नेपाली जातिका महान् कवि भानुभक्त आचार्य
आज २१२ औँ भानुजयन्ती हो। यस सन्दर्भमा भानुभक्तलाई हामी नसम्झी रहन सक्दैनौँ। भानुभक्त नेपाली कविताको प्राथमिक कालका केन्द्रीय कवि हुन्। उनले रामायण, भक्तमाला, प्रश्नोत्तर, बधूशिक्षा, रामगीता र तीन दर्जनभन्दा बढी फुटकर कविताको सृजना गरेर नेपाली साहित्यको जग बलियो बनाएका छन्।
धार्मिक-आध्यात्मिक एवं नैतिक चिन्तनका परिपोषक आचार्यले आफ्ना सृजनामार्फत् नेपाली भाषाका मर्यादाको प्रतिष्ठापन गर्नुका साथै नेपाल राष्ट्रलाई भावनात्मक रूपले एकीकृत गर्न र नेपालीपनको पहिचान गराउन महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
उनको सृजनात्मक लोकप्रियताले विश्वभर छरिएका नेपालीहरूलाई एकताको सूत्रमा बाध्ने काम पनि गरेको छ। उनी नेपाल, भारत, बर्मा र भुटानका साथै युरोप, अमेरिका लगायतका विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीहरूको जातित्वको पहिचान समेत बनेका छन्।
उनका सृजनाबाट नेपाली भाषाको उन्नयन, प्रबर्धन र मानकीकरण भई नेपाली राष्ट्रियतालाई बलियो पार्नमा सर्वोपरि योगदान पुगेको छ। उनी नेपाली साहित्य र संस्कृतिका एकताका विश्वस्तरीय सेतु बनेका छन्। आज संसारभर एउटा ठुलो चाडका रूपमा भानुजयन्ती मनाइन्छ।
भानुभक्त आचार्य मूलतः रामभक्तिरसका आध्यात्मिक दार्शनिक कवि हुन्। उनका रामायण लगायतका काव्यमा आध्यात्मिक दार्शनिक चिन्तनयुक्त आदर्शको शिक्षा पाइन्छ भने फुटकर कवितामा गरिएको व्यङ्ग्यमा समाज सुधारको चेतना पनि पाइन्छ।
उनी नेपाली भाषाको सहजताभित्रैबाट संस्कृत छन्दलाई नेपालीकरण गरी जातीय छन्दका रूपमा परिणत गराउने आशुकवि हुन्। उनका कविता काव्यहरूले तत्कालीन अवस्थामा भाषिक सामर्थ्य र काव्यात्मक उचाइ प्राप्त गरेकाले उनलाई आदिकवि भनिएको हो। उनी पहिलो कवि भने होइनन्।
उनीभन्दा पहिले नै अरू कविहरू देखापरे पनि उनी काव्यात्मक अभिव्यक्तिका प्रथमध्वनि भने अवश्य हुन्। उनको जति प्रशंसा भएको छ त्यति नै आलोचना पनि भएको छ। उनका कविता काव्यमा प्रस्तुत भएको अन्तर्वस्तु, उनलाई दिइएको आदिकवित्व र उनले प्राप्त गरेको घाँसीको प्रेरणा लगायतका विषयमा प्रशस्त आलोचना भएका छन्।
भानुभक्त आचार्यलाई चिनाउने पहिलो व्यक्ति मोतीराम भट्ट हुन्। उनले खोजबिन गरी वि सं १९४८ मा ‘कवि भानुभक्तको जीवन चरित्र’ लेखेर भानुभक्तलाई आदिकविको उपाधि प्रदान गर्नुका साथै उनका कार्यलाई चिनाउने काम गरे।
यसपछि भानुभक्तका बारेमा थप अध्ययन गर्नेहरूमा सुब्बा रङ्गनाथ, बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, पण्डित कविराज नरनाथ आचार्य, मुक्तिनाथ आचार्य, शिवराज आचार्य, व्रतराज आचार्य र शर्वराज आचार्य आदि मुख्य छन्।
यीमध्ये कतिपयले मोतीराममै आधारित भएर र कतिपयले केही नयाँ तथ्यको समेत उद्घाटन गर्दै उनको जीवनी र साहित्यिक योगदान आदिका बारेमा प्रकाश पारेका छन्।
यसपछि पनि भानुभक्तका बारेमा देश विदेशमा कैयौं अध्ययन-अनुसन्धान भएका छन्। यी अध्ययनमा भानुभक्तको कवित्व, उनको जीवनसँग सम्बन्धित कतिपय घटना र सन्दर्भका बारेमा मतमतान्तर पनि सार्वजनिक भएका छन्।
भानुभक्त आचार्यको जन्म १८७१ साल आषाढ २९ गते आइतबारका दिन परम्परागत सम्भ्रान्त ब्राह्मण कुलमा बाजे श्रीकृष्ण आचार्यका ६ भाइ छोरामध्ये जेठा धनञ्जय र धर्मावतीदेवी आचार्यका एकमात्र सुपुत्रका रूपमा तनहुँको चुँदी रम्घामा भएको हो।
