बुवा र दशैँ
दशैँको दिन, बिहानैदेखी मौसम अलि बेइमान लाग्दैथियो। प्रकृति नै रिसाए जस्तो, शोकमा डुबेजस्तो। कालो बादलले निलो आकाशलाई ढाकेको थियो। पानी पर्ला पर्ला जस्तो हुन्थ्यो, तर परिनै सकेको थिएन धनगढीमा। छिमेकी पालिकाहरुबाट भने फेसबुके साथिहरुले पानी पर्दै गर्दाका दृश्यहरु छायाङ्कन गर्दै लाइभ गरिरहेका थिए। मौसमबिदका आआफ्नै पुर्वानुमानहरु थिए। विभिन्न मिडियामार्फत सबैलाइ सचेत रहन अनुरोध गरिएका पोस्टहरु सुन्न र पढ्न पाइन्थ्यो। खुशिको बिचमा केही धर्साहरु शङ्का र चिन्ताका पनि देखिँदै थिए।
नवरात्रीको दशौँ दिन, अर्थात् बिजया दशमीको दिन। ज्योतिषीले ११:५३ को शुभ सॉइत सुझाएका दिए टिकाजमरा ग्रहणको। चटारो सबैलाइ आफ्नै किसिमको देखिन्थ्यो। कोहि फलफूल किन्न बजार दौडिरहेका थिए त कोहि पनिर। कोहि दक्षिणा हाल्ने खाम किन्न पसल दौड्दै थिए भने कोहि मासु किन्न। कोहि ब्युटिपार्लरबाट आँखिभौँ मिलाएर निस्किदैथिइन् त कोहि हेयरड्रेसरबाट दारी काटेर। कोहि डेरीबाट दुधदही लिएर आउँदै थिए त कोहि लुगा किनेर। जो जहाँ बाट जसरी निस्किए पनि सबैलाइ हतार थियो। दशै‘को शुभसाँइतमा टिकाजमरा थाप्ने हतारो। आफन्तको घरमा पुग्ने हतारो। फोटोसुट गरेर फेसबुकमा पोस्ट्याउने हतारो। टिकटक र रिलमा पोस्ट गर्ने हतारो। कसैलाइ ससुराली जाने हतारो थियो त कसैलाइ मामाघर। कसैलाइ माइत जान हतारो थियो त कसैलाइ ठुलोबुवाको घर। कसैलाइ कन्छिका घर पुग्ने हतारो थियो त कसैलाइ पुसाँइका। सडकमा देखापर्ने प्रत्येक मनुवा हतारमै देखिन्थे। कोहि कसैसङ्ग बोल्ने समय थिएन। सबैका नजर घडी र आकाशमा थियो। सायद सबैको एउटै प्रार्थना थियो आजको मौसम सफा भैदियोस्। निस्फिक्री दिउँसभरी टीका थाप्न पाइयोस्। तर मलाइ भने आज कुनै हतार थिएन। न त कहिँ जानु थियो न त केही गर्नु नै। सायद जिन्दगीकै सबैभन्दा फुर्सदिलो दिन थियो आजको। सानो छोरी सुरभीलाई काख
छिमेकी घरबाट आएको शङ्ख ध्वनिले म झस्याङ्ग भएँ। बुवाको नित्यकर्म हुन्थ्यो – बिहान चारै बजे उठ्ने, पुजाकोठा गएर शङ्ख ध्वनी सङ्गै पुजा आरम्भ गर्ने। एक दुई घन्टासम्म उहाँको पुजामै बित्यो दैनिकी। उहाँको शङ्ख ध्वनिले हामिलाइ मात्र होइन छरछिमेकिलाइ समेत बिउँझाउथ्यो। मोबाइलको अलरामको कुनै जरुरी पर्दैनथ्यो।

बुवाले छोडेर गएको पनि आज ठ्याक्कै साढे पाँच महिना भैसकेछ। हामी शोकमा थियौँ यसपाली। सामुन्नेको भित्तामा बुवाको फ्रेमभित्र कैद गरिएको तस्बिर छ। पोरसाल दशैँको परिबेशमा खिचिएको थियो त्यो फोटो। दौरासुरुवालमाथि कालो कोट, शिरमा ढाका टोपी। निधारमा रातो टीका र अक्षता, कानमा पहेँला जमरा। आँखामा मोटो फ्रेमवाला पावर चस्मा। हेरिरहेँ एकटक भित्तामा। बुवाले पनि मलाइ हेरिरहनुभयो। मन अमिलो भएर आयो। यसपटकको दशैँमा बुवा भौतिक रुपमा हामिमाझ हुनुहुन्थेन। तर उहाँसङ्गका यादहरु, स्मरणहरु हाम्रो मानसपटलमा ताजै थिए। चलचित्रको रिलझै फनफनी घुम्दै थिए। बाल्यकालदेखिका यादहरु सलबलाउँदै थिए।
यो नै पहिलो पटक थियो, क्यालेन्डरमा दशैँ आउँदा पनि हाम्रो घरमा न त दशैँ थियो, न त बुवा नै। नियास्त्रो लागेर आयो। मन भारी भएर आयो। सम्हाल्दा सम्हाल्दै पनि आँखाका डिलबाट दुई थोपा आँसु ओठ सम्मै पुगिसकेछन्।
मैले जान्ने भएदेखि बुवा बिनाको दशैँ अहिलेसम्म याद छैन। म नजन्मिदै बुवाले दिपायलमा स्टेशनरीको पसल सञ्चालन गर्नुभएको थियो। त्यसकारण पनि मेरा बाल्यकालिन दिनहरु बुवाको निकटमा बित्न पाएनन। बर्षको कहिलेकाँही मात्र घर आउनुहुन्थ्यो। दिपायल र गडसेराको पैदल दुरि लगभग ६/७ घन्टाको हुन्थ्यो। सन्चारका कुनै साधन थिएनन् त्यो बखत। खबर आदानप्रदान गर्ने मुख्य साधन चिट्ठीपत्र हुन्थे। बुवा घर आउँदैहुनुहुन्छ भन्ने कुरो थाहा पाँउदा असाध्यै खुशी हुन्थ्यौँ हामी भाइबहिनीहरु। बेलुकी ४/५ बजेतिर पुग्नुहुन्थ्यो सामान्यतया। बाटो हेरेर बसिराख्थ्यौँ। चकलेट ल्याउनुहुन्थ्यो, बिस्कुट ल्याउनुहुन्थ्यो। पिपिलमेट र नरिवल ल्याउनुहुन्थ्यो। राम्रा राम्रा काफी र डटपेन ल्याउनुहुन्थ्यो। म गाउँभरी दगुर्दै साथिहरुलाइ बाँड्थे।
बुवा र मेरो उमेरको फरक पैँचालिस बर्सको छ। चार छोरीपछी बुडेसकालमा जन्मिएको एक्लो छोरो म। असाध्यै माया गर्नुहुन्थ्यो। र त्यत्तिकै हेरबिचार पनि। माया र डर बराबरी दिनुहुन्थ्यो जस्तो लाग्छ मलाई। आफूले पढ्न नपाएर होला मलाई पढ्नमा बढि जोड दिनुहुन्थ्यो। हौसला र प्रेरणा दिनुहुन्थ्यो। र पढेन भने वा आमाले भनेको नमानेको खबर पाँउदा सजाय पनि कडै दिनुहुन्थ्यो। उहाँले कडा अनुशासनका नियम बनाइदिनुभएको थियो हाम्रा लागि। त्यही नियमभित्र रहेर हाम्रो दैनिकी चल्थ्यो। त्यसैले म बुवाको जति माया मान्थे त्यो भन्दा बर्ता डर पनि। सायद त्यही डरले हुनुपर्छ म सकभर गलत बाटोमा लागिन पनि। कुलतमा फसिन पनि। बुवाकै साथ, हौसला र उत्प्रेरणाले पढाइमा राम्रै ठानिन्थे। कक्षामा अग्रस्थानमै आउँथे। शिक्षकहरुको पहिलो रोजाइमै पर्थे सधैं।

अँ साँच्ची, म दशैँको कुरो गर्दै थिए क्यारे ! हो, बुवा र दशैँ एक अर्खाका पर्याय जस्तो लाग्थे मलाइ कुनैबेला सम्म। दशैँ पनि बर्ष दिनमा एक पटक आउँथ्यो हर्ष र खुशी ल्याएर। बुवा पनि दिपायलबाट बर्ष दिनमा एकपटक आउनुहुन्थ्यो दशैँमा। जति खुशी दशैँ आउँदा लाग्थ्यो, त्यो भन्दा दोब्बर खुशी बुवा घर आउँदा लाग्थ्यो। बुवासङ्गै नयाँ लुगा आउँथे हाम्रा लागि। दशैँ हेर्न जाने खर्च आउँथ्यो। शिकार किन्ने पैसा आउँथ्यो। केला किन्ने पैसा आउँथ्यो। जसरी दशैँ आउन क्यालेन्डरका एघार पानाहरु पल्टिनैपथ्र्यो, त्यसरी नै नयाँ लुगा लगाउन पनि एघार महिना पर्खिनै पथ्र्यो। हो, त्यतीबेला नयाँ लुगा किन्ने भनेकै दशैँमा हो। त्यसकारण नयाँ लुगा, जुत्ता पाउन दशैँ आउनैपथ्र्यो। र दशै सङ्गै बुवा पनि घर आउनुपथ्र्यो। यो मेरो मात्र बुवाको कथा थिएन। धेरैका बुवाहरुको अवस्था पनि यस्त यस्तै थियो। दशैँ आएर मात्र पुग्दैनथियो, बुवा पनि पुग्नैपर्यो। बुवा घरको आर्थिक मेरुदण्ड मानिन्थे।
मलाइ याद छैन बुवा दशैँमा घर नआएको र नयाँ लुगा नलगाएको। नयाँ लुगामा मीठो बास्ना पनि आउँथ्यो जसरी धरतीमा मीठो सुगन्ध आउँछ शरदकालिन। त्यही मीठो बास्ना सुघाउन नयाँ लुगा लगाएर दौँतरीहरुका घर घर पुग्थे र खुशी साँट्थे।
बाल्यकालका धेरै बर्षहरुका अधिकाशं महिनाहरु बुवाको साथ बिनै बितेका छन मेरा। अर्थात् बर्षको केही दिनमात्र हामी बुवासङ्ग हुन पाउँथ्यौ। अधिकाशं समय बुवा ब्यापार गर्न दिपायलमै बस्नुहुन्थ्यो। केदार पुस्तक नामको स्टेशनरी पसल थियो। करिब पैँतिस बर्ष दिपायलमै बस्नुभयो। त्यसकारण बुवा घर आउन पाउनुहुन्नथ्यो। दशैँमा भने एक हप्ताजती पसल बन्द गरेर आउनुहुन्थ्यो। तिहारमा उतै बस्नुहुन्थ्यो प्रायजसो। सिलगढी फूपू हुनुहुन्थ्यो। उतै टीका थाप्नुहुन्थ्यो।
सप्तमी वा अस्टमिको दिन बुवा घर पुग्नुहुन्थ्यो। बुवा पुगे सङ्गै घरमा खुशियाली छाउँथ्यो। बुवाले ल्याएका मिठाइ बाँढ्थे साथिहरुलाइ। गाउँमा उहाँ धेरैको नातामा जेठो हुनुहुन्थ्यो। त्यसैले गाउँका धेरैजसो आफन्तहरु हाम्रै घरमा टीका थाप्न आउनुहुन्थ्यो। घनश्याम काका र हाम्रो आँगन जोडिएको थियो। दुबै परिवार एउटै आँगनमा बसेर टिकाजमरा लगाउँथ्यॉै। हाम्रो घरभन्दा अलि माथी केदार भागेश्वर देवताको भणार छ, जसलाइ हामी देउखला भन्छौ। गाउँलेहरु सबजना देउखलामा जम्मा हुन्थ्यौँ। पुजारी दाइ आउनुहुन्थ्यो। अग्रजबाट टिकाजमरा थाप्थ्यौँ।
करिब एक हप्ता बसेर बुवा दिपायल फर्कनुहुन्थ्यो। बुवा फर्किए सङ्गै दशैँ पनि सक्किसक्थ्यो। मन अमिलो बनाएर आमाले बुवालाइ बिदाइको टीका लगाइरहँदा हामी छोराछोरीको मन पो कसरी खुशी हुनसक्थ्यो र झन ? हामी अझ धेरै दुखित हुन्थ्यौँ बुवा दिपायल गएको दिन। त्यो साँझ सुनसान लाग्थ्यो घर। अँध्यारा लाग्थे आफ्नै सुत्ने कुन्टाहरु पनि। बुवा गएको बाटो हेरिरहन्थ्यौँ। बेलुकी आगो भुर्भुराएको हेर्ने आशमा कयौँ मिनेटहरु बिताइदिन्थ्यौँ ऐँठामा बसेर।
जसरी दशैँ आउन फेरि एक बर्ष लाग्थ्यो, बुवा घर आउन पनि त्यस्तै समय लाग्थ्यो। गाउँमा धेरैका बुवाहरु घरमै हुन्थे। अर्थात् उनिहरुका बुवाहरु ब्यापार गर्न वा रोजगारीको लागि घर छोडेर गएका थिएनन्। उनिहरुका बुवाहरु बाउन्नै हप्ता उनिहरुकै साथ हुन्थे, घरमै हुन्थे। दुख्ख सुख्खमा साथसाथै हुन्थे। तर मेरा बुवा बाउन्न हप्तामा एकाउन्न हप्ता घरबाहिर हुन्थे। एकमनले भन्थ्यो मेरा बुवा पनि बाउन्नै हप्ता घरमै भैदिएको भए। तर त्यो सम्भव थिएन बुवाको लागि। ब्यापार हेर्ने अर्को कोही थिएन त्यो बखत। घर परिवार, छोराछोरी छोडेर ब्यापार गरेर हाम्रो खर्च चलाउनु उहाँको बाध्यता थियो। जुन कुरा मेरो अबोध बालमस्तिस्कले धेरैपछी मात्र बुझ्न सक्यो।
एसएलसी उत्तीर्ण गरिसके पश्चात् धनगढी झरियो सपरिवार। बुवाको पर्खाइ उस्तै रह्यो तराई झर्दा पनि। तराई झरेको एक दशकसम्म बुवा र दशैँ उस्तै रहे फेरि पनि। बर्षको एकपटक आउने। बरु दशैँ पन्द्र दिनसम्म त चल्थ्यो, बुवाको बसाँइ दस दिन पनि हुन्नथ्यो। २०६२ सालमा आमाको असमाहिक निधन भयो। त्यो बर्ष हामी शोकमा थियौँ, दशैँ भएन। बुवा घर आउनुभएन दशैँमा। बरु म नै दिपायल गएर बसे त्यो बखत।
त्यसपछिका बर्षहरुमा दशैँ बार्नुपर्ने कुनै कारण देखिएनन्। २०७१ सालदेखि बुवाले दिपायलबाट बिदा माग्नुभयो। बुढ्यौलीको कारण पसलमा बस्न सक्नुभएन। त्यहाँदेखि नवराज दाजु (माइला बुवाको छोरा) ले निरन्तरता दिरहनुभएको छ केदार पुस्तक भण्डार।
धनगढीमा हाम्रो परिवार ठूलो छ। बुवाका तीन भाइ। तीन भाइका हामी पाँच छोराहरु र आठ छोरीहरु सब धनगढीमै छौँ। आफ्नै परिवारका सदस्यहरु पनि धेरै छौँ। गडसेराबाट बसाँइ सरेर आएका धेरै गाउँलेहरु धनगढीमै हुनुहुन्छ। त्यसकारण पनि दशैँमा टिकाजमरा थाप्न आउनेको भिड नै हुन्थ्यो हाम्रो घरमा। मेरो बुवा आफ्ना भाइहरु मध्य जेठो। गाउँमा पनि उमेरले र नाताले धेरैको अग्रज हुनुहुन्थ्यो। इस्टमित्र, चेलिबेटी र गाउँलेहरुको भिडभाड दशैँको दिनदेखि पुर्णिमासम्म उस्तै हुन्थ्यो। रमाइलो हुन्थ्यो। दशैँका टीका थाप्ने पाँच दिन बितेको पत्तै हुन्थेन। बुवालाइ थोरबहुत धर्म सङ्स्कृतीको ज्ञान थियो, थोरबहुत धार्मिक इतिहासको। केही रुचि सामाजिक कार्यमा थियो त केही रुचि धार्मिक तथा शैक्षिक बिकासमा। त्यसैले पनि दशैँको टीकाजमरा थाप्ने बहानामा बुवासङ्ग धेरैका यिनै बिबिध विषयमा गफ हुन्थे, बहस हुन्थे। घन्टौ बितेको पत्तो हुन्थेन। युवादेखि बयोबृद्द ब्यक्तित्वहरु आइरहन्थे घरमा। दशैँको परिबेशमा धेरै ब्यक्तिहरुसङ्ग भेटघाट हुन्थ्यो। बातचित हुन्थ्यो। उहाँहरुका गफमा म पनि मिसिन्थे। केही सुन्थे, केही बुझ्थे।
तर आज घरमा सुनसान छ। सन्नाटा छाएको छ। बुवाको अनुपस्थिती मेरो लागि असह्य पीडा बनेको छ। यसपाली दशैँ मनाउन पाइएन, आउँदो बर्ष मनाउछौँ। तर बुवा हुँदाको दशैँ अब कहिल्यै फर्किने छैन। उहाँको हातबाट टिकाजमरा लगाएर यतीका बर्ष दशैँ मनाउथ्यौँ। अब त्यो पल सदाका लागि अन्त्य भएको छ। अब बुवा र दशैँ एक अर्खाका पर्याय रहेनन्। क्यालेन्डरका पाना फेरिपछी हरेक बर्ष दशैँ त आउनेछ। तर मेरो बुवा, अहँ कहिल्यै फर्केर आउनुहुनेछैन। उहाँ मात्र जानुभएन, उहाँसङ्गै धेरै कुरा जानेछन्। उहाँको हातबाट टिकाजमरा थाप्न आउने आफन्तजन घट्दै जानेछन, छोरीबेटी घट्नेछन। उहाँसङ्ग ज्ञान लिन आउने शुभचिन्तक घट्नेछन। पहाडका देबिदेउता पुज्ने बिसयमा हुने गफ र भेला घट्नेछन अब। सल्लाह र सुझाव लिन आउने आफन्तहरु घट्नेछन। ढोग दिएर आशिर्वाद माग्दै हरखबरी बुझ्न आउने आफन्तजन घट्नेछन। हो, बुवाको निधन पछि अब हाम्रो घरमा दशैँको पाँच दिन पहिलेको जस्तो भिड देखिने छैन। सुनसान हुनेछ आँगन। रुल्लटुल्ल हुनेछौँ हामी छोराबुहारी र नातिनिहरु। अमिलो मन बनाउनेछन् माइती आएका छोरिहरु। दशैँ अबका केही बर्ष दशैँ जस्तै लाग्नेछैन। धेरै कुराहरु मिस गर्नेछौँ दशैँमा। नवरात्रीमा बिहान सबेरै उठेर
कोहि मान्छे आफु सङ्गै हुँदा उसको त्यति महत्व थाहा नहुँदो रहेछ। जब उहाँ भौतिक रुपमा आफुमाझ हुनुहुन्न, तब धेरै कुराहरुको अभाव खड्किने रहेछ। हो, यस्तै महसुस गर्दैछु म आजभोली। बुवा हामी माझ हुँदा उहाँले भनेका कतिपय कुराहरु त्यो बखत अर्थहिन लाग्थे। महत्व दिदैनथ्यौँ। सुनेनसुनेइ गथ्र्यौँ। तर आजभोली उहाँले भनेका धेरै कुराहरु महत्वपूर्ण लाग्दैछन। पछुतो यस अर्थमा लाग्दैछ कि किन मैले मेरा बुवासङ्ग धेरै समय बिताएन ? किन उहाँले भनेका तमाम कुराहरु सङ्कलन गरेर राखेन ?
दशैमा टीका लगाउँदा कतातिर बस्ने ? कुन बार कता दिशा हुन्छ ? कता फर्किएर टीका थाप्ने ? कहिले देलिबालो लगाउने ? कहिले नौ गर्ने ? जमरा सेलाउने कतिबेला ? दशैँ सङ्ग जोडिएका यस्ता तमाम हाम्रा मुल्यमान्यताका उत्तरहरु खोज्न अब मलाइ मुस्किल पर्नेछ। किनकी बुवा हुनुहुन्न अब हामिमाझ। दशैँको दिन आफन्तकोमा टीका थाप्न जाँदा मैले मुलढोकामै ठूलो ताला लगाउनुपर्नेछ अब। किनकी बुवा हुनुहुन्न अब घर उज्यालो पार्ने।
नवरात्रीका नौदश दिनमा बिहान सबेरै शङ्ख ध्वनी सुन्निने छैन मेरो पुजाकोठाबाट। न त सुन्निनेछन भगवती स्त्वत्र र चण्डीपाठका सुमधुर बाणिहरु। किनकि बिहान चारै बजे उठेर पुजा कोठा सङ्गितमय बनाउने मेरा बुवा हुनुहुन्न अब। न त म नै अभ्यस्त भएकोछु यस्ता कार्यहरुमा। न त सुन्निनेछन् रेडियो नेपालबाट भजनकृतनहरु।
घरको इतिहास बुझेको, देबिदेबताको इतिहास बुजेको, परम्परा र सङ्स्कृतीमा लामो अनुभव सँगालेको मिहिनेती, परिपक्व, आँटिलो, सहनशील र संघर्सशील घरमुलीलाई गुमाउँदाको शुन्यता अहिले म यो बखत महसुस गरिरहेकोछु। एउटा अभिभावक गुमाउँदाको पीडा अहिले बुझ्दैछु। जब जब घरको अभिभावकत्वको जिम्मेवारीले थिच्दै लैजान्छ, तब तब बुवाको जिवनयात्राका पाठहरु अघाडी आएर उभिन्छन। उहाँले सिकाउनुभएको र बुझाउनुभएको पाठले अघि बढ्न प्रेरणा दिन्छ, शक्ति दिन्छ। उहाँले सुनाउनुभएका उहाँका संघर्षका कथाले मलाइ पनि जीवनदेखि नहार्न हौसला दिन्छ। असल र राम्रो मान्छे बनेर चिनिन प्रेरणा दिन्छ। र त उहाँकै पदचापहरु पछ्याउदै उहाँले देखेका सपनाहरु पूरा गर्ने प्रण गर्दै अघि बढिरहेछु आज पनि।
















Facebook Comment