नेपालीहरुको मनबाट हिंसामुक्त गराउन सकारात्मक सोचको विकास हुनुपर्छ

बुद्धि तामाङ अध्येता
६ असोज २०८२ ७:५८
16
Shares

काठमाडौं। विकास, दर्शन, समाजशास्त्र र नेतृत्व प्रशिक्षणमा अनुभव राख्ने बुद्धि तामाङले नेपाल न्यूज बैंकसँग हालै गरेको कुराकानीमा नेपाली समाज, राजनीतिक संरचना, मानसिकता र व्यक्तिगत विकासबारे गहन दृष्टिकोण प्रस्तुत गरेका छन्। उनका अनुसार, मानव मन र व्यवहारमा दुई प्रमुख स्रोतले प्रभाव पार्छ अघिल्लो जुनीको रागको प्रभाव र जेनेटिक संरचना अनुसार समाज प्रभावित हुनेछ।

तामाङका अनुसार, ‘पहिलो जुनीको राग’ भन्नाले विगत जीवन वा अनुभवबाट आएका मानसिक प्रभावलाई जनाउँछ। उनले व्याख्या गरेका छन, ‘मानिसले पहिले कस्तो कर्म गर्‍याे-चोर, डाँका वा गुण्डा-त्यो प्रभाव अदृश्य तर सँधैं वर्तमान जीवनमा टाँसेर आउँछ। यसले व्यक्तिको मन र व्यवहारमा ठूलो भूमिका खेल्छ।’

त्यस्तै, जेनेटिक संरचना (जिन) को प्रभाव पनि हुन्छ। उनले भने, ‘जिन भनेको हजुरबा-आमा वा पुर्खाबाट आउने विशेषताहरू हुन्। यसको प्रभाव सीमित हुन्छ, तर जीवनका केही पक्षमा देखिन सक्छ।’

तर, सबैभन्दा ठूलो प्रभाव सामाजिक संरचनाले बनाउने मानसिकता नै भएको उनको बुुझाइ छ। नवजात बच्चा जन्मँदा जात, समुदाय वा सामाजिक विभेदको अनुभव हुँदैन। भर्खर जन्मेको बच्चालाई बाहुन, क्षेत्री, तामाङ, मगर वा अन्य कुनै जाति थाहा हुँदैन। उसको मन माटो जस्तै शुद्ध हुने उनको तर्क छ।

‘सामाजिक निर्माण प्रक्रिया परिवारबाट सुरु हुन्छ-आमा, बुबा, छिमेकी, साथीभाइ, स्कूल र कलेजले क्रमशः बच्चाको मन र व्यवहारलाई आकार दिन्छ। उदाहरणका लागि, दशैंमा बच्चालाई चकलेट दिने अभ्यासलाई उदाहरणका रुपमा प्रश्तुत गर्दै भने,‘यदि बच्चाले अरुलाई चकलेट दिन खोज्यो भने आमाले नदिने अभ्यास गराउँछन्। यसरी बच्चाले ‘मेरो’ भन्ने भावना सिक्छ। यो सामाजिक निर्माण हो, जन्मजात होइन।’

तामाङले सामाजिक प्रभावले जन्माउने नकारात्मक भावनाहरू (जस्तै अहंकार, ईष्र्या, प्रतिस्पर्धा) को उदाहरण पनि दिएका छन्। उनी भन्छन्, ‘साथीको प्रगति देख्दा ईष्र्या आउँछ, आफ्नो स्थिति देख्दा सन्तोष वा आत्मसन्तुष्टि हुन्छ। यी सबै हाम्रो मनको सोसियल्ली कन्स्ट्रक्टेड संरचना हुन्। हामीलाई थाहा छैन तर यी भावनाहरू हाम्रा दैनिक व्यवहारमा देखा पर्छन।’

उनका अनुसार वर्तमान समयमा मुलधारका मिडिया, सामाजिक सञ्जाल, एनजिओ, विदेशी संस्था र राजनीतिक भाषणहरूले पनि समाजमा व्यवहार र सोचको निर्माणमा ठूलो भूमिका खेल्ने गरेका हुन्छन्।

आजको सामाजिक सञ्जाल, टेलिभिजन, रेडियो र अनलाइन प्लेटफर्महरूले नागरिकलाई नेगेटिभ सोच सिकाइरहेका उनको तर्क छ। यस्ता सञ्जालहरुले समाजमा समस्या मात्र देखाउने र समाधान नदेखाउने हुनाले यसले मानिसको मानसिकतामा दबाब र नकारात्मक प्रभाव पार्ने उनको दाबी छ।

तामाङले यो प्रणालीलाई नव-उदारवादी (न्यु लिबरालीजम) र मानवअधिकारको नाममा आयातित संरचना पनि भनेका छन्। उनका अनुसार, बहुदलीय चुनाव, मानवअधिकार, समावेशीकरण र विदेशी सहयोगले नेपालमा नयाँ संरचना ल्याएको छ, तर यसले पुराना सांस्कृतिक मूल्य र सामाजिक मानसिकतालाई चुनौती दिएको छ।

आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै उनले भने,‘म काभ्रेको गाउँमा जन्मेँ। प्रारम्भिक शिक्षा गाउँमै भयो। स्कुल जान पाइनँ। मामाघर र बुबाको घरमा पढाइ सीमित थियो। पछि विभिन्न शहरमा गएँ र माक्र्सवादी शिक्षा, पूर्वीय दर्शन, योग, ध्यान र नेतृत्व प्रशिक्षण अध्ययन गरेँ।’

उनले व्यक्तिगत विकास र सकारात्मक सोचको महत्वमा जोड दिदै मानिसले आफ्ना क्षमता र ज्ञानलाई पहिचान गर्नुपर्ने बताए। आफ्नै उपलब्धि, परिवार र समाजमा योगदानलाई मूल्यांकन गर्नु नै जीवनको लक्ष्य भएको उनको जोड छ।

धार्मिक, दार्शनिक र सांस्कृतिक विविधताको महत्त्वमा पनि उनले चर्चा गरेका छन्। हिन्दू, बौद्ध, जैन, चार्वक, वेद, वेदान्त र पूर्वीय दर्शनको अध्ययनबाट जीवन दृष्टिकोण र मानसिक शान्ति प्राप्त हुने भएकाले मानिसको चेतना, मन र समाजको संरचना पुराना मूल्य र सांस्कृतिक धरोहरसँग गहिरो सम्बन्ध राख्ने उनले बताए। यसलाई बुझ्न र सकारात्मक ढंगले उपयोग गर्नुपर्ने तामाङको भनाइ छ।

उनी समाज सुधारमा व्यक्तिगत जिम्मेवारी र सक्रियतामा विश्वास राख्छन्। ‘सरकारको आलोचना गर्नु महत्त्वपूर्ण छ, तर आफ्नै जीवन, परिवार र समाजमा योगदान दिनु अझ महत्वपूर्ण छ। उपलब्धि र सकारात्मक पक्षलाई स्वीकार गर्नु, संवद्र्धन गर्नु र लागू गर्नु नै वास्तविक परिवर्तन हो।’

ऐतिहासिक सन्दर्भमा उनले भने,‘नेपालको सामाजिक र राजनीतिक इतिहासमा धेरै उतार-चढाव आएको छ। राजा महेन्द्र, बीरेन्द्र र तिनको शासनकालमा राज्य संरचना, शिक्षा र पूर्वाधार विकासमा योगदान पुगेको थियो। विद्यार्थी आन्दोलन, जनविद्रोह र माओवादी आन्दोलनले युवाहरूमा अवसर र सामाजिक चेतना बढाएको छ। वैदेशिक रोजगार, प्राइभेट बैंकको स्थापना, यातायात र शिक्षा क्षेत्रमा पहुँच बढेको छ।’

तामाङले सामाजिक विकास र सकारात्मक सोचको आधारमा नौवटा क्लेश (अहंकार, ईष्र्या, लोभ आदि) हटाउन आवश्यक रहेको बताएका छन्। उनले भने, ‘यी नेगेटिभ गुणहरूलाई नियन्त्रण गरेर मानवलाई देवता जस्तै बनाउन सकिन्छ। यो हाम्रो भित्र छ, बाहिर होइन।’

उनले व्यक्तिगत जीवनका अनुभव सुनाउँदै शिक्षा, विदेश अध्ययन, माक्र्सवादी विचार, एप्रिसिएटिभ इन्क्वाइरी, प्रशिक्षण र अनुसन्धान अनुभव उल्लेख गर्दै थाइल्याण्ड र अमेरिकामा अध्ययनपछि आफू नेपाल फर्केर शिक्षण र समाज सुधारका काममा लागेको बताएका छन्।

उनी भन्छन,‘मेरो जीवनमा मैले भोगेका चुनौती, अध्ययन र अनुसन्धानले मलाई नेपाली समाज, सांस्कृतिक मूल्य र राजनीतिक संरचनालाई बुझ्न सहयोग पुर्‍यायो। म स्वतन्त्र रुपमा काम गर्दै आएको छु र दल वा राजनीतिक पार्टीमा आबद्ध छैन।’

तामाङले सकारात्मक सोचको आधारमा नैतिक, सामाजिक र व्यक्तिगत विकासमा जोड दिएका छन्। उनले भने,‘मेरो शरीर, मन र ज्ञान अमूल्य साधन हुन्। यसलाई सकारात्मक ढंगले उपयोग गरेर परिवार, समाज र मुलुकको विकासमा योगदान दिनुपर्छ।’

उनले नेपालमा प्राप्त उपलब्धि, पुराना मूल्य र आधुनिक संरचनाको संरक्षण, संवद्र्धन गर्नु आवश्यक रहेको बताएका छन्। ‘हामीले पाएका सम्पत्ति र अवसरलाई पहिचान गरेर बढाउँदै जानुपर्छ। सकारात्मक सोच र योगदानले मात्र समाज विकासमा प्रभाव पार्छ।’

तामाङका अनुसार, नेपाली समाज, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र पूर्वीय दर्शनले मानिसको मन र चेतनामा सकारात्मक प्रभाव पार्न सक्छ। उनले व्यक्तिगत अनुभव, ऐतिहासिक सन्दर्भ र सामाजिक विश्लेषण मार्फत समाज सुधार र विकासका उपाय सुझाएका छन्।

उनी भन्छन,‘हाम्रो देशमा पुराना मूल्य, सांस्कृतिक धरोहर र आधुनिक प्रणालीको संयोजनले मात्र सामाजिक स्थिरता र नागरिकको चेतनामा सुधार ल्याउन सक्छ। नकारात्मक प्रभावहरू हटाएर, उपलब्धि र अवसरलाई आत्मसात गरेर मात्र सकारात्मक भविष्य निर्माण गर्न सकिन्छ।’

उनको विचार अनुसार, सामाजिक संरचना, चेतना र सकारात्मक सोच नेपाली नागरिकको जीवन, विकास र समाज सुधारका लागि आधारभूत साधन हुन्। उनले पुराना मूल्य र उपलब्धिलाई पहिचान गर्नुपर्ने, व्यक्तिगत क्षमता र ज्ञानलाई सकारात्मक ढंगले उपयोग गर्न, सामाजिक संरचना र वातावरणले सिकाएको नकारात्मक गुणलाई नियन्त्रण गर्नुपर्ने बताएका छन्।

साथै उनले आफ्नो उपलब्धि, परिवार र समाजमा योगदानको लागि मूल्यांकन गर्न, समग्रमा देशको विकासमा योगदान पु¥याउन र वर्तमान नेपाली समाजमा नयाँ सोच, सकारात्मक चेतना र व्यक्तिगत जिम्मेवारीको आवश्यकता स्पष्ट रूपमा देखाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.