मोतीराम भट्टले उनको जन्म १८६९ मा भएको उल्लेख गरे पनि पछिल्ला अध्ययनहरूले उनको जन्म १८७१ मै भएको पुष्टि गरेका छन्। भानुभक्तको नक्षत्रको नाम देवीभक्त थियो तर ‘भानुभक्तका पिता धनञ्जयले १२ वर्षसम्म सूर्यको व्रत लिई जन्मेका हुनाले उनको नाम भानुभक्त राखिएको हो’ भनिन्छ।
भानुभक्तका पिता धनञ्जय आचार्य पाल्पा मालमा लामो समयसम्म खरदार जागिरमा रहेका हुनाले भानुभक्तको रेखदेख र शिक्षा हजुरबुबा श्रीकृष्णबाटै भएको पाइन्छ। धार्मिक आध्यात्मिक एवं प्रशस्त जग्गाजमिन भएका जमिन्दार परिवारमा जन्मेका भानुभक्तको आर्थिक तथा सामाजिक स्थिति राम्रो थियो।
भानुभक्त विलक्षण प्रतिभा भएका व्यक्ति थिए। उनले हजुरबुबाको संरक्षणमा सानैमा चण्डी, रुद्री, अमरकोश, लघुकौमुदी, वेद आदि संस्कृत शिक्षा प्राप्त गरेका थिए।
उनको विवाह १० वर्षको उमेरमै परशुराम खनालकी छोरी चन्द्रकान्तादेवीसँग भएको थियो तर १८ महिनामै चन्द्राकान्ताको मृत्यु भएकाले उनले त्यसपछि ११ वर्षको उमेरमा विद्याधर खनालकी छोरी चन्द्रकलादेवीसँग दोस्रो विवाह गरे।
यिनबाट रमानाथ र शिवशंशर दुई छोरा र लक्ष्मी एक छोरी जन्मेका थिए तर शिवशङ्करको १४ वर्षको उमेरमै देहान्त भएको थियो। बाजे श्रीकृष्ण आचार्य कासी कल्पवासमा जाँदा भानुभक्त पनि सँगै गएका थिए।
त्यहाँ पाँच छ वर्ष रहँदा यिनले विद्वत्मण्डलीसँग सत्सङ्ग र विद्या आर्जन गर्ने मौका पाएका थिए। १८८९ मा बाजेको मृत्यु भएपछि यिनी कासीबाट घर फर्के। कासी जानुअघि हजुबुबाले बाबुहरूको अंशबन्डा गरिदिई छुट्टीभिन्न भइसकेकाले र बाबु धनञ्जय पाल्पा गौँडामा नै जागिरमा भएकाले यसपछि भानुभक्तले घरव्यवहार सम्हाल्नुपर्याे।
घरव्यवहारमा रहँदा यिनले कुटोकोदालो खन्नु नपरे पनि आसामी उठाउने कामका साथै कुलोपानी, साँधसीमाका विषमा परेका मुद्दामा अड्डा अदालत धाउने र मुद्दा बेहोर्ने काम समेत गर्नुपरेको थियो।
वनारसमा पढेर आएका भानुभक्तले गृहस्थीमा व्यस्त भएकै बेला मामाघरमा व्यासासनमा बसी श्रीमद् भागवत् पुराणको कथावाचन पनि गरेका थिए। यसबाट उनको ख्याती बढ्न गएको पाइन्छ । यस क्रममा उनी १९०६ मा पहिलोपटक काठमाडौँ आएका थिए।
बुबा धनञ्जय आचार्यको पदमा बहाल रहेकै बेला १९०९ मा कासीको मणिकर्णिका घाटमा देहावसान भएकाले उनले बुबाको बाँकीबक्यौता तिर्न नसकी ५ महिनासम्म सरकारी बाँकी असुल गर्ने अड्डा कुमारीचोकमा नजरबन्दमा बस्नुपरेको थियो।
यसैबेला उनले गिरिधारी भाटसँगको मुद्दा पनि झेल्नु परेको थियो। भानुभक्त आचार्यले तराईमा जागिर खाएको र आफूले जागिर खाँदाको रकम फरफराक गर्न नसकी कुमारीचोकमा थुनिएको कुरा मोतीराम भट्टले उल्लेख गरे पनि भानुका वंशज मुक्तिनाथ आचार्यले भानुभक्तले जीवनकालमा कहिल्यै जागिर नखाएकाले यो कुरा सत्य नभएको उल्लेख गरेका छन्।
काठमाडौँको महाबौद्धमा उनका बाबुकै पालादेखिको बसोबासका निम्ति घरको व्यवस्था रहेकाले नजरबन्द समाप्त भएपछि पनि उनी काठमाडौँ आउनेजाने गरिरहन्थे।
अन्तिमपटक १८२४ को हिउँदमा उनी काठमाडौं आएका र १९२५ मा घर फर्किएपछि बिरामी भई त्यसै वर्षको आश्विन ६ गते शुक्ल पञ्चमीमा तनहुँ र गोरखा जिल्लाको सिमानामा पर्ने मस्र्याङ्दी नदीको गाईथुने घाटमा उनको देहावसान भएको थियो।
बिरामी परेर थला परेकै बेला उनले छोरा रमानाथलाई श्रुतिलेखन गराई रामगीताको अनुवाद गरेका हुन्। यसरी ५४ वर्षको उमेरमा भानुभक्तको जीवनलीला समाप्त भएको पाइन्छ।
भानुभक्तको कविता यात्रा बाल्यकालदेखि नै प्रारम्भ भई जीवनको अन्तिम घडीसम्म नै गतिशील रहेको छ। भानुभक्तले पद्य साहित्यमा मात्र कलम चलाएका छन्। उनले छोरा रमानाथलाई लेखेका दुई पत्र, केही तमसुक र बिन्ती पत्रबाहेक उनका साहित्यिक गद्य रचनाहरू उपलब्ध छैनन्।
उनी मूलतः पद्य कवि नै हुन्। पद्य रचनामा लाग्ने प्रेरणा घाँसीबाट पाएको भनिए पनि उनका प्रेरक व्यक्तित्व आफ्ना हजुरबुबा नै हुन्। उनको प्रथम पद्य रचना शिखरिणी छन्दमा लेखिएको दश हरफे जन्मपत्रिकाको बयान हो भने अन्तिम कविता बिरामी अवस्थामा छोरा रमानाथलाई लेख्न लगाएको रामगीताको अनुवाद हो।
मोतीराम भट्टका भनाइमा उनको कवित्वको प्रस्फुटन चाहिँ घाँसीसँगको सम्पर्क र प्रेरणाबाट भएको हो। ‘घाँसीको अर्ती’ (१८९३) कविता नै उनको प्रथम कविता हो। यही प्रेरणाबाट नै भानुभक्तले १८९८ सम्ममा रामायणको बालकाण्ड अनुवाद गरिसकेका थिए भनिन्छ।
लोकको हित र कल्याणका निम्ति रामकथारसलाई नेपाली जनमानसलाई पान गराउने उद्देश्यले रामायणको अनुवाद गरेका आचार्यले यसपछि १९०९ मा अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्ड तथा १९१० मा युद्धकाण्ड र उत्तरकाण्डको अनुवाद गरी ७ काण्डमा रामायणलाई पूरा गरेका हुन्।
छुट्टाछुट्टै रूपमा रचना गरे पनि एकीकृत रूपमा रामायणले महाकाव्यको स्वरूप प्राप्त गरेको पाइन्छ। रामायण महाकाव्य नै उनका योगदानलाई प्रस्तुत गर्ने कृति हो।
उनले भक्तमाला र प्रश्नोत्तर १९१० मा, बधूशिक्षा १९१९ मा र रामगीता १९२५ मा रचना गरेका हुन्। यी काव्यमध्ये भक्तमाला र बधूशिक्षा मौलिक कृति हुन् भने अरू अनूदित कृति हुन्। फुटकर कविता चाहिँ १८९३ देखि १९२५ का बिच लेखिएका पाइन्छन्।
कवि मोतीराम भट्ट शर्माले भानुभक्तका कृतिहरूको खोज अनुसन्धान गरी उनका काम र रचनाको प्रशंसा गर्दै उनलाई ‘आदिकवि’ को उपाधि प्रदान गरेका हुन्।
उनका भनाइमा ‘गोर्खा भाषामा हुन त धेरै नामी कवि भानुभक्तभन्दा पैल्हे भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन्।’ मोतीरामले यसरी भानुभक्तलाई आदिकविको उपाधि दिएपछि यस सम्बन्धमा खण्डन मण्डनहरू प्रशस्त भए र अहिले पनि भइ नै रहेका छन्।
भानुभक्तलाई आदिकवि मान्नेहरू मोतीरामपछि गुरुप्रसाद मैनाली, ब्रह्म शमशेर जबरा, रुद्रराज पाण्डे, सूर्यविक्रम ज्ञवाली, बाबुराम आचार्य, भाइचन्द्र प्रधान, बालचन्द्र शर्मा, महानन्द सापकोटा, रत्नध्वज जोशी, वासुदेव त्रिपाठी, दयाराम श्रेष्ठ, मोहनराज शर्मा, भद्रवीर अधिकारी, व्रतराज आचार्य आदि छन् भने आदिकवि नमान्नेहरूमा दीनानाथ शर्मा, हेमराज शर्मा, बालकृष्ण सम, हृदयचन्द्र सिंह प्रधान, रामकृष्ण शर्मा, गोविन्द भट्ट, गणेशबहादुर प्रसाईं, लक्ष्मीकान्त शर्मा, तारानाथ शर्मा, ज्ञानमणि नेपाल आदि छन्।
भानुभक्त आफैमा ठूला कवि भएकाले उनलाई आदिकविको पगरी आवश्यक थिएन र उनीभन्दा पहिले पनि अरू कविहरू देखापरिसकेकाले यो उपाधि उपयुक्त पनि थिएन।
यस सन्दर्भमा गोविन्द भट्टले आदिकविको उपाधिबारे चलेको वहसलाई व्यर्थ ठानेका छन् र आदिकवि नभनेर पनि भानुभक्तको जुन महत्त्व छ त्यो कम हुने छैन र आदिकवि भन्नासाथ उनका दुर्बलता र दोषहरू पनि त्यसै मेटिएर जाने हैनन् भनी आफ्नो विचार प्रकट गरेका छन्।
यद्यपि मोतीरामका उपर्युक्त भनाइमा भानुभक्तलाई पहिलो कवि नै चाहिँ भनिएको छैन। कविताको मर्म बुझेर त्यस अनुसारका कविता सृजना गर्ने यसअघि अरू कवि नभएकाले मात्र भानुभक्तलाई त्यस तात्पर्यमा आदिकवि भनेको भन्ने बुझिन्छ।
आदिकवि अभिधेय अर्थमा भनिएको नभएर यसलाई व्यञ्जित अभिप्रायमा बुझ्नुपर्ने देखिन्छ। भानुभक्तपूर्वका कविले रचना गरेका कवितामा भानुभक्तको काव्यात्मक उचाइ प्राप्त छैन। नेपाली जनमनलाई स्पर्श गर्ने क्षमता भानुभक्तका तुलनामा यसपूर्वका अरू कविमा देखिँदैन पनि।
भानुभक्तका कवितामा भने शक्ति र व्याप्ति दुवै प्राप्त छ। यसै कारणले मोतीरामले भानुभक्तलाई आदिकवि भनेको हुनुपर्छ। लक्ष्मीप्रसाद देवकोटाले पनि भानुभक्तलाई ‘शुक्रतारा सुन्दर हाम्रा नेपाली हे प्रथमध्वनि’ भनेर सम्बोधन गरेका छन्।
यसको तात्पर्य पनि नेपाली साहित्यमा काव्यात्मक मिर्मिरे ल्याउने शुक्रतारा वा काव्यात्मक अभिव्यक्तिका प्रथमध्वनि भानुुुभक्त नै हुन् भन्ने बुझिन्छ। यसबाट भानुभक्तको आदिकवित्वलाई अभिधेय अर्थमा होइन, व्यञ्जनाका अर्थमा बुझ्नुपर्ने हुन्छ।
भानुभक्तसँग जोडिएको र विवादित रहेको अर्को पक्ष घाँसी प्रेरित सन्दर्भ पनि हो। यो प्रसंग मोतीरामको अत्यन्त सुन्दर कल्पनाको उपज भए पनि यो भानुभक्तको जीवनीको अभिन्न अंग बनिसकेको छ।
मोतीरामले आफ्ना आदर्श पुरुष भानुभक्तलाई प्रतिभासम्पन्न, सहज र प्रेरणाग्राही कवि देखाउन यो प्रसंग ल्याएको हुनसक्ने देखिन्छ। त्यसबेला कुवा खन्ने, पाटीपौवा निर्माण गर्ने र परत्र सपार्ने कुराको प्रचलन भए पनि घाँसको क्रयविक्रय हुने प्रचन थिएन।
पशुपालन र कृषिकर्म मुख्य जीविकोपार्जनको आधार भए पनि सबैका खेतबारीमा घाँस जति पनि हुँने हुँदा ग्रामीण समाजमा घाँस बेचेर जीविकोपार्जन गर्ने चलन भने थिएन।
घाँसीको प्रसंग मोतीरामको भावुकताको परिणाम नै हुनुपर्छ तापनि घाँस बेचेर उब्रेको पैसाले पाटीपौवा वा कुवा खनेर परलोक सपार्ने कुरा सुनेर भानुभक्तलाई पनि अध्यात्म रामायणको अनुवाद गरी नेपाली रामायण लेख्ने र लोकको हित गर्ने प्रेरणा मिलेको भन्ने कुरा चाहिँ धार्मिक आध्यात्मिक भावनाका कवि भानुभक्तका सन्दर्भमा स्वाभाविकै हो। घाँसीको प्रेरणाको प्रसङ्ग जति विवादित भए पनि अब भानुको जीवनीसँग अभिन्न रूपमा जोडिएर आइसकेकाले यसलाई परिहार गर्न नसक्ने स्थिति बनेको छ।
भानुभक्त धार्मिक, आध्यात्मिक एवं नैतिक भाव र विचारका आदर्शवादी कवि हुन्। उनका कवितामा कर्मचारीको ढिलासुस्ती र तत्कालीन न्यायव्यवस्थाका त्रुटिहरूलाई व्यङ्ग्य प्रहार गरिएकाले आंशिक रूपमा सुधारवादी सामाजिक चेतनाको अभिव्यक्ति पनि पाइन्छ तापनि उनको काव्यसाधना मूलतः भक्तिभावपूर्ण आध्यात्मिक दार्शनिक चिन्तनमा नै रुमलिएको छ।
भानुभक्त अद्वैत वेदान्तबाट प्रभावित र प्रेरित रहेकाले उनको जीवन दृष्टि पनि यही वेदान्त दर्शनबाट निर्मित रहेको छ। ‘उनी दार्शनिक दृष्टिले अद्वैत वेदान्तवादी, धार्मिक दृष्टिले हिन्दु धर्मका अनुयायी, सांस्कृतिक दृष्टिले परम्परावादी र राजनीतिक दृष्टिले आदर्श राजा र राजतन्त्रका पक्षपाती थिए।
यसैकारण उनको कवित्व पनि यही विचार र आदर्शबाट अभिप्रेरित छ। भानुभक्तलाई अहिलेको समाजका आँखाले हेरेर हुँदैन। उनी तत्कालीन समाजकै उपज हुन्।
तत्कालीन समाज सामन्ती उत्पादन प्रणालीमा आधारित थियो भने नेपाली समाजको आधारभूत सांस्कृतिक संरचना हिन्दु परम्परावादी सामन्ती पितृसत्तात्मक एवं वर्णाश्रमवादी थियो।
यसकारण भानुभक्तको विचार, दृष्टिकोण, स्वप्न, आदर्श र चेतना पनि त्यहीअनुसार हुनु स्वाभाविक थियो। तत्कालीन समाजको चेतनाअनुसार नै भानुभक्तका कविता काव्यहरू संरचित छन्।
यद्यपि भानुभक्तपूर्व नै सामाजिक एवं धार्मिक सुधारको चाहना राखेर जोसमनि सम्प्रदायका कविहरूले ब्राह्मणवादका साथै जातीय एवं लैंगिक विभेद, छुवाछुतको विरोध आदि विषयमा आफ्ना रचनाहरू प्रस्तुत गरिसकेका थिए तापनि भानुभक्तको कवित्व भने यस विचारबाट प्रभावित भएन।
भानुभक्त आध्यात्मिक मानवतावादका पक्षमा रहेकाले उनको लोककल्याणको पक्ष धार्मिक, आध्यात्मिक एवं नैतिक धरातलबाट सिञ्चित छ। नेपाली कवितामा पूर्वीय चिन्तन वा जातीय चिन्तनको उच्चतम अभिव्यञ्जना भानुभक्तको पुरुषार्थ हो। उनले नेपाली समाज र दर्शनलाई जोड्ने काम गरेकाले उनी हाम्रा राष्ट्रिय र जातीय महत्त्वका कवि बनेका छन्।
भानुभक्तको रामायण संस्कृत भाषामा लेखिएको मूल अध्यात्म रामायणको नेपाली अनुवाद हो। यसको रचना १८९८ बाट थालिएर १९१० सम्ममा पूरा भएको पाइन्छ। संस्कृत परम्परामा अध्यात्म रामायण, वाल्मीकि रामायण र तुलसीदासकृत अवधी भाषामा लेखिएको रामचरित मानस प्रचलनमा छन्।
यीमध्ये अध्यात्म रामायणमा भक्ति र दार्शनिकता बढी छ भने वाल्मीकि रामायणमा काव्यात्मकता। अध्यात्म रामायणमा रामलाई भगवान ईश्वर परमात्मा परमेश्वर मानिएको छ भने वाल्मीकि रामायणमा मर्यादा पुरुषोत्तम आदर्श पुरुष मानिएको छ।
यस सन्दर्भमा भानुभक्तले अनुवादका निम्ति वाल्मीकि रामायण नरोजी अध्यात्म रामायण रोज्नुको कारण उनमा रहेको भक्त दार्शनिक चेतना नै हो। उनी कविभन्दा भक्त दार्शनिक बढी छन्। यसैकारण भानुभक्तको रामायणमा सौन्दर्य चेतनाभन्दा पनि भक्तिभाव र दार्शनिकता बढी हुनु स्वाभाविक छ।
भानुभक्तको रामायण हुबहु अनुवाद नभएर अनुवाद र मौलिकताको दोसाँधमा छ। उनले अध्यात्म रामायणका कतिपय प्रसंगलाई छाडेर र थपेर नेपालीपन भर्दै मौलिक स्वाद पनि दिएका छन्। कथा बीज र विचार मूल रामायणबाट लिइएको छ भने लय र भाषिक वैशिष्ट्य आफ्नै छ।
मूल रामायण अनुष्टुप र इन्द्रवज्रा छन्दमा सीमित छ भने भानुभक्तीय रामायण शार्दूलविक्रीडित, वसन्ततिलका, उपेन्द्रवज्रा, इन्द्रवज्रा, शिखरिणी, मालिनी, स्रग्धरा, द्रुतविलम्बित आदि छन्दमा संरचित छ र यी छन्दलाई पनि उनले नेपालीकरण गरेका छन्।
भानुभक्तको रामायणमा लयसङ्गीतको माधुर्य त छदैछ त्यसमा पनि कथ्यविषयले र कथ्यविषयले भन्दा रामभक्तिले प्रश्रय पाएको छ। कथ्यविषयलाई कतै सङ्क्षिप्तीकरण गरिएको छ भने कतै विस्तृतीकरण गरिएको छ।
यस क्रममा नेपाली विम्ब र सन्दर्भहरूले कथावस्तुलाई सजाइएको छ। यसकारण भानुभक्तीय रामायण हुबहु मूलानुसारी नभएर मौलिक पनि बनेको छ। उनको यो मौलिकता वस्तु र शिल्प दुवैमा प्राप्त छ र नेपालीपनको स्पर्शले यसलाई लोकप्रिय बनाएको छ।
भानुभक्तीय रामायणको अर्को विशेषता भनेको भाषिक प्रयोगको हो। पूर्ववर्ती कविहरूका तुलनामा भानुभक्तको भाषा स्तरीय, मानक र सरल पनि रहेको छ। संस्कृतका तत्सम बहुल शब्दको सिकार हुनबाट जोगिएको रामायणको भाषा नेपाली भाषाको सहजताभित्रैबाट प्रस्तुत सरल र बोधगम्य रहेको छ।
भानुभक्त भावावेग र सौन्दर्य उन्मादका कवि होइनन्, उनी त जातीय भाषाद्वारा जातीय मर्मस्थल स्पर्श गर्न चाहने भाषिक सामथ्र्य भएका कवि हुन्। उनले रामायणमा प्रस्तुत गरेको भाषामा नेपाली संस्कार र संस्कृतिको सिञ्चन हुनुका साथै ओजस्विता र कमनीयता पनि छ अनि सरल नेपाली भाषाको सहज प्रयोग र नेपालीपन पनि छ।
यस्तै नेपालीपन र सरलताले गर्दा नै भानुभक्तीय रामायण नेपालीहरूका जिब्रा जिब्रामा झुन्डिन पुग्यो र लोकप्रिय पनि भयो। भानुभक्तको विशेषता भनेको शास्त्रीय छन्दलाई नेपाली कथ्य भाषामा प्रस्तुत गरी शास्त्रीय छन्दलाई नेपालीकरण गर्नु हो।
अध्यात्म रामायणमा सात काण्ड, पैसठ्ठी सर्ग र ४३१८ श्लोक रहेका छन् भने त्यसका कतिपय उपकथा र वर्णनलाई छोट्याएर भानुभक्तले सात काण्डमै तर सर्गविभाजन नगरी १३१९ श्लोकमा रामायण पूरा गरेका छन्। लोकप्रियता रामायणको महत्त्वपूर्ण पक्ष हो।
यो जति लोकप्रिय नेपाली साहित्यमा अर्को कृति छैन। लोकप्रियताकै कारण रामायणको विभिन्न भाषामा अनुवाद पनि भएको छ। ऊ बेलादेखि अहिलेसम्म पनि भानुको रामायण नेपालीहरूका घरघरमा गुन्जिरहेकै छ। छोट्याएर सानो र सम्पुष्ट पारिएको भानुभक्तीय रामायण जति छोट्याए पनि नेपाली साहित्यको प्रथम महाकाव्य नै हो।
भक्तमाला र बधूशिक्षा भानुभक्त आचार्यका नितान्त मौलिक कृति हुन्। भक्तमालाको रचना १९१० तिर भएको हो भने बधूशिक्षाको रचना १९१९ तिर भएको हो। भक्तमालामा भगवत् भक्तिको महिमा गाइएका २२ ओटा श्लोक र पछि पत्तो लागेका समेत गरी ४१ श्लोक रहेका छन्।
रामभक्तिलाई मुख्य विषय बनाई शिखरिणी छन्दमा संरचित यस काव्यमा भानुभक्तले सांसारिक मोहमा फसेर जीवन बर्बाद नपारौँ भन्दै मानिसले बल्लबल्ल पाएको चोलालाई सार्थक पार्न भगवत् भक्ति गरौँ भन्ने सन्देश दिएका छन्।
यसमा भक्तिमार्गबाट नै मुक्ति सम्भव हुने दार्शनिक धारणालाई वैचारिक रूपमा प्रस्तुत गरिएको छ। भक्तिमा आधारित विषयलाई रोचक बनाएर प्रस्तुत गरिएको दार्शनिक काव्य भएकाले यसको कवित्व पक्ष पनि सबल नै छ।
बधूशिक्षा भानुभक्त आचार्यको बहुचर्चित मौलिक कृति हो। यसको रचना पनि १९१९ तिरै भएको हो। यो कृति काठमाडौँबाट तनहुँ घरतर्फ जाँदा बाटामा पर्ने आफ्ना मित्र तारापतिका घरमा वास बस्दा सासूबुहारीको झगडा सुनेर लेखिएको भनिन्छ।
यसको मूल भागमा ३३ श्लोक र मित्र तारापतिलाई दिएका ३ श्लोक गरी ३६ श्लोक रहेका छन्। यसमा पनि रामभद्र पाध्याको लक्ष्मीधर्मसंवादको प्रभाव रहेको बताइन्छ तापनि यसको मौलिकतामा कुनै शंका छैन।
बुहारीहरूलाई असल बनून् भनेर उपदेश दिइएको यस काव्यमा शार्दूलविक्रीडित, मालिनी र वसन्ततिलका छन्दको प्रयोग छ। परम्परावादी नेपाली समाजको आदर्शलाई अगाडि राखेर बुहारीहरूको कर्तव्याकर्तव्य र दिनचर्याका बारेमा उपदेश दिइएकाले यसमा नीतिचेतना प्रबल रूपमा अभिव्यक्त छ।
आजका सन्दर्भमा भने भानुभक्तको यो उपदेश हास्यास्पद र कठोर सावित हुन्छ र यसले भानुभक्तको नारीप्रतिको साँघुरो धारणालाई प्रकट गर्दछ। यद्यपि तत्कालीन समाजमा भने यो सुपाच्य नै थियो। भानुभक्त परम्परागत सामन्ती समाजमा हुर्केका र त्यस्तै धारणा राख्ने व्यक्ति भएकाले उनले नारीहरूलाई पनि सामन्तवादी चिन्तन अन्तर्गत नै रहेर बुहार्तन गर्ने उपदेश दिनु कुनै अनौठो होइन।
यसका केही श्लोकमा शिष्टाचार, नैतिकता र कर्तव्यको पाठ सिकाइएको छ भने केहीमा परम्परागत अन्धविश्वासी शिक्षाको पाठ छ। कतै कतै शृङ्गारिकताको हल्का प्रस्तुति भए पनि समग्रमा यो नैतिक सन्देशमै केन्द्रित काव्य हो।
यसलाई अहिलेको सन्दर्भबाट होइन, तत्कालीन सन्दर्भबाट हेर्दा यसमा व्यावहारिक जीवनको आदर्श प्रस्तुत गरिएको र एउटा आदर्श परिवार निर्माण गर्न लेखिएको काव्यका रूपमा बुझ्नु पर्दछ। यसमा पनि भानुभक्तकोे काव्यसाधना र कवित्वको झलक भने प्राप्त भएकै छ।
भानुभक्तले लेखेका प्रश्नोत्तर र रामगीता दुवै अनूदित कृति हुन्। प्रश्नोत्तर १९१० मा र रामगीता १९२५ मा अनुवाद गरिएका हुन्। प्रश्नोत्तर शंकराचार्यको मणिरत्नमालाको अनुवाद हो भने रामगीता उत्तरकाण्डकै एक अंश हो।
प्रश्नोत्तर काव्यमा भक्तिदेखि तत्त्वदर्शनसम्मको विवेचना छ तर यो रामभक्तिमा मात्र सीमित छैन। यसमा रामका साथै कृष्ण, विष्णु र शिवको समेत भक्तिको सन्दर्भ छ।
दार्शनिकताको अभिव्यक्ति यस कृतिको विशेषता हो। यसमा सांसारिक विषय सुखलाई उपेक्षा गर्दै वैराग्यलाई जीवनमुक्तिको साधन ठानिएको छ। अर्को अनूदित कृति रामगीतामा पनि तत्त्वदर्शनकै प्रयोग छ र यसमा पनि प्रखर पारमार्थिक चिन्तन रहेको छ।
रामगीताको अनुवाद सुब्बा धर्मदत्तको अनुरोधमा अन्तिम अवस्थामा गरिएका हो। रामभक्तका लागि यो गीता ज्यादै महत्त्वपूर्ण मानिन्छ। यसमा पूर्वीय आध्यात्मिक दर्शनको सारलाई प्रस्तुत गरिएको छ। यो अद्वैत वेदान्तमा आधारित वेद र उपनिषको सार तत्त्वमसिसँग सम्बन्धित छ।
माथिका दुवै काव्यमा सहज, स्वच्छ अनि स्पष्ट र प्रखर दार्शनिक अभिव्यक्ति र भाषाको सुललित प्रयोग छ। अनुवादमा कहीँ विश्लेषण र कहीँ संश्लेषणको शैली अँगालिएको छ भने काव्यात्मकता पनि उत्तिकै प्रखर छ। भानुभक्तको काव्यचेतना र दार्शनिक चेत दुवै काव्यले प्राप्त गरेका छन्।
भानुभक्तले विभिन्न समयमा गरी ३९ ओटा फुटकर कविताको रचना गरेको पाइन्छ। यी कविताहरू विभिन्न प्रेरक सन्दर्भमा रचिएका हुनाले यिनमा विषयगत विविधता पाइन्छ।
कुनै घटना र सन्दर्भले प्रभाव पार्ने बित्तिकै भानुभक्तमा कविताको स्फुरण भइहाल्ने हुँदा उनमा आशुकवित्वको सृजनात्मक क्षमता थियो। उनले बालक कालदेखि नै कविता लेख्न थालेका थिए। केश् कन्चेट्., मास भृङ्गी बेल.. र जन्मकुण्डली कविता उनले बालक कालमै लेखेका हुन्।
वनारसमा पढ्न बस्दा कसैले घर कहाँ हो भनी सोधेको उत्तरमा उनले ‘पाहाड्को अतिवेश देश्..’ कविता सुनाएका थिए भने घाँसीसँगको भेटमा ‘घाँसीको अर्ती’ कविता रचना गरेका थिए। घाँसीकै प्रेरणाबाट रामायण लेखेको सन्दर्भ पनि छँदैछ।
केटाकेटीसँग भेट हुँदा उनले ‘पढ्नु गुन्नु खेल्नु …, भन्ने केटाकेटीलाई उपदेश दिएर कविता लेखेको पाइन्छ भने भुटेको मकै खाने सन्दर्भमा ‘असल् मुंग्रे केरा’ जस्तो ठट्यौलो कविता लेखेको पाइन्छ। गजाधर सोतीका घरमा बास नपाउँदा ‘गजाधर सोतीकी घरबुढी..’ कविता लेखे भने पहिलोपल्ट काठमाडौँ आउँदा बालाजुको प्रकृतिलाई हेरेर ‘बालाजु वर्णन’ र कान्तिपुरलाई देखेर ‘कान्तिपुर वर्णन’ कविता लेखे।
यी दुई कवितामा प्रकृति सौन्दर्यको वर्णन र राजधानीको सहरको वर्णन गरिएको छ। यिनमा राष्ट्रभक्तिको भावना र नेपाली वीरताको अभिव्यक्ति पनि छ। कुमारीचोकको थुनामा रहँदा ‘लामखुट्टे उपियाँ..’ जस्तो ठट्यौलो कविता जन्म्यो भने मुद्दा नछिनिएर अड्डा अदालतबाट दुख पाउँदा भोलिवादको विरोधमा ‘बिन्ती डिठ्ठा विचारी..’ व्यङ्ग्य कविता जन्म्यो।यसरी कुनै घटनाले प्रभावित पार्ने बित्तिकै त्यही विषयलाई टिपेर कविता लेखिहाल्ने क्षमता उनमा थियो।
उनमका कवितामा धार्मिक, आध्यात्मिक एवं सामाजिक चेतनाको अभिव्यक्ति रहेको छ। यीमध्ये कतिपय कवितामा व्यङ्ग्य विनोदका साथै तत्कालीन अड्डा अदालत र न्यायप्रणालीमा हुने गरेको ढिलासुस्ती र अव्यवस्थाका बारेमा कटु व्यङ्ग्य पनि गरिएको छ।
यिनमा कतै प्रकृति वर्णन (यति दिनपछि मैले..) छ भने कतै शृङ्गारिकता (बिन्ती एक म गर्दछु…) पनि छ। गजाधर सोतीकी बुढीमाथिको प्रहार र गिरिधारी र भाटले दिएको दुखमा प्रकट गरिएको आक्रोश अनि कविता वाचन गरेरै कृष्णबहादुरबाट बन्दुक फुत्काएको सन्दर्भले भानुभक्त रिसाहा र छट्टु कवि पनि देखिन्छन्।
कविताका विषय वस्तु जे भए पनि यी कविताको वर्णनमा मौलिकता र काव्यात्मकता पनि छ। त्यसबेला यसरी स्तरीय नेपालीमा कविता लेखिनु नै ठुलो कुरो थियो। त्यसबेला नेपालीमा कविता लेख्नु असभ्यता र लेखिएका कवितामा पनि यस किसिमको काव्यात्मकता एवं सरल, सहज र सुललित भाषाको प्रयोग पाइँदैन थियो। भानुभक्तका कविता काव्यमा पाइने विशेषता यही नै हो। यही कारण भानुभक्त प्राथमिक कालका प्रतिनिधि कवि बन्न सफल भएका हुन्।
भानुभक्त आचार्य नेपाली आस्था, नेपाली संस्कृति, नेपाली भाषा र नेपाली जातीय एकताका धरोहर कवि हुन्। उनले सिर्जना गरेका रामायण, भक्तमाला, बधूशिक्षा, प्रश्नोत्तरी, रामगीता र अन्य फुटकर कविताहरूमा तत्कालीन समाजको आस्था र चिन्तन प्रकट भएको भए पनि ती रचनाहरू अहिले पनि चर्चाका शिखरमै छन्।
उनका कतिपय रचनाहरूमा व्यक्त विचार आजका सन्दर्भमा असान्दर्भिक र आलोच्य भए पनि काव्यात्मक मूल्यले तिनलाई जीवित बनाएका छन्। भानुभक्त र उनका कृतिलाई वर्तमानका आँखाले होइन, तत्कालीन युगसापेक्ष दृष्टिले हेरेर मूल्याङ्कन गर्दा उनका रचना आफ्नो युगका विशिष्ट प्राप्ति हुन्।
भानुभक्त आचार्य दार्शनिक दृष्टिले वेदान्तवादी, धार्मिक दृष्टिले भक्तिवादी, सांस्कृतिक दृष्टिले ब्राह्मणवादी एवं मानवीय दृष्टिले परोपकारी र लोककल्याणकारी कवि हुन्। यही विचारधारा उनका रचनामा पाइने हुँदा उनका रचनाहरू तत्कालीन समाजका महत्त्वपूर्ण उपलब्ध हुन्।
नेपाली कविता काव्यलाई सौन्दर्यका दृष्टिले उचाइमा पु¥याउने काममा भानुभक्तको गहकिलो योगदान छ। उनीपूर्वका कविले भानुभक्तको जस्तो भाषिक परिष्कार र काव्यात्मक मूल्य प्राप्त गर्न नसकेको परिप्रेक्ष्यमा नै भानुभक्तको योदान निरूपण हुन आउँछ।
उनकै जगमा आजको नेपाली साहित्य र नेपाली भाषा समृद्ध बनेकाले उनी नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर र प्राथमिक कालका शीर्षस्थ कवि ठहरिएका हुन् र आज उनी नेपाली जातिहरूका महान् कविका रूपमा संसारभर प्रख्यात छन्।
















Facebook Comment