राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना सम्मानित

डिसी नेपाल
१० भदौ २०७६ १०:४०

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपमा सम्मान गरिएको छ। स्तुपको विकासमा योगदान पुर्याएको भन्दै उनलाई आज नेपाल पर्यटन पत्रकार महासङ्घ पश्चिम नवलपरासी शाखा र रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाले संयुक्तरूपमा सम्मानपत्र र दोसल्लासहित उनलाई सम्मान गरेका हुन्।

भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकनका लागि आज बिहान यहाँ आउनुभएका अध्यक्ष तिमिल्सिनाले स्तुपको विकासका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बजेट विनियोजनमा भूमिका खेलेका थिए । अध्यक्ष तिमिल्सिना गत वर्ष नै रामग्राम स्तुपको भ्रमणमा आउँदा यहाँको विकास पछि रहेको भन्दै यसको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

उनको पहलमा स्तुपका लागि आव २०७५/७६ मा रु ५० लाख र चालु आवमा पनि रु ५० लाख बजेट विनियोजन भएको राष्ट्रियसभा सदस्य रामलखन हरिजनले जानकारी दिए । गत आवमा विनियोजित बजेटबाट स्तुपमा पर्यटकका लागि विश्रामगृह निर्माणाधीन अवस्थामा छ भने यस वर्ष विनियोजन गरिएको बजेटबाट पनि स्तुपको विकासका लागि खर्च गरिने उनले बताए ।

अध्यक्ष तिमिल्सिनाले आफूले गरेको प्रतिबद्धताअनुसार स्तुपको विकासमा चासो र अग्रसरता देखाएकाले सम्मान गरिएको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले बताए। नेपाल पर्यटन पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नारायण भण्डारी, केन्द्रीय सदस्य मोहन पौडेल र रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष उपाध्यायले रामग्राम स्तुप बुद्धसँग सम्बन्धित महत्वपूर्ण स्थल भएर पनि यहाँको भौतिक विकास नभएकाले आगामी दिनमा त्यसतर्फ पनि पहल गरिदिन आग्रह गरे।

सो अवसरमा राष्ट्रियसभा सदस्य हरिजन, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारी, उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीलगायत स्थानीयवासीले पनि उनलाई स्तुपमा स्वागत गरेका थिए।

अध्यक्ष तिमिल्सिना आजै रामग्राम नगरपालिकाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *