खरानी टकटक्याउँदै तिमी उठ्नुपर्छ नेपाल!
काठमाडौं । ६ अगस्ट, १९४५ मा अमेरिकाको बी–२९ विमानबाट हिरोसिमामा आणविक बम खसालिएको थियो। यसले हिरोसिमा र यसका वरिपरिका ८० हजार मानिसको ज्यान लिएको थियो। दशौं हजार विकिकरणको फैलावटले घाइते र अपांग भएका थिए। विश्वमा परमाणु बमको पहिलो प्रयोग यहीँ नै थियो।
त्यसको तीन दिनपछि अमेरिकी विमानले नागासाकीमा अर्को बम खसालेको थियो। उक्त घटनामा ४० हजार मानिसले ज्यान गुमाए। यो विश्व इतिहासकै विभत्स घटना हो।
यही आणविक बमका कारण दोस्रो विश्वयुद्ध लम्बिन पुगेको थियो। हिरोसिमामा बम खसाले पनि जापानले आत्मसमर्पण गरेको थिएन। हिरोसिमा आक्रमण पश्चात तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुमनले जापानलाई युद्ध रोक्न आदेश दिएका थिए। नमाले जापानका अन्य सहर हिरोसिमा जस्तै बर्बाद बनाउने चेतावनी दिएका थिए।
जापानले कुरा नसुन्दा अमेरिकाले पहिलो आणविक आक्रणको तीन दिनपछि नागासाकीमा दोस्रो शक्तिशाली विस्फोट गराएको थियो। दोस्रो बम आक्रमणपछि जापानले सन् १९४५ अगस्ट १४ मा आत्मसमर्पण गरेको थियो।
जापानले बम विस्फोटपछि ध्वस्त भएका संरचनालाई संरक्षण गरेर राखेको छ। युद्धको पराजय भोगेको जापानको अर्थतन्त्र निकै कमजोर बन्यो। बेरोजगारी दर पनि ह्वात्तै बढ्यो। जापान आत्तिएन। विस्तारै जापान आर्थिक अवस्था मजबुत बनाउनतर्फ लाग्यो।
कृषि क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्यो। युद्धअघि जापानको मुख्य स्रोत कोइला भए पनि युद्धको पराजयपछि त्यसको उत्पादन घट्यो। कोइलाखानीमा काम गर्ने कोरियाली र चिनियाँ नागरिकले परिवर्तित अवस्थामा काम गर्न मानेनन्। यसले गर्दा जापानमा कोइलाखानी ठप्प भए। त्यसपछि जापानी नागरिक नै कोइलाखानीमा काम गर्न थाले।
सन् १९५० को सुरुदेखि १९७० को सुरुवातसम्म जापानमा मानिस कृषि, कोइलाखानी जस्ता क्षेत्रमा सक्रिय भएर काम गर्न थाले। जसले गर्दा जामानले यही समयमा आर्थिक वृद्धिमा फड्को मार्यो। सरकारी नीति र जापानी नागरिकको कडा परिश्रमले उसले छोडो समयमा नै आफूलाई बलियो बनाउँदै लग्यो।
जापानले आयातित प्रविधि मर्ज गरेर कम लागतमा ठूलो उत्पादन गर्ने सक्ने प्रविधिको विकास गर्यो। अन्य देशबाट प्राप्त ज्ञान आफ्नो प्रणालीमा फिट गर्न थाल्यो। नागरिकको क्षमता वृद्धिमा केन्द्रित भयो।
दोस्रो विश्व युद्ध सकिएको ४० वर्षभन्दा कम अवधिमा जापानले आफूलाई ठूलो आर्थिक शक्तिमा परिणत गर्यो। अहिले हिरोसिमा र नागासाकी निकै समृद्ध छन्।
…
अब चर्चा गरौं नेपालको। ९ भदौको मन्त्रिपरिषद् बैठकले एक साताभित्र सामाजिक सञ्जाल सञ्चालकलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा दर्ता हुन आह्वान गर्ने निर्णय गर्यो। दर्ता हुन नआउनेलाई नेपालमा निस्क्रिय गर्दै जाने सरकारको निर्णय गरेको थियो। सर्वोच्च अदालतको ११ भदौ बुधबारको परमादेशले सरकारलाई दर्ता हुन नआएका सामाजिक सन्जाल बन्द गर्न बाटो खुला गरिदियो।
१२ भदौमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सामाजिक सञ्जालहरुलाई नेपालमा सम्पर्क बिन्दू, आवासीय गुनासो व्यवस्थापन अधिकृत र स्वनियमनका लागि नियम परिपालना भए नभएको अनुगमन गर्ने अधिकारी तोक्दै नेपालमा दर्ता हुन आह्वान गरेको थियो। त्यसको म्याद १८ भदौमा सकिएसँगै १९ भदौमा सरकारले नेपाल दूरसन्चार प्राधिकरणलाई दर्ता हुन नआएका सन्जाल बन्द गर्न पत्र लेख्यो।
