको देखिन्छ । कोभिड–१९ का कारण पर्यटन क्षेत्रले बेहोरिरहेको क्षति न्यूनीकरण गर्दै पूरानै लयमा फर्काउन गत वर्ष होटल व्यवसायीले विशेष तीन प्याकेजकोसमेत घोषणा गरेका थिए । “स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ पर्यटन क्षेत्रले ब्यहोर्नुपरेको क्षति न्यूनीकरणलाई प्याकेजले पर्यटकको सेवामा विशेष प्याकेजसहित तल्लीन भएका थियौँ, दोस्रो लहरले पुनःथल्याइदियो, अब तेस्रोले के गर्छ यसै भन्न सकिन्नँ”, उनले गुनासो गरे ।
सङ्घले यसअघि ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’लगायत विशेष प्याकेज सञ्चालन गर्ने योजना अघि सारेको थियो । साथै जीपलाइनिङ, हाइकिङ र हजार सिंढी चढ्दै देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्ति वनस्थित बुद्ध मूर्तिको अवलोकन प्याकेजमा अनिवार्य गराइएको थियो । सङ्घले पुनःप्याकेजका कार्यक्रम ल्याएर व्यवसाय उकास्ने प्रयत्नमा लाग्ने योजना बनाइरहँदा तेस्रो लहरको प्रक्षेपणले व्यवसायी चिन्तित भएको सैँजुले बताए । उनले भने, “हाल पाहुनाको चाहनामा जीपलाइनिङ, नमोबुद्ध तथा जिल्लाकै पर्यटकीय स्थान घुमाउन सकेका छौँ, यो पनि बन्द नहोस् भन्ने चाहन्छौँ ।”
धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको अलावा काठमाडौँ, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दथे । पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडौँबाट करिब ३० किलोमिटरको दूरीमा अवस्थित छ ।







डिसी नेपाल







Facebook Comment