निबन्ध

आमाको आँसु र परिवर्तनको आगो

ज्ञानेन्द्र विवश
२८ भदौ २०८२ ७:२९
44
Shares

आधुनिक युगको यात्रामा, मानिसले प्रविधिको साथ एक अपरिहार्य सम्बन्ध गाँसेको हुन्छ। सामाजिक सञ्जालको जालोमा सम्बन्ध, सम्पर्क, स्वास्थ्य, शिक्षा, आदि अनेकौँ पक्ष जोडिएका छन्।

आजको पुस्ता अर्थात् ‘जेन-जी’ को जीवनका हरेक पाटोमा प्रविधिले गहिरो प्रभाव पारेको छ- चाहे त्यो पढाइ होस्, लेखाइ होस्, वा बोलीचाली नै किन नहोस्। प्रविधिबिना आजको संसार कल्पना गर्न सकिँदैन। मानौँ आँखा भएर पनि अन्धो भएजस्तो, घाम लागेर पनि अन्धकार छाएजस्तो।

प्रविधिले ल्याएको यो अकल्पनीय फड्को र विशेषगरी ‘एआई’ को आगमनले मानव जीवनलाई निकै सहज बनाएको छ। तर, यसले मनमा एउटा प्रश्न पनि उब्जाएको छ- के यसले हाम्रो चिन्तन, सिर्जना र सोंचाइलाई नै चुनौती दिँदै कुनै दिन अप्ठ्यारोमा पार्ने त होइन ?

हामीले प्रविधिलाई एउटा औजारको रूपमा अपनाएका छौँ, जसको सही प्रयोगले सुन्दर र समुन्नत भविष्यको सपना देख्न सकिन्छ। आजका युवा पुस्ता यही सपनाको यात्रामा हिँडिरहेका छन्।

सूचना र सञ्चारको यो युगमा इन्टरनेट, फेसबुक, मेसेन्जर, ट्विटर, इन्स्टाग्रामजस्ता माध्यमहरू जीवनशैलीको अभिन्न अंग बनिसकेका छन्। यी केवल मनोरञ्जनका साधन मात्र नभई कार्यालयको कामदेखि व्यक्तिगत सम्बन्ध कायम राख्नका लागि पनि अत्यावश्यक भइसकेका छन्।

तर, जब जीवनको यो अभिन्न अंगमाथि सरकारद्वारा अचानक प्रतिबन्ध लगाइन्छ, तब विद्रोहको ज्वाला स्वतः बल्नु स्वाभाविक हो। जुन ज्वाला देशभर फैलियो र त्यसको निशानामा सरकार, नेता, मन्त्री र तिनका आफन्त परे।

यो सबै आक्रोशको परिणति थियो। विश्वभरि नै फैलिएको ‘जेन-जी’ आन्दोलनमा भ्रष्टाचार, अनियमितता, आर्थिक असमानता, अलोकप्रिय शासन, महंगी, ढिलासुस्ती आदि विषयमाथि प्रहार गर्न युवाहरू सडकमा आन्दोलित हुन्छन्।

निःसन्देह, परिवर्तनको चाहना विद्रोहको जन्मदाता हो, तर त्यो विद्रोहले राज्यको सम्पत्तिमाथि आगो लगाउनु हुँदैन थियो। जुन सम्पत्ति हाम्रै हो, हाम्रै भविष्यका लागि हो। यसरी, एकातिर प्रविधिको सुविधाबाट वञ्चित हुँदाको पीडा र अर्कोतिर विद्रोहको नाममा भएको विनाशले देशलाई थप पीडा दिएको छ।

यो घटनाले हामीलाई सोंच्न बाध्य बनाएको छ कि प्रविधिको सही उपयोग र त्यसको व्यवस्थापन कसरी गर्ने ? र, नागरिकको आवाजलाई कसरी सुन्ने ? ताकि भविष्यमा फेरि पनि यस्ता दुर्भाग्यपूर्ण घटनाहरू नदोहोरिऊन्।

छोटै समयमा सत्ता परिवर्तनको अपत्यारिलो घटना घटित हुन पुगेको छ। यसरी देशलाई सत्ताका अन्धोपनबाट मुक्ति दिने साढे ३४ जना विद्यार्थीहरूको ज्यान गएको छ।

यसमा कसले जित्यो ? त्यो समयले नै बताउने छ। इतिहासका पानाहरूमा हरेक युद्ध, हरेक आन्दोलन र हरेक परिवर्तनले यो प्रश्न उभ्याउँछ- जित वास्तवमै जनताले गरे वा केही शक्तिहरूले मात्रै।

वस्तुतः हिजो विवेक गुमायो सत्ताले, र, देशलाई हारेको अनुभूति दिलायो। आज विवेक गुमाए युवा पुस्ताका आन्दोलनकारीले फेरि देश नै हारेर डामियो। हार्ने त आखिर देश रहेछ, मर्ने त आखिर हाम्रै सन्तान रहेछन् र खरानीमा परिणत हुने त आखिर हाम्रै सार्वजनिक सम्पत्ति रहेछन्।

दुई दिनमै यत्रो ठूलो राजनीतिक परिवर्तन भयो। त्यो परिवर्तन अकल्पनीय थियो, झपक्क आँखै झिम्क्याउँदा आएको आँधीझैँ। कसैले सोचेको थिएन- युवा पुस्ता जागेपछि यति ठूलो भूकम्प यसरी छिट्टै आइपर्ला भनेर। उनीहरूको हातमा भविष्यका रङ्गीन सपनाहरू थिए, तर ती सपनामा घुसपेट र अराजकताको छाया पनि मिसिएको देखियो।

सत्ताको गर्व, भ्रष्टाचारको नशा, पद र पैसाले उन्मत्त बनेका दलीय संयन्त्रहरूलाई जनताको क्रोधले ज्वालामुखीजस्तै विस्फोट गरायो। तर विडम्बना, त्यो आगो केवल दलीय भ्रष्टाचारलाई मात्र नजलाइ राज्यका सम्पत्तिलाई पनि खरानीमा परिणत ग¥यो। र, राज्यका सम्पत्ति खरानी भएपछि, जनताको भविष्य पनि खरानीसँगै हावामा उड्न थाल्यो।

देश आज रोइरहेको छ। सडकहरूमा धूलोमाथि खरानी उडिरहेको छ। आकाश कालो मुस्लो बादलले ढाकिएको छ- जस्तै कालो मुस्लो बादलले ढाकिएको छ जनताको मन। सर्वत्र डर छ, सर्वत्र त्रास छ, सारा शहर एक गहिरो मौनतामा डुबिरहेको छ।

तर यो मौनताले अझै गहिरो बनाउने अर्को यथार्थ सुरक्षाकर्मीहरूले दमनको नीतिलाई मात्रै रोजे। उनीहरूको मनमा दया, आँखामा माया देखिएन। बुद्धि र विवेकको प्रकाश छैन।

विद्यालय, कलेजका ड्रेसमै आन्दोलनमा होमिएका विद्यार्थीहरूलाई गोली वर्षाए र तिनको कलिलो जीवनलाई ठहरै पारे। जसको हातमा किताब हुनुपर्ने थियो, त्यो हात रगतले भिज्यो। जसको भविष्य सपना र सम्भावनाले भरिएको थियो, त्यो भविष्य गोलीको नलसँगै भुइँमा ढल्यो।

एकातिर राजनीतिक परिवर्तनको खुसीले हर्ष छ- मानौँ पुरानो जुघाबाज घर भत्काएर नयाँ घर बनाउने सपना पलाएको छ। तर अर्कोतिर राष्ट्रिय सम्पत्ति खरानीमा परिणत भएको पीडा र भविष्यका कोपिलाहरू चुँडेर फालिएको यथार्थ छ– मानौँ नयाँ घर बनाउन आफ्नै गोठ र बाख्रा जलाइदिएको जस्तो व्यथा।

यो क्षण, यो समय एउटा घोत्लिएको चित्रजस्तो छ- जहाँ कालो रङ र सेतो रङ मात्र छन्। कालो रङ निराशा र विनाश हो, सेतो रङ परिवर्तन र आशा हो। तर यी दुवै रङ मिसिँदा धुम्म बादल मात्र बनेको छ, जहाँ न त घाम छ, न त पूर्ण अन्धकार।

देशले अझै सास लिइरहेको छ। घाम फेरि टल्किन सक्छ, तर त्यसका लागि विवेक आवश्यक छ। विवेक गुमाउँदा हिजो देश हारेको थियो, विवेक गुमाउँदा आज फेरि देश हा¥यो। यदि भोलि पनि विवेक गुमाइयो भने, देश केवल युद्धभूमिको खरानी र आँसुको पोखरीमा परिणत हुने छ। आमाको आँसको श्राप लाग्ने छ।

देशलाई जिताउन विवेक चाहिन्छ, प्रेम चाहिन्छ, दमन होइन। नत्र– जित्ने कहिल्यै जनता हुँदैनन्, हार्ने भने सधैँ देश नै हुन्छ। मानवीय नियतिको एक अनौठो खेल हो यो।

इतिहासको पाना पल्टाउँदा मान्छेले आफ्नो खुसी र सन्तुष्टिको लागि कतिपटक सत्तासँग संघर्ष गरेको देखिन्छ। तर, सत्ता र जनताको लडाईमा सधैँ देश र देशवासीले नै हार भोग्नुपर्छ।

सत्तामा बस्नेहरूले जब आफ्नो विवेक गुमाउँछन्, तब उनीहरू जनताको आवाज सुन्न सक्दैनन्। यसले गर्दा जनतामा आक्रोश र निराशा बढ्दै जान्छ। त्यही निराशाले आक्रोशको रूप लिन्छ र जब आन्दोलनकारीहरूले पनि आफ्नो विवेक गुमाउँछन्, तब शान्तिपूर्ण प्रदर्शनले हिंसाको बाटो समाउँछ।

हिजो सत्ताले विवेक गुमाउँदा देशले हार्‍यो, आज आन्दोलनकारीले विवेक गुमाउँदा फेरि देश नै हार्‍यो। यो हारमा देशका सन्तानहरूले जीवन गुमाए, देशको सम्पत्ति जलेर खरानी भयो। परिवर्तनको खुसी र देशले भोगेको विस्मातले देश रोइरहेछ। आकाशमा कालो बादल मडारिएको छ, जसले सर्वत्र डर र त्रास फैलाइरहेको छ।

परिवर्तनको यो ज्वारभाटा दुई दिनमै यति ठूलो रूपमा फैलियो, कसैले कल्पना पनि गरेका थिएनन् कि युवा पुस्ता जागेपछि यति छिटो र यति ठूलो परिवर्तन आउन सक्छ। पद र पैसाको उन्मादमा डुबेका भ्रष्ट दलीय संयन्त्रहरूलाई एकै झट्कामा आगो लगाइयो।

तर, विडम्बना यहीँनेर छ, जसले देश बनाउनुपर्ने हो, उनीहरूले नै देशको सम्पत्तिको विनाश गरेर खरानी बनाइदिए। परिवर्तनको खुसीमा हर्षित हुनु वा राष्ट्रिय सम्पत्तिको विनाशमा दुःख मनाउनु, यो दुविधाले मनमा एकैपटक दुईवटा भावनाहरू उठाइरहेको छ।

‘कुकुरलाई कुटाइ’ र ‘भालुको छेराइ’ को खेलमा कसले जित्यो, त्यो समयले नै बताउला। तर, यो खेलमा हार्ने त आखिर देश नै रहेछ। मर्ने त हाम्रा आफ्नै सन्तान रहेछन् र जल्ने त हाम्रा आफ्नै सम्पत्ति रहेछन्।

देशको यो नियतिले हामीलाई सोंच्न बाध्य बनाएको छ, के साँच्चै हामीले चाहेको परिवर्तन यही हो ? आमाको आँसु त्यत्तिकै झर्दैन। परिवर्तनको आगो त्यत्तिकै कहिल्यै बल्दैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.