पूर्ववत् अवस्थामा फर्किएला माओवादी ?
फाइल फाेटाे।
काठमाडौं । नेपालको राजनैतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएको पार्टी हो माओवादी। वर्तमान उपलब्धीहरु माओवादी आन्दोलनकै उपज हो, तथापि माओवादी किन कमजोर बन्न पुग्यो? यो विचारणीय प्रश्न नेपाली राजनीतिमा खडा भएको छ।
२०५२ सालमा संसदीय व्यवस्थाको अन्त्य र जनगणतन्त्रको स्थापना गर्ने सँगै अनेकौं प्रतिबद्धताको बीचबाट सुरु गरिएको जनयुद्ध आज प्रतिस्पर्धात्मक संसदीय व्यवास्थामा अबतरण भएको पनि एक दशक भन्दा बढी भइसकेको छ।
माओवादी आन्दोलनले स्थापित गरेका राजनैतिक उपलब्धीहरुको स्वयं माओवादीले स्वामित्व ग्रहण गर्न नसकेको राजनैतिक वृत्तमा विश्लेषण हुने गर्दछ। विगत तीस बर्षदेखि पार्टीको मूल नेतृत्वमा रहँदै आएका प्रचण्डमाथि अनेकौं प्रश्नहरु तेर्सिएका छन्।
उनका समकक्षीहरु आज अनेकौं कित्तामा विभाजित छन्। कुनै समय ओज र शक्तिका साथ सिंहदरबार प्रवेश गरेको माओवादी आज निरीह र शक्तिहीन जस्तो देखिन्छ। सरकार बनाउने मध्यस्थता गर्ने हैसियतमा छ तर आफू निर्णायक तहमा नेतृत्व गर्ने स्थितिमा देखिँदैन।
सांगठनिक अबस्था ओरालो लाग्दो छ। गठबन्धनको भर पर्नुपर्ने अवस्था विद्यमान छ। गत पुसमा महाधिवेशन सम्पन्न गरेको माओवादीले हालसम्म पदाधिकारी समेत चयन गर्न सकेको छैन। एमसीसीको विवादलाई केही समय स्थगन मात्रै गरेको छ। यद्यपि विवाद कायमै छ।
अनेकौ अस्पष्टता र अन्यौलतामा माओवादी गुज्रिरहेको छ। प्रचण्डको हालसम्मको राजनैतिक यात्रा अनेकौ अवसर र संयोगले जुराएको देखिन्छ। प्रचण्ड अनेकौं कमजोरीलाई आफ्नो अनुकूलतामा व्याख्या गर्न खप्पिस छन्।
उनले अनेक हथकण्डा अपनाएर पार्टी नेतृत्वमा रहने, परिस्थितिलाई आफू अनुकूल उपयोग गर्ने, विरोधीहरुलाई भिडाउने र एक हुन नदिने उनको रणनीति रहेको विगतदेखि वर्तमानका केही घटनाक्रमबाट पुष्टि हुन्छ।
नेतृत्वमा पुर्याएको सेक्टरकाण्ड तत्कालीन मसालका महामन्त्री मोहनबिक्रम सिंहलाई २०४३ सालमा साँस्कृतिक विचलनको आरोप लगाउँदै पार्टी विभाजित भयो। एउटा पार्टी मोटो मशाल र पातलो मसाल गरी बिभाजित भयो।
माओवादी एकता र पूर्ववत अबस्थामा फर्कन्छ भन्नु दिवास्वप्न मात्रै हो, कुनै कोणबाट त्यो सम्भव छैन र अब उपादेयता पनि छैन।अहिले प्रचण्डको भूमिका भनेको मिडिएटर मात्रै हो, कहिले कांग्रेसको बुइ चढेर सत्तामा जाने त कहिले एमालेको।
मोटो मशालको नेतृत्व मोहन बैद्यले गरे भने पातलो मसालमा मोहनबिक्रम सिंह नै रहे। त्यही मोटो मशालको परिष्कृत रुप नै हालको माओवादी हो। मशालको नेतृत्वमा मोहन बैद्य रहेको बेला पार्टीले काठमाडौंका केही प्रहरी बृत्तमा अपरिपक्व र संभावित परिणामको आँकलन नगरी आक्रमण गर्ने निर्णय गरियो। जसको फलस्वरुप थुप्रै कार्यकर्ता र नेताहरु पक्राउ परे।
आफ्नै निम्ति प्रत्युत्पादक निर्णय गरेको भन्दै नेतृत्वको कडा आलोचना सुरु भयो। आफ्नो नेतृत्वमा भएको कारबाहीबाट पार्टीलाई ठूलो क्षति भएकाले तत्कालीन पार्टी महामन्त्री मोहन बैद्यले राजिनामा दिनु पर्याे। उक्त घटनालाई नेपालको राजनीतिमा सेक्टर काण्डको नामले चिनिन्छ।
बैद्यको बहिर्गमनसँगै पार्टी मूल नेतृत्वमा प्रचण्डको आगमन भयो। जो अहिलेसम्म नेपालको राजनीतिको केन्द्रमा र उक्त पार्टीका विभिन्न आयामहरु अन्र्तगत हालको माओवादी केन्द्रको अध्यक्ष रहेका छन्।
माओवादी आन्दोलनको मूलधार अनेक आयामहरु कहिले एकीकृत, खण्डित, विभाजित र फेरि एकीकृत बन्दै हालको माओवादी केन्द्रको अवस्थासम्म आइपुगेको छ। प्रचण्ड सेक्टर काण्ड देखि हालसम्म पार्टीको मूल नेतृत्वमा रहँदै आएका छन्।
एकता र विभाजनको श्रृङ्खला प्रचण्ड पार्टी नेतृत्वमा रहँदा जहिल्यै पनि साना शक्तिहरुलाई एकीकृत गरी शक्ति आर्जन गरेको देखिन्छ। उनले २०४८ सालमा तत्कालीन मशाल, पातलो मसाल (हरिबोल गजुरेलको नेतृत्वमा बाबुराम भट्टराई सहितको) रुपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक संगठन लगायत साना कम्युनिष्ट पार्टीबीच एकता गरी नेकपा (एकता केन्द्र) को गठन गरे।
तत्कालीन संसदमा तेस्रो दलको रुपमा उक्त पार्टीको चुनावी मोर्चा संयुक्त जनमोर्चाको उपस्थिति रहेको थियो। जनयुद्धको बिषयलाई लिएर त्यही एकता केन्द्रभित्र तीब्र विवाद भयो र निर्मल लामा पक्षधरहरु जनयुद्धको विपक्षमा रहे भने प्रचण्ड लगायतको टिमले जनयुद्ध अगाडि बढाउने घोषणा गर्याे।
अन्ततः एकताकेन्द्र विभाजित बन्न पुग्यो। २०५१ सालमा प्रचण्डले चितवनमा अधिवेशन गर्दै जनयुद्धको कार्यदिशा पारित गरेर पार्टीको नाम नेकपा (माओवादी) राखियो। निर्मल लामा, नारायणकाजी श्रेष्ठ लगायतलाई अनेकौ आरोप लगाउँदै कारवाही गरियो।
बिगतदेखि नै प्रचण्डको एकता र विभाजन कहिले संगठित गरेर बलियो र कहिले विभाजित भएर कमजोर बनेको इतिहास छ, त्यो क्रम हालसम्म चलिरहेको छ। बैद्य र बाबुराम समूहलाई आबश्यकता अनुरुप उपयोग माओवादी जनयुद्धताका प्रचण्ड पार्टी भित्रका दुई शक्तिशाली समूहलाई आफ्नो अनुकूलतामा उपयोग गर्ने गरेको माओवादी आन्दोलनमा लागेका नेताहरु बताउँछन्।
उनले शक्ति सन्तुलन मिलाएर बाबुराम र बैद्यसँग कहिले सुमधुर त कहिले कठोर सम्बन्ध कायम गर्ने गर्दथे। उनले यी दई समुहलाई कहिल्यै एक हुन नदिएको माओवादी आन्दोलनमा सहभागी नेताहरु बताउँछन्।
चुनबाङ बैठक (जहाँबाट माओवादीले लोकतान्त्रिक व्यवस्था स्वीकार गर्यो) भन्दा अगाडि बाबुरामसँग उनको कटुतापुर्ण सम्बन्ध थियो तर चुनबाङ बैठकमा उनको अत्यन्त सुमधुर सम्बन्ध भयो र तत्कालीन सात दलसँग बाह्रबुदे समझदारी गर्ने जिम्मेवारी नै उनै बाबुरामलाई दिन पुगे।
त्यही चुनबाङ बैठक नै माओवादी आन्दोलनको सशस्त्र संघर्षको अन्त्य र शान्तिपूर्ण राजनीतिको प्रारम्भिक बिन्दु थियो। कालान्तरमा हालको माओवादी अर्थात संसदीय राजनीतिमा नयाँ आयामसहितको अर्को दल चुनबाङले थपियो।
पार्टीमा एकल वर्चश्व कायम २०६४ मा पहिलो पार्टी बनेर संसदीय राजनीतिमा प्रवेश गरेको माओवादीभित्र दुई भिन्न बिचार समूहहरु रहेका थिए-डा.बाबुराम भट्टराई र मोहन बैद्य। शान्तिपूर्ण राजनीतिको सूत्रधार बाबुराम र क्रान्तिकारी धारको नेतृत्व बैद्यले गर्दथे।
प्रचण्डलाई बेलाबखतमा चुनौती यी दुवै नेताहरुले दिने गर्दथे। तर यी दुवै नेताहरु नै समयक्रममा विभाजित भएर अलग अलग बनेपछि पार्टी भित्र प्रचण्डको एकल नेतृत्व र उनको बर्चश्व कायम हुन पुग्यो। हाल उनलाई चुनौती र आलोचना गर्न सक्ने नेता माओवादी भित्र देखिँदैनन्।
माओवादी आन्दोलनका हस्तीहरु आज प्रचण्डसँग छैनन्। तैपनि उनी माओवादीलाई २०६४ कै पूर्ववत अवस्थामा फर्काउने उद्घोष गर्दै आएका छन्। अब फेरि माओवादी आन्दोलन पहिलेकै अवस्थामा फर्कन कुशल संगठक र बैचारिक नेता बाबुराम, बैद्य, सिपी गजुरेल, बादल लगायतका युद्धकालीन सहकर्मीहरु उनीसँग छैनन्।
हिजोको प्रतिकूल अवस्थामा हरेक जोखिम उठाउन तयार कार्यकर्ताको पंक्ति उनीसँग छैन। छिन्नभिन्न भएको माओवादी आन्दोलन पुनर्गठन हुने र प्रचण्डलाई नेतृत्व स्वीकार्ने अवस्था नरहेको माओवादी आन्दोलनका विभाजित घटकका नेताहरु बताउँछन्।
माओवादीलाई शक्तिशाली र पहिल्यैको अवस्थामा पुर्याउँछु भन्नु प्रचण्डको नयाँ फण्डा मात्र भएको माओवादी आन्दोलनमा लागेका नेता गोपाल किराँतीले डिसी नेपाललाई बताए।
‘एमसीसीको बिपक्षमा उभिएको भए केही सम्भावना थियो तर अब त्यस्तो देखिँदैन’ उनले भने, ‘पार्टी पूर्ववत अवस्थामा २०६४ मा होइन् त्यो भन्दा अगाडि २०४८ मा फर्कन्छ ।’ एमसीसीमा माओवादीले सही स्ट्याण्ड लिन नसकेकाले अब शक्तिशाली बन्न नसक्ने उनको जिकिर छ।
एमसीसी अमेरिकी भूमण्डलीकृत पूँजीवादी व्यवस्थाको अनुमोदन भएको उनको भनाइ छ । चुनबाङ बैठकले संक्रमणकालीन लोकतान्त्रिक गणतन्त्रलाई उपयोग गरेर समाजवादीकरण गर्ने म्याण्डेट दिएको तर प्रचण्ड एमालेकरण भएको उनले आरोप लगाए।
प्रचण्डको उपयोगिताको राजनीतिले कम्तीमा गणतन्त्र र केही उपलब्धी हासिल भएकाले त्यसलाई आफूले सकारात्मक रुपले लिएको उनको ठम्याइ छ। माओवादी जनयुद्धमा सहभागी भएका तत्कालीन माओवादी भित्र बाबुराम भट्टराई निकट रहेर काम गरेका हालका एमाले नेता मणि थापा माओवादी पार्टी पुनर्गठन हुने अवस्थालाई ठाडै अस्वीकार गर्छन्।
डिसी नेपालसँगको कुराकानीमा उनले अब माओवादी एकताको अध्याय समाप्त भएको उल्लेख गरे। ‘माओवादी एकता र पूर्ववत अबस्थामा फर्कन्छ भन्नु दिवास्वप्न मात्रै हो, कुनै कोणबाट त्यो सम्भव छैन र अब उपादेयता पनि छैन’ उनले भने, ‘अहिले प्रचण्डको भूमिका भनेको मिडिएटर मात्रै हो, कहिले कांग्रेसको बुइ चढेर सत्तामा जाने त कहिले एमालेको।’
उनले प्रचण्ड कुनै विचारक या नेता नभइ कहिले बाबुरामको बिचारलाई आफ्नो र कहिले बैद्यको बिचारलाई आफ्नो भनी भ्रम छर्ने र आफ्नो अनुकूलतामा एक अर्कालाई भिडाउने काम मात्र गरेको बताए।
उनले बाबुराम र बैद्य एक भएको भए प्रचण्ड नेता बन्ने हैसियत नहुने हुँदा प्रचण्डले कहिल्यै मिल्न नदिएको ठोकुवा समेत गरे। माओवादी आन्दोलनमा बैद्य र बाबुराम मात्रै बिचारक भएको उनको दाबी छ ।







डिसी नेपाल








Facebook Comment