स्थानीय निर्वाचनः प्रधानमन्त्री देउवाको गृहजिल्ला मै असन्तुष्ट कांग्रेसले विद्रोह गर्ने चेतावनी

सम्भव सिंह ठकुरी
६ वैशाख २०७९ ६:५७

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसका असन्तुष्ट पक्षले आसन्न निर्वाचनमा बागी उम्मेदवारी दिने तयारी गरेको छ।

पार्टीको १४ औँ महाधिवेशनमा विवाद भएको क्रियाशील सदस्यको विषय अहिलेसम्म समाधान नभएपछि पूर्वजिल्ला सभापति कर्ण मल्ल समूहले कांग्रेसको बागी उम्मेदवार उठाउने तयारी गरेको हो।

स्थानीय निर्वाचन हुन २४ दिनमात्र बाँकी रहँदा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा कै गृहनगरमा पार्टीको विवाद उत्कर्षमा पुगेपछि चासोको रुपमा हेरिएको छ।
जम्मा ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा सबै तहमा उम्मेदवारी दिने तयारी भइसकेको पूर्वसभापति मल्लले बताए।

कांग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा विवाद भएको डडेल्धुराको समस्या आजसम्म पनि नमिल्दा आफूहरु बाध्य भएर यो कदम चाल्ने निर्णयमा पुगेको मल्लको भनाइ छ। आफूहरु केही सर्तहरु पार्टीले सम्वोधन गरे पार्टीको निर्देशन मान्न तयार हुने नत्र जस्तो सुकै अप्रिय कदम चाल्न बाध्य हुने मल्लको चेतावनी रहेको छ।

मल्ल समूहको केही सर्तहरुः

१. १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रबाट जिल्लामा विधि, विधान, नियम र पद्धति मिचेर जर्वजस्त काटिएको जिल्लाको ४६० जना क्रियाशील सदस्यको नाम १४ औँ महाधिवेशनकै सूचीमा सूचीकृत हुनपर्ने।

२. जिल्लाको ७ औँ अधिवेशनमा असन्तुष्ट रही बाहिर रहेका सबै नेता कार्यकर्ताहरुलाई निर्वाचनमा सहभागी हुने सहज वातावरण मिलाउनुपर्ने।

३. टिकट वितरणमा असन्तुष्ट पक्षका नेता कार्यर्काहरुलाई पनि न्यायोचित ढंगबाट मिलाउनुपर्ने त्यसको ग्यारेन्टी हुनुपर्ने।

मल्ल समूहको गत चैत १८ गते बसेको भेलाले जिल्लामा देखिएको विवाद समाधानका लागि तीन बुँदे माग राखेर केन्द्रमा पत्राचार गर्ने निर्णय गरेको थियो। तर केन्द्रबाट आजसम्म पनि सुनुवाई नभएको मल्लको गुनासो रहेको छ।

यसरी आफ्नो अडानमा नडगमगिएको मल्लले आफ्नो समूहको माग सम्वोधन नभए अप्रिय निर्णय गर्न बाध्य हुने चेतावनी दिएका छन्।

उनले भने ‘डडेल्धुरा कांग्रेस विवाद धेरैलाई थाहा भएकै विषय हो। सत्ता र शक्तिको भरमा प्रहरी परिचालन गरि जर्वजस्त अधिवेशन गराइएको छ। त्यसकारण हामीलाई ठूलो अन्याय भएको छ।म बहालवाला जिल्ला सभापतिलाई समेत थाहा नदिई ४६० जना क्रियाशील सदस्यको नाम केन्द्रबाट हटाउनु भनेको कतिसम्मको केन्द्रीय सभापतिको कतिसम्मको एकलौटी पन र पूर्वाग्राही पन हो। त्यहीँबाट प्रष्ट हुन्छ। त्यसकारण यो अन्यायविरुद्ध संघर्ष गर्ने हाम्रो धर्म हो। हाम्रो संघर्ष जारी रहन्छ।’

मल्लले केन्द्र र प्रदेशबाट गरिने चुनावी गठबन्धनको विषयमा पनि असन्तुष्ट व्यक्त गरेका छन्। उनले भनेका यो गठबन्धन कुनै हातलमा कांग्रेसको नीति र सिद्धान्तसँग मेल नखाने भएकाले डडेल्धुरामा मात्र नभएर देशभरि कांग्रेसको हितमा नहुने बताएका छन्।

उनले भने, ‘हामी सत्ता गठबन्धनको पूर्ण रुपमा विपक्षमा छौँ। डडेल्धुरामै गठबन्धन गरेपनि गए पनि त्यसको विपक्षमा उत्रिने छौँ।’

के भन्छन् केन्द्रीय नेता ?

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत भने उनीहरुको त्यस्तो खाले चेतावनीले केही फरक नपार्ने बताउँछन्। डा.महत भन्छन्, ‘डडेल्धुरामा भएको सम्पूर्ण विवाद छानविन गरि प्रक्रियागत ढंगबाट अधिवेशन भएको हो। सोही प्रक्रिया अनुसार निर्वाचित जिल्ला कमिटी आएको छ। त्यसकारण पार्टीले तोकेको उम्मेदवारलाई उहाँहरुले सहयोग गर्नुपर्छ।’

यदि अझैसम्म असन्तुष्ट रहेर पार्टीको उम्मेदवारविरुद्ध लागेको भए त्यो खाले गतिविधिमा कुनै पनि आधार नरहेको प्रवक्ता महतको भनाइ रहेको छ।
सदूरपश्चिम कांग्रेस सभापति वीरबहादुर बलायर भने यो विषय प्रदेशको अधिकारभन्दा बाहिर भएकाले केन्द्रबाट नै समाधान खोजिनुपर्ने बताउँछन्।

बलायरले डिसी नेपालसँग भने, ‘यो विषय हाम्रो अधिकार र क्षमता र भन्दा बाहिरको कुरा हो। त्यसकारण मल्लाजी आफैं पनि जिम्मेवार नेता हुनुहुन्छ। प्रदेशको माननीय पनि हुनुहुन्छ। त्यसैले यो विषयमा उहाँ आफैंले पनि विवेक पुर्‍याउनुपर्ने हुन्छ।’

विवाद कसरी भएको थियो ?

कांग्रेसको १४ औँ महाधिवेशन ताका सभापति देउवाले गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता वितरण गर्दा अनावश्यक हस्तक्षेप गरेको मल्ल समूहको आरोप रहेको छ।

कांग्रेस डडेल्धुराको क्रियाशील सदस्यताको विवरण नेपाली कांग्रेसको आधिकारिक वेबसाइटबाट सार्वजनिक गर्दा ४६० जना सदस्यको नाम काटिएको मल्लको भनाइ छ।
मल्लका अनुसार वडा हुँदै जिल्लाबाट निर्णय गरेर पठाएको नामावली देउवाले केन्द्रबाट नै हटाएर आफू अनुकूल ३१२ लाई क्रियाशील सदस्यता दिएको आरोप लगाएका छन्।

यसरी देउवाले आफू अनुकूलका नेता जिल्ला नेतृत्वमा ल्याउने प्रायोजनका लागि केन्द्रीय निर्वाचन समितिले पठाएको क्रियाशील सदस्यहरुको नामावलीमा व्यापक हेरफेर तथा थपघट गरेपछि मल्ल समूहले जिल्ला अधिवेशन नै बहिस्कार गरेको थियो।

मल्ल समूहले अधिवेशन बहिस्कार गरेपछि देउवा समूहले प्रहरी परिचालन गरि जिल्ला अधिवेशन सम्पन्न गरेका थिए। त्यहाँबाट झन विवाद् झन उत्कर्षमा पुगेको थियो।
तत्कालीन समयका जिल्ला सभापति मल्ललाई समेत जानकारी नदिई जिल्ला अधिवेशन सम्पन्न गरेकाले आफूहरुमाथि ठूलो अन्याय भएको मल्ल समूहका नेताहरुको गुनासो रहेको छ।

देउवाले गन्यापधुरा गाउँपालिका–१ का १६ जना क्रियाशील सदस्यको नाम हटाएर देउवापुत्र जयवीरसिंह देउवासहित १० जनाको नाम थपेर वेबसाइटमा सार्वजनिक गरेका थिए।

अन्य स्थानमा हटाइका क्रियाशील सदस्यहरुमा मल्लकी आमा पार्वतीदेवी मल्ल, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका-९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्टलगायतका छन्।

नरबहादुर पाल १२ औं र १३ औं महाधिवेशनबाट लगातार दुई कार्यकालसम्म वडा सभापति रहेर पार्टीमा काम गरेका व्यक्त हुन्। अचम्म छ भने उनले हस्ताक्षर गरेर पठाएका एक सय ५ जनाले क्रियाशील सदस्यता आयो तर उनको नाम वेबसाइटमा आएन। त्यसपछि उनी आक्रोशित हुँदै बिरोधमा उत्रिएर कपाल मुण्डन गरेको तस्वीर सामाजिक सन्जालमा निकै भाइलर बनेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *