ब्राजिलमा यात्रुवाहक बस बन्धक बनाउने व्यक्ति सुरक्षा कारबाहीमा मारिए

डिसी नेपाल
३ भदौ २०७६ २३:१०

एजेन्सी । ब्राजिलका सैनिक प्रहरीले रिओ दि जेनेरोमा एउटा यात्रुवाहक बस तीन घण्टासम्म कब्जामा लिने व्यक्तिलाई आफूहरूले मारिदिएको बताएका छन्।

एउटा ट्विटर सन्देशमा प्रहरीले एकजना निसानेबाजले बस अपहरणकर्तालाई मारिदिएपछि बन्धक बनाइएका व्यक्तिहरू रिहा भएको जनाएका छन्। यसअघि प्रहरीले उक्त बसलाई घेरा हालेका थिए। बन्धक बनाइएका कुनै पनि यात्रु घाइते नभएको प्रहरीले जनाएको छ।

रिहा

स्थानीय सैनिक प्रहरीका एकजना प्रवक्ताले ती अपहरणकर्तामाथि बसको ढोका छेउमा एकजना बन्धकको टाउकोमा हतियार जस्तो देखिने सामग्री तेर्साएर उभिएको अवस्थामा निसानेबाजले गोली चलाएको जनाकारी दिए।

उक्त व्यक्तिले बोकेको बन्दुक नक्कली भएको खुलेको छ। त्यसअघि नै बसका ६ जना यात्रुहरू रिहा भएका थिए। भिडिओ फुटेजमा रिहा हुने क्रममा एकजना बन्धक महिला बेहोस भएको देखिन्छ।

यसअघि हेलिकप्टरबाट लिइएका फुटेजहरूमा उक्त बस रिओलाई अर्को शहर नितेरोइसँग जोड्ने पुलको दुईवटा लेनको बीचमा रोकिएको देखाइएको थियो।

सैनिक प्रहरी, एम्बुलेन्सहरू र एउटा विशेष कारबाही दस्ताका सुरक्षाकर्मीहरू घटनास्थल पुगेका थिए।
त्यो बसमा एक दर्जनभन्दा बढी यात्रु सवार रहेको ठानिएको छ।

ब्राजिलका सञ्चारमाध्यमहरूले ती बन्धुकधारीले कुनै माग राखे या नराखेको प्रस्ट भइनसकेको जनाएका छन्। ती व्यक्ति स्थानीय समय अनुसार ५:३० बजे बसमा चढेको र उनले यात्रुहरूलाई चेतावनी दिएको बताइन्छ। एउटा समाचार वेबसाइटले एकजना यात्रुले पठाएको ह्वाट्स एप सन्देश सार्वजनिक गरेको थियो।

त्यसमा बन्दुकधारीहरूले यात्रुहरूका हात बाँधिदिएको र उनीसँग पेट्रोल भएको जर्किन र बन्दुक रहेको उल्लेख गरिएको थियो। यसअघि उक्त पुलमा अरू सवारीसाधनलाई गुड्नबाट पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो।

प्रहरीले अपहरणकारीसँग आफूहरूले कुरा गरिरहेको बताएका थिए।बिबिसीबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *