मानवीय स्वभाव र सामाजिक यथार्थसँग मिल्दो बाद कहिले आउने?

कृष्ण बोहरा
१५ पुष २०८२ ९:००
20
Shares

मूल विषयवस्तुलाई अगाडि बढाउनु अघि यहाँ म बाद शब्दको बारेमा केही छोटो चर्चा गर्नु सान्दर्भिक ठान्दछु। नेपाली व्याकरणमा उपसर्ग र प्रत्यय भन्ने हुन्छ। उपसर्ग भन्नाले मुख्य शब्दको अघिलतिर जोडिएर यसले शब्दको अर्थलाई फरक पारिदिन्छ। जस्तै हारको अघिलतिर उपसर्ग प्र राखिदिने हो भने यो प्रहार हुन्छ।

हार शब्दको अर्थलाई नै यसले बदलिदियो। यसैगरी प्रत्यय भन्नाले शब्दको पछिलतिर झुन्डिएर आउनेलाई भनिन्छ। जस्तो कि मार्क्स एउटा शब्द हो यसमा झुन्डिएर आउने बादले मार्क्सवाद बन्दछ। जसबाट शब्दको अर्थ फरक पर्न गयो। पूँजी एउटा शब्द हो यसमा बाद जोडिँदा पुँजीवाद भयो।

यसले पुँजी सम्बन्धी विचार सिद्धान्त आदि सम्पूर्णको बारेमा बुझाउँदछ। अर्थात् बादले विचार सिद्धान्त जस्ता कुराहरूलाई विस्तृत रुपमा बुझाउन मद्दत गर्दछ। वाद शब्द सधैँ राजनीतिसँग जोडिएर आउँछ। यसले कुनै पनि सिद्धान्त र बिचारको विस्तृत व्याख्या मात्र गर्दैन यसको फाइदा बेफाइदा, यसले पार्ने असर को बारेमा समेत विश्लेषण गर्दछ।

अब कुरा गरौं आदर्शका कुरा वास्तविक व्यवहारमा कतिसम्म साकार हुन सक्छ? कतिपय मानिसहरूले पनि भन्ने गर्छन् आदर्शको कुरा र व्यवहारका कुरा एकआपसमा मिल्दैनन्। आदर्श एउटा कुरा मात्र हो व्यवहार निकै फरक कुरा हो। म यस लेखमा आदर्शका र व्यवहारका कुरामा केही बिबेचना गर्ने कोसिस गर्नेछु।

राज्य सञ्चालनको विषयमा रामराज्यको कल्पना गरिएका उपन्यासहरू पनि हामीले पढेका छौं। पश्चिमा विद्वान प्लेटोले पनि एउटा आदर्श राज्यको परिकल्पना गरेका थिए। अहिंसाको पक्षपाती महात्म बुद्धले पनि आदर्श समाजको परिकल्पना गरेका थिए।यस्ता आदर्श राज्य र आदर्श समाजका कुरा व्यवहारमा कतिसम्म सफल हुन सक्छन्? त्यही कुरा मेरो खोजको विषय हो।

आदर्श राज्यको परिकल्पना गर्ने धेरै महापुरुषहरू पनि संसारमा नजन्मेका हैनन्। यसको साकार रूप कस्तो हुन्छ? त्यो भने आजसम्म व्यवहारमा हेर्न नपाइएको कुरा सत्य हो। यसो भनिरहँदा कहीँ केही प्रगति नभएको, संसार परापूर्व कालमा जस्तो थियो त्यस्तै रहेको भन्ने कुरा पनि वास्तवमा सत्य होइन। यहाँ यही सत्य कति हो र असत्य कति हो? छुट्याउन जमर्को गरिएको छ।

ई.पू.५२३ पछिको कुरा हो राजदरबारमा हुर्के बढेका राजा सुद्धोधनका छोरा सिद्धार्थ गौतमले संसारको दुःख निवारण गर्नको लागि ज्ञान आर्जन गर्न दरबारका सारा सुखसुविधा त्याग गरी ज्ञानको खोजीमा निस्केका थिए।

महात्मा गौतम बुद्धले” संसारमा दुःख छ, दुःखलाई निवारण गर्न सकिन्छ, दुःखलाई निवारण गर्ने अन्तिम उपाय भनेको इच्छालाई मार्नु हो” भनि बताउनु भयो। हिंसा नगर्नु, सबैको भलो चाहनु जस्ता आदर्शवाणीहरू बुद्धका ज्ञानका मार्ग हुन्।

समाजका दुःखलाई कसरी निवारण गर्न सकिन्छ भन्ने ज्ञानको खोज नै बुद्धको ज्ञानमार्ग र सन्देश हो।एउटा आदर्श समाजको पनि यसमा परिकल्पना गरिएको छ। कुरा धेरै राम्रो हुँदाहुँदै पनि धर्मको रूपमा त बुद्ध धर्म संसारभर फैलिन सफल भयो। महात्मा गौतम बुद्धलाई नमान्ने को होला र ? तैपनि बुद्धले भनेजस्तो समाज संसारमा कहीँ पनि देख्न भने पाइएन। कारण थियो यो आदर्श वाक्य र वाणीहरू ब्यबहारमा मेल खान नसक्नु। केही हदसम्म मानिसहरूको हिंसात्मक क्रियाकलापलाई बन्द गर्न सफल भएको भन्न र प्रशंसा गर्न चाहि हामी खुलेर गर्न सक्छौं।

यस्तै पश्चिमा जगतमा ई.पु. ४२८मा आदर्श राज्यको कल्पना गर्ने अर्का दार्शनिक प्लेटो थिए। उनका गुरु शुकरात हुन।उनले भनेका छन् राज्यमा तीनवटा वर्ग हुनुपर्छ १) शासक वर्ग २) सैनिक वर्ग ३) उत्पादक वर्ग।

शासक एकदमै विद्वान ज्ञानी र दार्शनिक हुनुपर्छ। अथवा राजा दार्शनिक हुनुपर्छ वा दार्शनिक राजा हुनुपर्छ। यसभन्दा पछि अरु ज्ञानी व्यक्तिहरू मन्त्रिपरिषदमा हुनुपर्छ। शासकले पनि आंशिक समयको लागि विवाह गर्न सक्छन् तर जन्मेको सन्तानलाई केही समयपछि छुट्याएर राख्नुपर्छ।

नत्र भने शासनसत्तामा यिनैले डिस्टर्ब गर्ने हुन्छन्। सैनिक वर्ग देशको सुरक्षाको लागि हो। जसले दतचित भएर देशको सुरक्षा गर्छन्। उत्पादक वर्गको काम आर्थिक उन्नतिसँग जोडिएको हुन्छ। जसको काम उत्पादन गर्ने हो।

निजी सम्पत्तिको उन्मूलन गर्नुपर्छ भन्दै साम्यवादसम्मको परिकल्पना यिनले गरेका छन्। तर काल्पनिक साम्यवादीहरूको विचार वास्तविक व्यवहारमा मेल खान सकेन। आजसम्म उनीहरूले भनेजस्तो समाज को साकार रुप संसारमा कहीँ पनि देख्न सकिएन।

आदर्शवाद होइन व्यवहारिक रुपमै समाजमा गरिब वर्ग वा सर्वहारा मजदुर वर्गको सत्ता स्थापना गरेर समाजलाई साम्यवादी अवस्थासम्म पुर्याउने भनी मार्क्सले एउटा छुट्टै समाजको परिकल्पना गर्नुभयो। उत्पादक वर्ग मजदुर किसानको सत्ता स्थापना गरेपछि सामाजिक अन्तरविरोधहरूको हल हुन्छ भन्ने कार्ल मार्क्सको भनाइ हो।

उहाँले आर्थिक रुपमा अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गर्नुभयो। पुँजीपतिहरूले मजदुरहरुलाई कसरी शोषण गर्छन्? भन्ने कुरा यसमा बताइएको छ। मजदुर किसानको सत्ता स्थापना गर्ने भन्दै पेरिसमा विद्रोह भयो।

मार्च १८,१८७१मा यस विद्रोहले पेरिस कम्युनको स्थापना गर्यो। तर यो ७२ दिन मात्र टिकेर त्यसपछि समाप्त भयो। यसपछि सर्वहारा वर्गीय सत्ता पुनःस्थापना हुन सकेको थिएन। मार्क्सको जीवनकालभर यो हुन पनि सकेन।

लेलिनको नेतृत्वमा १९१७ अक्टोबरमा रुसमा क्रान्ति सफल भयो। यसको सैद्धान्तिक आधार मार्क्सवाद नै थियो। यसपछि संसारको आधा भाग ओगट्ने ठूलो भू-भागमा सर्वहारा वर्गीय कम्युनिष्ट सत्ताको रूपमा सोभियत सङ्घको उदय भएको थियो। चीनमा माओले नौलो जनवादी क्रान्ति गर्दै अर्को श्रमजीवीहरूको सत्ता स्थापना गरे।

यसपछि भने संसारको निकै ठूलो भू-भागमा कम्युनिस्ट सत्ता स्थापना भइसकेको थियो। पूर्वी युरोपका देशहरूमा पनि सोभियत सङ्घको सहयोगमा धमाधम कम्युनिष्ट सत्ताको स्थापना भयो। जसबाट मार्क्सिजम संसारभर श्रमजीवीहरूको वैचारिक आधार र सिद्धान्त बन्न गयो।

तर कालान्तरमा सोभियत सत्ताले पनि जनताको आवश्यकता श्रमजीवीहरूको आवश्यकता भन्दा पनि युद्धलाई प्राथमिकता दिन थाल्यो। त्यहाँ पनि शासक र शासित दुई किसिमको वर्ग विभेद देखिन थाल्यो। जनता पाउरोटी नपाएर भौतारिरहेको समयमा शासकहरुको प्राथमिकता ठूला ठूला भारी मेसिनहरू र युद्धका लागि tank बनाउने कुरामा हुन थाल्यो।

अन्य देशहरुमा कम्युनिजमको विस्तार गर्न राज्यको ढुकुटी खर्च गर्न थाल्यो। जनता ससाना उपभोग्य समान र खानेकुरा नपाएर तड्पिन थाले। यसले गर्दा जनतामा विद्रोह भयो। त्यति ठूलो कम्युनिष्ट सत्ताको रुपमा उदय भएको सोभियत संघको सत्ता गर्ल्याम गुर्लुम ढल्यो।

पूर्वी युरोपका देशहरूमा पनि यसैगरी कम्युनिष्ट सत्ताहरू ढल्दै गए। सजिलै सत्ता छाड्न कोही पनि शासकहरु तयार थिएनन्। २० औँ ३० औँ वर्षसम्म शासन गर्दा पनि नअघाएका शासकहरू त्यहाँ थिए। १९९० को दसकमा संसारको निकै ठूलो भूभागमा स्थापना भएको कम्युनिस्ट सत्ताको एकपछि अर्को पतन हुँदै गयो।

माथिको उदाहरणबाट यो बुझिन्छ कि सर्वहाराको नाममा सत्ताको नेतृत्व सम्हाल्न पुगेकाे ब्यक्ति सधैँ राम्रा स्वच्छ हुन्छन् भन्ने चिन्तन वास्तवमा व्यवहारमा मेल खाने खालको थिएन। यो पनि आफैमा एउटा काल्पनिक र आदर्शवादी चिन्तन थियो।

नेपालमा पनि वैज्ञानिक समाजवादी दर्शनमा आधारित नयाँ दर्शनको प्रादुर्भाव भएको छ। विज्ञान र प्रविधिको विकासले मार्क्सले भन्ने गरेको उत्पादक शक्ति मजदुरलाई विस्थापित गर्दै विज्ञान र प्रविधि उत्पादक शक्तिको भयो। मजदुरहरू कामबाट विस्थापित भए। यसकारण मार्क्सवादलाई समयअनुसार परिमार्जन गर्नुपर्छ भन्ने यस दर्शनको भनाइ हो।

यस दर्शन अनुसार बनेको एउटा कम्युनिष्ट पार्टीको नाम वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी हो। यसको नेतृत्व विश्वभक्त दुलाल (आहुतिले गर्नुभएको छ।) उहाँको भनाइ अनुसार पनि निजी स्वामित्वको अन्त्य हुनुपर्छ, निजी स्वामित्वको सट्टा सामुदायिक स्वामित्व हुनुपर्छ भन्ने भनाइ हो।

पहिले रुसमा निजी स्वामित्व को सम्पत्तिलाई राष्ट्रियकरण गरी राज्यको स्वामित्वमा लगियो। राज्यको स्वामित्वमा भइसकेपछि जो शासक भयो उ संपत्तिको मालिक हुन थाल्यो। यसबाट समस्याको समाधान नभएकाले सम्पत्ति लाई सामूदायिक बनाउनुपर्छ भन्ने भनाई उहाँको हो।

यसैमा थप्दै उहाँ भन्नुहुन्छ,” सरोकारवालाहरुले निर्णय गर्ने र प्रतिनिधिले लागू गर्ने काम गर्नुपर्छ। प्रतिनिधि एउटा हल्करा जस्तो मात्रै हो। ” कुरा त एकदमै राम्रो हो। उहाँको तर्क र कुराहरू सुनु सुनु लाग्ने हुन्छन्। तर्कहरू पनि विज्ञानमा आधारित नै हुन्छन। तैपनि यो हल्काराको काम गर्न को तयार होला?

मानिसको ब्यक्तिगत आबस्यकता र मनोकांक्षा अथाहा हुन्छ।मानिस पहिले उ आफु हो अनि समाज। मानिस स्वयं जन्मसिद्ध प्रतिसप्रधाको उत्पादन हो। मानिस क्रोमोजोमहरूको प्रतिस्पर्धामा जो बलियो छ उसैले आमाको कोखमा डिम्बसँग मिलन भई भ्रूणको रुपमा आउन सफल भएको प्राणी हो।

जन्मजात नै दुईवटा नानी जुम्ल्या जन्मिए भने प्रत्येक नानीले आफू बाँच्नको लागि आमाको दूधमा छिनाझपटी गरिरहेको नै हुन्छ।ठूलो भएपछि पनि पहिले आफू यसपछि मात्र अरुलाई हेर्ने प्रवृत्ति मानिसमा हुन्छ।

धन बटुल्ने लत लागेपछि अथाह धन भएपनि उसलाई पुग्दैन। कथम कदाचित उसमा साहित्यको लत लागेमा पनि अथाहा रचना गर्दा पनि उसलाई पुग्दैन। यदि चित्रकार भयो भने अथाह चित्र कोर्दा पनि अझै अघाएको हुँदैन। यो नै मानिसको प्रवृत्ति हो। हरेक कुरामा अथाहा चाहना राख्नु मानवीय प्रवृत्ति हो।

मानिसमा आदर्शवादी भावना पनि नहुने होइन। आफ्नो लागि भन्दा समाजको लागि होस् भन्ने भावना पनि यदाकदा पाइन्छ। कसैलाई दुःख पर्यो भने सहयोगी प्रवृत्ति पनि मानिसमा पाइन्छ। तर यो सधैं नपाइन सक्छ। समाज र राज्य त सधैँ चल्नुपर्ने आवश्यक हुन्छ।

त्यसैले हाहुती कमरेडले भनेजस्तो समुदायबाट छनोट भएका प्रतिनिधिले हल्काराको मात्र काम कति समय र कहिलेसम्म गर्लान् शंका गर्ने ठाउँ छ। यसैले प्लेटोको आदर्शवाद यहाँ पनि दोहोरियो कि भन्ने हो।

यसैले समाजवादको परिकल्पना गर्दा मानबिय स्वभावलाई पनि प्राथमिकता दिनुपर्ने हुन्छ। कसैलाई कुनै दार्शनिकले परिकल्पना गरेको काल्पनिक कुरा पुरा भएन भनेर गद्दारको बिल्ला भिराउनु उही परम्परागत र अवैज्ञानिक पारा हो भन्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.