सुधार्न सकिएला राष्ट्रिय ध्वजावाहकलाई ?
भाग २ : शानेवानीमा खानेबानी, अपचलनका निकै चतुर तरिकाहरू
जनआन्दोलनको सफलता पछि प्राप्त भएको बहुदलीय प्रजातान्त्रिक व्यवस्थाले मुलुकलाई समृद्धितिर लग्ने छ भन्ने आशा अधिकांश नेपालीले लिएका थिए। अन्तरिम सरकारको गठन भयो, नयाँ सम्बिधान पनि बन्यो। कृष्णप्रसाद भट्टराईको नेतृत्वको अन्तरिम सरकारले राम्रै काम गरेको भन्नु पर्दछ।
किनकी उनले प्रजातन्त्रलाई बलियो बनाउने प्रयासका साथै राजा, वामपन्थी शक्ति र मित्रराष्ट्र भारतसँगको सम्बन्धलाई पनि बलियो बनाउन मद्दत पुर्याए। तर जनआन्दोलनको बेला एक भएर हिँडेका नेपाली काङ्ग्रेस र बाममोर्चाको बीचको सम्बन्ध बिस्तारै तिक्त हुँदै गयो र छिटै उनिहरू भिन्न बाटोमा हिँड्न थाले।
जब आमनिर्वाचन भयो, किसुनजीको आफ्नै दलका अर्का नेता, जो उनको साथमा जीवनभर राजनीतिक मित्र भएर हिँडेका थिए, उनै गिरिजाप्रसाद कोइरालाले किसुनजीलाई चुनावमा हराउन ठूलो खेला रचे अनि सफल पनि भए।
नेपाली काङ्ग्रेसले संसदमा बहुमत ल्यायो तर जनताको किसुनजी प्रतिको मायाको ठीक विपरित प्रधानमन्त्री बन्ने व्यक्ति बने गिरिजाप्रसाद कोइराला भए। कोइरालाले सिंहदरवारको क्याबिनेट वाहेक आफ्नो निवासमा पनि किचेन क्याविनेट खडा गरे।
उदारवादको नाममा विभिन्न नयाँ पण्डितहरूलाई आफ्नो वरीपरी राखे। रातौँ रात महेश आचार्य र रामशरण महत मुलुकका सर्वेसर्वा अर्थविद् बन्न पुगे भने गिरिजापुत्री सुजाता मुलुककी सबैभन्दा शक्तिशाली महिला बनिन् र केही समय पश्चात् राजनीतिमा पनि सक्रिय हुन थालिन्।
पुत्रीमोहले गर्दा गिरिजाले आफ्नै भाञ्जी शैलजा आचार्यको राजनीतिक भविश्यलाई अन्धकारतिर धकेलिदिए। त्यति नै बेला नेपालकी प्रथम प्रधानमन्त्री बन्ने अवस्थामा पुगिसकेकी उनलाई पछाडि पारेर शेरबहादुर देउवालाई अगाडी सारे।
भारतीय नेताहरूसँग निकै नजिक रहेकी तथा अनुभवी र शिक्षित शैलजाले नेतृत्व सम्हाल्न पाएको भए नेपालको राजनीति र परिस्थिति त्यति छिटो बिग्रँदै जाने थिएन भनेर मान्ने मानिसहरू धेरै छन्।
आर्थिक उदारवादको नाममा चीन र सोभियत संघले बनाइदिएका अधिकांश सार्वजनिक उद्योगधन्दाको नीजिकरण गरियो। नीजिकरण पश्चात् ती उद्योगहरू बिस्तारै बन्द हुँदै गए भने छिटै हराउन पुगे। फलस्वरुप हजारौँ मजदूर र उनका परिवार विलखवन्दमा पर्न गए। अर्को तर्फ उदारवादका हिमायतीहरू भने यस्ता कार्यबाट निकै नै मोटाउन थाले।
आफ्नो बखान गर्नु पर्ने गोरखापत्र, नेपाल टेलिभिजन र रेडियो नेपालमा आफ्ना आसेपासेहरूलाई नियुक्त गरेर नेतृत्व सम्हाल्न दिए भने दिनरात आफ्ना गुणगान गाउन लगाए।
यातायात संस्थान र एनसीसीएन जस्ता महत्वपूर्ण निकायलाई बन्द गरिदिएर निजी यातायातका उद्यमी र ठेकेदारहरूलाई विकास कार्य सुम्पिदिए। आआफ्नै दलमा लागेका उद्यमीहरू अब यातायातकर्मी र ठेकेदार बनेर नेताका पृष्ठपोषक बन्न थाले।
शानेवानी जस्तो अति सम्वेदनशील संस्थालाई भने कमाउने भाँडो मात्र बनाएर यसको उत्थानमा कुनै ठोस कार्य गरेनन्। विमानसेवालाई अति आवश्यक पर्ने नयाँ विमानहरू, पार्टपुर्जाहरू र व्यवस्थापकीय दक्षतामा विशेष ध्यान दिनु पर्नेमा यस्ता संस्थालाई भर्ती केन्द्र बनाउने, कर्मचारी युनियनहरूलाई अनावश्यक प्रोत्साहन दिने तथा नेता, कार्यकर्ता र उनका आसेपासे र परिवारले सित्तैमा विमान चढ्ने सुविधा प्रदान गरेर विमानसेवालाई धरासायी बनाउने बाटोतिर धकेल्न थाले।
अझसम्म पनि नेवानीको बिजनेस क्लास धरी मुफतमा यात्रा गर्ने आसेपासेले भरिएका हुन्छन् भने पैसा तिरेर यात्रा गर्ने यात्रुहरू उनिहरूको दुव्यवहार र हल्ला तथा फोहरीपनाले गर्दा अर्को पटक नेवानीमा यात्रा नगर्ने निर्णयमा पुग्दछन्।
सन् १९९० को दशकको शुरु तिरै गिरिजा सरकारले सुजाता कोइरालाका जर्मनीका साथी दिनेश धमिजालाई शानेवानीको युरोपको जेनेरल सेल्स एजेन्टमा नियुक्त ग¥यो र करिव ५५ करोड बराबरको टिकट बेच्नलाई बिना धितो दियो।
धमिजाको कम्पनी बेलायतमा एक पाउण्डमा दर्ता गरिएको थियो र सो कम्पनीको त्यति नामै सुनिएको थिएन। त्यतिबेलासम्म निकै नाफा कमाइरहेको शानेवानीको दुर्दशा यही बेलादेखि शुरु भएको हो। त्यस पछि त एक पछि अर्को काण्ड हुँदै शानेवानी धरासायी नै बन्न पुग्यो।
सन् १९९७ मा बोइङ ७५७ जेट भाडामा ल्याउने भनेर युरोपको चेज एयरलाई बैना स्वरुप पठाएको ७ लाख ८४ हजार डलर जेट आउँदै नआएर हजम भयो। त्यस्तै सन् २००१ मा गिरिजा सरकारले अनधिकृत करारनामा गरेर लाउडा एयरको बोइङ ७६७ जेट भाडामा ल्यायो। यो विमानको व्यक्तिगत करारनामा र मोटो रकमको अपचलन पनि ठूलै काण्डको रूपमा प्रचार भयो।
उता निकै पुरानो भयो भन्दै पहिले खरिद गरिएका दुई वटा बोइङ ७२७ जेट विमान विना कुनै सूचना गिरिजा सरकारले बेपत्ता नै पारिदियो। पछि एउटा विमान जर्मनीमा भेटिएको र अर्को कुनै अफ्रिकी मुलुकमा पछिसम्म चलिरहेको भन्ने समाचार पनि प्राप्त भयो।
विदेशी विमानसेवाका विमानहरू पनि पुराना हुने गर्दछन्। ठूला विमानसेवाहरूले करिव एक दशकसम्म चलेका विमानहरू विक्री गरेर नयाँ विमान खरिद गर्दछन् भने कतिपय मुलुकहरूले २० वर्षभन्दा बढी समयसम्म यात्रु बोकेका विमानलाई कार्गो विमानमा परिणत गर्दछन्।
नेपाल जस्तो भूपरिवेष्ठित मुलुकले त्यस्ता पुराना विमानलाई माटोको मोलमा बेच्नु भन्दा कार्गो विमानमा परिणत गर्नु उत्तम हुने थियो। तर त्यसो नगरिकन ती दुवै जहाज रहस्यमय तवरले बेपत्ता पारियो।
एकातिर तिनको र तिनका जगेडा पार्टपुर्जा बेचेर अकुत रकम गोजीमा राख्न पाइने र अर्को तर्फ तिनको सट्टा नयाँ विमान खरिद गरेर कमिसन खाने वा त्यसो गर्न नसकेमा विमान महँगो भाँडामा लिएर भए पनि पैसा कुम्ल्याउने धन्दामा सरकार र कर्मचारी सक्रिय हुन थाले।
विमान भाँडामा लिने चाँजो पाँजो मिलाउन भनेरै त्यतिबेला शानेवानीले विमान खरिद गर्न गरेको तयारी र सो बारेको प्रस्ताव अर्थ मन्त्रालयमा पटक पटक पुग्दा मन्त्री रामशरण महतले अस्विकार गरिदिएका थिए। शानेवानीलाई डुबाउन उनको पनि ठूलो हात रहेको देखिन्छ।
सन् २०१५ मा नेवानीको निम्ति बल्ल तल्ल दुई थान एयरबस ए३२० र दुई थान एयरबस ए३३० खरिद गर्ने र सोको निम्ति नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ऋण लिने प्रस्ताव पारित भए पछि चार वटा विमान मगाइयो।
२०१७ मा वाइड बडी जेटहरू पनि नेवानीले बुझेर लिए पछि शुरुमा दश वर्ष भित्र नेवानीले बजारको अवस्था हेरेर करिव एक दर्जन जेट खरिद गर्ने योजना बनाइयो। तर यतिबेलासम्म खरिद गरिएका जेटहरूको रुट र बजार नै निर्धारण नगरेर हचुवाको भरमा हतार हतार खरिद गरिएको कुराले ठूलो विवाद उत्पन्न भयो।
निकै समयसम्म वाइडबडी विमानहरूले रुटको अभावले गर्दा निकै कम मात्र उडान भरे। पछि एयरबस कम्पनीले नै नेवानीलाई विमान खरिद वापत ३ लाख ५० हजार यूरो कमिशन दिएको कुरा खोल्यो।
सो रकम सरकारी कोषमा नहालेर कस कसले अपचलन गरे त भन्ने बारे ठूलो चर्चा चल्न थाल्यो र यो काण्डको नाम ‘वाइडबडी काण्ड’ रहन गयो। यसरी विगत ४० वर्षमा नेवानी काण्डै काण्डले गर्दा ठूलो धरापमा परिरहेको छ।
यस्ता काण्ड र भ्रष्टाचार मौलाइरहेको भए पनि कोभिड महामारीको बेलामा होस् वा अन्य असहज परिस्थितिमा नेपालीहरूलाई उद्धार गरेर विदेशबाट स्वदेशमा ल्याउनमा नेवानीको ठूलो योगदान रहेको छ।
दक्षिण एशियाका अधिकांश देशका राष्ट्रिय ध्वजावाहकहरूमा हुने गरेका अनियमितता र भ्रष्टाचारका कथाहरू बराबर सुन्नमा आउँछन्। तर नेवानीको जस्तो चरम भ्रष्टाचारको कुरा भने अरु विमानसेवामा त्यति हुँदैनन्। तर पनि भारत जस्तो ठूलो मुलुकले पनि एयर इन्डियालाई नाफामा चलाउन नसकेर आखिर यसको पुरानो मालिक टाटालाई नै हस्तान्तरण गर्नुपर्यो भने पाकिस्तान एयरलाइन्स केही दिन भित्र लिलाम हुने भएको छ। त्यस्तै बंगलादेश विमान र श्रीलङ्कन एयरलाइन्स पनि भ्रष्टाचार र अनियमितताको सिकार भएर तिनमा बल्ल तल्ल केही सुधारको संकेत देखिन थालेको छ।
सन् १९९० को जनआन्दोलन पछिको चुनावबाट आएको गिरिजा सरकारले भारतमा शुरु भएको आर्थिक उदारीकरणको नीतिको अनुकरण गरेर नेपालमा पनि आर्थिक उदारीकरणको नीति ल्यायो। त्यसबाट कतिपय क्षेत्रमा सकारात्मक परिवर्तन पनि आएको छ भने सरकारी स्वामित्वका उद्योगधन्दा र सेवालाई विना कुनै सोचका साथ निकै स्वार्थी तवरले भताभुङ्ग पारियो।
हवाई क्षेत्रमा त्यतिबेला उदारीकरण कै सोच मुताविक नीजि क्षेत्रलाई पनि विमानसेवा सञ्चालन गर्न दिने नीति अवलम्बन गरेको चाहिँ निकै राम्रो कुरा थियो। त्यतिबेला अर्थात् सन् १९९२ सम्म शानेवानीले मात्र उपलब्ध गराइरहेको आन्तरिक उडान सेवामा विभिन्न नयाँ नीजि विमानसेवाहरू थपिए पछि यात्रुहरूलाई निकै सुविधा पुग्न थाल्यो। अनि एक वर्षभित्रमा नयाँ नागरिक उड्डयन नीति नै लागु भयो।
शानेवानीको जहाज व्यवस्थापन र खरीद प्रकृयामा त्यतिबेलादेखि नै निकै अनियमितता र अन्योल छाउन थाले पछि नीजि क्षेत्रले भित्राएका विमानको सेवा लोकप्रिय हुँदै जानुमा कुनै आश्चर्य मानिएन।
तर शानेवानीको जस्तो प्राविधिक र व्यवस्थापकीय दक्षता त्यतिबेला नीजि क्षेत्रको विमानसेवामा नभएकोले कतिपय विमानसेवा नोक्सानीको कारण बन्द हुँदै गए भने कतिका त जहाज दुर्घटना हुने क्रम निकै बढ्न गयो। तर आज २५ वर्षको अनुभवले गर्दा नीजि क्षेत्र निकै खारिँदै गएको छ भने केही विमानसेवा आज अन्तर्राष्ट्रिय स्तरका व्यावसायिक संस्था बन्न सफल भइसके।
सन् १९९० देखि आन्तरिक सेवाको निम्ति एउटा पनि विमान खरिद गर्न नसकेर जर्जर बनेको नेवानीको विकल्पमा अब नीजि क्षेत्र सशक्त भएर अघि बढी सकेको छ। नेवानीको आन्तरिक सेवाको निम्ति करिव एक दशक अघि खरिद गरिएका ६ थान चिनियाँ विमानहरू काम नलाग्ने भनेर थन्काउने काम भयो।
भूराजनीतिक कारणले भएको यो अति गलत निर्णयले गर्दा नेवानीलाई अर्बौं रुपैयाँ घाटा लाग्यो भने त्यसपछि अझसम्म एउटा विमान पनि भित्राउन सकेको छैन। यस अघि सन् १९९२ मा नीजि विमानसेवा नेपाल एयरवेजले भित्राएको चिनियाँ हार्बिन वाई१२ साना विमानले वा सन् १९६० ताका चीनले सहयोग स्वरुप दिएका साना विमान फुङ्सु एएन २ ले राम्रै सेवा दिइरहेका थिए।
नेपालमा धेरै देशका पर्यटक आउने र तिनले चिनियाँ विमानमा यात्रा गरेर तिनको तारिफमा यात्रा विवरण लेखे भने विकसित मुलुकका विमानहरूलाई चुनौती हुने भएकोले नै यस्ता प्रपञ्च विकसित मुलुकले रचेका र विभिन्न समयका हाम्रा सरकार र नेवानीले तिनको हुकुम सिरोपर गरेको भान हुन्छ।
चन्द्रमामा रकेट पठाइसकेको र आधुनिक यातायात प्रणालीको विकासमा आज ठूलो फड्को मारेर यो क्षेत्रका विश्वमा अग्र स्थान ओगट्ने अमेरिका, युरोप, क्यानाडा, रुस तथा जापानको हाराहारीमा पुगिसकेको हाम्रो उत्तरी छिमेकी चीनलाई नेपाल जस्तो सियो समेत बनाउन नसक्ने फिस्टोले हेपेको देखेर निकै आश्चर्य लाग्ने गर्दछ।
सन् १९९० देखि विभिन्न संस्थानहरूको नेतृत्व आफ्ना मुण्डबुद्धि भएका निकम्मा र भ्रष्ट झोलेहरूलाई सुम्पिन शुरु भएपछि ती संस्थामा नै जीवन बिताएका र ठूलो अनुभव बोकेका उच्च तालिमप्राप्त अधिकृतहरूको हौसला मर्न थाल्यो भने राजनीतिक दलकै आडमा युनियन खोलेर बसेका तुच्छ र प्रत्युत्पादक कर्मचारीहरू भने त्यस्ता संस्थालाई डर र धम्कीको बलमा हाँकेर बस्ने हुन थाले।
फलस्वरुप असल र उच्च विचार तथा अनुभव भएका कर्मचारीहरू ती संस्था छोडेर नीजि क्षेत्रमा काम गर्न थाले वा विदेशमा पलायन नै भए। अर्को तर्फ त्यस्ता अत्यावश्यक सार्वजनिक संस्थानहरू भ्रष्टाचारका अखडा बनेर धराशायी नै हुन थाले। शानेवानी पनि त्यस्तै रोगको शिकार हुन पुगेको हो।
सन् १९९० पछि शानेवानीको नेतृत्व गर्ने मानिसहरूमा औँलामा गन्न सकिने केही वाहेक सबै निकम्मा र भ्रष्ट व्यक्तिहरू नै थिए। विदेशमा तालिम प्राप्त तथा अति व्यावसायिक खुबी बोकेका इमान्दार र अनुभवी अधिकारी तथा प्राविधिज्ञहरूलाई नीजि विमानसेवाको व्यवस्थापनले निकै राम्रो तलब र सुविधा दिएर आफ्नो संस्थामा लगे। गिरिजाप्रसादले नेपालको प्रशासनतन्त्रलाई पनि यसैगरी तहसनहस पारे।
वषौैँसम्म देशविदेशमा तालिम लिएर ठूलो अनुभव बटुलेका उच्च अधिकारीहरूलाई अवकासमा पठाएर उनकै पालादेखि झोलेहरूलाई प्रशासन सुम्पने काम शुरु भएको हो। यो कुकार्यको कारण पनि नेपाली नीजि क्षेत्रले सरकारी क्षेत्रबाट दिक्क भएका र निकालिएका ज्यादै सक्षम जनशक्ति पाउन सफल भयो भने विदेशी संस्थाहरूले पनि सरकारी नोकरी छोडेका कुशल कर्मचारीहरूलाई कदर गरेर आफ्नो संस्थामा समाहित गरे। आखिर नोक्सानी नेपालको सार्वजनिक प्रशासनलाई नै भयो।
असल कर्मचारीका साथै बाठा कर्मचारी पनि कतिपय नीजि आन्तरिक वायुसेवामा काम गर्न गएपछि नेवानीका गुह्य रणनीतिहरू खोलिदिने, नेकोन र नेपाल एयरवेज जस्ता एभ्रो विमानबाट सेवा प्रदान गर्ने विमानसेवाहरूलाई यस्तै मिलोमतो मुताविक नेवानीसँग रहेको जगेडा पार्टपुर्जा चोरेर सस्तोमा बेचिदिने र नेवानीको राम्रै हालतको विमानलाई बिग्रेको भन्दै नउडाएर नीजि क्षेत्रका वायुसेवालाई उडानमा सहजता दिलाई दिने काम भयो।
यति मात्र होइन, शानेवानीका उच्च पदस्थ कर्मचारीहरू र वोर्ड तथा पर्यटन मन्त्रालय र नागरिक उड्डयनको समेत मिलोमतोमा शानेवानीको अन्तर्राष्ट्रिय उडानलाई हतोत्साही तुल्याउँदै केही विदेशी विमानसेवासँग गोप्य कमिसन लिएर उनका उडान बढाउने प्रपञ्च मिलाएर लामो समयसम्म कमिसन खाएर बस्ने काम भयो।
अरब राष्ट्रको एउटा विमानसेवालाई ट्रान्जिट उडान सुविधा समेत दिएर काठमाडौँबाट मलेशियाको उडान गर्ने अनुमति दिइयो। यसरी शानेवानीलाई सक्ने धेरै किसिमका खेला चल्दा पनि यसलाई बचाउने बारे बोल्ने मानिस निक कम देखिए।
एकातिर आफ्ना झोलेहरूलाई नेवानीको उच्च नेतृत्वमा चयन गर्ने र अर्को तर्फ गैरकानुनी तवरले करारमा सयौँ कर्मचारी भर्ती गरेर नेवानीलाई तलब खुवाउने बेरोजगारहरूको अड्डा बनाउने काम आजसम्म पनि रोकिएको छैन। नेवानीको आम्दानीको ठूलो रकम यस्ता बेकम्मा कर्मचारीहरूलाई तलब खुवाउँदा र सुविधा बाँड्दा नै सकिने गरेको छ।
यही बेलादेखि शानेवानीका कुशल तथा अनुभवी पाइलट, इन्जिनियर र अन्य प्राविधिक र प्रशासनिक कर्मचारीहरूलाई नीजि क्षेत्रका वायुसेवा कम्पनीले आफ्नो संस्थामा निम्त्याएर ठूलो प्रगति गर्न सके।
एक प्रकारले सरकारको गलत कार्यले गर्दा निजी क्षेत्रको विकासमा नजानिँदो तवरले फाइदा नै पुग्यो। तर पनि जे जति कुशल कर्मचारीहरू विदेश पलायन भए, त्यसबाट मुलुकलाई ठूलो हानी-नोक्सानी भयो।
विदेश भ्रमणमा जाँदा त्यस्ता धेरै व्यक्तिहरू भेटिन्छन् जो नेपाल सरकारको प्रताडना र भासमा परेर दुखका साथ विदेश पलायन भएका थिए तर आज सपरिवार निकै उच्च जीवनस्तरका साथ उतै बसोवास गरिरहेका छन्।
पछिल्लो समयमा नेवानीका विभिन्न मुलुकमा स्टेशन मेनेजर भएर खटिएका कर्मचारीहरूले त्यहाँका ट्राभल एजेन्सीहरूसँग मिलेर अकुत सम्पत्ति कमाएका कुरा सुन्नमा आइरहन्थ्यो।
त्यस्तै चालक दल र कर्मचारीले नै सून र लागुऔषध तस्करी गरेका, जहाजको अक्सिजन च्याम्बर जस्तो सम्बेदनशील स्थानमा समेत त्यस्ता सामान लुकाएर लगेका र जहाजको सुरक्षा व्यवस्था नै खल्बलाएका घटना धेरै नै छन्।
अनियमितताका यस्ता कुराहरू सम्झने हो भने यो वायुसेवाको आडमा कति मानिसहरूले अकुत धन-सम्पत्ति कुम्लाएका रहेछन् र यो महत्वपूर्ण संस्थालाई डुबाउन मद्दत गरेका रहेछन् भन्ने कुरा स्पष्ट हुन जान्छ।
क्रमश…
– लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
















Facebook Comment