सरकारको निर्देशनसँगै दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन पत्र पठायो। त्यसपछि इन्टरनेट सेवा प्रदाएकहरूले फेसबुक, ह्वाटसपलगायत नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लगाए।
त्यसको विरोधमा जेनजी समूहका युवाहरू आक्रोसित बने। उनीहरूले असोज २३ गते काठमाडौंमा सरकारको उक्त निर्णयविरुद्ध प्रदर्शन गरे। शान्तिपूर्ण भनिएको प्रदर्शन नयाँ बानेश्वर पुगेपछि हिंस्रक बन्यो। आक्रोसित युवाहरू प्रहरी घेरा तोड्दै संसद् भवनतर्फ अघि बढे। उनीहरू त्यत्तिमै रोकिएनन्। संसद् भवनमा तोडफोड र आजगनी गर्न खोजे।
आन्दोलन आक्रमक बनेपछि प्रहरीले गोली चलायो ठूलो संख्यामा मानवीय क्षति भयो। जेनजी आन्दोलनपछि ज्यान गुमाउनेहरूको संख्या यो समाचार तयार पार्दासम्म ५१ जना पुगिसकेको छ। हजार बढी घाइते भएका छन्।
२३ असोजको आन्दोलन हिंस्रक बनेपछि २४ असोजमा बिहानैदेखि जेनजी युवाहरू बिहानैदेखि सडकमा निस्किए। देशभर नै आन्दोलन चल्यो। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध नाराबाजी गर्न थाले। स्थिति भयावह बन्यो। आक्रोसित भीड आगजनीमा उत्रियो। नयाँ बानेश्वरस्थित संसद् भवनका साथै युवाहरूले देशभरका सरकारी कार्यालयमा आजगनी गर्न थाले।
अधिक दबाबबीच लोकतान्त्रिक गणतन्त्रका ‘क्रुर‘ शासक केपी शर्मा ओलीले २४ भदौमा मध्यान्न सवा दुई बजेतिर प्रधानमन्त्रीबाट राजीनामा दिए। उनले राजीनामा दिन अबेर भइसकेको थियो। जेनजीको आन्दोलनमा धुसपैठ भयो। र, आक्रोसित भिड विभिन्न सरकारी कार्यालय र व्यक्तिगत सम्पत्तिमा आगजनी गर्दै अगाडि बढ्यो। नेताहरूका घर एक/एक गर्दै आन्दोलन कारीको निसानामा पर्न थाले।
हेर्दा हेर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत विभिन्न राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूका घर खरानी भए। संसद भवन, सिंहदरबार, भैसेपाटीस्थित मन्त्री क्वार्टर र देशका विभिन्न भूभागमा रहेका सरकारी कार्यालय ध्वस्त पारिए। भाटभटेनी, कान्तिपुर मिडिया हाउस, अन्नपूर्ण जस्ता व्यक्तिगत संरचना दनदनी जल्न थाले। केही बेरमै देशको खर्बौं सम्पत्ति खरानीमा परिणत भयो।
कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, अर्थमन्त्री विष्णु पौडेललगायत थुप्रै नेता जेनजीको आन्दोलनमा परी घाइते भए। नेताहरूको भागभाग भयो। र, देशमा भयावह स्थिति सिर्जना भयो।
देश चार दिन यता नेतृत्वविहीन बन्न पुगेको छ। अन्यौलताका बादल बडारिरहेको छ। लोकतान्त्रिक गणतन्त्र, संघीयता र संविधान जस्ता जनताको ठूलो बलिदानले प्राप्त उपलब्धि के हुन्छन् भन्ने त्रासदीपूर्ण अवस्था रहेको छ।
सरकारले बेलैमा ध्यान दिएर वार्ता र संवादका माध्यमबाट सामाजिक सञ्जाललाई दर्ता हुन आग्रह गरेको भए सायद यो अवस्था आउने थिएन। सरकारले बलमिच्याइ गर्दा र युवा सडकमा आउँदा सम्यम हुन नसक्दा अहिलेको अवस्था सिर्जना भएको हो।
जे नहुनु भइसकेको छ। वर्तमान अवस्थामा एक भएर अगाडि बढ्नुको विकल्प छैन। अब सबै नेपालीले वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्छ। जलेर ध्वस्त भएका संरचनालाई उठाउनु पर्छ। मनमुटाव त्यागेर जलेर खरानी भएका संरचनालाई टकटक्याउँदै उठाउनुपर्छ। र, नवीन सोचका साथ देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनुपर्छ। चाहे नेपाललाई हिरोसिमा र नागासाकी जस्तै उठाउन सकिन्छ।
















Facebook Comment