काङ्ग्रेस छोडेका वडासदस्यको पद रिक्त गर्ने प्रक्रिया अघि बढाइयो

डिसी नेपाल
१४ भदौ २०७६ ७:०४

काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीका तर्फबाट स्थानीय तहको गत निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित वडा सदस्य लक्ष्मी मेहता अन्य पार्टीमा प्रवेश गरेपछि उक्त वडा सदस्य पद रिक्त गर्नका लागि आवश्यक प्रक्रिया थालेको छ।

काङ्ग्रेसका तर्फबाट गत निर्वाचनमा सुनसरीको इनरुवा नगरपालिका-२ को वडा सदस्य पदमा निर्वाचित वडा सदस्य मेहताले काङ्ग्रेस पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए र उनको राजीनामा पार्टीले यस अघि नै स्वीकृत गरिसकेको छ।

निज मेहता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको हुँदा काङ्ग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम उक्त वडा सदस्य पद रिक्त गरिदिन निर्वाचन आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केही भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा र समसामयिक राजनीतिक प्रस्तावमाथि समेत छलफल प्रारम्भ भएको छ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा शुक्रबार केन्द्रीय सदस्य दिलबहादुर घर्ती, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, उमाकान्त चौधरी, डा शेखर कोइराला, जीवनबहादुर शाही, मीन विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, गोविन्द भट्टराई, गुरुराज घिमिरे, हृदयराम थानी, सरिता प्रसाईं, बहादुरसिंह (लामा) तामाङ र अमृत अर्यालले आ-आफ्नो धारणा राखेका थिए। केन्द्रीय कार्यसमितिको अर्को बैठक यही भदौ १५ गते दिउँसो १ बजे पुनः बस्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *