कच्चा पदार्थ अभावले हलेदोबाट तेल निकाल्ने उद्योग सकंटमा

डिसी नेपाल
१२ असोज २०७९ १४:४२
168
Shares

लमजुङ। सुगन्धित तेल प्रशोधन गर्न लमजुङकाे सुन्दरबजारमा स्थापना भएकाे आदेय प्रशोधन केन्द्र हलेदो अभावले संकटमा परेको छ। हलेदो (कच्चा पदार्थ) बाट तेल निकाल्ने गरी स्थापना भएको उद्योग नेपालकै पहिलाे हो। यस उद्योगले हलेदोलाई वाष्पिकरण विधिबाट ताप दिई तेल उत्पादन गर्दै आएकाे छ।

हलेदोबाट तेल उत्पादन गर्न पानी र दाउरा प्रयोग गरिन्छ। पानी र दाउराको सहज आपूर्ति भए पनि मुख्य कच्चा पदार्थ हलेदो नपाएका कारण उद्योग सकंट परेको हो। कच्चा सामग्री सरल र सुपथ मूल्यमा पाउने आशामा सञ्चलनमा ल्याइएको उद्योगलाई आवश्यक मात्रामा हलेदोको आपुर्ति हुन नसकेको आदेय उद्योगका संचालक परमेश्वर अधिकारीले बताए।

उनले भने, ‘पर्याप्त कच्चा पदार्थ उपलब्ध नहुँदा बाहिरबाट ढुवानी गरेर ल्याउदा महङ्गो पर्ने भएकाले उद्योगलाई राम्रोसँग सञ्चालन गर्न सकिएको छैन। यो उद्योगबाट उत्पादन हुने तेलको बजार अमेरिकामा मात्र छ।’ हालसम्म अन्य देशका बजारमा जोडिन पाएको छैन। यस उद्योगले भविष्यमा अर्गानिक बेसार (पाउडर) उत्पादन गरी यूरोप अमेरिकी कम्पनीमार्फत बिक्री बितरण गर्ने र देशभित्र पनि अनुशन्धान गरी विभिन्न औषधि उत्पादन गर्ने लक्ष्य लिएको संचालक अधिकारीले बताए।

जीविकोपार्जन, उद्यमशीलता विकासका क्षेत्रमा काम गर्दे आएको संस्था च्वाईस ह्युमेनेटियन नेपालले बाँझो जमिनको उपयोग गरी रोजगारीको बढाउन सकिने र आयआर्जनको अवसर वृद्धि हुने सुझाब दिएपछि, यो उद्योगको स्थापना भएको आदेय उद्योगका संचालक अधिकारीले बताए। उनले भने उत्पादनलाई बजारसँग जोड्दै गाउँघरमा आयआर्जनमा सहयोग पुर्याउनु उद्योगको प्रमुख उद्देश्य हो।

याे उद्याेग ०७५ सालमा स्थापना भएकाे हाे। ७० लाख रुपैयाँ लगानी भइसकेको अधिकारीले बताए। उद्योगमा वासिङ मेशिन, बोइलर मेशिन, डिस्टिलरी मेशिन, कटिङ मेशिन प्रयोग गरी हलेदोबाट तेल उत्पादन गरिन्छ। नेपालमा अन्य ठाउँमा विभिन्न किसिमका सुगन्धित तेल उत्पादन गर्ने उद्योग भए पनि हलेदोबाट तेल उत्पादन गर्ने आदेय पहिलो उद्योग भएको प्राविधिक सल्लाहाकार छवी काफ्लेले बताए।

वर्षभरी तेल उत्पादन गर्ने गरी कच्चा पदार्थ प्राप्त भएको अवस्थामा यो उद्योगले आठ सय लिटर तेल उत्पादन गर्न सक्छ। तीन सय टन हलेदोको खपत गर्न सक्छ। यसका लागि ५४ लाख रुपयाँको कच्चा पदार्थको आवश्यक पर्छ। यो उद्योगलाई नियमित सञ्चाचालनका लागि हलेदो भण्डारण गर्नका लागि भविष्यमा एक चिस्यान केन्द्र निर्माण गर्नुपर्ने सञ्चालक अधिकारी बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.