तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कृषक

डिसी नेपाल
२६ भदौ २०७९ १४:४९
120
Shares

झापा। जिल्लाको उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। बुद्धशान्तिको वडा न १, ६ र ७ कृषकले व्यावसायिक तरकारी खेतीबाट नगद आम्दानी गर्दै आएका हुन्। यहाँका कृषकले खुर्सानी, गोलभेँडा, घिरौँला, बन्दा, करेला, धनियाँ, काँक्रो, सिमी, बोडी, कोपी, सागजस्ता तरकारीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन्।

टनेल विधिबाट खेती गर्दा मौसमी र बेमौसमी तरकारी दोब्बर उत्पादन हुने भएपछि किसान यसतर्फ आकर्षित भएका छन्। पहिले खुला स्थानमा तरकारी फलाउन नसकेका कृषकले टनेल प्रविधिमा खेती गर्न थालेपछि मनग्य उत्पादन गरिरहेका छन्।

यहाँका कृषकले बारीमा मकै, कोदो, धानखेतीको सट्टा तरकारीखेती गर्न थालेका हुन्। अन्नबाली छाडेर व्यावसायिक तरकारीखेती गर्न थालेका कृषकमा पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यता विपरीत स्वदेशमै राम्रो आम्दानी गर्न सकिने विश्वास पैदा भएको शान्तिनगरका रघुनाथ कोइरालाले बताए। उनले दुई बिघा छेत्रफलमा सब्जीखेती लाउँदै आएका छन्।

शान्तिनगरकै अर्का कृषक दलबहादुर राई परम्परागत तरिकालेभन्दा नयाँ विधिबाट गरिएको खेतीले किसानलाई फाइदा दिएको बताउँछन्। लागत घटाउन, उत्पादन बढाउन र रोग किराको समस्याबाट बच्न टनेलभित्र ‘हाइटेक’ प्रविधि किसानले प्रयोग गर्न थालेका छन्। स्थायी संरचनाको प्लास्टिकको टनेल बनाएर बिरुवाको जराजरामा आवश्यकताअनुसार सिँचाइ हुने थोपा सिँचाइ प्रविधि जडान गरिएको छ।

थोपा सिँचाइ प्रविधिमार्फत बिरुवाको जरा जरामा पाइपमार्फत बिरुवालाई आवश्यकपर्ने पानी र खाद्य तत्व आपूर्ति गराइन्छ। सुधारिएको गोठ निर्माणले बस्तुभाउको मूत्र पनि सदुपयोग हुने गरेको बाहुनडाँगीका कृषक प्रदीप भण्डारी बताउँछन्।

उत्पादन भएको तरकारी बिक्रीका लागि समस्या नभएको बुद्धशान्ति– ६ का तरकारी कृषक राजेन्द्र भट्टराईले बताए। यहाँ उत्पादित सब्जी झापाकै बिर्तामोड, दमक, धुलाबारी, काँकडभित्तालगायत बजारमा बिक्री हुने गरेको भट्टराईले बताए। तरकारी बेचेर एक सिजनमा करिब रु एक लाखदेखि डेढ लाख आम्दानी हुने गरेको भट्टराईले बताउनुभयो । यस ठाउँका प्रायः सबै कृषकले बेमौसमी सब्जीखेती लाउने गरेका छन्। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.