मन्थलीको सौन्दर्य सुनजस्तो धानबाली

ज्ञानेन्द्र विवश
८ कार्तिक २०८२ ७:०४
20
Shares

मन्थलीको सुनजस्तो सौन्दर्यमय धानबाली। मनै हराउँने तिनै सुनबालामा। तनै रमाउने तिनै खेतखलियानमा। फूलहरू मुस्कानमय सुगन्धमा फुलिरहेको हाँगै नुहाएर झुकिरहेका। यौटा होइन अनेक सुन्दरताका दृश्यमय छटासहित प्रकृति छर्लङ्ग उपस्थित थियो। म यौटा यात्री तिनै दृश्यका सौन्दर्यमा वशीभूत चुपचाप रसपानले तृप्त हुँदै थिएँ।

हुन पनि शारदीय आकाश जस्तै सफा देखिन्थ्यो धरती पनि। सिनित्त बढारिएर बादल, तुँवालो र धुलोमैला सबै हटेको थियो। यस वर्षको उल्कापात वर्षा बाहिरिइसकेको थियो। हिमपात, तुषारो वा खडेरीको डर थिएन।

कुहिरोले डाँडाकाँडा ढाकेर, हिमाललाई घुम्टो ओढाएर कुनै हेर्नुपर्ने दृश्य नदेखिएला भन्ने रत्तिभर डर थिएन। बरु यात्रामा निस्किहालौँ, कतै घुम्न गइहालौँ र समयलाई मज्जाले सदुपयोग गरौँ भन्ने योजनाहरू थिए।

दसैं निख्रिएर तिहार भित्रिँदै गर्दा यात्राको पाइतो मेरा पाइला कतै नयाँ गन्तव्यको खोजीमा थिए। तर भर्खरैको बाढी, पहिरो प्रकोपको भग्न, छियाछिया बाटो, पुलको अस्तव्यस्त अवस्थाले टाढाको गन्तव्यले विश्राम लिएको थियो। नजिकैका केही उकाली र ओरालीका बारी र टारहरू, बेंसीका धानबालीहरू, खुलेका हिमालसँग साक्षात्कार गरी मन सफा गर्ने ध्याउँन्न मेरो।

मन्थली-रामेछापको त्यो सानोतिनो उपत्यका, जहाँ बिहानको घाम झुल्किनासाथ सुनका नदी बग्न थाल्छन्- तर ती नदीहरू जलका होइनन्, धानका हुन्। असोजको घाममा ती बालीहरू सुनका सिक्काजस्ता चम्किँदै थिए्, हावासँग हल्लिँदै, लहरिँदै, बतासिँदै, बयलिँदै। आकाशले आफ्नो निलो आँचल फिँजाएर त्यस सुनका तरङ्गमा हरियो काँध टेकाइरहेको थियो। म मन्थली बेंसीका धानबालीका सुनको बिस्कुनमा हराएँ।

ठाडो उकालो र अझ ठाडो डरलाग्दो ओरालोमा मलाई गाडीले सात्तो जानेगरी झारी रहँदा पनि मैले सुनजस्तो धानबालीको पहेँपुर फाँट देखेर खुसी मनाएँ। मन्थलीको बाटो हुँदै बिस्तारै तल झर्दा, आकाश र धरतीबीचको त्यो सुनौलो मिलनले मनलाई अचम्मको शान्ति दिइरहेको थियो।

मलाई लाग्यो-प्रकृतिले आफ्नै हातले सिँगारिएको चित्रकृति हो यो ठाउँ। पाखामा हरिायलीलाई स्वतः स्पर्शले झंकृत गर्दै घाम झर्दैछ र बारीमा धानका झुप्पा बालाहरू किसानका सपनाजस्तै हरिया र परिपक्व देखिन्छन्। पर कतै तामाकोशीको प्रवाह बगिरहेको आवाज सुनिन्छ। जस्तो कि धानका बालीहरूसँगै गाउँका हर्षध्वनि पनि बगिरहेका हुन्।

यद्यपि मन्थलीको सौन्दर्य केवल हेर्ने कुरा होइन, महसुस गर्ने कुरा हो। किनभने यहाँको घाम पनि न्यानो मात्रै होइन, जीवनमूल हो; यहाँको माटो सुगन्धित मात्रै होइन, इतिहासको गर्भ हो।

प्रत्येक गहुँगोरो किसानको अनुहारमा पसिनाको मोती टल्किँदा त्यो पनि धानका सुनजस्तै अमूल्य देखिन्छ। खेतमा झुकेका ती काँधहरू साँच्चै नेपालको मेरुदण्ड हुन्– धरतीमा टेकिएका र आकाशलाई सम्हालेका। वर्षभरि खाएर बाँकी रहेका धानलाई बेचेर घरायसी आवश्यकताका गर्जो टार्ने।

साँझ पर्दा जब बगर र बारीबीचको हावाले बालीहरूलाई हल्लाउँछ, त्यो आवाज कुनै गीतभन्दा कम मधुरो हुँदैन। अनेकौँ किसिमका आवाजहरूको स्वरमा मिसिएको बालीको सुम्सुम्याइ यौटा आनन्दमय मन्थलीको सांगीतिक धड्कन हो। लाग्छ, यो ठाउँ केवल बाली र बस्तीको मेल होइन; यो त प्रकृति र मानवीय श्रमबीचको प्रणय हो, जुन बर्सेनि पुनः बान्किलो स्वरूपमा प्रस्तुत हुन्छ, फुल्छ, फल्छ।

कहिलेकाँही धानका बोटबीच उभिँदा लाग्छ- यी बालीहरू साँच्चै सुनका हुन्। तर तिनीहरूको मूल्य बजारले होइन, श्रमले तोकेको हुन्छ। किसानका पैताला र हत्केलाले रोपेका धानका गाँजले उब्जाएका अन्न-ऐश्वर्य आफैँमा जीवन–प्राण हुन्। धानका बोटमा झुलिरहेका सुनजस्तै बाला स्वर्णभन्दा पवित्र हुन्।

मन्थलीको सौन्दर्य हेर्दा मनमा एउटा आभास उम्लिन्छ-नेपाली ग्रामीण जीवन यति सुन्दर छ, यति अर्थपूर्ण छ कि त्यसलाई सहरका उज्याला बत्तीहरूले कहिल्यै दोछायाँ पार्न सक्ने छैनन्।

धानका ती सुनजस्ता बालीहरू देशको साँच्चै सुन हुन्- जुन कुनै खानीबाट होइन, खेतको गर्भ र किसानको पसिनाबाट निकालिएका धन हुन्।
र जब साँझको अँध्यारो झर्छ, घामको सुनौलो किरण मन्थलीका बालीहरूमा हराउँछ, तर मनमा भने त्यो सुन झन्-झन् झिलिमिली बन्छ। त्यसबेला लाग्छ- सौन्दर्य भनेको हेर्न सक्ने आँखाभित्र पनि उब्जिने खेत हो र मन्थली त्यस खेतको एउटा स्वर्णिम अंश हो।

यसरी मन्थली-रामेछापको त्यो सुन्दर उपत्यका, जहाँ बिहानको घाम झुल्किनासाथ धानका बालीहरू सुनका नदीजस्तै बग्न थाल्छन्। असोज-कात्तिकको त्यो समय- जब खेतका काँधहरू हरिया होइनन्, सुनजस्ता चम्किएका हुन्छन्। त्यही उज्यालोमा आकाश र धरतीबीचको अद्भुत संवाद सुनिन्छ- माटो बोल्दैछ, घाम मुस्कुराउँदैछ, र हावा त्यस सुगन्ध बोकेर गाउँभरि घुम्दैछ।

मन्थलीको मुटुमा बगिरहेको तामाकोसी नदी त्यो जीवनको आत्मा हो। नदीको किनारैकिनार फैलिएका बस्तीहरू-रातो छानाका घरहरू, पुराना बाँसका बेढा, र गाईभैंसीका घण्टी बज्ने आँगनहरू-सबैले गाउँको स्वर बनाएका छन्। बिहानै ती खेतहरूमा हल गाड्दै किसान जब गीत गाउँछन्, त्यो स्वर तामाकोसीको भेलमा मिसिन्छ, र लाग्छ- मन्थली साँच्चै संगीतको एउटा जीवित रूप हो।

यहाँको हावामा गहुँगोरो धुलो मात्र होइन, इतिहासको परस पनि मिसिएको छ। कहिल्यै हाटबजार लाग्ने पुरानो चौतारीमा गाउँका बुढाबुढीहरू अघिल्ला पुस्ताका कथा सुनाउँछन्- कसरी पहाडका बाटा उक्लिँदै, खोला तरेर उनीहरूले यहाँको खेत सिँचाइयोग्य बनाए, कसरी पसिनाको खोला बगाएर धानको सुन फलाए। त्यसैले मन्थलीको सुनजस्तो सौन्दर्य केवल दृश्य होइन, यो संघर्ष र श्रमको कविता हो।

साँझ पर्दा जब घाम दोबाटो पार गर्दै डाँडामाथि हराउँछ, मन्थलीको बारीहरू सुनको उज्यालोमा नुहाइरहेका हुन्छन्। टोलका बच्चाहरू खेतको बाटो हुँदै विद्यालयबाट फर्किरहेका हुन्छन्, तिनका हाँसो र खेतका हल्लिने बोटबीच कस्तो अचम्मको सुमधुरता हुन्छ ! दूर कतै मन्दिरको घण्टी बज्छ, बुढी आमाले धूप बाल्छिन् र धानका थुम्काहरू हावामा ढल्किँदै श्रद्धाका फूलजस्तै झुल्छन्।

तामाकोसीको किनारमा फैलिएको त्यो मन्थली बजार आज आधुनिकतासँगै उक्लिँदै छ- तर अझै पनि यसको आत्मा खेतमै धड्किन्छ। खेत र बस्तीबीचको त्यो असल सम्बन्ध मन्थलीको पहिचान हो। यहाँका मानिसहरूका अनुहारमा पसिनाको चमक नै सुन हो, जसले हरेक बिहानको घामलाई अर्थ दिन्छ।

यहाँको धरती पनि उर्वर छ, जसले जनजीवनलाई जोडेको छ। दशैं र तिहारका बेला खेतमा कपाल झुलाउँदै मन्थलीकी केटीहरू जब धान काट्दै गीत गाउँछन्- ‘धानमाथि सुन झल्किन्छ, मनमाथि माया पल्किन्छ’- त्यो आवाज सुनिँदा लाग्छ, यो उपत्यका प्रकृतिको मात्र होइन, प्रेमको पनि जन्मस्थल हो।

बर्षात सकिँदा, जब खेतका थुम्का भरिएर बाली बिस्तारै पाँकेको सुनमा परिणत हुन्छन्, तब यहाँको दृश्य काव्यिक बन्छ। परका डाँडाबाट हेर्दा मन्थली साँच्चै सुनले बनेको दियोझैं देखिन्छ- र त्यो उज्यालो नेपालकै माटोको गौरव हो।

मन्थलीको सौन्दर्य हेर्दा बुझिन्छ– सौन्दर्य हावा वा रूपमा होइन, श्रम र माटोको संगममा बस्छ। यी सुनजस्ता धानबालीहरू सुन होइनन्, तिनीहरू किसानका सपनाहरू हुन्; तामाकोसीको लहर होइनन्, ती देशको धड्कन हुन्। मन्थली त केवल एक भूगोल होइन, त्यो त सुनजस्तो उज्यालो आत्मा हो-जहाँ माटो बोल्छ, घाम हाँस्छ र मान्छे मनले धान फलाउँछ।

मन्थलीको सुनजस्तो सौन्दर्यमा रमाएर फर्किदा कतै सुनबाला काट्ने चटारो चल्दै थियो। कतै खेतालाको खोजीमा घरदैलो ढक्ढक्याउँदै आवाज गुन्जिँदै थियो। कहीँ धान काटेर परालका कुन्युसमेत बनाइसकिएको देखिन्थ्यो।

कतै परालको दाइँ गरेर घाममा हलगोरुलाई हैरान पारिँदैथ्यो। कहीँ बोरामा धान कसेर घर पुर्‍याउने कामको चाप देखिन्थ्यो। मन्थलीको जस्तै सुनका बाला सुम्सुम्याउँदै भकारी भर्ने योजना र सपना अन्यत्रका धानखेतहरूमा पनि धमाधम भइरहेका होलान्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.