बालुवाटारमा ओलीसँग गोप्य गरेर उथलपुथल ल्याएका गोयलको पदावधि दुई वर्ष थप

डिसी नेपाल
२६ पुष २०७८ ११:४२
1.7k
Shares

काठमाडौं। झण्डै १५ महिनाअघि २०७७ को कार्तिक महिनाको सुरुवातमा गोप्य रुपमा सेनाको विशेष विमानमार्फत काठमाडौं आएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित गोप्य भेटघाट गरेर उथलपुथल मच्चाएका भारतीय गुप्तचर संस्था रिसर्च एण्डल एनालिसिस विंग (रअ)का प्रमुख सामन्त गोयलको पदावधि थप गरिएको छ।

नेपालको संसदले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूभागभित्र समेटेर आफ्नो देशको नक्सा जारी गरेलगत्ते गोयल नेपाल आएका थिए। २ वर्षे कार्यकालका लागि २०१९ मा नियुक्त भएका गोयलको कार्यकाल २०२१ मै सकिने भए पनि २०२१ को मे महिनामा भारत सरकारले उनको कार्यकाल १ वर्ष थप गरेको थियो।

अहिले फेरि रअ प्रमुखको कार्यकाल २ वर्ष बढाउन मिल्ने गरी कानुनमा संशोधन गरिएको हो। यससँगै गोयलको मे महिनामा थपिएको कार्यकाल २०२२ को मेमा सकिएपछि पुनः अझै १ वर्ष थप गर्न मिल्ने इकोनोमिक टाइम्सले जनाएको छ।

भारत सरकारले रअ प्रमुखसहित रक्षा र गृह सचिव तथा इन्टेलिजेन्स ब्युरोका प्रमुखको कार्यकाल समेत २ वर्ष थप्न मिल्ने गरी कानुनमा संशोधन गरेको हो। यसको १ दिनअघि मात्रै भारतले सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सीबीआइ) र इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)का प्रमुखको कार्यकाल पनि २ वर्ष थप गर्न मिल्ने गरी कानुन संशोधन गरेको थियो।

२००५ मा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको क्याबिनेटले यी पदमा २ वर्षे कार्यकाल तोकेकोमा आइतबार राष्ट्रपति रामनाथ कोविन्दले कार्यकाल थप्न मिल्ने गरी नयाँ संशोधन जारी गरेका हुन्।

रअ प्रमुख सामन्त गोयल गत वर्षको कार्तिकमा नेपाल आएसँगै नेपालको राजनीतिक कोर्स परिवर्तन भएको थियो। भारतले अतिक्रमण गरेको भूमि समावेश गरेर नेपालको नक्सा जारी गरेसँगै भारतविरोधीको छवि बनाएका ओलीलाई गोयल आएसँगै भारतीय पक्षधर र रअको एजेन्टको रुपमा प्रचार गरिएको थियो।

गोयलले ओलीलाई भारतीय एजेण्डामा सहभागी गराएको भनेर एकतर्फी हल्ला गरिएपछि ओली आफ्नै पार्टीभित्र अल्पमतमा परेका थिए।
गोयलको भ्रमणले तत्कालीन सत्तारुढ नेकपाभित्र यतिसम्म उथलपुथल ल्याएको थियो कि नेकपा विभाजनको बीजारोपण त्यही बेला भयो। पार्टीभित्र गुटबन्दी र आफूलाई एक्ल्याउने चलखेल सुरु भएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नै विघटन गरिदिए।

तर, यो विघटनलाई सर्वोच्च अदालतले बदर गरिदियो। पछि अर्कै एक मुद्दाको फैसलाको क्रममा सर्वोच्च अदालतले नेकपा विभाजन गरिदिएपछि पुनस्र्थापित एमालेभित्र पनि आन्तरिक कलह बढ्यो।

प्रधानमन्त्री ओलीले दोस्रो पटक समेत प्रतिनिधि सभा विघटन गरिदिएपछि राजनीतिक कोर्सले पूरै यु टर्न लियो। करिब करिब दुई तिहाइ बहुमतको पार्टीको संसदीय दलको नेताको हैसियतमा रहेर सरकार चलाइरहेका शक्तिशाली प्रधानमन्त्री ओली विस्थापित भए र अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदियो।

दुई तिहाइ बहुमतको सरकार समेत ढलाउन सक्ने खेलाडीका रुपमा चिनिएका गोयलको कार्यकाल थप एक वर्ष बढ्ने गरी भारतले कानुन संशोधन गरेसँगै यसले नेपाली राजनीतिमा गम्भीर प्रभाव पार्न सक्ने आशंका गरिएको छ।

गोयलको कार्यकाल थपिँदा नेपाली राजनीतिमा यसको गम्भीर प्रभाव पर्ने आशंका यसकारण पनि बढेको छ किनकि अहिलेको प्रतिनिधि सभाको कार्यकाल १ वर्षभन्दा पनि कम समय बाँकी छ। २०७४ को मंसिरमा निर्वाचन भएर बनेको प्रतिनिधिसभाको कार्यकाल आगामी वर्षको मंसिरमा सकिन्छ।

यो प्रतिनिधिसभाको स्थान लिनको लागि अर्को निर्वाचन हुनुपर्नेछ र त्यो निर्वाचन गोयलको कार्यकाल नसकिँदै हुनुपर्छ । त्यो निर्वाचनमा गोयलको चलखेल अलि बढी नै हुन सक्ने आशंका अहिलेदेखि नै बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.