विशेष महाधिवेशनका हस्ताक्षर ‘हात्ती आयो आत्ती आयो फुस्सा’
फागुण २१ पछि कांग्रेसको नियमित महाधिवेशन
काठमाडाैं। नेपाली कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशनको विवाद अझै सेलाएको छैन।
महामन्त्री विश्वप्रकाश शर्माको विकल्पमध्ये एक पुसभित्र नियमित महाधिवेशन भनेपछि केहीको ध्यान त्यसतर्फ उन्मूख भएकाले अब विशेष महाधिवेशनको च्याप्ट्र क्लोज भएको भन्ने बुझिन थालिएको छ। विशेष महाधिवेशनका लागि भनेर गरिएको हस्ताक्षर अब ‘हात्ती आयो आत्ती आयो फुस्सा’ नै हुने भएको छ।
नियमित महाधिवेशनकै मिति नजिकिएपछि विशेष महाधिवेशनको हल्ला पिट्नु न्यायसंगत थिएन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेको भन्ने दवाव सृजना गर्नेहरूले के बुझ्नु पर्दछ भने ती सबै हस्ताक्षर रुजू गराउनु पर्ने आवाज समेत उठी रहेको छ।
प्रत्येक संघीय संसदको निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिलाई विशेष महाधिवेशन माग गर्नेहरूको हस्ताक्षर रुजू गर्नका लागि तीन दिनको म्याद दिएर पठाउने हो भने आधाजसोले नियमित महाधिवेशन नै ठीक भनेर आफ्नो हस्ताक्षार फिर्ता लिएको घोषणा गर्न सक्ने अवस्था समेत रहेको छ।
करकापमा हस्ताक्षर गर्नेहरू, झुक्किएर हस्ताक्षर गर्नेहरू र फागुण २१ गतेको निर्वाचनको घोषणा हुनुभन्दा अगाडि हस्ताक्षर गर्नेहरूले विशेष महाधिवेशन अहिले गराएमा आगामी प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात बढी हुने सम्भावना रहन्छ भनेर आफ्नो हस्ताक्षर फिर्ता लिने र समूह समूहमा फागुण २१ को निर्वाचन पछि नै नियमित महाधिवेशन गर्न सुझावहरू पठाउन थाल्नेछन्। त्यसैले विशेष महाधिवेशन त हस्ताक्षर रुजू गर्ने वित्तिकै ‘हात्ती आयो आत्ती आयो फुस्सा’ नै हुने छ।
डा. शेखर कोइरालाले समेत नियमित महाधिवेशन भनिरहेका छन्। कोइरालाका निकट भनेर चिनिएका गुरु घिमिरेले विशेष महाधिवेशनको कुरा गरिरका छन्। यसको पछाडी नियमित महाधिवेशन विशेष परिस्थितिका कारणले फागुण २१ गते पछि पार्ने हुन् कि भन्ने त्रासका कारणले हो भन्ने सहजै बुझ्न सकिन्छ। त्यसैले डा. शेखरका समर्थकहरु मंसिर भित्रै नियमित महाधिवेशन भए हुन्छ नभए विशेष महाधिवेशनको रटान दिइरहेका छन्।
अब हुन्छ त के ? विशेष महाधिवेशन ? नियमित महाधिवेशन ? दुईमध्ये एक ‘च्वाइस’ गर्दा बहुमतले नियमित महाधिवेशनकै कुरा पारित गर्ने सम्भावना देखियो। समय लम्बाउने हो भने विशेष महाधिवेशन माग्नेहरूको हस्ताक्षर रुजू गराउन थाल्नु पर्दछ।
कांग्रेसमा क्षणिक स्वार्थमा लागेकाहरूलाई सँझाउन सकिँदैन। तर गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्गा, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. शशांक कोइरालाहरूले भने पार्टी फुटाउनेहरूवाट सावधानी अपनाउनु पर्दछ।
यसले अहिले ५४ प्रतिशतको रटान लगाउनेहरू संसदीय दलको नेतामा गगन थापाले २५ भोट ल्याएको जस्तै अवस्थामा झर्ने पक्कापक्कि छ। किनकी गगन थापाले महामन्त्रीमा सबैभन्दा बढी भोट ल्याउनुमा अहिलेका कार्यवाहक सभापति पूर्णबहादुर खड्गा र बालकृष्ण खाँडको योगदान थियो। त्यसैले गगनको मत भनेको २५ नै हो। त्यो पनि डा. शेखर कोइराला चुप लागेर बसिदिएको अवस्थामा मात्र।
त्यसैले हुने भनेको नियमित महाधिवेशन नै हो। त्यो नियमित महाधिवेशन डा. शेखर कोइरालाले भनेजस्तै मंसिर भित्रै हुने कि, महामन्त्री विश्वप्रकाशले भनेजस्तै पुस मसान्त भित्र हुने कि वा फागुण २१ को प्रतिनिधिसभा निर्वाचन पछिको मितिमा हुने हो ? यसमा फेरी विवाद चर्किएको छ।
एउटा नियमित महाधिवेशन पुरा गर्न लाग्ने समयको मोटामोटी हिसाव राख्ने हो भने विश्वप्रकाश शर्माले भनेको पुस मसान्त भित्र गर्न सक्ने सम्भावना त छ। त्यसैले वडादेखि महाधिवेशन प्रतिनिधिसम्म चयन गर्न लाग्ने समयलाई हेर्दा व्यवहारिक रुपमा पनि मंसिर मसान्त भन्नेहरूले अब पुस मसान्त भन्न थाल्नेछन्।
नेपाली काङ्ग्रेसले अब नियमित महाधिवेशन पुस मसान्तभित्र गर्ने कि फागुण २१ गते पछि गर्ने भनेर बहस चलाउँदा हुने देखिएको छ। तर, पुस मसान्तभन्दा फागुण २१ गते पछि गरिने महाधिवेशनले नेपाली कांग्रेसलाई फाइदा हुनसक्ने पाँच कारणहरू कांग्रेसजनका जानकारीका लागि यहाँ उल्लेख गर्नु आवश्यक छ।
फागुण २१ गतेपछि नियमित महाधिवेशन गर्दा नेपाली कांग्रेसलाई निम्न फाइदाहरू हुने देखिएको छ।
१. प्रतिनिधिसभाको निर्वाचन अघि नै महाधिवेशन गरिएमा पार्टीको निर्वाचनमा एकजना जीत्ने र धेरै हार्ने हुन्छन्। हार्नेहरूको रिसको पारा सेलाउन नपाउँदै प्रतिनिधिसभाको निर्वाचन हुँदा अन्तर्घात हुने, बागी उम्मेदवार उठीदिने सम्भावनाहरू प्रवल हुन्छ। यसले समग्रमा नेपाली काङ्ग्रेसलाई प्रतिनिधिसभामा ठूलो घाटा हुन्छ।
२. प्रतिनिधिसभाको निर्वाचन अघि नेपाली काङ्ग्रेसको महाधिवेशन गराइएमा महाधिवेशनमा भाग लिनेहरूले काङ्ग्रेस भित्र अवसर नपाएमा नयाँ नयाँ खुलेका पार्टीहरू तर्फ आकर्षित हुन थाल्नेछन्।
अन्य सानातिना खुलेका पार्टीले ठूलठूला राजनीतिक पदहरू अफर गरेर प्रतिस्पर्धामा हार्नेमध्ये धेरैलाई अरु पार्टीले आफ्नै पार्टीमा प्रवेश गराउने सम्भावना समेत उत्तिकै रहन्छ। यसले नेपाली काङ्ग्रेसलाई प्रतिनिधिसभामा घाटा त पक्कै हुन्छ।
३. हतारमा महाधिवेशन गरियो भने नेपाली कांग्रेसको सक्रिय सदस्य लिन चाहनेहरू सदस्यता लिनबाट बञ्चित हुनेछन्। या महाधिवेशनमा छलछाम गरेर महाधिवेशन प्रतिनिधि हुन चाहनेहरूले सक्रिय सदस्यमा नै ‘सेन्टिगेट’ लगाउन शुरु गर्दछ।
आफ्नोलाई मात्र सक्रिय सदस्य दिएर कांग्रेस पार्टीलाई जनताको भन्दा आफ्नो परिवारभित्रको वा गुट भित्रको बनाउने चलखेल हुँदा सक्रिय सदस्यको संख्या कम हुन्छ। यसले मिडिया वा सोसल मिडियामा सक्रिय सदस्यता वितरणमा सेन्डिगेट भनेर समाचारहरू आउन थाल्दछ।
यसले काँग्रेसलाई नकारात्मक रुपमा परिवारवाद, गुटबाद भएको आरोप बजारमा आउनेछ जसले प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई घाटा लाग्ने छ।
तर महाधिवेशन फागुण २१ गते पछि गर्दा पार्टीलाई जनताको भोट बढीभन्दा बढी ल्याउनका लागि सबैले जो आउँछ उसलाई सक्रिय सदस्यता दिएर कांग्रेसको भोट बढाउन थाल्नेछन्। यसले कांग्रेस पार्टीको अवस्था राम्रो हुन्छ।
४. नियमित महाधिवेशन फागुण २१ भन्दा अगाडि नै भएमा नयाँ नेतृत्वले प्रतिनिधिसभाको सदस्यको उम्मेदवारको लागि टिकट बाँडदा फेरी पैसा र गुटको खेल शुरु गर्दछ।
तर अहिले कार्यवाहक सभापति पूर्णबाहादुर खड्गा, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको ‘जेन्टिलम्यान एग्रिमेन्ट’ले टिकट बाँड्नेदेखि पार्टीभित्रको सन्तुलन मिलाउन सकारात्मक भूमिका निर्वाह गर्न सक्दछ। डा. शेखर कोइराला, गगन थापा र विश्वप्रकाशमध्ये जसले प्रतिनिधिसभामा जितेर आउँछन् उसलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने रणनीति बनाएर अघि बढ्न सक्ने सम्भावना रहन्छ।
यसका लागि चारपटकसम्म सांसद भएका र दुईपटक भन्दा बढी प्रधानमन्त्री र मन्त्री भइसकेकालाई अव सोही पदका लागि अवसर नदिने रणनीतिमा नेपाली काङ्ग्रेस जानु पर्दछ।
५. नेपाली काङ्ग्रेसको अहिले चलिरहेको वैठकमा महाधिवेशन कहिले भन्ने मुद्दामा मात्र सिमित नभएर काङ्ग्रेसको भातृसंगठनहरूले संकलन गरेको सुझावहरूमध्ये, धर्म सापेक्ष कि धर्म निरेपक्ष, संवैधानिक राजसंस्था कि कार्यकारी राष्ट्रपति कि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री जस्ता विषयमा सैद्धान्तिक आधारहरू तयार गरेर फागुण २१ को निर्वाचनमा जेन्जीले उठाएको सैद्धान्तिक आधारहरूमा बहस केन्द्रित गरेर त्यसका लागि दस्तावेजहरू तयार गर्न महामन्त्रीहरूलाई अग्रसर गराउनु पर्दछ। जेन्जीका माग अनुसारको सैद्धान्तिक आधारहरू तय गरेर निर्वाचनमा जानु पर्नेमा एकथान सभापतिका लागि आपसमा लडेर बजार हँसाउने काम तत्काल रोक्नु पर्दछ।
माथिका पाँच बुँदा बाहेक वैदेशिक शक्ति नेपाली काङ्ग्रेस पार्टीभित्र खेलेर पार्टी फुटाउने अभियानमा लागेका छन्। यसबाट पनि नेताहरू सजक हुनु पर्दछ। पार्टी फुटाउनका लागि गुरु घिमिरेहरूले त दुई बर्ष अघि नै नेपाली कांग्रेस पार्टी फुटाएर कस्तो विधान बनाउने भनेर एउटा खाका तयार गरेर देश दौडाहा गरिसकेका थिए। उनले कोइराला परिवारको लिगेसी मान्नेहरूलाई समेटेर पार्टी फुटाउने रणनीतिमा होस्टेमा हैँसे गर्दैछन्।
चीनले नेपाली कांग्रेस, एमाले, माओवादी र एउटा मधेस केन्द्रित पार्टीमा आफ्नो निकटलाई पार्टी सभापति बनाउने रणनीति अगाडि सारेको छ। सकभर भएकै पार्टीमा प्रो. चाइनिजलाई सभापति बनाउने र नसकिए पार्टी फुटाउन लगाएर भए पनि आफ्नो भक्तको छुट्टै राजनीतिक पार्टी होस भन्ने चिनियाँ रणनीतिलाई साथ दिनेहरूबाट नेपाली कांग्रेस होसियार हुनु पर्ने देखिएको छ।
कांग्रेसमा क्षणिक स्वार्थमा लागेकाहरूलाई सँझाउन सकिँदैन। तर गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्गा, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. शशांक कोइरालाहरूले भने पार्टी फुटाउनेहरूवाट सावधानी अपनाउनु पर्दछ।
नेपाली कांग्रेसलाई चीनियाँ वा अमेरिकाको इशारामा हिड्ने बनाउनुभन्दा बाल्यकालमा वा आपत विपद् पर्दा जुनशक्तिको सहयोग कांग्रेसले पाएको थियो त्यसको मित्रतामा आघात पुर्याउनु हुँदैन। धेरै चिढायो भने नेपाली कांग्रेसका लागि प्रतिउत्पादक हुन्छ।
















Facebook Comment