जहाँ अहंकार हुन्छ, त्यहाँ विवेक मर्छ र विनाश अनिवार्य हुन्छ 

तोमनाथ उप्रेती
३१ असोज २०८२ ८:३७
52
Shares

अहंकार आत्ममूल्यको अतिरञ्जित भावना हो। यसमा व्यक्ति आफ्नो क्षमताको स्तरलाई वास्तविकताभन्दा धेरै माथि राख्छ।

जब मानिस आफुलाई अरूभन्दा श्रेष्ठ सम्झन्छ, आफ्ना विचार र कार्यलाई मात्र सत्य ठान्छ, तब अहंकार जन्मिन्छ। यो प्रवृत्तिले मानिसलाई यथार्थभन्दा टाढा पुर्‍याउँछ, जहाँ उसको प्राथमिकता आफ्नो मात्र मान, सुखसुविधा र सफलता हुन्छ, र अरूको योगदानलाई सधैं नजरअन्दाज गरिन्छ।

अहंकारका विभिन्न रूपहरू देखिन्छन्-धनमा गर्व, शक्तिमा घमण्ड, पदमा अहं, ज्ञानमा दम्भ वा यशमा अभिमान। यी सबैमा समानता एउटै छ-“म मात्रै केन्द्र” भन्ने सोच।

जब मानिसले आफूलाई सर्वगुण सम्पन्न ठान्छ, आफ्नो विचार मात्र सही ठान्छ, र हरेक उपलब्धिमा आफ्नो मात्र भूमिका देख्छ, तब उसको आत्मज्ञान हराउँछ।
अहंकारलाई बढाउने प्रमुख आधार हो ममत्वपूर्ण वाक्यांश-“मैले गरेँ”, “मैले भनेँ”, “मेरो कारणले मात्र सम्भव भयो”। यस्तो सोचले मानिसलाई आफू केन्द्रित बनाउँछ।

परिणामस्वरूप ऊ अरूको प्रयास, सहयोग र अस्तित्वलाई बेवास्ता गर्छ। यसरी सुरु भएको आत्ममुग्धता नै आत्म-विनाशको बीउ हो।  यस तर्कलाई इतिहास र मिथकले प्रमाणित गर्छन्। रावणको पतन उसकै ज्ञान र शक्तिमा भएको अहंकारले ल्यायो।

दुर्योधनको पराजय उसकै पद र प्रतिष्ठामा भएको अभिमानले जन्मायो। हिरण्यकश्यप, शिशुपालजस्ता पात्रहरू पनि आफ्नै अहंकारमा डुबेर नष्ट भए। यी उदाहरणहरूले स्पष्ट देखाउँछन्-जहाँ अहंकार हुन्छ, त्यहाँ विवेक मर्छ र विनाश अनिवार्य हुन्छ।

अभिमान वास्तवमा अदृश्य आगो हो। यसले मानिसलाई बाहिरी रूपमा होइन, भित्रभित्रै जलाउँछ। यो सफलता, पद, शक्ति वा सम्पत्तिबाट उत्पन्न भए पनि अन्ततः नैतिकता, विवेक र आत्मज्ञानलाई नष्ट गर्छ। अहंकार र अभिमानले दृष्टि संकुचित बनाउँछ, जसले अरूलाई तुच्छ देखाउँछ र आफ्नै केन्द्रित मानसिकता निर्माण गर्छ। यही संकुचित मानसिकता अन्ततः पतनको कारण बन्छ।

तर समाधान छ-आत्मबोध, विनम्रता र सहकार्य। जब मानिसले स्वीकार्छ कि उसको उपलब्धि मात्र व्यक्तिगत प्रयासको परिणाम होइन, बरु अरूको योगदान, समाजको संरचना, र समयको परिस्थिति पनि उत्तिकै महत्त्वपूर्ण छन्, तब अहंकार कमजोर हुन्छ। विनम्रता केवल कमजोरी होइन, यो त विवेकको शक्ति हो-जसले मानिसलाई समावेशी, सहिष्णु र सन्तुलित बनाउँछ।

धार्मिक ग्रन्थहरू र पौराणिक कथाहरूमा यस्ता असंख्य उदाहरण छन्, जहाँ अभिमानले शक्तिशाली राजाहरू, विद्वान्, तपस्वीहरू र यहाँसम्म कि देवता समान पात्रहरूलाई पनि विनाशतर्फ डोर्याएको छ। रावण, हिरण्यकश्यप, शिशुपाल र दुर्योधन-सबै अभिमानको आगोमा जलेर समाप्त भएका पात्रहरू हुन्। उनीहरूको पतनको मूल कारण एउटै थियो-अहंकार।

अभिमानले आत्मविनाशको प्रक्रिया एकदमै सूक्ष्म रूपमा आरम्भ गराउँछ। यो आरम्भमा शक्तिको अनुभूति, सफलताको गर्व र अरूको प्रशंसा जस्तो देखिए पनि समयसँगै व्यक्ति आफैलाई सबैभन्दा योग्य ठान्न थाल्छ। उसले अरूको सुझाव, आलोचना वा सहकार्यलाई नकार्न थाल्छ। यस्तो सोचले उसलाई एक्लो बनाउँछ, विवेकशून्य बनाउँछ र अन्ततः आत्मनाशतर्फ लैजान्छ।

अहंकार मानव जीवनको एक यस्तो अन्धकार हो, जसले व्यक्तिको ज्ञान, विवेक र आत्मबोधलाई धमिल्याउँछ। जब व्यक्ति आफ्नो शक्ति, पद, धन वा बुद्धिमा मात्र गर्व गर्न थाल्छ र आफूलाई अरूभन्दा श्रेष्ठ ठान्न थाल्छ, त्यतिबेलादेखि उसले पतनको यात्रा आरम्भ गरिसकेको हुन्छ। अहंकारले व्यक्ति अरूको विचार, भावना र अस्तित्वप्रति असंवेदनशील बनाउँछ, जसले गर्दा ऊ एक्लो, हठी र कठोर बन्न जान्छ।

मानव जीवन चेतना र विवेकको अद्वितीय उपहार हो। तर यो उपहारलाई अन्धकारमा पुर्‍याउने अदृश्य शत्रु हो-घमण्ड। घमण्ड केवल बाहिरी व्यवहारको विकृति होइन; यो आत्मा भित्र पस्ने ग्रहण हो, जसले बुद्धि, विवेक र आत्मशक्तिलाई बिस्तारै क्षय गराउँछ।

मानिस जब आफ्नै सामर्थ्य, ज्ञान, उपलब्धि वा पदमा अत्यधिक गर्व गर्छ, तब त्यो गर्व हळूहळु विष बनिन्छ। विष पहिलोपटक स्वादिलो लाग्छ, तर अन्ततः जीवनलाई खण्ड–खण्ड पार्छ। घमण्डले पनि सुरुमा आत्मसन्तोष दिन्छ, तर अन्ततः आत्मविनाशको मार्ग खोल्छ।

हिन्दू धर्मग्रन्थ रामायण मा रावणको चरित्र यसको उत्कृष्ट उदाहरण हो। रावणको शक्ति, तपस्या र विद्वत्तामा कुनै शंका थिएन। उसले वेद-पुराणको गहिरो अध्ययन गरेको थियो, शिवभक्त थियो, युद्धकौशलमा अद्वितीय थियो। तर उसको विनाशको कारण शक्ति वा विद्या थिएन; उसको विनाशको कारण थियो-घमण्ड।

सीताको अपहरण गरेर उसले केवल रामसँग वैर साधेको थिएन, उसले आफ्नो विवेक गुमाएको थियो। घमण्डले उसको आँखामा यस्तो पर्दा हाल्यो कि रामजस्ता मर्यादा पुरुषोत्तमसँग युद्धको परिणाम ऊ कल्पनासम्म गर्न सकेन। रावणको अहंकार नै उसको साम्राज्य पतनको मुख्य बीज बन्यो।

यसैगरी, महाभारतमा दुर्योधन पनि घमण्डकै कारण विनाश भयो। दुर्योधनले आफ्नो राज्य, शक्ति र मित्रतामा गर्व गर्दै पाण्डवलाई अपमानित गर्‍यो। उसको गर्वले सत्य र धर्मलाई अन्धकारमा धकेल्यो।

अन्ततः महायुद्ध भयो, जहाँ दुर्योधन र उसको वंश ध्वस्त भयो। यसले स्पष्ट देखाउँछ-घमण्डको ग्रहणले चाहे जतिसुकै शक्तिशाली व्यक्ति किन नहोस्, उसको विवेकलाई क्षय गरेर आत्मविनाशतर्फ लैजान्छ।

अहंकारले बाह्य रूपमा मानिसलाई शक्तिशाली देखाए पनि भित्रभित्रै उसलाई कमजोर बनाउँछ। साँचो शक्ति भनेको आत्मबोध, सहिष्णुता र विनम्रतामा हुन्छ। त्यसैले जीवनलाई समृद्ध, सन्तुलित र शान्त बनाउन अहंकारको अन्धकारबाट बाहिर निस्कनु आवश्यक छ। आत्मचिन्तन, आत्मनियन्त्रण र विनम्रता नै मानव जीवनको उन्नतिको असल मार्ग हुन्।

मानव जीवनमा अहंकार र अभिमान पतनको मूल कारण बन्न सक्छ। जब व्यक्ति आफ्नो ज्ञान, शक्ति वा सम्पत्तिको घमण्ड गर्छ, त्यही घमण्ड उसको विनाशको ढोका खोल्दछ। अहंकारले मानिसलाई आत्ममुग्ध बनाउँछ र उसलाई यथार्थ बुझ्न नदिन्छ। अरूको विचारलाई तुच्छ ठानिन्छ, जसले समाजमा टकराव र असहिष्णुता निम्त्याउँछ। इतिहासमा पनि रावण, दुर्योधनजस्ता पात्रहरू आफ्नो अभिमानकै कारण नष्ट भए।

अहंकारको रस क्रोध, लोभ, मोह, ईर्ष्या र द्वेषमा पोषित हुन्छ। जब यी भूतहरूले मानिसलाई आक्रान्त बनाउँछन्, विवेक मर्छ र चेतना हराउँछ। अहंकारी व्यक्तिहरू आफूलाई अरूसँग तुलना गर्दा सधैं उन्नत ठान्छन्, अरूलाई कम आँक्छन्, र केवल प्रशंसा गर्नेहरूलाई मात्र नजिक राख्छन्। यस्तै प्रवृत्तिले उनीहरूलाई कठोर, स्वार्थी र प्रतिशोधी बनाउँछ।

अहंकारको मूल कारण आत्मज्ञानको अभाव हो। जब मानिसले आफ्नो पहिचानलाई केवल शरीर वा धनमा सीमित गर्छ, त्यही अहंको जन्म हुन्छ। जसरी अग्निले काठलाई खरानी बनाउँछ, त्यस्तै अहंकारले विवेकलाई भस्म पार्छ। स्वाभिमान जहाँ आत्मबोध हो, अहंकार त्यसको विकृत रूप हो।

विशेषगरी पद, धन वा यश प्राप्त गरेका व्यक्तिहरू अहंकारमा सजिलै फस्छन्। सम्मान र चाकरीले उनीहरूलाई आफू मात्र सही भन्ने सोचतर्फ धकेल्छ। आलोचना स्वीकार गर्न नसक्ने, अरूको विचार अस्वीकार गर्ने, र स्वेच्छाचारी निर्णय गर्ने प्रवृत्तिले समाजमा अस्थिरता निम्त्याउँछ।

साँचो सफलता विनम्रताबाट मात्र सम्भव हुन्छ। आत्मजाँच, आत्मसमर्पण र क्षमाशीलता अहंकारको औषधि हुन्। शरीर, मन र अहंकारलाई नियन्त्रण गर्न सक्नेले मात्र साँचो शान्ति र आनन्द प्राप्त गर्छ। सन्त कविरले भनेझैँ, अहंकारले ज्ञानलाई नष्ट गर्छ र विपत्तिहरू निम्त्याउँछ।

धनवान वा पदवान मानिसहरू प्रायः बढी अहंकारी देखिन्छन्। उनीहरूलाई नमस्कारमा पनि प्रतिस्पर्धा हुन्छ-पहिले कसले कसलाई झुक्छ भन्ने अहं। अहंकारले आत्मसमर्पणमा बाधा दिन्छ, जसले जीवनमा फूल झैं विनम्रता पलाउन दिँदैन। रजनिश ओशोले भनेझैँ, “जहाँ अहंकार हट्छ, त्यहाँ जीवनमा फूलहरू खिल्छन्।”

मानवले जीवनमा दुई यात्रा गर्न सक्छ-शक्तिको वा शान्तिको। शक्तिको यात्रा अहंकारको यात्रा हो, जसले सत्य चिन्दैन। तर अहंकारको अन्त्य भएपछि मात्र आनन्द र विनम्रताको आगमन हुन्छ। अहंकारी व्यक्तिहरू हिंस्रक र आक्रामक हुन्छन्, सुरक्षित देखिन चाहन्छन्, तर भित्रै भयले भरिएका हुन्छन्।

अन्ततः, अहंकार केवल अज्ञान हो। यो “म”, “मेरो”, “मलाई” भन्ने भावलाई बढाउँछ र अरूको अस्तित्वलाई तुच्छ बनाउँछ। अहंकारका सन्तानहरू-क्रोध, मोह, लोभ, द्वेष-अन्ततः विनाशतर्फ जान्छन्। त्यसैले आत्मचिन्तन, विनम्रता र सहिष्णुताको अभ्यासमार्फत मात्र मानिसले आफ्नो जीवनलाई समृद्ध, सन्तुलित र शान्त बनाउन सक्छ।

अहंकारबाट मुक्त हुन सर्वप्रथम हामीले आफुभित्र कुन प्रकारको अहंकारको भूत हावी छ त्यसप्रति सजग हुनु जरुरी छ । अहंकारका विभिन्न भूतप्रति हामी  सजग हुन सकेमा अहंकार निश्कृय हुन्छ र ह्दय प्रेमले भरिन्छ।

अक्सर हामी आफ्नो अहंकारको भूतको पुष्ट्याई गर्न कोशिस गर्छौ, तर्क विर्तक गर्छौ, आफ्नो भूतलाई तर्कद्धारा प्रमाणित गर्न खोज्छौ तर यस्तो कार्य गर्दा झन अर्को अहंकारको भूत थप हुन्छ। सर्बप्रथम  आफ्नो अहंकार आफै थाहा पाउने चेष्टा गर्नुपर्छ । जस्तै ,चरित्रकेन्द्रित अहंकार भएको व्यक्तिले आफ्नो भित्री अपराध वोधमा म खराव हुं भन्ने वोध एवं स्मृति भएमा पश्चाताप गर्छ र अहंकार हराउछ ।

धन तथा भोगकेन्द्रित अहंकार भएको व्यक्तिले म लोभी हु, वासनायुक्त हु भन्ने वोध भएमा उसले दान गर्ने प्रयास गर्दछ । साथै शक्ति, पद र वलको अहंकार भएको व्यक्तिलाई सो आफ्नो अपराधहरुको भित्री वोध म अरुलाई पीडा दिइरहेको छुू भन्ने जव बोध हुन्छ उसले आत्मपीडा महशुस गर्न थाल्दछ।

भाव तथा प्रेमकेन्द्रित अहंकारको वोध म मोह ग्रस्त हुँ भन्ने भएमा उसले पलायन हुने प्रयास गर्दछ । वुद्धि एवं विचारको अहंकार भएको व्यक्तिलाई म चंचल, अस्थिर हुं भन्ने वोध भएमा उसले आफ्नो मनसंग शत्रुता गर्दछ । यसर्थ अहंकारको वोध भएमा अहंकार हावी हुन नदिने अन्य कार्य गरिन्छ र ईगो साम्य हुन्छ ।

जीवनमा काम, क्रोध, लोभ, मोह र अहंकारलाई दुःखका कारण मान्न सकिन्छ तर सबै अवस्थामा दुःखको कारणको रूपमा मान्न उचित हुँदैन । यी पाँच तत्वहरू प्राकृतिक हुन् । मनुष्य जीवनमा यसको आवश्यकता अनिवार्य छ संवेदनाहरू सबै अवस्थामा विकार हुँदैनन्।

लोभले मानवलाई अतृप्त तृष्णामा डुबाउँछ र सत्य, नैतिकता र कर्तव्यबाट अलग गरिदिन्छ । मानिसलाई आवश्यकताभन्दा धेरै मोहले दुर्बल बनाउँछ । दुर्बलता विनाशको मार्ग हो । अहंकारको प्रभावले मानवलाई अपराधी बनाउँछ ।जो व्यक्तिमा अहंकार हुन्छ र धेरै रिस उठ्छ, उसलाई दुश्मनको आवश्यकता नै पर्दैन।

अहंकारी मानिस प्रशंसाको भोको हुन्छन्, आलोचना त सुन्नै चाहँदैन । मानिस प्रशंसामा प्रसन्न हुन्छन्, आलोचनामा क्रोधित हुन्छन् । उनीहरू आफ्नो कार्यमा, क्षमतामाथि प्रश्नचिन्ह लागेको हेर्न चाहँदैनन्  अहंकारले शक्ति, क्षमताको दुरूपयोग गर्न प्रेरित गर्छ।

अहंकारीको सम्पन्नता कमजोरहरूको दुःखको कारण बन्छ । अहंकारी मानिस आफ्नो क्षमता, शक्ति वा सम्पनतामाथि कसैले औँला उठायो भने असाध्यै असह्य हुन्छन् र क्रोधित भएर प्रश्नलाई नै समाप्त गर्ने प्रयत्न गर्छन् । ती मानिस सही या गलतको कुनै लेखाजोखा गर्दैनन् । यहाँ सत्य असत्यको कुनै गुञ्जायस हुँदैन ।

अहंकारलाई निष्क्रिय पार्न प्रेम, मैत्री र करुणा बढाउनु आवश्यक छ। मैत्री र करुणामा ‘म’ र ‘मेरो’ को भेद हुँदैन। मैत्रीले अरूलाई हर्षित बनाउँछ भने करुणाले अरूको दुःख हटाउन सक्छ।

व्यक्तिले आफूभित्रको अहंकारलाई नीरिक्षण गर्दै चेतनाको दियो बाल्ने प्रयास गर्नुपर्छ।धेरैपटक शारीरिक, मानसिक र भावनात्मक लहडका कारण व्यक्तिको अहंकार तीव्र हुन्छ। तर जब व्यक्ति शरीर, मन र भावना भन्दा माथि उठेर आफू चेतनाको अस्तित्व हो भन्ने अनुभूति गर्छ, तब अहंकार आफैं निस्तेज हुन थाल्छ।

अहंकार उन्नति र प्रगतिको बाधक हो। सार्वजनिक जीवनमा सफल हुन अहंकार र अभिमान त्याग गर्नु अपरिहार्य छ। जहां अहंकार हट्छ, त्यहाँ जीवनमा सकारात्मकता र प्रसन्नता बढ्छ। झुक्न सक्ने स्वभावले अहंकारलाई क्रमशः कटौती गर्छ।अन्ततः व्यक्तिको चरित्र र मानसिकता सुधार्न शिक्षा र संस्कारले ठूलो भूमिका खेल्छ। अहंकार हटाउन प्रत्येक व्यक्तिमा नैतिक र सामाजिक जिम्मेवारीको चेतना आवश्यक छ।

  -उप्रेती नेपाल सरकारका उपसचिव हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.