एआईमा आधारित शिक्षण विधिको अभ्यास

लीलाराज भट्टराई
१७ पुष २०८२ १२:५७
28
Shares

काठमाडौँ। आर्टिफिसियल इन्टिलिजेन्स (एआई)ले हरेक क्षेत्रमा आमूल परिवर्तन ल्याउँदैछ । एआईले केही वर्षभित्रै शिक्षा क्षेत्रमासमेत युगान्तकारी परिवर्तन ल्याउने निश्चित छ । आजको युगमा हामी एउटा यस्तो मोडमा उभिएका छौँ, जहाँ प्रविधिले हाम्रा हरेक बानी परिवर्तन गरिसकेको छ, तर हाम्रो शिक्षा प्रणाली अझै पनि पुरातन ढाँचामै अल्झिएको छ । एउटै कोठामा ३०–४० जनाभन्दा बढी विद्यार्थी, एउटै पाठ्यपुस्तक र एउटै गतिमा पढाउने शिक्षक रहने ढाँचा अब असान्दर्भिक भइसकेको छ ।

यसैबीच, अमेरिकाको टेक्सासस्थित अल्फा स्कुलले एउटा यस्तो उदाहरण प्रस्तुत गरेको छ, जसले शिक्षण सिकाइ प्रक्रियाको परिभाषा नै बदलिदिएको छ । अल्फा स्कुल सम्भवतः विश्वकै पहिलो यस्तो विद्यालय हो, जहाँ शिक्षक छैनन् । सो स्कुलको कक्षा कोठामा छिर्दा तपाईंले कुनै शिक्षकले बोर्डमा लेखेर पढाइरहेको देख्नुहुने छैन । बरु, विद्यार्थीहरू हेडफोन लगाएर एआई ट्युटरसँग संवाद गरिरहेका देखिन्छन् ।

यस स्कुलको सबैभन्दा ठूलो विशेषता भनेको दिनमा दुई घण्टा मात्र पढाइ हुनु हो । सुन्दा पत्याउन गाहे लाग्छ तर त्यहाँका विद्यार्थीले दिनको मात्र दुई घण्टा पढेर बाँकी समय अन्य सिर्जनशील जीवनोपयोगी काममा बिताउँछन् । नतिजा भने अन्य परम्परागत विद्यालयको तुलनामा १० गुणा राम्रो र राष्ट्रियस्तरको शीर्ष एक-दुई प्रतिशतमा रहने गरेको छ ।

परम्परागत विद्यालयमा एउटा कक्षाको पूरा पाठ्यक्रम सक्न एक वर्ष लाग्छ । तर अल्फा स्कुलमा विद्यार्थीले मात्र २२ देखि ३० घण्टाको अध्ययनमा एउटा सिङ्गो कक्षाको पाठ्यक्रम पूरा गर्छन् । यो कसरी सम्भव छ भन्ने कुरा निम्न तथ्यहरुबाट प्रष्ट हुन्छ ।

निजीकृत पाठ्यक्रमः त्यहाँ एउटै कक्षाका सबै विद्यार्थीका लागि एउटै पाठ्यक्रम र पाठ्यपुस्तक हुँदैन । एआईले प्रत्येक विद्यार्थीको क्षमता, कमजोरी र रुचिको विश्लेषण गर्छ र सोही अनुसारको फरक–फरक पाठ्य सामग्री विकास गर्छ । यदि कुनै विद्यार्थीलाई फुटबल मन पर्छ भने एआईले गणितका समस्या फुटबलकै तथ्याङ्क प्रयोग गरेर सिकाउँछ । यसले सिकाइलाई ’बोझ’ होइन, ‘मनोरञ्जन’ बनाउँछ ।

नब्बे प्रतिशतको मापदण्डः कुनै पनि विद्यार्थीले एउटा पाठको कम्तीमा ९० प्रतिशत नबुझी अर्को पाठमा जानै पाउँदैन । परम्परागत विद्यालयमा कुन विद्यार्थीले कति बुझेका छन् भन्ने मापन गरिँदैन । तर अल्फामा औसत विद्यार्थीले पनि कम्तीमा ९० प्रतिशत पाठ नबुझी अर्को पाठमा जानै मिल्दैन । यसले गर्दा औसत विद्यार्थी पनि उत्कृष्ठ बन्छन् ।

तत्काल प्रतिक्रियाः गल्ती हुने वित्तिकै एआईले तुरुन्त सच्याउँछ । शिक्षकले हप्ता दिनपछि कापी जाँचेर गल्ती औँल्याउने समयसम्म विद्यार्थीले त्यो विषय बिर्सिसकेको हुन्छ । तर अल्फामा एआईको तत्काल प्रतिक्रियाले सिकाइको गति १० गुणा बढाउने गरेको छ ।

घोकाउने होइन, बुझाउनेः हाम्रा विद्यालयमा विद्यार्थीलाई घोकाउने चलन छ । यतिसम्मकी विद्यालयमा शिक्षकले घोकाएको भन्दा तलमाथि गर्न समेत विद्यार्थी मान्दैनन् । घोकेको कुरा चाँडै बिर्सने हुन्छ, तर अल्फामा घोकाउने हुने बुझाउने गरिन्छ । त्यसका लागि निश्चित समयमा एउटै विषय दोहो¥याइन्छ ।

बिदाभन्दा प्यारो विद्यालयः अल्फा स्कूलको अर्को सफलता भनेको विद्यार्थीको मनोविज्ञानमा ल्याएको परिवर्तन हो । त्यहाँका विद्यार्थीलाई आज घरै बस, स्कुल नजाउ भन्दा उनीहरू मान्दैनन् किनभने उनीहरूका लागि स्कुल रमाउने ठाउँ हो । खोजको केन्द्र हो ।

स्वभाविक रुपमा प्रश्न उठछ दुई घण्टा एआईसँग पढ्छन् । त्यसबाहेकको समय चाहीँ के गर्छन त? एआई स्कुलमा त्यसबाहेकको समय विद्यार्थीले जीवन सिक्छन् । आफनो रुची र क्षमता अनुसारको जीवनोपयोगी सीप सिकिरहेका हुन्छन् । उनीहरु फुटबल, भलिबल, पौडी खेल्छन् । साना कक्षामा विद्यार्थी साइकल चलाउन सिक्छन् । कोडिङ सिकिरहेका देखिन्छन् । उनीहरुले दुई घण्टा बाहेकका समयमा उद्यमशीलता र पैसाको व्यवस्थापनका बारेमा सिक्छन् । उनीहरुलाई तीन कक्षादेखि नै वित्तीय साक्षरता र पाँच कक्षामा पुग्दा व्यवसाय कसरी चलाउने भन्ने ज्ञान सिकाइन्छ ।

त्यस्तै सानैदेखि सार्वजनिक भाषणकलामा जोड दिइएको हुन्छ । २ कक्षादेखि नै निर्धक्क बोल्ने कला सिकिरहेका देखिन्छन् । ५ कक्षा उत्तीर्ण विद्यार्थीलाई टिमवर्कको महत्वका बारेमा सिकाइन्छ । विभिन्न ब्यवसायलाई कसरी उच्चतम् स्तरसम्म पु¥याउन सकिन्छ भन्ने ज्ञान उनीहरुले पाइसकेका हुन्छन् । स्कुल तह पार गर्दा प्रत्येक विद्यार्थीसँग आफ्नो जीवनको लक्ष्य र त्यहाँ पुग्ने स्पष्ट मार्गचित्र बोकेर जीवनको नयाँ उडान भर्न तयार भएर निस्कने गर्दछन् ।

नेपालको शिक्षा प्रणालीमा सुधारका लागि सुझावहरू

नेपालको सन्दर्भमा हामीले तुरुन्तै अल्फा स्कुलकै जस्तो महँगो भौतिक पूर्वाधार बनाउन नसके पनि यसले सिकाएको पाठलाई आत्मसाथ गरेर शिक्षामा परिवर्तनको सुरुआत गर्न सक्छौँ । ढिलो,चाँडो हामीले शिक्षामा एआई प्रयोग नगरी सुखै छैन । एआई साक्षर बनाउन सानै कक्षादेखि एआई पढाउन ढिलो गर्नुहुँदैन । अबको शिक्षा ‘के सोच्ने’ भन्नेमा होइन, ‘कसरी सोच्ने’ भन्नेमा केन्द्रित हुनुपर्छ । एआई त्यसको सबैभन्दा शक्तिशाली हतियार हो । नेपालले अब ढिलो नगरी यो हतियारको सही सदुपयोग गर्नुपर्छ । हाम्रो शिक्षा प्रणालीमा परिवर्तन ल्याउन निम्न कुरामा जोड दिनुपर्ने देखिन्छ ।

शिक्षकको भूमिकामा परिवर्तनः शिक्षकको भूमिका परिवर्तन गरी ‘मेन्टर’ वा ‘गाइड’ मा बदल्नुपर्छ । पाठ्यपुस्तकको ज्ञान दिन एआई र प्रविधिको प्रयोग गर्ने र शिक्षकले विद्यार्थीको अनुशासन, चरित्र निर्माण र प्रेरणामा ध्यान दिने वातावरण बनाउनुपर्छ ।

‘वान साइज फिट्स अल’ पाठ्यक्रमको अन्त्य: नेपालको पाठ्यक्रम अत्यन्तै केन्द्रिकृत र बोझिलो छ । हामीले एआई आधारित सफ्टवेयर प्रयोग गरेर विद्यार्थीको रुचि अनुसारको सिकाइ सुरु गर्नुपर्छ । जुम्लाको विद्यार्थी र काठमाडौँको विद्यार्थीको परिवेश फरक छ । त्यसैले उनीहरूको उदाहरण र सिकाइको शैली पनि फरक हुनुपर्छ ।

सीपमा आधारित शिक्षः हाम्रो शिक्षा प्रणालीले प्रमाणपत्रधारी तर बेरोजगार जनशक्ति उत्पादन गरिरहेको छ । एआईमा आधारित अल्फा स्कुलबाट सिकेर हामीले कम्तीमा ५० प्रतिशत सीप सिकाउनुपर्छ । एआई, कृषिको आधुनिक प्रविधि, वित्तीय साक्षरता र कोडिङ जस्ता विषयलाई विद्यालय तहदेखि नै अनिवार्य गर्नुपर्छ ।

‘डिजिटल डिभाइड’ कम गर्न एआई ट्याब्लेट: नेपालका दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षक पुग्न गाह्रो छ । तर यदि हामीले ‘अफलाइन एआई ट्युटर’ भएका ट्याब्लेट वितरण गर्न सक्यौँ भने हुम्लाको एउटा बच्चाले पनि काठमाडौँको भन्दा उत्कृष्ट शिक्षा पाउन सक्छ । यसले शिक्षामा रहेको असमानता हटाउनेछ ।

मूल्याङ्कन पद्धतिको पुनरावलोकन: वर्षको अन्त्यमा लिइने तीन घण्टाको परीक्षाले विद्यार्थीको वास्तविक क्षमता मापन गर्दैन । हामीले ‘कन्टिन्युअस एसेसमेन्ट’ र एआई आधारित ट्याकिङ सुरु गर्नुपर्छ, जहाँ विद्यार्थीले कति घण्टा र कति दिन स्कुलमा बितायो भन्दा पनि कति ज्ञान हासिल ग¥यो भन्ने कुराले महत्व पाउनुपर्छ ।
चुनौती र भविष्य

एआई स्कुलको अवधारणा सुन्दा जति आकर्षक छ, यसका चुनौती पनि त्यति नै छन् । स्क्रिन टाइमको व्यवस्थापन, मानवीय संवेदनाको कमी हुन नदिने र प्रविधिमा सबैको पहुँच पु¥याउनु ठूलो चुनौती हो । तर, परम्परागत शिक्षा प्रणाली असफल जस्तै भइसकेको अवस्थामा यो जोखिम लिनुको विकल्प छैन । अल्फा स्कुलले प्रमाणित गरिदिएको छ कि शिक्षाको उद्देश्य ‘धेरै पढाउनु’ होइन, ‘राम्रोसँग सिकाउनु’ हो । एआईले शिक्षाको पहुँचलाई लोकतान्त्रिक बनाउँदैछ । नेपालले समयमै यो प्रविधिलाई अङ्गीकार गर्न सक्यो भने हाम्रा बालबालिका विश्व बजारमा कसैभन्दा कम हुने छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.