शुभकामना युएन दिवसलाई

बाबुकृष्ण कार्की
८ कार्तिक २०८१ ७:४७
248
Shares

आजपनि करिव ९ सय शान्ति सैनिक ईजरायल पारी लेवनानमा बंकरभित्र कष्टकर जीवन बिताइरहेका छन्। ती सैनिकलाई युएन म्याण्डेट्, युएन आचारसंहीता, युएन सुरक्षा ड्रिल, युएन नेगोसिएसन, युएन निर्देशन, युएन रिपोर्टिङ सास फेर्ने फुर्सद छैन। घर परिवार सम्झन समय छैन।

तर नेपालमा तिनका हजारौं परिवारजन, नातागोता, इष्टमित्र पीडाले तड्पिरहेका छन्। युद्ध मैदानमा भन्दा शान्त घरमा दश गुना धेरै पिर।
पंक्तिकारलाई सन् १९९०-९१ को लेवनान बंकरको याद आयो।

इराकले इजरायलमाथि गरेको रकेट आक्रमण हाम्रा बंकर वरिपरी पड्किन्थे। हामी रसायनिक हतियार प्रयोगबाट बच्न झ्याल ढोकामा टेप लगाएर हावा छेकेर आकाशमा रकेट गन्दै समय बिताउँदथ्यौं। १ दिन १ वर्ष लामो जस्तो। १ रात सय वर्ष बराबर त्रासदी र पीडादायी।

गणेश कार्की, र मलगायत मिसन अवधिभर अति संबेदनशील क्षेत्रमा तैनाथ थियौ। शायद साहसिक र वलवान भनेर होला। इजरायलमाथि रकेट फायर गर्न आउने हतियारधारी समूहसँग हामीले गुत्थम्गुत्था लडाई गुर्नपरेको थियो। रकेट फायर रोक्नलाई। निःशस्त्र गर्नलाई।

निस्वार्थ र पवित्र मन तथा तटस्थ चरित्रका नेपालीहरुले भावुक र ब्यवहारिक भै गरेको नेगोसिएसन सवैलाई स्वीकार्य हुन्थ्यो। ३५ वर्ष अगाडि ब्लु हेलमेट् र युएन झण्डाको महत्व, मान, शान कति धेरै थियो।

आज युएनलाई ताली होइन गालीको पहिरो छ। हिजोको शक्तिशाली युएन आज चौतर्फी आक्रोशको निशानाबाट गुज्रिरहेको छ।
आज, विश्वभरी अतिवाद अहंकार र हतियार उन्माद हावी भएको डरलाग्दो परिदृश्य छ।

युरोप, अफ्रिका, मध्यपूर्वमा युद्धले गरेको नरसंहार र क्षति कहालिलाग्दो छ। एशिया र दक्षिण अमेरिकामा तनाव बढ्दो छ। तेश्रो विश्व युद्धको कालो बादल मडारिरहेको स्पष्ट देख्न सकिन्छ। विश्व तीव्र ध्रुवीकरणको प्रक्रियामा छ।

पंक्तिकारको लागि तेश्रो विश्वयुद्ध प्रारम्भ भइसकेको छ। त्यो हो जलवायु युद्ध, जुन ज्यादै ब्यापक र बहुआयामिक छ। आकाश देखि पातालसम्म। समुद्रदेखि मरुभूमिसम्म। सर्वत्र।

पृथ्वीसँग थप युद्धभार ग्रहण र सहन गर्ने क्षमता छैन। तर, अतिवाद र अहंकारले युद्धको विकल्प रोजेको देखिन्छ। यी परिदृश्यको अध्ययन विश्लेषण गर्दा युएनको औचित्य र महत्व झन् धेरै बढेको छ। यसलाई कमजोर निरीह बनाएर होइन झन् शक्तिशाली अभिभावक बनाएर पुनर्जीवन दिन जरुरी छ। पुर्नसंरचना गरेर किन नहोस्।

युद्ध उन्माद् र जलवायु अन्याय गर्ने ठूला विकसित शक्तिशाली राष्ट्रहरु भएको हुनाले विपन्न स-साना असंग्लग्न राष्ट्रहरुको नयाँ ध्रुवीकरण जरुरी छ। जलवायु युद्ध र तेश्रो विश्व युद्ध दुवै रोक्नको लागि। जलवायु न्यायका लागि। युएनलाई रक्षाकवच प्रदान गर्नका लागि।

नेपाल-युएन सुमधुर सम्वन्ध, विश्वशान्तिमा नेपालले पुर्‍याएको विशेष र सर्वोत्कृष्ट योगदानको चर्चा गर्दै नेपाल र नेपालीहरुको मन मुटुको मन्दिर युएनलाई उच्च सम्मान दर्शाउन यो आलेख पस्किएको छु।

युएनको योगदान

दोश्रो विश्व युद्ध पछिको अस्तब्यस्त र ध्वस्त पृथ्वीको कल्पना गरौं। मानवता हराएको रक्तपातपूर्ण पृथ्वीलाई छिटो उठाएको र मानवता भातृत्व सद्भाव सहयोग जागृत गरेर आजको सुन्दर सहअस्तित्वको वातावरण निर्माण गर्न युएनले पुर्‍याएको त्याग र वलिदान साच्चिकै तारिफयोग्य र कदरयोग्य छ। तेश्रो विश्व युद्ध टरेको ८ दशक भयो, त्यसको श्रेय युएनलाई किन नदिने।

जलवायु युद्धको अग्रीम सूचना र जनाउ दिएर पृथ्वी रक्षा गर्न विश्व समुदायको ध्यानाकर्षण गर्ने युएनको पवित्र अभियान कार्वन उत्सर्जन गर्ने ठूला विकसित राष्ट्रलाई अपाच्य होला। तर युएनको त्यो पवित्र अभियान कहिल्यै कसैले झुटो सावित गर्न सक्दैन।

विश्व शिक्षा, स्वास्थ्य, खाद्यान्न, पिउनेपानी, रोजगार, गरिबी र विभेद उन्मुलन तथा वातावरण र मानव अधिकारका क्षेत्रमा युएनले पुर्‍याएको योगदान विशिष्ट छन्।

विश्व शान्ति स्थापनाको क्षेत्रमा युएनले नेपाललाई गरेको विश्वास र दिएको अवसर अद्वितीय रहिआएको छ। नेपालले पनि युएनलाई आफ्नो मन मन्दिर मानेर निष्ठापूर्वक अन्तस्करणदेखि सकेको सहयोग मात्र होइन त्याग र वलिदानी दिँदै आएको छ।

नेपालको योगदान

६६ वर्ष अघि सन् १९५८ मा सानो मिसनबाट प्रारम्भ गरेको शान्ति स्थापना अनुभवलाई नेपाली सेनाले माझ्दै टल्काउदै यो पवित्र सेवालाई बिशिष्टीकृत गरेर आज विश्वभरी फैलाएको छ।

हाल ११ वटा मिसनमा ६५१ महिलासहित ५९१८ शान्ति सैनिकहरु खट्टिरहेका छन्। हालसम्म ४४ मिसनमा खट्टिने शान्ति सैनिकको संख्या महिला सैनिक २८०३ समेत गरेर १,५३,६५४ पुगिसकेको छ। ती सबै युएनद्वारा सम्मानित विश्व शान्ति दूत हुन्।

८ जना रथीबृन्दले उच्च ओहोदामा रहेर निभाएको भूमिका कदरयोग्य र गर्वयोग्य रह्यो। ज्यादै योग्य, दक्ष, नैतिकवान, स्वाभिमान, ब्यावशायिक ती फोर्स कमाण्डरहरुले कुशल नेतृत्व प्रदान गरेर मुलुकको नाम मान सान चम्काउन विशिष्ट योगदान पु¥याए। निजामती र अन्य सुरक्षा निकायहरुको योगदान उस्तै तारिफयोग्य रह्यो।

यो पवित्र तर जोखिमपूर्ण योगदानमा ७३ जना सैनिकहरुले वीरगति प्राप्त गरे। कर्तब्यपालनमा ६९ जना घाइते भए। विभिन्न उतार चढाव र चुनौतीका बावजुद नेपाली सेनाले यो र अर्को उस्तै जोखिमपूर्ण प्रकृति संरक्षणको जिम्मेवारीलाई उच्च प्राथमिकतामा राखिरह्यो।

द्वन्द्वमा समेत यी महत्वपूर्ण जिम्मेवारीमा सम्झौता भएन। जिम्मेवारीलाई दृढ संकल्पका साथ संस्थागत गर्दै जादा आज सानो देश नेपाल युएनलाई शान्ति सेना खटाउने पहिलो ठूलो देशमा बढुवा भएको छ।

नेपालले द्वन्द्व लगत्तै पछाडि संक्रमणकालमै लगातार ५ वर्ष शून्य सिकार उपलब्धि हासिल गरेर प्रकृति संरक्षणको क्षेत्रमा उत्कृष्ट र चामत्कारिक नतिजा हासिल गरेको थियो। स्वदेश भित्रकै यो जोखिमपूर्ण जिम्मेवारीमा नेपाली सेनाका १३० सैनिकहरुले जीवन बलिदानी दिइसेकेका छन्।

युएन र विश्व समुदायले मुक्तकण्ठले तारिफ गर्ने नेपाली सेनाको अर्को पवित्र जिम्मेवारी प्रकृति संरक्षण हो। वर्तमान युएन महासचिवले यो जिम्मेवारीको खुलेर प्रशंसा गरेका थिए।

विश्व शान्ति मिसनका फाइदाहरु

अनगिन्ती फाइदाहरु मध्ये मुख्यलाई बुँदागत रुपमा प्रश्तुत गर्दा-

शान्ति सेना नेपालको असंग्लग्न परराष्ट्र नीतिको विम्ब हो। ब्यवहारमा तटस्थताको अग्नि परीक्षा हो। नेपालको परराष्ट्र नीतिको विश्व प्रचार प्रसार र सम्मानमा शान्ति मिसनहरुले अतुलनीय भूमिका निर्वाह गरेका छन्।

गोर्खालीले जस्तै द्वन्द्वग्रस्त क्षेत्र र युद्धमा शान्ति सेनाले प्रदर्शन गरेको वीरता, धीरता, सहनशीलता, सहिष्णुता, इमान्दारिता, लगनशीलता, जवाफदेहीताले नेपालको विशिष्ट चरित्रलाई विश्वमञ्चमा ब्यापक प्रचार प्रसार गर्न अपूर्व अवसर जुट्यो।

मुलुकको नाम मान सान र छवि विश्वभरि फैलियो। रेमिट्यान्समा सेतो विशुद्ध विदेशीमुद्रा हुण्डीमार्फत होइन सोझै बैंकमा जम्मा हुने पारदर्शी अर्थ टेवा भन्नै परेन।

त्यसको अलवा त्यही पसिनाको थैली कल्याणकारी कोषबाट संचालित शिक्षा, स्वास्थ्य, शीप अभिबृद्धि र रोजगारका अवसरहरुको राष्ट्रिय योगदानबाट लाभान्वित सैनिक र गैरसैनिक नेपालीहरुको संख्या उल्लेखनीय छ।

शान्ति मिसन विश्व समुदायको धर्म-संस्कृति, संस्कार, भूगोल, वातावरण, राजनीति, अर्थनीति, कुटनीति, सुरक्षानीति चिन्ने जान्ने अपूर्व अवसर हो। बहुराष्ट्रिय सेनासंगको सम्पर्क सम्वन्ध समन्वय सहकार्यको सुवर्ण अवसर हो।

विवाद, द्वन्द्व, युद्धका कारण परिणाम पहिल्याउने र शान्ति प्रयास लागु र अनुगमन गर्ने दुर्लभ मौका हो।

शान्ति मिसन पंक्तिकारको लागि साहस, सहिष्णुता, धैर्यता, लचकता, तनाब ब्यवस्थापन क्षमता अभिवृद्धि एवम् बहुज्ञान, वहुशीप र अमूल्य अनुभव आर्जन गर्ने सजीव विश्वविद्यालय हो।

किन लोकप्रिय नेपाली सेना?

अति अनुशासित र कर्तब्यपरायण। दिएको जिम्मेवारी पूरा गरि छाड्ने एकाग्रता र दृढ संकल्प। जोखिममा नाइनास्ती नगरी हामफाल्ने तत्परता (बहादुरी)। सुबिधा, माग, शर्त, नतेर्साउने सरल र ज्ञानी स्वभाव।

राजनीतिक सुझबुझ झुकाव नभएको अराजनीतिक र तटस्थ चरित्र। पेशालाई ईश्वर मानेर पूजा गर्ने ब्यावशायिक धर्म। कसैको पक्ष विपक्ष मोलाहिजामा नपरी युएन म्याण्डेद् (नुन) को सोझो गर्ने सुन्दर स्वभाव।

युएन विशेषज्ञको शब्द सापटी लिदा नेपाली जस्तो न्यानो मायालु सर्वस्वीकार्य मुटु पृथ्वीमा पाउन कठिन छ। मुटुहरु चिसो भइसके र मानवता हराइसक्यो। जव कि नेपालीहरुको मुटु ज्यादै न्यानो र मायालु छ। मानवताभाव उच्च छ।

मिसन एरियामा विवाद लम्बिँदा अन्तिम नेगोसिएसन गर्न नेपाली जानुपर्दछ। किनभने उनीहरु मुटुदेखि सवैलाई वरावर माया गरेर निष्पक्ष भै विवाद सल्टाउन जान्दछन्।

जव कि कतिपय देशका सैनिकहरु क्षेत्र, देश, रङ बर्णले तिरस्कार हुन्छन्। धेरैले सेता छाला अथवा पश्चिमाहरुलाई अमेरिकन भन्ठान्छन्। युएनलाई अमेरिकन घोडा ठान्छन्। इगोको लडाइमा बिबाद सल्टाउने र नेगोसिएसनलाई निष्कर्षमा पुर्‍याउने काममा नेपालीहरुको विशेष खोजाई र रोजाइ हुन्छ।

नेपाली सेनाको पाचखालस्थित शान्ति तालिम केन्द्रको स्थापना र उत्कृष्ट तालिम तथा अभ्यास विश्वमै नमूना मानिन्छ। क्षमता अभिवृद्धिमा त्यो तालिम केन्द्रको योगदानले शान्ति सेना झन् परिस्कृत र विशिष्ट भएको छ।

सुनमा सुगन्ध

विशेष समारोहमा, मेडल परेडमा अथवा ठूल्ठूला घटना दुर्घटनामा अन्य राष्ट्रका राष्ट्र र सरकारप्रमुख, परराष्ट्रमन्त्री, रक्षामन्त्री मिसन एरियामा आएर शान्ति सैनिकहरुसँग हात मिलाउँदा ती सैनिकहरुको छाती गर्वले पुकलित हुन्थ्यो। हाम्रो पनि त्यस्तो भए हुन्थ्यो भनेर हामीले प्रार्थना गरेको दशकौं बित्यो। तर त्यो असल अभ्यास कार्यान्वयनमा नआउनुको रहस्य कहिले समझमा आएन।

मिसन निरीक्षण र अनुगमनमा जाने रक्षा अधिकारी र संचारकर्मीहरुले उहाँहरुलाई बुझाउन नसकेकोले हो वा मिसन एरियामा जाने उहाँहरुको उत्सुकता तत्परता नभएको हो भगवान जानून।

अरु मुलुकहरुले युएन सरह भत्ता थपिदिने अथवा आ-आफ्नो औगात अनुसारको अतिरिक्त भत्ता दिने सहुलियत नेपालमा कहिले होला भनेर हामीले समृद्धिको प्रार्थना गरिरह्यौं।

सरकारले शान्ति मिसनलाई परराष्ट्र सम्बन्ध र सवल अर्थतन्त्रको सेतु नमानेर कमाउने लाहुरे मिसनको रुपमा हेरिदिनु दुर्भाग्य थियो।

विश्व शान्तिमा विशिष्ट योगदान पुर्‍याएर मुलुकको छवि चम्काएजस्तै राष्ट्रिय राजनीति, राष्ट्रिय कुटनीति, आर्थिक विकासले छलाङ मारेको भए विश्व मानचित्रमा नेपाल हीराको स्वर्ग भइसक्ने थियो।

