कथा : गायत्री काका

प्रकाशचन्द्र खतिवडा
१ कार्तिक २०८२ ७:५०
332
Shares

विद्यालय विदा भए पनि भवन निर्माणको काम चालू थियो। मजदुरहरु काम गरिरहेका थिए। म विद्यालय प्रांगणमा उभ्भिरहेको थिएँ। एस.एल.सी.को नजिता आइ सकेकेको भए पनि पूर्ण विवरण प्राप्त गर्न सकिएको थिएन। एस.एल.सी. नतिजा यकिन गर्नकै लागि गोविन्द सर र भोलाजंग सर विद्यालय आइ पुग्नु भएको थियो।

विद्यालयमा संचार साधनको रुपमा एक थान सी.डी. एम. फोन सेट थियो। हामीले अफिस भित्र पसेर फोन सम्पर्क गर्दै नतिजा यकिन गर्‍यौं। मैले नतिजा सूचना पाटीमा टाँस गरें। नतिजा हेर्नका लागि अभिभावक र विद्यार्थी फाट्टफुट्ट आइरहेका थिए। गोविन्द सर र भोलाजंग सर सत्तल तिर निस्कनु भयो। म भवन अवलोकन गर्न थालें।

असार मसान्तसम्म भवन निर्माण सक्नका लागि ठेकेदारलाई तागेता गरिएको थियो। ठेकेदारले थप मजदुर परिचालन गरी निर्माण कार्यलाई तिव्रता दिएका थिए। काम नसके उनले पैसा नपाउने पक्का थियो।

सरकारी काम फरफारक नगरी रकम निकाशा हुँदैनथ्यो। बिल, भर्पाइ, डोर हाजिरी र भवनको फोटोसमेत पेश्नु पथ्र्यो। योजना फरफारक गरी रकम निकाशाा लिन ४-५ दिन सदरमुकाममै बस्नु पथ्र्यो। असार मसान्त ताका भोजपु्र सदरमुकाममा मानिसको आवत जावत र चहल पहल निकै बढ्थ्यो। होटलहरु मजाले चल्थे।

गायत्री काका र म ज्ञानु होटलमा बसेका थियौ। दाजु भाउज्यू राम्रै व्यवहार गर्थे। खाना रामै्र हुन्थ्यो। हामी गएपछि ज्ञानु दाजुले खसीको मासु ल्याएर मासु भात खुवाउनु हुन्थ्यो। कागती र काक्राका सलाद पनि हुन्थे।

गायत्री काकालाई बोसो औधि मिठो लाग्थ्यो। गायत्री काका कांग्रेस निकट समाजसेवी हुनुहुन्थ्यो। एक कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनु भएको गायत्री काका अहिले निर्माण समितिको अध्यक्ष हुनुहुन्थ्यो।

आवश्यक कागजात र बैठक निर्णय सहित जि. शि.का. भोजपुरको प्राविधिक फाँटमा हामीले कागजात पेस गर्‍यौं। भवन फरफारक गरी रकम निकाशा लिने प्र.अ.र अध्यक्षहरुको प्राविधिक फाँटमा बाक्लै भिड थियो। प्रविधिकले कमिशन प्राप्त नगरी योजनाहरु फरफारक नहुने गुनासाहरु उठिरहेका थिए।

हामी कमिशन नदिने पक्षमा थियौं। प्राविधिक कमिशन लिएरै छोड्ने पक्षमा थिए। हामीबीच खटपट भै रहेको थियो। हाम्रो काममा आलटाल भएपछि गायत्री काकाले काम चाँडो गरिदिन अनुरोध गर्नु भयो। प्राविधिकले कमिशन नदिए योजना फरफारक हुँदैन भनी हाम्रो फायल हेर्न नमानेपछि प्राविधिक र हामीबीच भनाभन भए।

गायत्री काकाले मुखै छोडेर तँ भन्दै प्राविधिकको कठालो समात्नु भयो। मैले बलजफ्ती गरेर गायत्री काकाको हात कठालोबाट खुस्काएर बाहिर जाऊँ भनें। कार्यकक्ष भित्रै हातपात हुनु निन्दनीय ठहरिन्थ्यो।

