खर्वको खरानीमाथि द्वन्द्व र दिशाहीन जेन-जी

जितेन्द्र जीसी
२९ असोज २०८२ ७:२५
60
Shares

नेपालको राजनीतिक इतिहास अहिले एउटा अनौठो मोडमा छ-जहाँ पुराना दलहरूको अविश्वास, विभाजन र असफल नेतृत्वको छायाँमा नयाँ पुस्ता, विशेषतः जेन-जी (Gen Z) पुस्ता, राजनीति र सामाजिक परिवर्तनको मोर्चामा अगाडि बढ्ने प्रयासमा छ। तर त्यो प्रयास स्पष्ट दृष्टिकोण र साझा लक्ष्यविना अघि बढ्न सकेको छैन।

हाल, स्थापित राजनीतिक दलहरूको आडमा, विभिन्न जेन-जी समूहहरू जन्मिँदैछन्। संविधानले मोनार्की चिन्दैन, त्यती हुँदाहुँदै पनि ‘जेन-जी अलायन्स फर मोनार्की’ जस्ता समूह र संरचनाहरू देखिन थालेका छन्, जसले लोकतान्त्रिक आन्दोलन र जेन जी मोभमेन्टको मर्ममै प्रश्न उठाउँछ।

त्यस्तै, नेकपा माओवादी केन्द्र निकट ‘जेन-जी रेड फोर्स’ जस्ता संगठनहरूले पनि पुराना दलका छायामा आफ्नो अस्तित्व निर्माण गर्न खोजिरहेका छन्। कांग्रेस-एमाले निकट विद्यार्थी संगठनहरूले पनि जेन-जी समूह स्थापित गर्लान् नै, अनि त मुख्य उद्देश्य नै भाँडिने डर भयो।

यही नै लोकतन्त्रको फूल र सौन्दर्य त हो तर उनीहरु प्रचण्ड जस्ता उथलपुथल कर्मी र चतुर खेलाडी मै अकाट्य सत्य देख्न थालेपछि, ती सहादत र त्यो खरानी खेर जाने भयो भन्ने संसय पैदा भएकोछ। त्यसरी नै केपी ओली वा अर्को कुनै दाइको जय गान र स्तुती गर्ने जेन-जी जन्मिदै गएमा ती रगतका टाटा र ती खर्वका खरानीको अर्थ के रह्यो?

यसकाे अहिलेसम्मको नतिजा भनेको ज्योतिषलाई असफल बनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति तोक्नु भयाे। चटके खेलाडी प्रचण्डले महाधिवेशको नाममा साइ प्रसिनाहरुका मुख थुने। केपी ओलीले बाँच्रुञ्जेल अध्यक्ष रहने बिधान बनाएपनि महाधिवेशनकाे मुखैमा राजीनामा माग्ने हिम्मत नेताहररूले गरेका छन्।

राष्ट्राध्यक्षा बनेर पनि अझै राजनीतिबाबाट धित नमारेपछि विद्या भण्डारी जस्ता पदको गरिमा नबुझ्नेहरुलाई सबक सिकाउनै बाँकी छ। नैतिकता र लालचको सीमा सम्झाउन जरुरी छ।

फ्रान्सका राजा लुइ चौधौं (Louis XIV) ले भनेका थिए – “L’État, c’est moi” अर्थात “राज्य म नै हुँ।”

मोहम्मद अली (Muhammad Ali) ले भनेका थिए – “I am the greatest” अर्थात् “म सबैभन्दा महान् हुँ।यो अहंकारको प्रतीक थियो। बेनीतो मुसोलिनी, फर्डिनान्ड मार्कोसलगायत केही अधिनायकवादी नेताहरूले आफू कानूनभन्दामाथि रहेको, “म नै नियम हुँ (“I am the rule”)” भन्ने किसिमका कुरा गरेको पाइन्छ। केपी ओलिको मुखबाट सुन्न अब यति बाँकी छ।

देशमा राजनीतिक दल खोल्नु सजिलो कामजस्तो देखिएको छ-तर उद्देश्य र गन्तव्य अस्पष्ट। हिजोका स्थापित दलहरूले जस्तै, आजका नवोदित जेन-जी समूहहरूले पनि लक्ष्यभन्दा बढी प्रचारमा ध्यान दिएका छन्। कम्युनिस्ट नाममा दर्जनौँ पार्टी बनेर, फुटेर, फेरि मिसिएका छन्; त्यसको अनुकरण अब जेन-जी पुस्ताले पनि गर्न थालेका छन्।

शास्त्रीय सिद्धान्त भन्छ, “संघे शक्तिः कलौ युगे” -अर्थात् एकता नै शक्ति हो। तर नेपालमा अहिले अवस्था त्यसको ठीक विपरीत छ। विभाजन र गुटबन्दीले प्रत्येक नयाँ प्रयासलाई कमजोर बनाइरहेको छ। जेन-जी समूहहरू एउटै उद्देश्यमा बाँधिन नसक्दा तिनका मुद्दाहरू पनि माला फुटेपछि छरिएका दानाजस्ता बनेका छन्।

उनीहरु कै काँध चढेर कार्यपालिकाको मुखिया बनेकी प्रधानमन्त्री बनेकी सुशिला कार्कीले भनेकी थिइन्, “जेन-जीको खास नेतृत्व को हो, त्यो नै अस्पष्ट छ, चिनोको छैन।” यो टिप्पणी केवल राजनीतिक व्यङ्ग्य होइन, एउटा गम्भीर संकेत हो-जसले बताउँछ कि यो पुस्ता अझै आत्मपरिभाषाको संकटमा छ। नेताविहीन आन्दोलनले राज्यसँग संवाद गर्न सक्दैन, संसदमा प्रवेश गर्न सक्दैन, र अन्ततः प्रभाव पनि कायम गर्न सक्दैन।

संविधान र लोकतन्त्रमा विश्वास गर्नेहरूले बुझ्नुपर्छ-एजेन्डा पास गर्न संसद अपरिहार्य छ। संसदलाई भंग गर्न वा अस्थिर बनाउन प्रेरित गर्नेहरू केवल विरोधी होइनन्, लोकतन्त्रका दुश्मन हुन्। आन्दोलनको नाममा राज्यका प्रतीकहरू जलाउने, करदाताहरूलाई धम्क्याउने, र सम्पत्ति नष्ट गर्ने कार्य कुनै पनि अर्थमा सुधारको स्वरूप हुन सक्दैन।

हालका आन्दोलनहरूमा देखिएको चरम प्रतिक्रियात्मकता, विदेशी लगानीमा आक्रमण, र ‘ब्राण्ड नेपाल’ माथिको आघातले देशको छवि गम्भीर रूपमा बिगारिरहेको छ। विदेशी लगानीकर्ताले नेपालको बजारबाट पाखा लग्ने संकेत दिन थालेका छन्, जसको असर रोजगारी, विकास र समृद्धिमा पर्छ।

जेन-जी आन्दोलनको आत्मा न्यायका लागि हो, अराजकता र अराजनीतिक हठका लागि होइन। अन्याय भएको ठान्नेहरूले आवाज उठाउन अधिकार राख्छन्, तर त्यो आवाजले जिम्मेवारी र विवेक बोकेर आउनुपर्छ।

अपराधमा संलग्न कैदी भाग्दा वा कानून तोडिँदा चुप बस्ने आन्दोलनकारीहरूको नैतिकता प्रश्नमा पर्छ। उनिहरुको सिद्दान्त र गन्तब्यमा स्पस्टता भेटिँदैन। तसर्थ यो सङ्लिने, सुध्रीने समय हो अन्यथा सरण खोज्ने दिन टाढा नदेख्दा उचित हुन्छ।

राज्यले दोषीलाई खोजेर न्यायको प्रक्रिया अघि बढाउने काम गर्छ भने, जेन-जी आन्दोलनले पनि आफ्नो अनुशासन देखाउनुपर्छ। यदि आन्दोलनकारीहरू नै दण्डहीनताको वकालत गर्न थाल्छन् भने त्यो आन्दोलनले विश्वास गुमाउँछ।

जेन-जी नेतृत्वले देशका आम नागरिक, करदाताहरू, र राज्यका निकायप्रति स्पष्ट दृष्टिकोण राख्न जरुरी छ। विरोध आवश्यक छ, तर विधि र विवेकसहित। सडकमात्र होइन, संसद र नीति-निर्माणमा प्रवेश गर्नुपर्ने बेला यही हो।

जेन जी का लक्ष पूराहुन र ‘रियल भिक्ट्री’का लागी संसद जरुरीछ,यो संबिधान अनुरुप चल्दा। त्यो जानिजानी संसद बिघठनलाई अघि सार्न, बिघठनको मुद्दा बोक्न र सदर गराउने जेन-जीको मर्म बिरोधी हुन्। किटान गरेर किनरा लगाउनु पर्दछ। त्यस्तै नेता वा सल्लहकारले जेन-जी आन्दोलनलाई किनरा लगाउँदै छन्, होसियारी जरुरी छ।

अहिलेका केही जेन-जी नेताहरूको वक्तव्य-जस्तै पुराना नेताहरूलाई ‘घरमै थुनेर’ राजनीति परिवर्तन गर्ने भनाइ-घृणित र असंवैधानिक छन्। यसले प्रजातन्त्रको मर्ममाथि प्रहार गर्छ। प्रजातन्त्रमा परिवर्तनको माध्यम केवल जनमत र निर्वाचन हो, प्रतिशोध होइन।

राजनीतिक दलहरूलाई चुनाव बहिष्कार गर्न उक्साउने वा धम्क्याउने प्रवृत्तिले पनि लोकतन्त्रलाई कमजोर बनाउँछ। यदि जेन-जी पुस्ता साँच्चिकै परिवर्तन चाहन्छ भने उसले निर्वाचन प्रक्रियालाई बलियो बनाउनुपर्छ, नष्ट गर्न होइन।

अन्ततः, जेन-जी आन्दोलनले आफ्नो अस्तित्व प्रमाणित गर्न तीन कुरा गर्नैपर्छ-पहिलो, साझा उद्देश्यमा एकता; दोस्रो, संविधान र कानूनप्रति आस्था र तेस्रो, शान्तिपूर्ण राजनीतिक सहभागिता। अन्यथा, सबै आन्दोलनहरू एउटै टोकरीमा अटाउनेछन्-न त नयाँ, न त विश्वसनीय।

देशले जेन-जी पुस्ताबाट केवल आक्रोश होइन, दृष्टि र विकल्पको अपेक्षा गरेको छ। यस पुस्ताले पुराना गल्तीबाट सिकेर जिम्मेवार नागरिकताको अभ्यास गर्न सकेमा, नेपालको लोकतन्त्र अझ सुदृढ र समावेशी बन्न सक्छ।

जेन जी आन्दोलनको नतिजा स्वयम आन्दोलन कर्ता र सरकार दुबैका लागी अकल्पनीय थिए। त्यसले खर्वको सम्पत्ती खरानी बनाएको छ। तर हिजो लडिरहेका राजनीतिक दलका दोश्रो वा तेस्रो पुस्ता खुशी होलान् तर उनीहरु योग्य छन् भनेर पत्याउने जम्मात छैन।

ईश्वर पोख्रेल जस्ता भ्रष्टाचारको दुरगन्धमा परेका मानिस होउन् वा बालुवाटारको सरकारी जग्गै किन्ने सुकुमुबासी विष्णु पौडेलहरु, माखो नमार्ने पूर्णबहादुर खड्का हुन वा (बुवाको) विरासतमा नेता बनेका कोइरालाहरु, प्रकाशमान सिंह-बिमलेन्द्र निधि नै किन नहोउन्, सबै टेस्टेड र फेल्ड हुन्।

उनीहरु गुट बन्दीले टिकेका रस बिनाका छोक्रा मात्रै हुन्। उनीहरुबाट देशले केही तरक्की गर्न सक्दैन। दूरगामी योजना छ भने पहिला तिम्रा पार्टीका नीति फेर, घोषणा पत्र फेर अनि जनातामा जाउ। अन्यथा सबैले रिटयार्ड जिन्दगी बिताउन उचित हुन्छ।

मओवादीको त कुरै रहेन, बर्षमान र महराहरु नै काफी छन्। जनार्दनलाई छेकेर माओवादी फरक देखिन सक्दैन। बिद्रोहाका नाममा देश लुटेको, देश्बासी मारेको अनि राज्य कोषबाट लडाकुका नामम लिएकाे रकमलाई भ्रष्टाचार गर्ने, गलत संख्या देखाएर राज्य कोष सक्ने कार्यको जति कडा नसिहत दिए पनि कम हुन्छ।

अझै नारायणकाजी जस्त ढोंगी त्यहीँ छन् जसले तलब नलिएर रोल मोडेल बन्ने धृष्टता गर्छन्। मर्क्सको कुन सिद्धान्तमा लेखिएको छ, तलब नलिएर इमान्दार कहलिने कुरा। तसर्थ त्यस्ता ढोंगी बोकेर माओवादी उभो लाग्दैन।

त्यसरी नै अन्य दल झै चिरा-चिरामा बिभक्त बनेर जेन-जीले आर्जन गरेको शक्ति निरर्थक हुन्छ। खर्वको खरानी उडएर बस्ने कि त्यही खरानीको टीका लगाएर एकतबद्ध भएर देश बनाउने निर्णय गर्ने बेला हो यो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *