वर्तमान जिन्दावाद, भूतपूर्व मुर्दावाद : म कर्मचारी
म चौधरी नेपाल सरकारको जागिरे। मेरो जीवनकै आधा भाग सिंहदरबार र सरकारी अफिसमै बित्यो। राजनीतिका सबै उतारचढावलाई नजिकैबाट देख्ने मौका पाएँ। मेरो अनुभवमा, नेपालको राजनीति एउटा निरन्तर खेल जस्तै हो जहाँ सधैं “वर्तमान जिन्दावाद, भूतपूर्व मुर्दावाद” को स्वर सुनिन्छ।
म जन्मिँदा राणा शासन ढलिसकेको थियो, तर बुबा-हजुरबुबाबाट सुनेको कथा अझै दिमागमा ताजा छ। उनीहरू भन्थे रणोद्दीप सिंह मारिएपछि “वीर शमशेर जिन्दावाद, रणोद्दीप मुर्दावाद” भन्ने नारा गुञ्जिएको थियो।
त्यो बेला पनि कतिपयले विरोध गरे, जेल परे, सम्पत्ति गुमाए। तर जसलाई फाइदा चाहियोजागिर, पद, मानपदवी उनीहरू भने भीडको पहिलो लाइनमा उभिन्थे।
स्कुले दिनमा राजा वीरेन्द्रको जन्मदिनमा हामीलाई र्यालीमा लैजान्थे। “हरेक नेपाली पञ्च हो, सबै पञ्च नेपाली हुन्” भन्ने नारा घाँटी सुकेर चिच्याएको सम्झना अझै ताजा छ। मानिस स्वेच्छाले समर्थन गर्थे, फाइदा खोज्थे।
हामी जस्ता सामान्य विद्यार्थीलाई त यो केवल बाध्यता लाग्थ्यो। भित्रै भित्र भने शंका हुन्थ्यो आज पञ्च जिन्दावाद भने, भोलि मुर्दावाद हुने दिन पनि आउँछ कि? राजा वीरेन्द्रको जन्मदिन राष्ट्रिय पर्व जस्तो मनाइन्थ्यो। हजारौँ विद्यार्थीलाई र्यालीमा उतारिन्थ्यो। तर लोकतन्त्र आएपछि त्यो उत्सव हरायो। अहिले सोच्दा लाग्छ पहिले जिन्दावाद, अहिले स्वतन्त्र मौनता।
२०४६ को आन्दोलनपछि प्रजातन्त्र आयो। अफिसमा नयाँ हावा चल्यो। गणेशमान सिंहलाई जननायक, कृष्णप्रसाद भट्टराईलाई सन्त नेता भनेर हरेक ठाउँमा जिन्दाबादको आवाज सुनिन्थ्यो। हामी जागिरेहरू पनि स्वागतमा पङ्क्तिबद्ध हुन्थ्यौं।
नेतासँग मात्र होइन, उनका परिवार, नातेदार र छिमेकीसम्मलाई नजिक पर्नुपर्ने चलन थियो। जो लाभ खोज्थे, उनीहरू सबैभन्दा अगाडि उभिन्थे। तर मौन रहने वा आलोचना गर्नेहरूको पनि कमी थिएन।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए। विराटनगरको कोइराला निवास मिनी सिंहदरबार जस्तै थियो। त्यहाँ भेट्दा काम सजिलै हुने भएकाले नातेदारदेखि भाइ, दाजु, भतिजा, छोरी जवाइँ, दिदी बहिनी, दाजु भाइको छोरा र नातिसम्मलाई, यहाँसम्म कि कुक र ड्राइभरलाई पनि सोर्स वाला मान्छे ठानिन्थ्यो।
लाभ चाहनेहरूको भीड त्यहाँ जम्मा हुन्थ्यो। मानौं सबै आफन्त र घरायसी मान्छेहरू नै आफ्नै ठाउँमा पावर सेन्टर भएका थिए सालीपटीका सात पुस्ता र भिनाजुपटीका नौ पुस्ता सम्म पनि प्रभावशाली ठानिन्थे।
२०५१/५२ सालतिर माले र नेकपा (एमाले) को लहर चलेको थियो। मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ‘एमाले जिन्दावाद’ भन्दै भीड उर्लन्थ्यो। मनमोहन अधिकारीको पालामा वृद्धभत्ता सुरु भयो।
अफिसका बुबा आमाहरू खुसी भए। म पनि भन्थेँ “कम्युनिष्टहरूले मात्र जनताको हित गर्छन्। नेकपा (एमाले) जिन्दावाद लाग्यो। कांग्रेसलाई मानिसहरूले केही वर्ष बिर्सेजस्तो भयो। तर पछि बुझियो सबै उस्तै वर्तमान जिन्दावाद, भूतपूर्व मुर्दावाद।
यात्रामा मैले आफैं देखेको छु झलनाथ खनाल प्रधानमन्त्री हुँदा, उहाँको घरअगाडि मान्छेहरूको लाइन कति लामो हुन्थ्यो। त्यस्तै माधवकुमार नेपाल पहिले पार्टीको प्रमुख बने, करिब १५ वर्षसम्म पार्टी चलाए। त्यसपछि उनी प्रधानमन्त्री भए।
उनको निवासमै “माधवबाबु जिन्दावाद” भन्ने आवाजले दिन सुरु हुन्थ्यो। त्यो अवधिमा उनी धेरैका नजरमा दोस्रो भगवान् वा दोस्रो राजा जस्तै बने। सुरुमा मान्छेहरूले उनलाई माधवकुमार नेपाल भनेर सम्बोधन गर्थे, पछि माधवबाबु भन्ने चलन चल्यो, अनि बिस्तारै भीडभित्र उनी “मकुने” भएर प्रसिद्ध भए।
उनको भनाइ नै अन्तिम सत्य ठानिन्थ्यो, र भीडमा उभिएका अनुहारहरूलाई लाग्थ्यो उनीसँग नजिक भए शक्ति र अवसर सजिलै हातमा आउँछ।
२०६४ सालमा माओवादी पहिलो दल बने। गाउँ गाउँमा “अब माओवादी” भन्ने लहर आयो। म पनि सोचेँ अब न्याय आउँछ। तर केही वर्षमै देखियो, उनीहरू पनि अरू नेताजस्तै। जसलाई लाभ चाहियो, उनीहरू लाइनमा; तर जनताको जीवन उस्तै।
सिंहदरबारदेखि टुँडिखेलसम्म केपी ओली जिन्दाबाद को जुलुसले भरिएको दिन मैले देखेको छु। केपी बा भनेर आदरले सम्बोधन , अनि त्यो आदर भावनामा परिणत हुँदै “केपी बा, आई लभ यू” सम्म पुग्यो। नेताप्रति सम्मान र विश्वास मिसिएको त्यो भीडको जोश अद्भुत लाग्थ्यो।
तर राजनीतिमा खेल उस्तै रह्यो जबसम्म सिंहदरबारमा कुर्सी थियो, भीड थियो, लाइन थियो कुर्सी गुमेपछि भीड फाटफुट भयो, आलोचना पनि बढ्यो। अनि इतिहास फेरि एकपटक दोहोरियो। वर्तमान जिन्दावाद, भूतपूर्व मुर्दावाद।
शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भए। उहाँको पालामा हजारौँ मानिसहरूले अवसर पाए कसैले जागिर, कसैले पदोन्नति, कसैले ठेक्का। देउवाको घर आँगन र उहाँसँग नजिक रहेका अनुहारहरू हरेक दिन बदलिन्थे, तर भीड कहिल्यै घट्दैनथ्यो।
लाग्थ्यो, हजारौँ अनुहारहरूको त्यो लाइन कहिल्यै समाप्त हुने छैन। तर आन्दोलनको अघिल्लो दिनसम्म तिनै अनुहारहरू देउवालाई घेरिरहेका थिए, जयजयकार गरिरहेका थिए।
क्रान्तिको भोलिपल्ट भने स्थिति उल्टियो भीड आक्रोशमा बदलियो, अपमानित गर्यो, सडकमा हान्यो। त्यो भीडभित्रका अनुहारहरू मध्ये धेरैले विगतमा फाइदा पाएका थिए, तर संकटको समयमा कोही आएनन्। देउवा एक्लै।
देउवा भित्रभित्रै सोच्दै गरिरहेकै होलान् “मैले धेरैलाई लाभ दिएको थिएँ, तर अहिले घाउको बेला सहानुभूति दिन को आउला? थाहा छैन, सायद कोही आउलान्, सायद कोही नआउलान्। अनि इतिहास फेरि एकपटक दोहोरियो। वर्तमान जिन्दावाद, भूतपूर्व मुर्दावाद पुराना दलका केही नेताहरू लाई भूतपूर्व बनाइरहेको छ। हिजो जसलाई हामीले जिन्दावाद भन्यौं, आज सडकमा मुर्दावाद भएको देख्छु।
नारा फेरिन्छ, भीड फेरिन्छ तर हाम्रो संस्कृति उस्तै छ। जसलाई फाइदा चाहियो, उनीहरू आज पनि पहिलो लाइनमा। कुर्सी गुमेपछि नेताको वरिपरिको दृश्य पुरै बदलिन्छ। हिजोसम्म तामझाम गर्ने, लाभ खोज्दै पहिलो लाइनमा उभिनेहरू अचानक गायब हुन्छन्। कतिपय त खुलेरै आलोचक बन्छन्। लाभ पाउने भीड झन् छिटो आक्रोशित भीडमा परिणत हुन्छ।
कुर्सीसँगै साथ हराउने यही हाम्रो राजनीतिक संस्कृतिको स्थायी बानी हो। इतिहास फेरि फेरि दोहोरिन्छ। आज जसले सत्ता चलायो, उसको जिन्दाबाद। हिजो जसले योगदान दियो, उसको मुर्दावाद।
तर साँचो समस्या न नेतामा मात्र हो, न जनतामा मात्र। समस्या हो व्यक्ति र पार्टीको देवताकरण, अनि कार्यकर्ता अन्धभक्ति। यसैले दलहरू स्थायी संरचना भएर पनि नेताले तिनलाई व्यक्तिगत घर बनाइदिन्छन्।
परिणाम संस्था भन्दा व्यक्ति अगाडि, विचार भन्दा स्वार्थ अगाडि। त्यसैले नेपालको राजनीतिक इतिहास भन्नासाथ एउटा मात्र सूत्र भेटिन्छ, वर्तमान जिन्दाबाद, भूतपूर्व मुर्दाबाद।
यस पटकको आन्दोलनले नयाँ राजनीतिक दल जन्माएको छैन। विगतका आन्दोलनहरू २००७, २०१७, २०४६ र २०६२/६३ पछि जस्तै सत्ता बाँडफाँटको स्वार्थी खेल यहाँ देखिँदैन। यो आन्दोलनको विशेषता नै त्यही हो भाग लिनेमध्ये कसैले पद वा हिस्साको दाबी गरेको छैन। त्यसैले यसलाई स्वार्थरहित आन्दोलन भन्न सकिन्छ।
चौधरीको अपेक्षा छ यो आन्दोलनको नारा व्यवहारमा रूपान्तरण होस्। यसले समृद्धिको आधार तयार गरोस् र भविष्यमा अर्को आन्दोलनको आवश्यकता नै नपरोस्।
















Facebook Comment