जेन जेडको कर्मयोगी बाटो : शिक्षा, सेवा र राष्ट्रनिर्माणमा

तोमनाथ उप्रेती
२२ असोज २०८२ ७:३६
24
Shares

आजको नेपाल संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ। राजनीतिक अस्थिरता, बेरोजगारी र भ्रष्टाचारले जनताको विश्वास कमजोर बनाइरहेको छ। यस्तो अवस्थामा नयाँ पुस्ता, विशेष गरी जेन जेडको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

उनीहरू प्राविधिक रूपमा सक्षम, सामाजिक रूपमा सक्रिय र विश्व दृष्टिकोणमा जागरूक छन्। तर प्रविधि प्रयोग गरेर वा व्यक्तिगत सपना पूरा गरेर मात्र राष्ट्र बलियो बन्न सक्दैन। त्यसका लागि जीवनलाई गीतामा उल्लिखित कर्मयोग र सामाजिक धर्ममा उभ्याउनु अपरिहार्य हुन्छ।

श्रीमद्भागवत गीता केवल एक धार्मिक ग्रन्थ मात्र होइन, जीवनका सबै आयामहरूलाई समेट्ने दार्शनिक, नैतिक र व्यावहारिक मार्गदर्शन हो। कर्मयोग, भक्तियोग र ज्ञानयोगले व्यक्तिगत शुद्धीकरणसँगै समाजको सामूहिक उन्नति कसरी सम्भव हुन्छ भन्ने गहिरो सूत्र दिएका छन्।

आज नेपालजस्तो संक्रमणकालीन देशमा, जहाँ लोकतन्त्र स्थायीत्वको बाटोमा संघर्षरत छ, युवा पुस्ता-विशेष गरी जेन जी ले गीताको यस सन्देशलाई आत्मसात् गर्न सक्ने हो भने देशले दीर्घकालीन स्थिरता र समृद्धिको बाटो पाउन सक्छ।

गीताले दिएको मूल मन्त्र हो-निष्काम कर्म। अर्थात्, फलको आसक्ति बिना आफ्नो कर्तव्य पालन गर्नु। आजको जेन जी पुस्ता प्रविधि, सामाजिक मिडिया, र विश्वव्यापी संस्कृतिसँग जोडिएको छ। तर चुनौती छ-तात्कालिक सफलता, लाइक र फोलोअरको लोभमा कर्म गर्ने मानसिकता।

गीता भन्छ-फलको मोहमा तानिएर गरिएको कर्म स्थायी सुख ल्याउँदैन। जेन जी ले यसबाट सिक्नु पर्ने कुरा के हो भने, आफ्नो कर्म (पढाइ, सिर्जनशीलता, सामाजिक काम, राजनीति वा उद्यमिता) समाज र राष्ट्रको दीर्घकालीन सुधारमा केन्द्रित हुनुपर्छ।

नेपालमा भ्रष्टाचार, राजनीतिक अस्थिरता, र संस्थागत दुर्बलता अझै गहिरो समस्या बनेका छन्। सामाजिक धर्म भन्नाले केवल धार्मिक अनुष्ठान होइन, मानवीय मूल्य, न्याय, समानता र पारदर्शिता हो। गीता भन्छ-व्यक्तिगत अनुशासन र आत्मसंयम बिना समाज शुद्ध हुँदैन। यसैले जेन जी ले पहिले व्यक्तिगत जीवनमा इमान्दारी, सत्यनिष्ठा, र आत्मसंयम अभ्यास गर्नुपर्छ, अनि मात्र सामाजिक धर्मको अभ्यास सम्भव हुन्छ।

अठार अध्यायमा विभक्त भागवत गीतामा प्रत्येक अध्यायमा साधकले गर्ने कर्म तथा त्यसको फलकाबारेमा अति उत्कृष्ट ढंगले बताइएको छ। प्रथमदेखि छैटौँ अध्यायसम्म कर्मयोग, सातौँदेखि बाह्रौँसम्म भक्तियोग र तेह्रौँदेखि अठारौँ अध्यायसम्म ज्ञानयोग गरेर गीतामा तीन योग विभाजन गरिएको छ।

भागवत गीतामा चित्तवृत्ति निरोध अवस्थामा प्राप्तिका लागि पहिले के कस्तो अवस्थामा भोग गर्नुपर्ने हुन्छ र पछि के कस्ता फल प्राप्त हुन्छन् भन्ने कुरालाई दृष्टान्तसहित बताइएको छ। गीता अध्ययन गरी साधकले क्रियाको श्रद्धा र भक्तिपूर्वक जति-जति आफ्नोसाधनामा उन्नति गर्दै जान्छ, त्यति नै गीताको सबै कुराको निजबोधबाट नै स्पस्ट ज्ञान हुँदै जान्छ।

विश्व रूपमा परमात्माको अनन्तरुप दर्शन गरेर साधकको भक्तिको चरम विकाश स्वरुप उसलाई आत्माज्ञान लाभ हुन्छ। यसलाई भागवत गीताको भक्तियोग मानिन्छ। यसमा कर्म र ज्ञान एक आपसमा मिलेको हुन्छ ।

कर्मयोग र सामाजिक धर्मको सम्बन्ध मानव जीवनको दार्शनिक र नैतिक पक्षलाई उजागर गर्ने गहिरो विषय हो। भागवत गीता अनुसार कर्म मात्र शरीरको क्रिया होइन, यो आत्माको विकास र समाजिक सुधारको मार्ग पनि हो। प्रत्येक व्यक्ति आफ्नो कर्ममार्फत मात्र आफ्नो जीवनलाई सन्तुलित बनाउन सक्दछ, तर यस कर्ममार्गले समाजमा न्याय, सदाचार र समृद्धिको स्थापना गर्न पनि योगदान पुर्याउँछ।

कर्मयोगको मूल तत्व हो-निष्काम कर्म। निष्काम कर्म भन्नाले फलप्रति आसक्ति बिना आफ्नो कर्तव्य पालन गर्नु हो। जब व्यक्तिले आफ्नो इच्छालाई नियन्त्रणमा राखेर धर्मअनुसार कर्म गर्दछ, तब उसको कार्य व्यक्तिगत हितको लागि मात्र सीमित हुँदैन, यसले समाजमा सकारात्मक प्रभाव पार्छ।

उदाहरण स्वरूप, शिक्षकले आफ्नो ज्ञानको सेवा विद्यार्थीका लागि निष्काम भावले गर्दा मात्र होइन, समाजको भविष्य निर्माण गर्न पनि योगदान पुर्याउँछ। यसरी व्यक्तिगत नैतिकता र धर्मले सामाजिक सुधारको आधार तयार पार्दछ।

व्यक्तिगत नैतिकता बिना समाजिक सुधार असम्भव छ। यदि प्रत्येक व्यक्ति आफ्नो कर्तव्य पालनमा ईमानदार र धर्मनिष्ठ भए, भने भ्रष्टाचार, अन्याय, अत्याचार जस्ता नकारात्मक प्रवृत्तिहरू स्वतः न्यून हुन्छन्। गीता अनुसार, प्रत्येकले आफ्नो सामाजिक कर्तव्य, धर्म, र आफ्नो स्थानअनुसार कर्म गर्नुपर्छ।

यो बाह्य नियमको पालन मात्र होइन, आन्तरिक चेतनाको अभ्यास हो। व्यक्ति जसले आफ्नो आत्मालाई अनुशासित राख्छ, उसले आफ्नो इन्द्रिय र इच्छालाई नियन्त्रणमा राखेर समाजमा स्थायी परिवर्तन ल्याउन सक्छ।

सामाजिक धर्म व्यक्तिगत नैतिकतामा आधारित छैन। यसले समुदायको कल्याण, समानता, न्याय र मानव अधिकारको संरक्षण सुनिश्चित गर्नुपर्छ। कर्मयोगले मानिसलाई आफ्नो स्वार्थभन्दा माथि उठेर समाजिक जिम्मेवारी बोध गराउँछ।

यदि प्रत्येक नागरिकले आफ्नो कर्ममार्गमा निष्काम भाव अपनायो भने दार्शनिक दृष्टिले समाजमा स्थायी सुधार सम्भव हुन्छ। यहाँ धर्म धार्मिक कर्म होइन, मानवीय मूल्य, सामाजिक न्याय, र नैतिक जीवनको मार्ग पनि हो।

गीता अनुसार, कार्यको मूल्य यसको उद्देश्य र भावनामा निर्भर हुन्छ। जब उद्देश्य स्वार्थ वा लोभका लागि हुन्छ, तब कर्म नकारात्मक परिणाम ल्याउँछ। तर जब कर्म निष्काम, धर्मनिष्ठ, र समाजकल्याणमा केन्द्रित हुन्छ, तब व्यक्तिगत सुधारले स्वतः समाजमा सुधारको ढोका खोल्दछ। यसरी कर्मयोग व्यक्तिगत नैतिकता र सामाजिक धर्मबीचको सेतु बनाउँछ।

कर्मयोगले मानवलाई आध्यात्मिक उन्नतिमा सीमित राख्दैन, यसले उसको जीवनलाई सामाजिक रूपले पनि अर्थपूर्ण बनाउँछ। प्रत्येक व्यक्ति जब आफ्नो कर्ममार्गमा ईमानदार, धर्मपरायण, र समाजप्रति जिम्मेवार हुन्छ, तब उसको व्यक्तिगत जीवनमा शान्ति, स्थिरता र संतोष पैदा हुन्छ। यही स्थिरता र नैतिक अनुशासन समाजमा स्थायी सुधारको बीउ रोप्छ।

कर्मयोग र सामाजिक धर्मको अभ्यासले यसरी व्यक्ति र समाजबीचको सम्बन्धलाई दार्शनिक, नैतिक र आध्यात्मिक दृष्टिले सुदृढ बनाउँछ। यसले व्यक्तिगत नैतिकता र जिम्मेवारीको अभ्यास बिना कुनै पनि समाजमा स्थायी सुधार सम्भव छैन भनि प्रमाणित गर्दछ । निष्काम कर्ममार्गले व्यक्तिगत विकास र सामाजिक कल्याणलाई एउटै धारा भित्र ल्याउँछ, जसले मानवीय जीवनलाई उच्चतम मूल्य र उद्देश्यसँग जोड्दछ।

गीतामा भनिएको छ, जो पुरुष आफ्नो चित्तलाई स्थिर राख्छ र परब्रह्ममा लीन हुन्छ, उसका लागि धर्म-अधर्म, शुभ-अशुभ जस्ता भेदहरू अर्थहीन हुन्छन्। यस्तो योगीले साक्षात्कार गर्दछ-ईश्वर, मोक्ष र सत्यज्ञानको अनुपम आनन्द। मानिसको स्वभावमा सुखप्राप्ति र तृप्तिको असिम चाहना हुन्छ।

तर तत्वदर्शी योगीहरूले देखाउँछन् कि संसारका सबै पदार्थजन्य सुख क्षणिक, अस्थायी र अपरिमित छन्। त्यसैले जो वास्तविक आनन्द खोज्छ, उसले भौतिक संसारबाट छुटकारा पाउनु पर्छ।

योगीहरू आफ्नो शरीर भित्रै सर्वशक्तिमान परमात्माको अन्वेषण गर्छन्। परब्रह्म, अविनाशी, अद्धितीय तत्व, यही परमात्मा हो। भागवत गीतामा श्रीकृष्णले अर्जुनलाई भनेका छन्-“वासुदेव तिमी मेरो शरणमा आउ, म तिमीलाई सबै पापबाट मुक्त गरिदिन्छु।” यस संदेशले देखाउँछ कि मोक्ष प्राप्तिका लागि बाह्य संसारको मोह त्यागेर आत्मिक जागरण अपरिहार्य छ।

मनुष्यको जीवन कर्ममा आधारित छ। कर्मयोगले हामीलाई सिकाउँछ कि निष्काम भावमा कर्म गर्नु नै सर्वोच्च धर्म हो। प्रत्येक कार्यको परिणाम हुन्छ। सुख वा दुःख, समृद्धि वा अभाव-सबै कर्मको प्रतिफल हुन्। यसैले जीवनको प्रत्येक कदममा सन्तोष, शान्ति र आनन्द प्राप्त गर्न सकिन्छ। जब मानिस आफ्नो कर्म भगवानलाई अर्पण गर्दछ, तब उसले भोग्ने सुख-दुःखलाई पनि आत्मिक दृष्टिले अनुभव गर्न थाल्छ।

अर्जुन जस्तै अज्ञानी मनुष्यले जब आफ्नो दिमाग, इच्छा र राग–द्वेषलाई नियन्त्रणमा राख्छ, तब उसले वास्तविक ज्ञान र मोक्षको बाटो पाउँछ। इच्छाशक्ति र ध्यानद्वारा मनको चञ्चलतालाई स्थिर राख्नु अत्यावश्यक हुन्छ।

नकारात्मक संवेग, क्रोध, लोभ र मोहले मानिसलाई पतनतर्फ डोहोयाउँछ। तर आत्मसंयमी व्यक्ति राग–द्वेषरहित भएर आफ्ना इन्द्रियहरूसँग सामना गर्दा अन्तःकरणको शान्ति र प्रसन्नता प्राप्त हुन्छ।

गीताले सिकाएको अर्को महत्वपूर्ण सन्देश हो-संसारको सबै कुरामा ईश्वरको उपस्थितिलाई स्वीकार गर्नु। शरीर, इन्द्रिय, मन र बुद्धिले आफूलाई भगवानमा अर्पण गर्दा जीवनमा स्थायी शान्ति प्राप्त हुन्छ। जन्म-मरण, सुख-दुःख, समृद्धि–अभाव यी सबै संसारिक नियमको हिस्सा मात्र हुन्। परिवर्तन संसारको नियम हो। तसर्थ, जीवनमा आउने परिवर्तन, उतार–चढाव वा असफलता भन्ने कुराले हाम्रो मानसिक शान्तिमा बाधा पुर्याउन सक्दैन।

मनुष्यले आफ्नो जीवनलाई भौतिक इच्छाहरूमा केन्द्रित राख्दा असंतोष र पीडा जन्मन्छ। तर जब उसले निष्काम भावमा कर्म गर्दै, तत्त्वज्ञानको अनुभव गरेर, भोग-योग-भाव-लालसा त्यागेर भगवानको स्मरण गर्छ, तब वास्तविक मोक्ष प्राप्त हुन्छ। जीवनको प्रत्येक घटना भगवानको कर्मको अंश हो भन्ने बुझाइले भय, शोक र चिन्ता हटाउँछ।

गीताले भन्छ-जन्म, मरण, सुख, दुःख, सफलता वा विफलता-यी सबै कर्मको फल हुन्। हामी जे गर्न सक्छौं, त्यो कर्ममार्गमा निष्काम भाव राखेर गर्नु नै सर्वोच्च साधना हो। यसरी मानिसको जीवन व्यक्तिगत विकासमा मात्र सीमित रहँदैन, समाजमा नैतिकता, सदाचार र प्रेम फैलाउन सहयोगी हुन्छ।

श्रीमद्भागवत गीताले जीवनलाई सरल र स्पष्ट दृष्टिले देखाउँछ-भूतकालको पश्चाताप नगर्नु, भविष्यको चिन्ता नगर्नु, वर्तमानलाई पूर्णतया आत्मसात गर्नु। जे भयो, त्यो राम्रो भयो; जे हुँदैछ, त्यो राम्रै भइरहेको छ; जे हुनेछ, त्यो पनि उत्तम हुनेछ। जीवनको प्रत्येक पलमा सन्तोष र आनन्द अनुभूत गर्न मनुष्यले संसार र आत्माको वास्तविक स्वरूप बुझ्नुपर्छ।

यसरी, कर्मयोग र तत्त्वज्ञानको अभ्यासले मानव जीवनलाई भौतिक सुख-दुःखबाट मुक्त गर्दै, स्थायी आनन्द र मोक्षको मार्ग खोल्दछ। जब मानिस ईश्वरको सहारामा रहन्छ, निष्काम भावले कर्म गर्दछ, र आफ्नो मनलाई स्थिर राख्छ, तब उसले जीवनको सबै पीडा, डर र चिन्ताबाट मुक्त भएर आत्मिक आनन्दको अनुभूति गर्न सक्छ। यही भागवत गीताको दिव्य सन्देश हो-जीवनलाई भय, मोह, र आसक्तिबाट मुक्त गर्दै, ईश्वर र मोक्षको दिशातर्फ अग्रसर हुनु।

कर्मयोग, भक्तियोग तथा ज्ञानका विभिन्न अवस्थाहरूलाई सार्वजनिक प्रशासकहरुले आत्मिकरण गर्नु पर्दछ ।मानव जातीले भौतिक सुखको धेरै चहाना गर्दछ। कर्म गर्ने तर फलको आशा नगर्ने सोचले हामीहरु आफ्नो कर्मभूमिमा अगाडि बढ्नु पर्दछ। हामीले गर्ने प्रत्येक कार्यको साक्षी दृष्टा भगवान हुनुहुन्छ ।

त्यसैले असल काम गर लाभको लालसा र मोहमा नलाग, अनात्मरुपी भगवान प्राप्त गर्नका लागि आत्मारुपी देह त्याग र मोक्षको प्राप्ति सम्भव छ भन्ने कुरा भागवत गीताको दिव्य सन्देशलाई हामीले हरदम आत्मसाथ गर्नु पर्दछ।

त्यसैले हामीले कम गर्दा फलको लोभ गर्ने नभई असल कर्ममा जोड दिनुपर्ने कुरामा भागवत गीताको दिव्य सन्देशले जोड दिन्छ ।भागवत गीतामा बताइएको कर्मयोग, भक्तियोग र ज्ञानयोगका सारगत कुराहरूलाई जीवनको उत्कृष्ट सन्देश मानी ग्रहण गर्नु पर्दछ ।

भागवत गीताको दिव्य ज्ञानले असल आचरणको विकास गर्ने, सदाचार पालनामा सहयोग गर्ने , आप्नो मनलाई नियन्त्रणमा राखेर काम गर्ने, तर फलको आशा नगर्ने,मान्यजनको सेवा तथा आदर सत्कार गर्ने,जस्तोसुकै कठिन परिस्थितिमा पनि संयमित भई कर्म गर्ने,आफ्नो कर्ममा विश्वास गर्ने, ज्ञानयोगको माध्यमबाट समाजमा अब्बल रूपमा ज्ञानी बनेर अरुलाई बाटो देखाउने कार्यमा सक्रिय हुने,सांसारिक मोहबाट टाढा रहने र कुनै कुरा पाउन नसकेको खण्डमा पश्चाताप नगर्ने सन्देश दिदै समग्र मानव जातिको कल्याण र हितका लागि सदाचार र नैतिक संस्कृतिको विकास सिकाउँदै जीवनको उत्कृष्ट मार्ग देखाउँछ यसले नागरिक चेतना, समाजको लोकतन्त्रीकरण र प्रविधिको प्रभावबाट मानव जगतलाई आध्यात्मिक, नैतिक र व्यावसायिक दृष्टिकोण सुधार्न मद्दत पुर्‍याउँछ ।

गीताको ज्ञानले मानव हृदयका सद्गुण र सद्भावलाई जागृत गरी जीवनलाई सुखी, शान्त र समृद्ध बनाउन मद्दत पुर्याउँछ । देशको शासकीय संरचनामा परिवर्तन भए तापनि, संस्कार र आचरणमा सुधार नहुनाले निराशा उत्पन्न भएको छ । गीताको सन्देशलाई व्यवहारमा लागू गर्दै स्वच्छ, पारदर्शी, सदाचारयुक्त र भ्रष्ट्राचारमुक्त समाजको विकास गर्नु आजको आवश्यकता हो।

आजको नेपाल संक्रमणकालमा छ। राजनीतिक अस्थिरता, बेरोजगारी, र सामाजिक असमानताले युवालाई निराश बनाइरहेको छ। तर गीता भन्छ-भूतकालको पश्चाताप नगर्नु, भविष्यको चिन्ता नगर्नु, वर्तमानलाई निष्काम भावले आत्मसात गर्नु। यही सन्देश जेन जी पुस्ताका लागि मार्गदर्शन हो।

पहिलो चरणमा जेन जेडले शिक्षामा निष्काम भाव विकास गर्नुपर्छ। आजको समाजमा पढाइलाई प्रायः जागिर वा व्यक्तिगत सफलता हासिल गर्ने साधनका रूपमा मात्र लिइन्छ। तर गीता भन्छ-ज्ञान समाजलाई उज्यालो बनाउनका लागि हो।

यदि युवा पुस्ताले विज्ञान, प्रविधि, साहित्य वा व्यवस्थापनको अध्ययनलाई समाजका समस्या समाधानमा प्रयोग गर्ने सोच विकास गर्यो भने मात्र शिक्षा पूर्ण हुन्छ। उदाहरणका लागि, एक विद्यार्थीले स्वास्थ्य विज्ञान पढ्दा त्यो ज्ञानले केवल आफूलाई जागिर नदिई गाउँ-बस्तीमा स्वास्थ्य सचेतना फैलाउन मद्दत गरोस् भने त्यो नै निष्काम शिक्षाको अभ्यास हो।

त्यसपछि आउँछ भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुता। नेपालमा सानो-साना तहबाटै भ्रष्टाचार संस्थागत भएको छ-परीक्षामा पास हुन नोटबुक किन्नुपर्ने, जागिर पाउन सिफारिस वा घूस चाहिने अवस्था। यस्ता अभ्यासमा मौन बस्नु वा सहभागी हुनु भनेको दीर्घकालीन रूपमा राष्ट्रलाई कमजोर बनाउनु हो।

त्यसैले जेन जेडले दैनिक जीवनमै भ्रष्टाचार अस्वीकार गर्नुपर्छ। उनीहरूले आफू मात्र इमान्दार भएर नभई, आफ्नो परिवार र समाजमा पनि भ्रष्टाचारविरुद्ध आवाज उठाउनु पर्छ। जब सानो पुस्ताले ‘घूस बिना पनि सफलता सम्भव छ’ भन्ने चेतना फैलाउँछ, तब मात्र वास्तविक परिवर्तन सुरु हुन्छ।

तेस्रो महत्त्वपूर्ण कदम हो सामाजिक मिडिया सचेतना। जेन जेड प्रविधि-मैत्री पुस्ता भएकाले सामाजिक मिडिया उनीहरूको जीवनको ठूलो हिस्सा हो। तर यसमा हेट-स्पीच, फेक-न्युज र भ्रम फैलाउने प्रवृत्ति तीव्र छ।

यदि युवाले विवेकपूर्ण प्रयोग गरेनन् भने यो शक्तिले समाजमा द्वन्द्व, घृणा र विभाजन बढाउँछ। त्यसैले उनीहरूले सकारात्मक र जागरणमूलक सामग्री सिर्जना गर्नुपर्छ-शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण वा सामाजिक न्यायबारे सचेतना फैलाउने किसिमले। यसरी सामाजिक मिडियालाई नैतिक र रचनात्मक माध्यममा परिणत गर्न सकियो भने यसले समाजमा ठूलो जागरण ल्याउन सक्छ।

चौथो अभ्यास हो सामूहिक सेवा भावना। गीता भन्छ-जीवन केवल आफूका लागि नभई अरूको हितका लागि जिउनु हो। जेन जेडले रक्तदान, वृक्षारोपण, वातावरण संरक्षण, महिला र बालबालिकाको अधिकारका लागि स्वेच्छिक रूपमा काम गर्नुपर्छ।

यी गतिविधिले सीधा परिणाम मात्र दिँदैनन्, यसले युवामा करुणा, जिम्मेवारी र अनुशासनको गुण विकास गर्छ। जब व्यक्तिले आफूभन्दा ठूलो उद्देश्यको लागि समय र ऊर्जा लगानी गर्छ, तब उसको जीवनको अर्थ गहिरो हुन्छ।

पाँचौं कदम हो राजनीतिक जिम्मेवारी। प्रायः युवाले राजनीति भनेको केवल नेताहरूको खेल हो भन्ने सोच राख्छन्। तर गीता भन्छ-कर्तव्यबाट भाग्नु पाप हो। त्यसैले जेन जेडले केवल नारामात्र होइन, ठोस सुधारका लागि सहभागिता देखाउनुपर्छ।

स्थानीय तहमा चुनावमा भाग लिनु, नीति निर्माणमा आवाज उठाउनु वा दबाब सिर्जना गर्नु जस्ता कामले राजनीति शुद्ध बनाउन सक्छ। यो पुस्ताले यदि पारदर्शिता, जवाफदेहिता र नैतिकता माग्न थाल्यो भने पुराना पुस्ताले पनि आफूलाई सुधार गर्न बाध्य हुन्छन्।

यी पाँच अभ्यासलाई जीवनमा उतार्दा दार्शनिक र व्यवहारिक एकता सम्भव हुन्छ। गीताले स्पष्ट रूपमा भन्छ-व्यक्तिगत सुधार बिना सामाजिक सुधार असम्भव छ। यदि जेन जेडले कर्मयोगलाई अपनाए भने, व्यक्तिगत स्तरमा उनीहरू अनुशासन, शान्ति र आत्मविश्वासले सम्पन्न हुन्छन्। सामाजिक स्तरमा न्याय, पारदर्शिता र समानता स्थापनामा उनीहरूको योगदान हुन्छ। राष्ट्रिय स्तरमा भने यो अभ्यास समृद्धि, सुशासन र राष्ट्रिय गौरवको आधार बन्न पुग्छ।

समग्रमा भन्नुपर्दा, नेपालले आज खोजिरहेको समाधान कुनै बाह्य शक्ति वा तत्कालीन चमत्कार होइन। समाधान भनेको आफ्नै चेतनामा लुकेको उज्यालो र कर्मयोगको अभ्यास हो। जेन जेड पुस्ताले यदि शिक्षा, इमानदारी, सचेत संचार, सामूहिक सेवा र राजनीतिक जिम्मेवारीलाई आफ्नो जीवनको मार्गदर्शन बनायो भने, नेपालले मात्र होइन सम्पूर्ण समाजले नैतिक र सांस्कृतिक पुनर्जागरणको बाटो समाउन सक्छ। त्यसैले, यो पुस्ता केवल भविष्यको आशा होइन, वर्तमानको नै मार्गदर्शक हो।

यदि कर्मयोग र सामाजिक धर्मलाई व्यवहारमा उतार्ने हो भने, नेपाल नैतिक र सांस्कृतिक पुनर्जागरणको बाटोमा अगाडि बढ्न सक्छ। त्यसैले अब जेन जी ले के गर्ने?-आफ्नो व्यक्तिगत जीवनलाई नैतिक आधारमा उभ्याउने, समाजमा सेवा र पारदर्शिता फैलाउने, र राष्ट्रलाई दीर्घकालीन शान्ति र समृद्धितर्फ डोहोऱ्याउने।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन्। )

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.