समयमै काम नगर्ने ठेकेदारलाई कारबाहीको तयारी

डिसी नेपाल
२४ फागुन २०७९ १३:०९
36
Shares

विराटनगर। कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पत्र नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने भएको छ। मन्त्रालयले पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई सो चेतावनी दिएको हो।

काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री दुर्गाप्रसाद चापागाईंले पुँजीगत खर्च बढाउन र रोकिएका काम सम्पन्न गर्न आग्रह गरे। उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम तत्कालै गरिने तर निर्माण कम्पनीले पनि सोही अनुसारको काममा तीव्रता बढाउनुपर्छ भने।

उनले भने,“काम गर्ने जिम्मा तपाईँहरुको हो । निर्माण कम्पनीको समस्या हामीले पनि बुझेका छौँ। तर, सम्झौताअनुसार काम गर्ने त फेरि पनि तपाईँहरुकै हो। मन्त्री भएर मन्त्रिपरिषद् बैठकमा ठेकेदारको निर्माण अवधि बढाउन भन्दै फाइल बोकेर म जान्न।”

सचिव मोहनराज चापागाईंले विभिन्न बाहनामा काम रोक्न नहुनेमा जोड दिए। उनले भने, “मैले अघिल्लो आर्थिक वर्षमा १०० भन्दा बढी आयोजनाको समयावधि थप गरे। अहिले भने केही फायल रोकिएको छ। म्याद थप्नुपर्ने कारण के हो ? जहिले पनि कोभिड ? पानी पर्‍यो भनेको छ। यो त जहिल्यै आउने कुरा हो नि।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.