सिंगो स्थानीय सरकारमा एक दल !

डिसी नेपाल
३ जेठ २०७९ ११:०८
416
Shares

काठमाडौं। स्थानीय तह निर्वाचनको रोचक परिणाम आउँदै छ। हालसम्म तीन स्थानीय तहमा एक दलका उम्मेदवारहरू मात्र निर्वाचित भएका छन्। अन्य दलको स्थिति शून्य छ। अर्थात् एक दलले अन्य दललाई ‘क्लीन स्वीप’ गरिदिएकाे छ।

ती स्थानीय तहहरू हुन्, निस्दी र पूर्वखोला गाउँपालिका तथा भक्तपुर नगरपालिका।

नेकपा एमालेले निस्दी र पूर्वखोला गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै दुवै गाउँपालिकामा ‘क्लीन स्वीप’ गरेको हो।

पूर्वखोलाको अध्यक्षमा एमालेका नुनबहादुर थापा र उपाध्यक्षमा एमालेकै भागिरथि शर्मा ‘भट्टराई’ निर्वाचित भए भने ६ वटै अध्यक्षमा एमालेकै उम्मेदवारहरू प्यानलसहित निर्वाचित भए।

निस्दीमा पनि एमालेकै मुक्तबहादुर सारु अध्यक्ष तथा तिरनकुमारी श्रेष्ठ उपाध्यक्षमा निर्वाचित हुँदा गाउँपालिकाको सातै वडामा एमालेकै उम्मेदवारहरू प्यानलसहित निर्वाचित भएका हुन्।

गठबन्धन दलका उम्मेदवारहरूको घेराबन्दी तोडेर एमाले उम्मेदवारहरूले दुवै गाउँपालिकामा जितेका हुन्।

एमालेले अघिल्लो पटक देशका धेरै स्थानीय तहमा ‘क्लीन स्वीप’ गरेको थियो । प्रदेश १ को धनकुटाको सबै स्थानीय तहमा ‘क्लीन स्वीप’ गरेको थियो।

माओवादीले पनि रुकुम र रोल्पामा क्लीन स्वीप गरेको थियो । तर, यस पटक माओवादीले कहीँ पनि त्यसरी जित निकाल्न सकेको छैन।

संसद्‍मा एक सिट रहेको नेपाल मजुदर किसान पार्टीले भने भक्तपुर नगरपालिकामा यस पटक पनि क्लीन स्वीप गरेको छ। त्यहाँको नगर प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशीसँगै १० वटै वडामा उक्त पार्टीका सबै उम्मेदवारले फराकिलो मतान्तरसहित कांग्रेस, एमाले, माओवादीलगायत उम्मेदारहरूलाई पराजित गरेका हुन्।

अघिल्लो पटक पनि त्यहाँ उक्त पार्टीले क्लीन स्वीप गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.