मृत्युको दोस्रो प्रमुख कारण स्ट्रोक र ब्रेन ह्यामरेजको उपचार ओपन ब्रेन सर्जरीबिना न्युरोइन्टरभेन्सनबाट सम्भव हुन्छ : डा. अरुण पौडेल
डा. अरुण पौडेल न्यूरो इन्टरभेन्सनिस्ट हुन्। उनले पाटन अस्पताल र नर्भिक इन्टरनेशनल हस्पिटलमा सेवा प्रवाह गर्दै आएका छन्। पौडेलले चिरफार नगरी मस्तिष्कको नसा सम्बन्धी समस्याको सजिलो, छिटो र सुरक्षित उपचार हुने न्यूरो इन्टरभेन्सन पद्धतिबाट उपचार गर्दै आएका छन्।
शल्यक्रिया विना हात या खुट्टाको नसाबाट तार (क्याथेटर) छिराएर समस्याग्रस्त मस्तिष्कको नसाको उपचार गर्ने प्रविधिलाई न्यूरो इन्टरभेन्सन सर्जरी भनिन्छ। बन्द भएको मस्तिष्कको नसा खोल्ने, नसा सुन्निएर फुटे बन्द गर्ने र नसा च्यातिएर ‘ह्यामरेज’ भए भित्रबाटै सिलाउन सकिने यो प्रविधिबाट नेपालमा पनि बिरामीले लाभ लिने गरेका छन्। स्ट्रोक केन्द्रित रहेर डिसी नेपालले डा. पौडेलसँग स्वास्थ्य संवाद गरेको छ।
नसाका बिरामीको संख्या पछिल्ला दिनमा बढ्दो क्रममा छ। डा. नेपालमा न्यूरोको जोखिम कस्तो छ?
नेपालमा पछिल्लो १०/१५ वर्ष यता न्यूरोको समस्या भएका मानिसको संख्या बढ्दो क्रममा छ। १० वर्षअघि मृत्युका प्रमुख कारण मध्ये न्यूरोको जोखिम पाँचौं स्थानमा थियो। अहिले मुटु रोगपछि मृत्युको दोश्रो कारण न्यूरो बनेको छ। जनचेतनाको अभावले न्यूरोका संक्रमित बढिरहेका छन्।
शरीरको महत्त्वपूर्ण भाग भनेको नसा हो। यसैमा समस्या देखिँदा मष्तिष्क घात, हृदयघातको जोखिम जोखिम हुन्छ। न्यूरोको जोखिमबाट कसरी जोगिन सकिन्छ?
हाम्रो ब्रेनलाई पावर हाउस भनिन्छ। शरीरका अंगहरू चल्ने ब्रेनबाटै हो। जसरी पावर हाउसमा मस्या देखिँदा बलिरहेको बत्ति बल्दैन, त्यसरी नै दिमागको कुनै पनि नसामा कुनै कमजोरी आएमा त्यो नसाले केन्द्रित गरेको अंग प्रभावित बन्छ। नेपालमा न्यूरोको समस्या बिकराल रुपमा आइरहेको छ।
धेरै मानिसलाई न्यूरो समस्याबारे चेतना छैन। विस्तारै चेतना जागृत भइरहेको छ। पहिले न्यूरोलोजिष्टको संख्या पनि एकदक कम थियो। अहिले संख्या बढ्दै गएको छ। तर, पनि उहाँहरू काठमाडौं केन्द्रित हुनुहुन्छ।
पोखरा, बुटवललगायत अन्य सहरमा न्यूरोलोजिष्टको अभाव छ। हामी न्यूरो इन्टरभेन्सन प्रविधिबाट उपचार गर्छौं। त्यो भनेको अप्रेसन नगरेरै गरिने उपचार विधि हो। यसमा काम गर्ने त डाक्टर त झनै कम छौं।
इन्टरभेन्सन प्रविधि के हो र यसका जटिलता के-कस्ता छन्?
इन्टरभेन्सन प्रविधिबाट बाहिरबाट टाउको नखोलिकन वा कुनै अप्रेसन नगरिकन कमालको रौं जस्ता साना साना उपकरणका माध्यमले हातबाट, खुट्टाबाट र केही उपाय लागेन भने घाँटीबाट अथवा शरीरको जुनसुकै नसाबाट सामान लगेर विशेष खालको एक्सरेका माध्यमले उपचार गर्छौं।
त्यसलाई फ्लोरोस्कोपि भनिन्छ। त्यो विशेष खालको एक्सरे मेसिन हो। त्यो क्याथ ल्याबको सहायताले दिमागसम्म पुग्छौं। र, दिमागमा जुन समस्या भएको छ त्यहि अनुसारको उपचार गर्छौं। जस्तो कहिलेकाहीँ दिमागको नसा बन्द भएको हुन्छ।
जसले गर्दा रक्तप्रवाह भएको हुँदैन। कहिलेकाहीँ नसा फुटेर रगत बगी ब्रेन ह्याम्ब्रेज भएको हुन्छ। यस्तो अवस्थामा जे समस्या छ, त्यही अनुसारको उपचार गरिन्छ।
अहिलेसम्म तपाईंले कति बिरामीको सुनेको नसा र बन्द भएका नसालाई खोल्दै जीवन्तता प्रदान गर्नु भएको छ। थोरै आफ्नो बारेमा बताइदिनुहोस् न?
मैले अल इन्डिया मेडिकल इन्टिच्युड अफ साइन्सबाट डिग्री गरेको हुँ। त्यहाँ बाहिर उपचार सम्भव नभएका जटिल बिरामी आउथे। एकदम गाह्रो एनाटोमी भएका बिरामी आउने गर्थे। त्यहाँ महिनामा करिब ४० जना जति गम्भीर प्रकृतिका बिरामी आउथे। तीन वर्षमा धेरै बिरामीको एसिस्ट गरियो।
कतिलाई आफैँ पनि हेरियो। नेपाल आएपछि मासिक रुपमा सय/डेढ सय बिरामी विगत एक वर्षदेखि मैले हेर्दै आएको छु। धेरै बिरामी रगत बन्द भएर आउनु हुन्छ। कोही नसा फुटेर आउनु हुन्छ। नेपालमा नसा फुट्ने र बन्द हुने समस्या बयस्कमा बढी हुन्छ भन्ने मान्यता छ। यस्तो समस्या बच्चादेखि वृद्धसम्म नै हुन्छ। यस्तो समस्या बुढेसकालमा बढी हुने हो।
स्ट्रोक जोखिमको कारण के हो? हाम्रो खानपान लगायत कारणले कति प्रभावित पार्छ?
एसमा दुई कारण हुन्छन्। एउटा मोडिफाइबल कारण हुन्छ। जसलाई हामीले मोडिफाइ गर्न मिल्छ। अर्को ननमोडिफाइबल हुन्छ। मोडिफाइबल कारण भनेको मधुमेह, उच्च रक्तचापले नसाको वाल ड्यामेज गर्छ।
चुरोट, रक्सी, खैनी र फेरिँदो जीवनशैलीले कोलेस्ट्रोलको मात्रा बढी भएर स्ट्रोक हुने जोखिम रहन्छ। यसलाई औषधिबाट मोडिफाइ गरिन्छ। कतिपय जेनेटिक हुन्छ। बुबाआमामा यस्तो समस्या भएमा सर्ने हुन्छ।
दुर्घटनामा परेर नसा च्यापिँदा पनि यस्तो खाले जोखिम निम्तिन्छ होला है?
ब्रेन ह्याम्ब्रेज कतै ठोक्किएर पनि हुन्छ। दिमागमा कुनै असर पुग्दा पनि यस्तव समस्या हुन्छ।
तपाईंले उपचार गर्ने स्ट्रोकका सामान्य कारण के-के हुन्? तिनलाई कसरी रोक्न सकिन्छ?
स्ट्रोक हुन दिमागमा हुने रक्त प्रवाह कि त बन्द हुनुपर्यो कित फुट्नु पर्यो। त्यो कारणले हुने न्यूरोलोजिकल समस्यालाई स्ट्रोक भनिन्छ। यस्तो हुनुका मुख्य कारणमा रक्त नलिमा बोसो जन्मु हो। जमेको बोसो विस्तारै बढ्दै जान्छ। र, त्यसले रक्तप्रवाह बन्द गर्छ।
त्यसपछि त्यहाँको रगतको चोक्टा माथि पुग्छ। त्यसलाई आर्टी टू आर्टी इम्बोलिजम भनिन्छ। अरु कारण मुटुको बाथ रोग हुनु हो। मुटुमा इन्फेक्सन हुँदा त्यहाँबाट रगतको डल्ला माथि गएर पनि स्ट्रोक हुन्छ। विशेष गरी रक्तचाप, प्रेसरका बिरामी, मधुमेहका बिरामी, चुरोट रक्सी सेवन गर्ने मानिसमा स्ट्रोकको जोखिम रहन्छ।
स्ट्रोकको अवस्थामा पुग्नुभन्दा अगाडि केही प्रारम्भीर लक्षण पनि देखिन्छन् होला। त्यस्ता लक्षणको कसरी समयमै पहिचान गर्ने?
एउटा निमोनिक्स छ, बिफास्ट भन्छ। बि फर ब्यालेन्स। ब्यालेन्स भनेको तपाईंको शरीमा गडबडी आउनु हो। इफर आइज। आँखाले धमिलो देख्ने, एकातिरको आँखा तल जाने हुन्छ। एफ भनेको फेनेको फेस। त्यसमा एकतिरको फेस अलि तल झर्ने हुन्छ।
ए भनेको आम्स। आम्स भनेको हात खुट्टा बाङ्गो हुने। एस भनेको स्लरिङ अफ स्टेप। यो भनेको बोलिमा लरबराउने हुन्छ। टी सबभन्दा महत्त्वपूर्ण कुरा हो। टी भनेको टाइममा स्ट्रोक सेन्टरमा पुग्नुपर्छ। स्ट्रोकको लक्ष्ण तपाईंको दिमागको कुन भागमा असर गरेको छ, त्यो अनुसार पनि हुन्छ।
दिमागको पछाडिको भागमा असर पर्यो भने बिरामीको चेतनामा कमी आउने हुन्छ। जुन कोमा स्केज हुन्छ। जसलाई जिसिएज भनिन्छ। दिमागको पछाडि सानो दिमाग हुन्छ। त्यसमा मुटुको सेन्टर हुन्छ। त्यसमा असर गरे मुटुमा, स्वासप्रस्वासमा समस्या आउने हुन्छ। त्यस्तो हुँदा रिगटा लाग्ने, बान्ता हुने खालका लक्षण देखिन्छ। एन्टिनर भागमा भएमा हात खुट्टा नचल्नेलगायत समस्या देखिन्छ।
तपाईंले गरेका कुनै स्मरणीय अप्रेसन छन्?
केही दिन पहिले मैले ४५ वर्षको नसा बन्द भएको बिरामी आउनु भएको थियो। उहाँको ब्रेनमा ठूलो रगतको डल्लो थियो। सुरुमा उहाँको उपचारका लागि हामीले थाइ वा हातबाट जान खोज्यौं। उहाँको दुबैतिरबाट माथि जाने थाइको नसा बन्द भएको थियो।
थाइबाट गर्न नमिलेपछि हातबाट गर्न खोजे। हातमा पनि जन्मजाँत रुपमा नसा सानो थियो। त्यसपछि हातबाट पनि सम्भव भएन। बिरामी बचाउनै पर्ने थियो। अन्तिम विकल्प मैले घाँटीमा प्वाल पारे। घाँटीको नसाबाट माथि लगेर भ्याकुमबाट र याक्सकुलेसन गरेर झिल्लिका माध्यमले रगतका चोक्टा निकाले। त्यसपछि दोस्रो दिन नै बिरामी उठेर हिँड्दा औषि खुसी लागेको थियो।
तपाईंहरूले उपचारमा के कस्ता चुनौति भोग्नुपर्छ?
नेपालमा प्रविधिको विकास भएको छैन। इन्टरभेन्सनलाई विशेष खालको क्याथ ल्याब चाहिन्छ। बिरामी समयमा नआएर पनि समस्या भइरहेको हुन्छ। किनकि उपचारको समय सिमित हुन्छ। बिरामी समस्या देखिएको ६ घण्टामा आउँदा सबैभन्दा राम्रो रिजल्ट दिन सकिन्छ।
६ देखि २४ घन्टाको बीचमा आउँदा पनि राम्रो गर्न सकिन्छ। २४ घण्टा कटेपछि आएका बिरामीलाई हामीले पहिलाको कन्डिसनमा ल्याउन सक्दैनौं। रगत लत्पतिएपछि नसाको कोशिकामा अक्सिजन सप्लाई गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा अक्सिजन सप्लाई कमीको कारणले तिनिहरू मर्न जान्छन्। त्यसैले ढिलो आउँदा गाह्रो पर्ने हुन्छ।
स्ट्रोकका बिरामीको बाच्ने सम्भावना कति हुन्छ?
त्यो कुन स्टेजमा बिरामी आउँछ भन्ने कुराले निर्धारण गर्छ। बिरामी चाँडो आउँदा दिमाग धेरै ड्यामेज गरेको हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा समय नै हो।
नेपालमै पनि जटिल खालको स्ट्रोकको उपचार सम्भव छ?
नर्भिक र पाटनमा धेरै उपचार सम्भव छ। ती अस्पतालमा न्यूरो इन्टरभेन्सनमा हरेक एस्पेक्ट गरिरहेका छौं। जस्तै स्ट्रेटिङ, रगत बन्द भएको स्ट्रोकको ट्रिटमेन्ट, एनोलिजम, ब्रेनमा गुजुल्टा हुन्छ, त्यसलाई एभिएम भनिन्छ। कहिलेकाहीँ फिस्टुलाले गर्दा आँखा बाहिर निस्किएको हुन्छ। त्यसमा एकदम राम्रो उपचार छ।
ब्रेन ह्याम्ब्रेज भएको मानिसको कुनै अंगमा बढी क्षति पुग्ने हुन्छ?
ह्याम्ब्रेज कुन ठाउँमा भयो भन्ने हुन्छ। दिमाग, हात, खुट्टाको एउटा एरिया हुन्छ। आँखाको एउटा एरिया हुन्छ। ह्याम्ब्रेज कुन ठाउँमा जम्मा भयो, त्यही ठाउँमा असर पर्छ।
नेपालमा सरकारले के गरिदियो भने यो उपचारमा सहज हुन्थ्यो?
मृत्युको दोस्रो कारण हुँदा पनि यसलाई त्यति वास्ता गरिएको छैन। मृगौला, मुटुमा ध्यान दिइएको छ। सबै रोगको उपचार हुने विशेष अस्पताल छन्। तर, न्यूरोको उपचार हुने विशेष अस्पताल छैन। अब न्यूरो विशेष अस्पताल खोल्ने किभन्ने हल्ला सुनेको छु। त्यो हुँदा सहज हुन्थ्यो।
उपचार पद्धति पनि महँगो छ नि है?
उपचार सामग्री नै महँगो छ। सरकारले स्ट्रोक सम्बन्धि अनुसन्धानमा ध्यान दिनुपर्छ। जनतालाई सचेत तुल्याउनुपर्छ।







डिसी नेपाल







Facebook Comment