प्राविधिकको कमिशनबारे पत्रकार सम्मेलन गर्ने तयारीका साथ हामी डाँडा गाउँ तिर लाग्यौ। दुई घण्टा भित्रमा योजना फरफारक गरी रकम निकाशा नदिए जे पनि हुन सक्छ भन्ने धम्कीपूर्ण सन्देश गायत्री काकाले प्राविधिकलाई दिनु भयो।

गायत्री काकासँग राजनैतिक तागत थियो। म नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको सचिव थिएँ। हाम्रो नैतिकताले कमिशन ख्वाउन मिल्दैनथ्यो। कमिशन खाएको प्रमाण जुटाएर प्राविधिकलाई कार्यवाही गराउन सक्ने हैसियतमा हामी थियौं।

हाम्रो धम्कीले गलेर प्राविधिकले योजना फरफारक गरी निर्माण खातामा हाल्ने रकमको चेक बनाई हामीलाई पत्र बुझ्न आउनु रे भन्ने खबर कार्यालय सहयोगीमार्फत प्राप्त भएपछि हामी पत्र बुझी बैंक तिर लाग्यौं।

रकम भुक्तानि लियौं। आवश्यक किन मेल गर्‍यौं। साथी भाइसँग विदावारी भयौं। ज्ञानु होटलको तिरो भरो गरी बेलैमा सुत्यौं। भोलि बिहान चाँडै उठी साङपाङ जानु थियो। मजदुरहरुको पारिश्रमिक भुक्तानी नगरेसम्म हाम्रो जिम्मेवारी पूरा नहुने थियो।

बोया, साङपाङ छापामारहरुको गाउँ। दर्जनौं नेता कार्यकर्ता भूमिगत थिए। जनयुद्ध चरम उत्कर्षमा थियो। छापामार र सेना प्रहरीबीच मुठभेड भएका समाचार आइरहेका थिए। जिल्ला सदरमुकामहरु हान्ने, र ब्यारेक लुट्ने कार्यमा छापामारहरले सफलता प्राप्त गरिरहेका थिए।

राज्य सत्ता रक्षात्मक स्थितिमा पुगेको हो कि? भन्ने आभास भै रहेको थियो। ग्रामीण क्षेत्र एकलौटी छापामारहरुको नियन्त्रणमा थिए। जनसंगठन र जनसरकार घोषणा गरी राज्य संचालनको परीक्षण गरिएका थिए।

विद्यालयहरुमा अनेरस्वावियु गठन गरिएका थिए। शिक्षकहरुले तोकिएको लेवी बुझाउनु पर्थ्याे। लेवी नबुझाउने शिक्षक माथि भौतिक कार्यवाही समेत हुन्थे। सेना र प्रहरीले शिक्षक माथि विशेष निगरानी राख्थे र भन्थे आतंककारीलाई लेवी नदिनु।

गायत्री काका र मेरो संस्थागत आस्था एउटै भएपनि विचारगत आस्था भिन्न थियो। वहाँ प्रजातान्त्रिक समाजवादी हुनुहुन्थ्यो भने म बामपन्थी थिएँ। हामी एकले अर्काको विचारलाई सम्मान गथ्र्यौं। खासमा हामीले सैद्धान्तिक वहस नै गरेनौं। को कांग्रेस को कम्युनिष्ट? विद्यालयको हित सर्वोपरि ठान्यौं। विद्यालय भित्र राजनैतिक गन्ध आउनै दिएनौं। त्यो नै हाम्रो त्याग थियो।

गायत्री काकामा लोभ र स्वार्थ थिएन। समाज हित नै वहाँको स्वार्थ थियो। अलि चाँडो रिसाउने र प्वाक्क बोल्ने आदतले कहिले कहिले अप्ठेरोमा पर्नु हुन्थ्यो। सहकारी, खानेपानी र वन समितिहरुकामा वहाँ नेतृत्वदायी भूमिकामा रहनु हुन्थ्यो। उहाँले नेतृत्व गरेका संस्थाहरुले राम्रै फट्को मारिरहेका थिए।

गायत्री काकाको पुस्तेनि इतिहास त मलाई थाहा थिएन। म साङपाङ सरुवा आउँदा उहाँ जेलमा हुनुहुन्थ्यो। माओवादी आक्रमण गर्न आए भन्ठानेर भरुवा बन्दुक पड्काउँदा गस्तीमा आएको सिभिल प्रहरीलाई छर्रा लागि घाइते भए पछि उहाँ र टेकबहादुर दाइलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएको थियो। करिब दुई वर्ष जेल बसेर उहाँहरु रिहा हुनुभएको थियो।

अग्लो कद, रातो वर्ण, चौडा निधार, तिल चामले केश, ढाका टोपी लाउन मन पराउने प्राय चुरोट खाइरहने आदतको मान्छे नै गायत्री काका हुनुहुँदो रहेछ। उहाँ जेलबाट छुटेर आएपछि मात्रै हाम्रो औपचारिक परिचय र चिनजान भएको थियो। साङपाङ बसुन्जेल उहाँसँगको घनिष्ठता कायमै रह्यो। हाम्रो सम्बन्धमा दरार आएन। विद्यालयसँग जोडिएर काम गर्न थाले पछि उठ बस पनि बाक्लै भयो।

गायत्री काकाका दुई परिवार थिए। उहाँ कान्छी काकीसँग बस्नु हुन्थ्यो। जेठी काकी, छोरी विद्या र छोरो बसन्त (मनोज) छुट्टिएर बेग्लै बसेका थिए। कान्छी काकी पट्टीका सन्तान थिए वा थिएनन्? सन्तान भए नभएको मैले सोध्दा पनि सोधेको थिइनँ।

उहाँहरु प्राय चिउरीबोटे बस्नु हुन्थ्यो। काम विशेषले म चिउरीबोटे पुग्दा काकी फुरुङ्ग पर्नु हुन्थ्यो। केरा खेती थियो। केरा कहिल्यै नटुट्ने। मलाई खाना नखाइ फर्कन दिनु हुन्न थियो। गायत्री काकाको समाज सेवा बारे काकी खुलेर प्रशंसा गर्नुहुथ्यो। काकीको ऊर्जा सकारात्मक थियो। एक्लो परिवार भएपनि गायत्री काकाले राजनीति र समाज सेवाका लागि समय व्यवस्थापन गर्न सक्नु भएकै थियो। यो उहाँको सबल पक्ष थियो।

काफ्ले परिवार शिक्षित थियो। शिक्षा क्षेत्रमा राम्रै पकड जमाएका थिए। शिक्षण क्षेत्रमा तुलसीराम, दुर्गाप्रसाद, देवानन्द, मोहन, दिनराज, नेत्र, खगेन्द्र, सावित्री, दधिराम, परश्ुराम लोकेन्द्र र शालिकराम सरहरु क्रियाशील थिए।

प्रशासनिक क्षेत्रमा खेममणि र कमल उच्च पदस्थ कर्मचारी थिए। केदार आयुर्वेद तथा ठेकका पट्टा गर्थे। विष्णु हुलाकमा कार्यारत थिए। इन्द्ररमणि, खडानन्द र विष्णु पुरेत्याँई गर्थे। काफ्ले परिवारको भूमिका खासगरी विद्यालय र पुस्तकालय स्थापनामा प्रभावकारी रहेको थियो।

गायत्री काकाले पनि केही समय शिक्षण गरें भन्नु हुन्थ्यो। शिक्षण किन छोड्नु भयो? मैले कारण सोधेकै थिइन। शिक्षण छोडे पनि उहाँको क्रियाशीलता शिक्षा क्षेत्रमा रहिरह्यो। वि.व्य.स. अध्यक्ष तथा निर्माण समितिको अध्यक्षको पदमा रहेर शिक्षण क्षेत्रमा निरन्तर सेवारत रहनु भयो।

शिक्षण क्षेत्रमा पविर्तन चाहाने गायत्री काका झ्याउँपोखरीमा प्लस टु संचालानार्थ काठमाडौं जाने प्रतिनिधि मण्डलमा सामेल भई प्लस टु संचालानार्थ आफ्नो योगदान लेखाउन सक्नु भयो। प्रतिनिधि मण्डलको सकृयताका कारण झ्याँउपोखरीमा प्लस टु संचालन भयो। बोया, साङपाङ र देउरालीका विद्यार्थीहरुलाई प्लस टु अध्ययनमा सहजता भयो।

म प्रस्तावित मा.वि. चलाइ रहेको थिएँ। दरबन्दी पर्याप्त थिएन। भवनहरु अपर्याप्त थिए। व्यवस्थित शौचलय थिएन। निजी शिक्षक राख्नु पर्दा आर्थिक दायित्व बढिरहेको थियो। खेल मैदान भने जस्तो थिएन। विज्ञान प्रयोगशाला र पुस्तकालय व्यवस्थापनमा कठिनइ थिए।

विद्यार्थीसँग बाध्यात्मक परिस्थितिका कारण मासिक शुल्क लिनु पथ्र्यो। गा.वि.स., एन.जि.ओ र आइ. एन.जि.ओ सँग समन्वय गर्नै पर्थ्याे। बृटिस वेलफेयर र आर.आर.एन.ले फर्निचर र जस्ता पाता उपलब्ध गराउँथे।

द्वन्द्वका कारण एन.जि.ओ.र आइ.एन.जि.ओहरु विस्थापनको क्रममा थिए। आर्थिक व्यवस्थापनका लागि देउसी भैलो र चन्दा अभियान चलाइएको थियो। साङपाङ बाहिर रहेका लब्ध प्रष्ठित साङपाङेहरुसँग सम्पर्क बढाइएको थियो।

विद्यालयसँग सम्बधित काममा गायत्री काकाको मप्रति पूर्ण समर्थन थियो। म उहाँसँग सल्लाहा लिएर योजना बनाउँथे। विद्यालयको काममा खाँदबारी, भोजपुर जौ भन्दा उहाँ घरको दश काम विताएर विद्यालयको कामलाई समय निकाल्नु हुन्थ्यो।

गायत्री काका वि.व्य.स.को सल्लाहाकार समितिको संयोजकको भूमिकामा समेत हुनुहुन्थ्यो। जिम्मेवारी बोध गर्ने क्षमता भएकै कारण उहाँलाई नेतृत्वदायी भूमिकाका पदहरु प्राप्त हुन्थे। सबैको मन जित्न सक्ने विशेषता वहाँमा थियो।

म सरुवा आउँदा विद्यालय आठ कक्षा मात्रै संचालित थियो। नौ दशको अध्ययन गर्न एक डेढ घण्टा धाएर झ्याउँपोखरी जानु पर्ने बाध्यता थियो। यो बाध्यताको अन्त्य गर्न साङपाङेहरु उत्साही भै रहेका थिए। रीता दिदी (तत्कालीन प्र.अ.) को नेतृत्वमा मा.वि संचालनका पहलहरु भै रहेका थिए।

मा.वि. कक्षा संचालनको लागि पचहत्तर हजार धरौटी र कम्तिमा स्नातक तह उत्तीर्ण गरेको एक जना शिक्षक नियुक्ति अनिवार्य थियो। भवन र फर्निचरको तथ्यांक समेत बुझाउनु पथ्र्याे।

पचहत्तर हजार धरौटीका लागि गा.वि.स.बाट कुलो मर्मत तथा पुनः निर्माण शीर्षकमा बजेट छुट्याएर काजी सरको नेतृत्वमा उक्त कार्य जनश्रमदान बाट सम्पन्न गरी रकम विद्यालयलाई उपलब्ध गराइएको थियो। मा.वि.शिक्षक न्यून वेतनमा खोजि व्यवस्थापन गर्ने जिम्मा गायत्री काकालाई दिइएको थियो।

वहाँ तराई आएर खानार बाट निलाप्रसाद अधिकारीलाई (पुर्खयौली घर साङपाङ) लिएर आउनु भयो। निलाप्रसाद सरलाई निजी श्रोतबाट तलब भत्ता दिने गरी मा.वि.शिक्षकमा नियुक्ति गरी आवश्यक कागजातसहित जि.शि.का. भोजपुरमा आवेदन पेश गरियो। जि.शि.काले आवश्यक प्रकृया सम्पन्न गरी मा.वि कक्षा संचालनको अनुमति दियो।

साङपाङे अभिभावकहरुमा खुशीयाली छायो। सरस्वती नि.मा.वि.म.वि.मा स्तरोन्नति भयो। मा.वि.संचालनमा रीता दिदी, गायत्री काका, काजी सर, मनि दाइ, दुर्गबहादुर दाइ, पशुपति दाइ, टेकबहादुर दाइ र कर्मरिञ्जे दाइहरुको उल्लेखनीय भूमिका रह्यो।

म उनन्तिस वर्षे लक्का जवान थिएँ। मेरो विवाह भै सकेको थियो। श्रीमती र छोरी दिङ्ला मावलमै बस्थे। मेरो डेरा झ्याउँपोखरी कट्टेल्नी दिदीको घरमा थियो। मेरो रुम पार्टनर जलेश चापागाईं थिए।

उनी स्वास्थ्य चौकी साङपाङमा कार्यरत थिए। साङपाङमा उपयुक्त बसाई व्यवस्थापन नहुँदा झ्याउँपोखरीबाटै सत्तल धाउनु पर्ने बाध्यता थियो। म एक घण्टाको उकालो दूरी पार गर्दै सत्तल पुग्थें। जलेशजी र म तुम्लिङ्गिनी अजीकोमा खाना खान्थ्यौ।

गायत्री काका जुझारु मान्छे हो। अन्याय नगर्ने र अन्याय नसहने। छोराले नपढी दिएकोमा गुनासो पोख्नु हुन्थ्यो। माओवादीसँग राम्रो सम्बन्ध नभएका कारण उहाँ कहिले कहिले माआवादीको निशानामा पर्नु हुन्थ्यो। चन्दा दिनु भयो भएन। त्यो त एकिन थाहा भएन। तीन,चार महिना विस्थापित हुनु भएको थियो। तराई आएर बस्नु भएछ। कुन शर्तमा उहाँ साङपाङ फर्कनु भयो? त्यो कुरा मसँग खुलाउन चाहनु भएन।

काफ्ले परिवार सबै बसाइ हिँडे पनि गायत्री काकाको एक्लो परिवार अहिलेसम्म साङपाङ नै बसरिहेको छ। अब त बुढ्यौलीले छोइसक्यो। काका काकी टाक्राक टुक्रुक हुनुहुन्छ। जेठी काकी झापा हुनुहुन्छ। छोरा बुहारी र नातिहरु काठमाडौं छन। साह्रो गाह्रो आपत विपत पर्दा ए के भो? भन्ने कोही छैन। फोनमा कुराकानी हुन्छ।

उहाँले अझै हिम्मत हार्नु भएको छैन। साङपाङ छोड्ने मनसाय प्रकट गर्नु भएकै छैन। म जिस्क्याउँछु। “काका साङपाङ नछोड्ने? मरे पछि तपाईंलाई घाट कसले लैजान्छ? दुःख विमार पर्दा कसले स्याहार्छ ? ऐया भन्दा ए के भो भन्ने कोही नभए पछि साङपाङमै बसाइ हुन्छ त?” “सकुन्जेल बस्ने नै हो। नसके एक थोक होला। मनोजलाई कर लाग्छ नि। छिमेकीहरुले खबर गर्देलान नि त भन्नुहुन्छ।” गायत्री काकाको सहासलाई मैले स्यालुट गर्नैपर्छ।

गायत्री काका अहिले पनि जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड साङपाङको अध्यक्ष पदमा पदासीन हुनुहुन्छ।

सुन्दरहरैंचा-६, दुलारी, मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *