आर्थिक साझेदारी अभिवृद्धिका लागि सीमापार कनेक्टिभिटी अत्यावश्यक : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मुलुकसँगको आर्थिक साझेदारी अभिवृद्धिका लागि सीमापार कनेक्टिभिटी अत्यावश्यक रहेको बताएका छन्।
नेपाल उद्योग परिसंघ र अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चाइना काउन्सिलले काठमाडौँमा आयोजना गरेको नेपाल-चीन व्यापार मञ्चको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सीमापार कनेक्टिभिटीको आवश्यकतालाई ध्यानमा राखेर सरकारले नेपाल-चीन सीमानाका पूर्वाधार सुधार, सीमानाकामा परीक्षण र मान्यताका लागि पूर्ण सुविधा सम्पन्न प्रयोगशाला स्थापना गर्ने र बिभिन्न स्थानमा बन्दरगाह निर्माणलाई तीव्रता दिएको बताए।
नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेको गरेको भन्दै उनले प्रत्यक्ष विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन र संरक्षण गर्ने जिकिर गरे । उनले लाभदायक क्षेत्रहरु जलविद्युत, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानी लगायतमा लगानी गर्न आह्वान गरे।
प्रधानमन्त्री प्रचण्डले नेपालको कानूनले लगानीबाट कमाएको आम्दानीको पूर्ण फिर्तीलाई अनुमति दिने र नेपालमा दर्ता भएका विदेशी कम्पनीहरूले जग्गा खरिद, स्वामित्व र बिक्री गर्न सक्ने भएकाले लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको बताए।
उनले नेपालमा लगानी गर्न चाहने चिनियाँ कम्पनीहरूलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए । सीमापार रेलवे र प्रसारण लाइनहरूको सम्भावनाले आगामी वर्षहरूमा दुईदेशको आर्थिक सम्बन्धलाई उल्लेखनीय रूपमा सुधार गर्न मद्दत गर्ने उनको विश्वास छ।







डिसी नेपाल







Facebook Comment