मुलुकमा सन् २०२३ मा २ जना अण्डर सेक्रेटरी जनरल अतुल खरेल र जिन पेरे तथा सक्रेटरी जनरल एन्टोनियो गुटरेसको भ्रमण भयो। नेपालको माया, महत्व, प्राथमिकता कति धेरै छ ती भ्रमणले प्रमाणित गर्दछ।

विडम्बना सरकारी अधिकारीहरुले ती भ्रमणलाई शान्ति मिसन बढाउने चम्काउने अवसरमा रुपान्तरण गर्न सकेनन्। न पूर्व तयारी, न विषयवस्तुको ज्ञान। अन्टटन्ट असान्दर्भिक कुरा गरेर यी भ्रमणको बिट् मारेको हेर्दा देख्नेलाई लाज भयो।

विश्व शान्तिको यो अपूर्व अवसरलाई उच्च प्राथमिकता दिएर मिसनको अपनत्व र स्वामित्व सरकारले स्वस्फूर्तरुपमा सगौरव लिने हो भने सुनमा सुगन्ध हुने थियो।

शान्ति सैनिक खटाउने पहिलो ठूलो राष्ट्र नेपाललाई युएन लगायत अमेरिका र शक्ति राष्ट्रहरुले महासभामा कति ठूलो सम्मान दिए, पूर्व र वर्तमान प्रधानमन्त्रीले महशुस गर्नु भएकै छ। सफलताको यो विन्दुसम्म पुर्‍याएको पहिलो राष्ट्रको दर्जा र गरिमालाई निरन्तरता दिन अव सरकार प्रमुख स्वयम्ले स्वस्फूर्त पहलकदमी लिनु वान्छनीय हुनेछ।

सुझाव

करिव ७ दशक लामो शान्ति योगदानको समय र शान्ति सेना खटाउने पहिलो ठूलो राष्ट्र नेपालको फौज र त्यागको अनुपातमा उच्च तहको नियुक्तिहरु ज्यादै न्यून भयो। यसमा राष्ट्रिय लविङ, संस्थागत ट्रेनिङ गु्रमिङ जेष्ठ भन्दा युएनको मापदण्ड भित्र छिर्ने, युएनले खोजेको रोजेको मागेको अथवा युएन स्वीकार्य योग्य दक्ष प्रतिश्पर्धी उम्मेदवारलाई सिफारिस गर्ने असल अभ्यास हुन जरुरी छ।

आशा गरौं युएन मिलिटरी एड्भाइजरमा पर्याप्त तयारी र लविङ हुनेछ र त्यो महत्वपूर्ण पद नेपालको भागमा पर्ने छ।

पुराना खम्बा फोर्स कमाण्डरहरुले बनाई दिएको जगमा उभिएको छ आजको सफलताको शिखर। उस्तै काविल र गर्वयोग्य थिए गैरसैनिक उच्च नेतृत्वहरु। राष्ट्रिय राजनीति स्थिर हुने हो र त्यागी राष्ट्रिय नेतृत्वले स्थायी सरकारमार्फत सुशासन दिने हो भने नेपालले महासचिव पदको लागि लविङ गर्न सक्दथ्यो। आशा गरौं त्यो सर्वोच्च पदमा एकदिन स्वाभिमान नेपालीको आसन ग्रहण हुनेछ।

शान्ति सेनालाई श्रोत साधन सम्पन्न बनाउने, आधुनिक प्रविधिले सुसज्जित गर्ने र प्रतिरक्षा प्रतिकार्य प्रतिकार गर्न सक्षम सवल बनाउने काममा राष्ट्रिय ध्यान जान जरुरी छ। नेपाली सेनाले धार लगाएको हीरा फौजलाई विश्व मञ्चमा नांगै होइन सुसज्जित बनाएर पठाउने काम नेपाल गौरव हो।

अबको शान्ति सेनाले बंकर कुर्ने लुक्ने शान्ति सेना होइन, विद्रोही र आक्रमणकारीहरुलाई रोक्ने, पछि हटाउने, निःशस्त्रीकरण गर्ने स्ट्राइकिङ फोर्सको माग गर्दछ, र हामीले त्यस्तो फोर्स तयार पारेर पठाउनुपर्दछ।

महिला सैनिक बढाएर ५० प्रतिशत पुर्‍याउने युएन अभियानलाई हामीले स्वागत सहयोग गर्दै त्यो अनुपातमा अनिवार्य महिला सैनिक पठाउने तयारी गर्नुपर्दछ।

यो पवित्र र महान जिम्मेवारीमा निखार ल्याउन र क्षमता अभिवृद्धि गर्न सरकारले युएन विशेषज्ञहरुको टास्क फोर्स बनाएर सरकारी उच्च प्राथमिकतालाई अभिब्यक्त गर्नु विश्वको लागि सुखद् र गौरवशाली सन्देश हुन सक्दछ।

वागमती किनारमा नदी अतिक्रमण गरेर एनजिओ आइएनजिओले वनाएको युएन पार्कले युएन र वागमती दुवैको खिल्ली उडाईरहेको छ। त्यो राष्ट्रिय वदनाम र अपमान हो।

प्रकृतिको धनी देश नेपालले लुम्विनी वा पोखरा वा राजधानी नजिक नगरकोट, धुलिखेल, फुलचोकी वा गोदावरीमा विश्वकै ध्यानाकर्षण गर्ने युएन पार्क बनाएर युएन र शान्ति सहीदहरुलाई उच्च सम्मान किन नदिने ?

नेपाली सेनाले भब्य र सभ्य रुपमा मनाउदै आएको युएन डे ले राष्ट्रिय समारोहको रुप लिएको छ। युएन र शान्ति सहीदहरुलाई उच्च सम्मान दर्शाउने कति सुन्दर र गौरवशाली समारोह।

यो शान्ति हीरा दिवसलाई आकासमा हेलिकोप्टर उडाएर अशान्त पार्दै दुनियालाई देखाउन जरुरी छैन। र, जरुरी छैन हेलिकोप्टरको पुष्पबृष्टि, झण्डोत्तोलन र सलामी कुनैपनि दिवसहरुलाई। गणतन्त्र प्रति आक्रोस वढाउने गरेर महँगाे र दुर्लभ साधन गणतन्त्रमा किन यति धेरै खेलौना भइरहेको छ, सेनाले निर्मम भएर त्यो दुरुपयोग रोक्न जरुरी छ।

अन्त्यमा, परिवर्तित विश्व परिवेशमा युएनको महत्व र औचित्य झन् बढेको छ। विकल्पको अहंकारी कल्पना र अभ्यास निरर्थक छ। जलवायु युद्ध जारी छ र तेश्रो विश्व युद्धको विगुल बन्द बाकसबाट निस्किसकेको छ र फुक्न मात्र बाँकी छ।

यो भयावह परिदृश्यमा नेपालले राष्ट्रिय मेलमिलाम, राष्ट्रिय एकता, राष्ट्रिय शान्ति र सुशासनको प्रतिवद्धता जाहेर गर्दै विश्व शान्तिको विगुल फुक्न जरुरी छ। डष्टविनको शान्ति क्षेत्र प्रश्तावलाई ब्यवहारबाट ब्युँताउन सकिन्छ।

र, जलवायु युद्ध रोक्न प्रकृति संरक्षणको संकल्पलाई राष्ट्रिय प्राथमिकता राष्ट्रिय आदर्श वनाउन सकिन्छ। प्रविधियुक्त श्रोत साधन सम्पन्न शान्ति सेना अझ बढाउने, उच्च नियुक्तिहरुको लागि राष्ट्रिय लविङ गर्ने र विश्व शान्तिलाई अपूर्व योगदान पुर्‍याइरहने हाम्रो संकल्प राष्ट्रिय हितमा हुने छ। राष्ट्रिय गौरव बढ्ने छ।

नेपाल-युएन सम्बन्ध युग युगसम्म अटल अमर रहोस्। र, युएनको गरिमा र महिमा सूर्य चन्द्र जस्तै चम्किरहोस्। हार्दिक शुभकामना छ संयुक्त राष्ट्र संघको यो वार्सिकोत्सवलाई।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.