प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जनताले जानकारी पाउनुपर्छ : डा. दिक्षित

डिसी नेपाल
३ भदौ २०७६ १५:१२

काठमाडौं। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले बहुमत ल्याएको र मोदी नेपालको असल मित्र भएकोले उनको मित्रतालाई नेपालले समात्न सक्नुपर्ने बताएका छन्।

मंगलबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा दिक्षितले नेपाल र भारत दुवैले एक आपसको हित हेर्नु पर्ने बताए।  भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउन लागेकोले उनको भ्रमणको बेला नेपालले भीख माग्न नहुने दिक्षितको सुझाव छ। उनले भने, ‘आजसम्म भएका सम्झौताहरु के कति कारणले कार्यान्वयन भएनन्? यी विषयमा गम्भिर समिक्षा हुनुपर्छ ।’ उनले संयुक्त बैठकमा हाईड्रोदेखि ईरिगेशनसम्मका कुरा अघि बढ्नुपर्ने पनि धारणा राखे।

उनले बाढीले नेपाल र भारत दुवै देशका जनता पीडित बनेको सुनाउँदै यो समस्याको दिर्घकालिन समाधान खोज्नुपर्ने बताए। उनले भने, ‘दुवै देशका जनतालाई हित हुने कुरा गर्नुपर्छ । खुल्ला सिमानाका समस्या छन्। कष्टममा नेपाली जनतालाई दुःख दिने काम भएका छन्। दशैं आउन थालेको छ। नेपालीहरुको बोर्डरमा सामान लुट्ने, पैसा लुट्ने काम भएका छन्। त्यसैले विहार, युपी, बंगालमा नेपालीहरुले दुख नपाउन्।’

दिक्षितले भारतले कश्मिरमा चालेको कदमबारे नेपालले कुरै नगर्ने भनेर परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले अभिव्यक्ति दिएको भन्दै त्यसमा आपत्ति जनाए। उनले भने, ‘भारत नेपालको गाढा मित्र हो। हामी ओपन हुनुपर्छ । यस्तो मामिलामा कुरै गर्दैनौं भन्नु गलत हो।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिटलरको संज्ञा दिँदा त्यो गलत हो भनेर नेपालले भन्न सक्नुपर्नेथियो भन्ने उनको भनाइ थियो। दुवै देश सार्कको सदस्य राष्ट्र भएकोले यो क्षेत्रमा शान्ति कायम गर्नु नेपालको पनि दायित्व रहेको दिक्षितले उल्लेख गरे। ‘तर, यस्तो विषयमा हामी बोल्दैनौं भनेर हाम्रो मन्त्रीले भन्नुभयो, हाम्रो मन्त्रीको जिब्रो पनि विचित्रको छ,’ उनले भने। भारतमा मोदी दोस्रो कार्यकालको लागि पाँच वर्षको प्रधानमन्त्रीको रुपमा आएकोले नेपालले भारतसँग ठूलो फाइदा लिनसक्ने उनको भनाइ छ।

फरक प्रसँगमा डा. दिक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको बारेमा नेपाली जनताले यथेष्ट जानकारी पाउनुपर्ने धारणा राखे। उनले भने, ‘केपी ओली दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री हो। उहाँ त सर्वेसर्वा हो। उहाँ विरामी भएर सिंगापुर जानुभयो। फेरि जाँदै हुनुहुन्छ । उहाँको स्वास्थ्यको बारेमा जनताले थाहा पाउनुपर्छ । उहाँ त पब्लिक टप मष्ट फिगर हो।’

दिक्षितले ओली नभए मुलुकमा अस्थिरता उत्पन्न हुनेपनि बताए। उनले भने, ‘उहाँको स्वास्थ्यको बारेमा विज्ञप्ति निकाल्नुपर्दछ। जनताले जानकारी त पाउनुपर्यो नि। हुन त उहाँ औषधीको मात्रा मिलाउन फेरि जान लाग्नुभएको भन्ने कुरा आएको छ। अहिले ईन्टरनेटको जमाना छ। भाइबर छ। यसबारेमा जानकारी चाहियो। उहाँको स्वास्थ्य अवस्थाबारे विज्ञिप्त चाहियो। यो त हाम्रो हकको कुरा हो। उहाँको पनि सूचना दिनु दायित्व हो। उहाँको अगाडिको भविष्य के हो ? यसबारेमा जानकारी नदिनु उहाको टिमको गल्ती हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *