पुस्तक समीक्षा

पुर्खाको गाथा, आफ्नै कथा

20
Shares

यो कुनै आख्यान होइन, न त कुनै व्याख्यान नै हो। यो त प्रा खगेन्द्र आचार्यद्वारा लिखित पुस्तकको शीर्षक पो हो। विशेषगरी यसै पुस्तकको सेरोफेरोमा प्रस्तुत आलेख घुमेको छ।

२०८२ साल कार्तिक २६ गते विराटनगरको गहना बौद्धिक चिन्तन चौतारीको रूपमा प्रतिष्ठित भएको ‘एलिट क्लब’मा दाजु प्राध्यापक कृष्ण पोखरेलको चाजोपाजोमा स्थानीय केही प्राध्यापकहरूसँगको भेटघाट र भलाकुसारी गर्ने साइत जुर्‍याे।

सोही अवसरमा मेरा केही कृतिका बारेमा चर्चापरिचर्चा पनि भए। आफ्ना कृतिहरु आदानप्रदान गरियो। यसै क्रममा प्राडा खगेन्द्र आचार्य, जसलाई हामी समकालीनहरुले ‘मामा’ भनी सम्बोधन गर्छौं, उहाँले लेख्नुभएको पुर्खाको गाथाः आफ्नो कथा पुस्तक प्रेमपूर्वक उपहार दिनुभयो।

उक्त उपहारलाई जतनसँगै अमेरिकाको खाजामा सामेल गरेँ किनकि २०८२ साल मंसिरभित्रै मलाई अमेरिकातिर जानैपर्ने आवश्यकता र त्यसभन्दा पनि बढी बाध्यता परेको थियो। अमेरिका पुगेको थकाइ मारेपछि सोही पुस्तक खाजा खान थालियो। उक्त खुराक साह्रै स्वादिष्ट हुँदा यसको स्वाद अरूलाई बाँड्नै पर्ने ठानेर यो गन्थन तयार पारेको हुँ।

प्रा खगेन्द्र आचार्य व्यवस्थापन विषयका जोकोहीले पनि चिनेकै र चिन्नै पर्ने नाम हो। नेपालको व्यवस्थापन शिक्षाको विस्तार र उन्नयनका अग्रज पात्र हुनुहुन्छ उहाँ। उहाँका प्राज्ञिक कार्यका विषयमा बयान गरेर साध्य नै छैन। त्यसैले त्यतातर्फ गइएन। सेवा निवृत्त भएपछि ‘मामा’लाई जन्मस्थानले तान्यो र त्यही तनाइमा यस कृतिको जन्म भएकाे हाे कि भन्ने लाग्छ।

यो पुस्तक खगेन्द्र आचार्यको आफ्नै पुर्खा, परिवार र आफ्नै जीवन कहानी पनि हो। ऐतिहासिक दस्तावेज हो तर पुर्खाको गाथा र आफ्नो कथाभित्र तत्कालीन समय लुकेको छ। धेरै कुराको रहस्य उद्घाटन गरेको छ।

त्यसैले धनकुटा तेलियाका आचार्य वंशजलाई त यो कृति ढिकुटीमा राख्नुपर्ने पुस्तक हो भने अन्य जो कोहीलाई पनि धेरै खुराक यसले प्रदान गरेको छ, जस्तो लाग्दछ। यो आफैमा अनुसन्धानात्मक कृति भने होइन आफ्नै सम्झाैटो हो। तर नरपतिका सन्तानका लागि अनुसन्धान गर्न यो महत्त्वपूर्ण स्रोत सामग्री भने अवश्य बन्नेछ।

धनकुटाको आफ्नै पहिचान, इतिहास र संस्कृति छ। किराँतकाल, लिच्छवीकाल, मल्लकाल, शाहकाल, गणतन्त्रकाल सबै कालको कालबाट बच्दै आफ्नो अस्तित्व कायम राख्न धनकुटा सफल रहेको छ। किरातीहरूको मूलथलोका रूपमा पल्लो किराँत भनेर चिनिने धनकुटा किराँत नेवार र खस जातिको त्रिवेणी हो।

यस थलोमा रोजगार जागिर र बिर्ता पाएर धेरै जातिले स्थायी बसोबास गरेको दृष्टान्त पाइन्छ। हिजो जागिर भनेको जमिन थियो, तलब नगदमा नभएर जमिनमा दिने चलन थियो। यसैकारण पनि धेरै खसहरू धनकुटा पुगेका थिए।

यसै क्रममा नरपति आचार्यका पुर्खा धनकुटा तेलियामा पुगेको अनुमान गर्न सकिन्छ। पुस्तकमा भने आचार्यहरु कसरी र किन धनकुटा पुगे भन्ने विषयमा विशेष सोधखोज गरिएको छैन। सायद अरूले गरुन् भनेर पो हो कि!

लेखकले आफ्नो पुर्ख्यौली नरपति आचार्यसँग जोड्नुभएकाे छ। तिनै नरपतिले विसं १९४४ मा हालको धनकुटा बजार श्रीवानीमा नरपतेश्वर महादेव स्थापना गरेको इतिहास छ। त्यसभन्दा अगावै आचार्यहरू धनकुटा अवश्य पुगेका थिए।

धनकुटाको तेलिया, ताँखुवा, सिँगुवाजस्ता स्थानमा रहेका आचार्यहरू विसं १९९० को दशकदेखि तराईतिर झर्न थालेका थिए। यो क्रम २००७ सालपछि तीव्र हुँदै गयो। हाल ती पुर्ख्यौली थलोमा आचार्यको अतीत मात्र बाँकी छ। वर्तमान छैन भन्दा पनि हुन्छ।

तर, हालसालै आएर केही आचार्यहरू आफ्नो पुर्ख्यौली थलोको सम्झना गर्दै आउजाउ गर्न थालेका छन्, पुस्तकले यसै भन्छ। यो उत्साहजनक थालनी हो। यस्ता सकारात्मक कार्यबाट स्थानीय विकासमा सहयोग हुने अपेक्षा गरिन्छ। तेलियाका आचार्यहरू सुनसरी, मोरङ, र झापा लगायतका विभिन्न स्थानमा बसाइँ सर्दै आएका र बसाइँ सरेका स्थानलाई गुल्जार बनाएका दृष्टान्त पाइन्छन्।

पानीको दुःख तथा कृषि उपजको अभाव नै बसाइँ सराइको प्रमुख कारण हो, जुन कुरा अन्यत्र पनि लागु भएको छ। यी आचार्यहरू हाल नेपालमा मात्र होइन विदेशका विभिन्न मुलुकहरूमा स्थायी बसोबास गर्न पुगेका छन्। यी आचार्यहरु सुनसरी, मोरङ र झापामा त जमिनदार ठूलाठालुका रूपमा गणना गरिन्थे।

उनीहरूले नेपालको इतिहासका कालखण्डमा उल्लेख्य र चर्चित कार्य समेत गरेका थिए। हुन त यस कृतिमा सबै आचार्यहरू अटाउन सकेका छैनन्। अटाउन सकिने कुरा पनि भएन।

हाल धनकुटामा नै आचार्यहरूले आफ्नो खास उपस्थिति देखाउन नसके तापनि झापा, सुनसरी, मोरङ र काठमाडौँमा आफ्नो सशक्त पहिचान कायम बनाएका छन्। यस कुराको पनि बयान गरी साध्य नै छैन। यस कार्यमा लेखकले अरूले नै बयान गरुन् भनेरै छाड्नुभएकाे छ।

धनकुटाबाट आई सुनसरी तथा मोरङमा खगेन्द्रका बाउबाजेले बसोवास स्थापित हुन गरेका सुख र दुःखका घटनाहरूको चर्चा पुस्तकमा गरिएको छ। वास्तवमा यो आचार्यको मात्र होइन त्यसबेला तराई झर्नेहरूले गरेको सङ्घर्षको कथा यस्तै हो।

लेखकका पितामहले कोशीटप्पुमा गरेको खेतीको वर्णन, त्यस समयमा परिवारमा बुढापाकाको स्थान, भनाइ र गराइ विषयकाे टिप्पणी रोचक छ। त्यसबेला तराईको औलोको प्रकोपका कारण बर्सातभन्दा पहिल्यै पहाड गइसक्नुपर्ने परिस्थितिको चर्चा चाखलाग्दो छ। आफ्ना बाजेको उक्त भनाइबाट श्रुति परम्पराको महत्त्व बुझ्न सकिन्छ।

पुस्तकमा पुर्खाको गाथाको अपेक्षामा आफ्नो कथाले प्रमुख स्थान निर्वाह गरेको छ। यस कृतिमा २००७ सालको आन्दोलनमा स्थानीय किरातीहरूबाट गैरकिराती विशेष गरेर ब्राह्मणहरूलाई राणाहरूका समर्थक भनेर लखेटेको तथा लुटपाट गरेको अनेकौं उदाहरण पाइन्छन्।

यसै चपेटामा लेखकको परिवार पनि बिल्लीपाठ हुन पुगेको स्मरण गरिएको छ। उक्त समय तेलियामा घरमा नै शिक्षक राखेर पढाउने चलन रहेको चर्चा गरिएको छ। पितापुर्खाले बेचेको घरजग्गा पुनः खरिद गरी जन्मथलोप्रति लेखकका परिवारले देखाएको ममता सराहनीय छ। यसै गरी जन्मथलो सबैले सम्झने र आफ्नो बुताअनुसार केही न केही सबैले गर्दै गएमा नेपालले गुमाएको अतीतको गौरव फेरि पाउने थियो।

धनकुटाकाे तेलियाबाट इनरुवा (हाल सुनसरी जिल्लाको सदरमुकाम) बसाइँ सर्नाको कारण, विभिन्न ठाउँमा भिन्न भिन्न संस्कृति चालचलनमा आफूलाई ढाल्नुपर्दाको सकसको चित्रणजस्ता विषय पाठकले अपुरो र अधुरो नै ठानेका छन्।

इनरुवामा हाइस्कुलसम्म, स्नातकसम्म मोरङ कलेज विराटनगर र स्नातकोत्तर त्रिभुवन विश्वविद्यालय कलेजमा पढेको समयको चित्रण सुन्दर ढंगबाट गरिएको छ। स्कुल पढ्दाका शिक्षकहरू, आफू पढेको विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नेको नामावली, मोरङ कलेज र विश्वविद्यालय कलेजमा पढाउने गुरुहरूको नामावली समावेश हुनु कृतिको अर्काे महत्त्वपूर्ण विशेषता हो भन्न सकिन्छ।

व्यवस्थापनमा स्नातकाेत्तर उत्तीर्ण गरेपछि लोकसेवा परीक्षा दिई केही समय औलो उन्मूलन संघमा लेखा अधिकृत भई २०३० सालदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र मोरङ क्याम्पसमा कार्यरत भई प्राध्यापक पदबाट सोही स्थानबाट सेवा निवृत्त भएको विवरण पुस्तकमा परेको छ।

विश्वविद्यालय सेवामा छँदा क्याम्पस प्रमुख लगायतको उत्तरदायित्व बहन गरेको समयमा भएका कार्यहरूको स्वमूल्याङ्कन समेत पुस्तकमा परेको छ। विद्यावारिधि गर्न भारतको इलाहाबाद (हालको प्रयाग)मा रहँदा इन्दिरा गान्धीको हत्यापछि सिर्जना भएको भयावह घटनाको समेत स्मरण गरिएको छ। विश्वविद्यालय सेवाबाहिर शाही औषधि लिमिटेडको अनुभवको विवरण पनि पुस्तकमा छ।

समाजसेवासँग सम्बन्धित संस्थामा संलग्नता विदेश भ्रमणको विवरण पनि पाठकका लागि असल खुराक बनेका छन्। आफ्नो पारिवारिक विवरण छोराहरूको लालनपालन उच्च शिक्षा र उनीहरूको उपलब्धिको प्रसङ्गले कृतिमा उचित स्थान पाएको छ। घरपरिवारबाट सन्तुष्ट हुने कमै व्यक्तिमा लेखक पनि एक भएको भान हुन्छ।

व्यक्तिको आफ्नो मूल्यांकनमा उ जति सही र अब्बल हुन्छ त्यो नै निर्विवाद सत्य हो। कतिपय व्यक्तिहरूले आफ्नो कमजोरीहरू प्रकट गर्न चाहँदैनन्। र अरूले प्रकट नगरुन् भन्ने अपेक्षा समेत गर्दछन्।

तर, लेखकले आफ्ना कमीकमजोरीलाई मूल्यांकन गरी उक्त कमीकमजोरीका सूची नै तयार गर्नु आत्मकथाको अर्काे सबल पक्ष हो। जुन यस कृतिमा पाइन्छ। यस आत्माकथामा पाठकहरूमा घत लाग्ने धेरै संस्मरणहरू छन्। त्यसैले यो पुस्तक खोजीखोजी पढ्नै पर्छ भन्ने लाग्दछ।

‘बूढा मरे भाषा सरे’ भन्ने मान्यता हिजो थियो, आज छैन। श्रुति परम्परा ह्रास हुँदै गएको छ। आफ्नो भोगाइ दुखाइ सन्तानलाई सुनाउने र सुन्ने संस्कृति अब छैन। बाबुको अनुभव छोराछोरीलाई सुन्ने न फुर्सद छ न त चासो नै।

यस परिस्थितिमा आफ्नो अनुभव र संस्मरण लेखेर प्रकाशित गरी भविष्यका पुस्तालाई जानकारी दिनु आवश्यक छ। छोराछोरीहरूमा बाबुआमाको संस्मरण सुन्ने चेत खुल्दा त बाबुआमा अर्कै संसारमा पुगिसकेका हुन्छन् नि। त्यसैले आफ्नो अनुभव, भोगाइ, दृष्टिकोण आफ्ना भविष्यका सन्तति एवं भोलिका पुस्तालाई दिने कार्यमा कन्जुस्याइँ गर्नु हुँदैन।

यस मार्मिक तथ्यलाई ध्यान दिएरै यो आत्मासंस्मरण प्रकाशित भएको अनुमान हुन्छ। विगत दुई दशकदेखि नेपालमा आत्मकथा/आत्मवृत्तान्त प्रकाशनमा उत्साहजनक प्रगति भएको छ। यी प्रकाशन अहिले नै सर्वग्राह्य नहोलान् तर भोलिका अमूल्य सम्पत्ति हुनेछन्। इतिहास यसै भन्छ।

सेवनिवृत्त निजामती, सैन्य, प्रहरी, प्राध्यापक, वकिल जस्ता धेरै पेसा वा व्यवसायमा संलग्न व्यक्तिहरूले आत्माकथा लेख्ने जागर चलाएका छन्। आत्मकथा प्रकाशन गर्ने जे जस्तो मनसाय भए तापनि त्यसमा लुकेका तत्त्व अनुसन्धानका लागि मौलिक सामग्री हुन्।

प्राध्यापकहरूमा पनि आत्मवृत्तान्त लेखेर भविष्यका पुस्ताका लागि कोसेली दिने परम्पराले प्रश्रय पाएको छ। प्राध्यापकहरू लोकराज बराल, विश्वम्भर प्याकुरेल, कृष्ण पोखरेल, पिताम्बर दाहाल, पुरुषोत्तम दाहाल जस्ता व्यक्तित्वहरूका आत्मवृत्तान्त पाठकले अौधि रुचाएका छन् । यसै शृङ्खलामा प्रा खगेन्द्र आचार्यको यस कृतिलाई उभ्याउन सकिन्छ।

१३६ पृष्ठहरूमा संरचित प्रस्तुत पुस्तक दुई खण्डमा विभाजित छ । पुस्तकमा खण्ड ‘क’ पुर्खाको गाथामा १५ उपशीर्षक रहेका छन् भने खण्ड ‘ख’ आफ्नो कथामा १०५ उपशीर्षक छन्। पुस्तकको अन्त्यमा वंशवृक्ष र तस्बिरको सँगालो रहेको छ। यी प्रत्येक उपशीर्षक आफैमा एक एक कृति तयार हुने सामग्रीले भरिएका छन्। त्यसैले त्यस दिशामा लेखकको ध्यान जाने अपेक्षा पाठकले गरेका छन्।

यस्तो अमूल्य ग्रन्थ उपहार पाएकोमा लेखकप्रति प्रसन्नतापूर्वक धन्यवाद व्यक्त गर्दछु। मामाको जय होस्।

एलिकट सिटी मेरील्यान्ड
संयुक्त राज्य अमेरिका

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.