पृथ्वीनारायण शाह : नेपालको इतिहासका एक उज्जवल नक्षत्र

28
Shares

नेपालको इतिहासमा सर्वाधिक चर्चित पात्र हुन्, पृथ्वीनारायण शाह। उनलाई एक कुशल शासक, भविष्यद्रष्टा, राष्ट्रनिर्माता, एकीकरणकर्ता, नव नेपालका जन्मदाता जस्ता विशेषण प्रयोग गरेर देवत्वकरण गरिने गरिन्छ।

यसैगरी एक कुर शासक, आदिवासी-जनजाति विरोधी, खसका मात्रका पक्षपोषक आदि अनेक आक्षेप लगाएर दानवीकरण पनि गरिन्छ।

यथार्थमा यी दुवै धारणामा अतिशयोक्ति छ। पृथ्वीनारायण शाहको जीवनकाल र उनका कार्यमा केही कमजोरी अवश्य थिए तर त्यसैको आधारमा मात्र उनको तस्बिर खिच्नु हुँदैन। उनको गुण र दोष दुवैको समुचित विश्लेषणको आधारमा वस्तुनिष्ठ मूल्यांकन गर्दा पृथ्वीनारायण शाहलाई सम्पूर्ण नेपालीले सम्मान गर्नैपर्ने हुन्छ।

उनकै कारण आज हामी नेपाली भई आफ्नो स्वाभिमान र सम्मान कायम गर्न सकेका छौँ। यिनै महापुरुषको जन्म जयन्तीको अवसरमा उनका कार्यहरूको लेखाजोखा गरी श्रद्धाञ्जली व्यक्त गर्न यो लेख तयार पारिएको हो।

पृथ्वीनारायण शाहको सेरोफेरोमा उनलाई केन्द्र बनाएर आख्यान, नाटक, कविताकाव्य लगायतका थुप्रै ग्रन्थहरू रचिएका छन्। अझ त्यसमा त इतिहासको कुरा छँदै छ। उनको विषयमा त्यसैबेलादेखि हालसम्म विद्वानहरुले अनेक कोण र दृष्टिकोणबाट आफ्ना विचार प्रवाह गर्दै आएको पाइन्छ।

तत्कालीन वंशावली तथा समकालीन कविहरूले उनको देवत्वकरण गर्दै स्तुतिगान गरी काव्य रचना गरेका तर इसाई पादरीहरूले कठोर शासकको पगरी लगाइदिएका आदि वर्णन पाइन्छ।

अङ्ग्रेजी कूटनीतिज्ञ विलियम कर्कप्याट्रिक र एच.बी. हटसन जसले इतिहास लेखन विधामा उल्लेख्य योगदान दिए, उनीहरुले पृथ्वीनारायण शाहको विषयमा निकै सोधखोज गरी क्रमशः “एन एकाउन्ट अफ द किङडम अफ नेपाल” र “अकाउन्ट अफ द किङडम अफ नेपाल” पुस्तकहरू प्रकाशनमा आएका थिए।

पृथ्वीनारायण शाहको विषयमा स्थानीय स्रोतहरूको सोधखोज गरी सूर्यविक्रम ज्ञवालीले वि.सं. १९९२ मा एक ग्रन्थ निकालेका थिए। पृथ्वीनारायणसम्बन्धी पहिलो अनुसन्धाननात्मक कृति प्रकाशन गर्ने पहिलो नेपाली इतिहासकार पनि उनै भए।

उनै ज्ञवलीबाट उठान भएको कार्यलाई अगाडि बढाउँदै बाबुराम आचार्य, नयराज पन्त, धनवज्र वज्राचार्य, ज्ञानमणि नेपाल, महेशराज पन्त, दिनेशराज पन्त आदिले अप्रकाशित स्रोतहरू पहिचान गरी धेरै सामग्री प्रकाशनमा ल्याए।

एल.एस. (बराल ईश्वर) बराल, लुडबिङ एफ. स्टिलर, तुलसीराम वैद्य आदिले पृथ्वीनारायण शाहलाई केन्द्रबिन्दुमा राखेर विद्यावारिधि नै गरे। यसैगरी डिल्लीरमण रेग्मी, ऋषिकेश शाह, लियो ई. रोज जस्ता प्रतिष्ठित विद्वानहरूले पृथ्वीनारायण शाहको विषयमा गहकिला कृति प्रकाशन गरे।

संक्षेपमा भन्ने हो भने १९९२ देखि हालसम्म पृथ्वीनारायणलाई केन्द्रमा राखेर अनेकौं अनुसन्धानत्मक कार्यहरू निरन्तर रूपमा भइरहेका छन्। यसैक्रमको पछिल्लो कृति हो, राजकुमार दिक्पालको “पृथ्वीनारायण शाहको आलोचनात्मक इतिहास”। पृथ्वीनारायणका विषयमा यति धेरै सोधखोज हुनु जस्ता कार्यबाट उनले नेपालको इतिहासमा प्राप्त गरेको स्थान र महत्त्व जो कोहीले पनि आँकलन गर्न सक्ने स्थिति बनेको छ।

पृथ्वीनारायण शाहलाई वि.संं २०४६ सालसम्म देवत्वकरण गरियो। २०४६ देखि ०६२-६३ सम्म तथ्यका आधारमा मूल्यांकन गर्ने परिपाटी प्रारम्भ भयो भने ०६२-६३ को आन्दोलनपश्चात् क्रुर शासकको छवि बनाउने यदाकदा प्रयास पनि भयो। हाल आएर पुनः उनको योगदानका विषयमा सकारात्मक टीकाटिप्पणी हुने गरेको छ। यी सबै प्रवृत्तिले प्रश्रय पाउनुको मूल कारण तत्कालीन राजनीतिले इतिहास लेखनमा पारेको प्रभाव नै हो।

नेपाली स्रोत सोधखोज गरी तिनै स्रोतको आधारमा नेपालको इतिहास लेख्ने परम्पराको थालनी गर्ने अग्रज इतिहासकार बाबुराम आचार्य नै हुन्। उनैले पृथ्वीनारायण शाहको जीवनी चार भागमा लेखेका थिए र ती ग्रन्थलाई राजदरबारबाटै प्रकाशन र वितरण गर्ने प्रबन्ध मिलाइएको थियो।

यस कृतिमा गोरखा राज्य स्थापनादेखि पृथ्वीनारायण शाहका मृत्युपर्यन्तसम्मका घटना समेटिएका छन्। ती कृतिमा चयन गरिएका ऐतिहासिक सामग्रीहरू भविष्यमा अनुसन्धानकर्ताहरूका लागि असल खुराक साबित भए। बाबुराम आचार्यको पृथ्वीनारायण शाहलाई देवत्वकरण गर्ने र उनको उपदेशलाई अमृतवाणी बनाउने कार्य भने इतिहास दर्शनको स्थापित मान्यता विपरीत थियो।

वि.संं २०१७ सालपछि राजा र दरबारलाई प्रसन्न बनाउने हेतुले पृथ्वीनारायण शाहलाई अब्बल देखाउने कार्यमा नाम चलेकै विद्वानहरू सरिक भए। पृथ्वीनारायण शाहको त के कुरा रणबहादुर, राजेन्द्रविक्रम र सुरेन्द्रविक्रम जस्ता अयोग्य राजालाई पनि सुनपानी छर्केर चोखो बनाउने कसरत थुप्रै भए। यसरी दरबारलाई रिझाउने भाट प्रवृत्तिको विकास हुँदा पृथ्वीनारायण शाहको पनि सही पहिचान गराउन नसकिएको देखिन्छ।

वि. संं २००९ साल पौष २४ गतेदेखि पृथ्वी जयन्तीलाई मुलुकले विशेष पर्वका रूपमा विविध समारोह आयोजना गरी मनाउन थालेको हो। २००९ देखि २०१७ सालमा विशेष पर्वका रूपमा पौष २७ गते गणना भए तापनि पृथ्वीनारायण शाहको स्तुतिगान र देवत्वकरण गर्ने कार्यले उग्ररूप लिएन।

२०१७ सालपश्चात् मुलुक महेन्द्रपथमा दौडिँदा त पृथ्वीनारायण शाहको स्तुतिगानले सर्वाधिक प्राथमिकता पायो। राष्ट्रभक्त हुन दरबारको गुणगान गाउनै पर्ने संस्कृतिको विकास भयो। पौष २७ गते पञ्चायत नीति तथा जाँचबुझ आयोगले मुलुकमा प्रमुख नगरहरूमा पृथ्वी जयन्तीका कार्यक्रम आयोजना गर्न लगाई मुलुकका मूर्धन्य इतिहासकारहरूलाई विशेष वक्ताका रूपमा खटाउन थालियो।

“दिव्योपदेश”लाई गायत्री मन्त्र बनाइयो। यस्ता गतिविधि थोरैलाई त सुपाच्य बनेकै थियो तर अधिकांशले पक्कै नरुचाएको व्यञ्जन ठानेका थिए। तैपनि बोल्ने साहस कसैमा थिएन, साइलेन्ट क्राइ मात्र थियो।

वि.संं२०४६ सालपश्चात् भने राजा र दरबारको स्तुतिगान गर्ने परिस्थिति कम हुँदै गयो। यसैकारण राजा र दरबारियाका विषयमा प्रशंसै प्रशंसा गरिएका कृति आएनन्। हिजोका दिनको वस्तुनिष्ठ मूल्याङ्कन हुनै पर्दछ भन्ने उत्साही युवकहरू नेपालको इतिहास लेखन विधामा देखा पर्न थाले।

वि.सं. २०६२–०६३ को आन्दोलनपश्चात् राजतन्त्र समाप्तिपछि भने शाह राजा र दरबारका विषयमा अमर्यादित र कलुसित मनसायबाट धेरै विचार प्रवाहित भए। हिजोका शाह राजाका विषयमा नकारात्मक टिप्पणी मात्र गर्ने अर्थात् शाह राजालाई खेदो खन्ने कार्यले प्राथमिकता पाउन थाल्यो।

हिजो राजाका गुणगान गाउने राष्ट्रवादी थिए भने अब राजालाई सत्तोसराप गर्ने राष्ट्रवादी कहलिए। तर, हाल स्थितिमा परिवर्तन आउन थालेको छ। हिजोको वस्तुनिष्ठ समीक्षा हुँदै अनेकौं नूतन अवधारणाहरू विकसित हुँदै आएका छन्।

प्रारम्भिक चरणमा रहेको नेपालको इतिहास लेखन विधा बामे सर्न थालेको छ। यसैकारण इतिहास निरन्तर लेखिनुपर्ने चलायमान विधा हुन पुगेको छ यसैकारण नेपालको इतिहासको क्षितिज पनि फराकिलो हुँदै गएको छ।

हिजोआज विकसित मानव अधिकारवादी सिद्धान्त र पश्चिमी जगतको स्थापित मान्यता तथा प्रचलनबाट सम र समतावादी आग्रह, जनजातिको अवधारणाबाट नेपालको हिजोको अवस्थालाई हेरिनु हुँदैन। हिजोको समय हेर्न आजको आँखाबाट होइन हिजोकै नजर लगाउनुपर्दछ।

यसैकारण पृथ्वीनारायण शाहका गुण र दोष दुवैको आधारमा मूल्याङ्कन हुनु वान्छनीय छ। हिजो पृथ्वी जयन्तीलाई आवश्यकताभन्दा बढी महत्त्व दिइएको थियो। राष्ट्रिय पर्व र उत्सव नै ठानिएको थियो। सार्वजनिक बिदा दिने गरिएको थियो तर ०६२-६३ पश्चात् पौष २७ गतेको बिदा काटियो। फेरि २०७९ सालपछि पुनः उक्त बिदा दिने कार्य सुरु भयो। यसरी बिदा काट्ने र थप्ने दुवै कार्य तुष्टीकरणकै नीतिका परिणति हुन्।

हिजो पृथ्वीनारायण शाहका सालिक बनाउन होड चल्यो। पछि भत्काइए फेरि ठड्याइए पनि। यी सबैमा पनि राजनीति नै भयो। हिजोको समयलाई राजनैतिक स्वार्थबाट परिभाषा गर्दा इतिहासको मर्मविपरीत भई धर्म र जातजातिका नाममा संघर्ष पैदा हुने गरेको छ।

हिजो भएका मारकाट, आन्दोलन, द्वन्द्व-संघर्षबाट मुलुकले के पायो ? के गुमायो ? जस्ता सवालको समुचित उत्तर खोज्ने बेला आएको छ। पृथ्वीनारायण शाहको राज्यकालमा नेपालले भोगेका र अनुभव गरेका सबै घटना निसन्देह प्रिय अवश्य थिएनन्। जयन्त राणा, नगरकोटी, किर्तिपुर र भक्तपुरका जनता तथा पराजित शासकहरूप्रति उनको व्यवहार रुखो नै थियो।

उनले आफ्नो विजय अभियानलाई सार्थक बनाउन अनेकौं कूटिल चाल पनि चलेका थिए होलान्। त्रिविक्रम सेन, दिगबन्धन सेन, तेजनरसिंह मल्लप्रतिको व्यवहार प्रतिशोधात्मक नै थियो। यस आधारमा मात्र पृथ्वीनारायण शाहलाई कसी लगाइनु भने उचित हुँदैन। जे.सेप्पी जस्ता पादरीहरू र पृथ्वीन्द्रोदय जस्ता काव्यले प्रवाह गरेकै आधारमा उनको व्यक्तित्वको परीक्षण गर्नु पनि उपयुक्त हुँदैन।

पृथ्वीन्द्रोदयले पृथ्वीनारायण शाहलाई आराध्य देवताको स्थितिमा पुर्याएको छ। जे.सेप्पीले कीर्तिपुरको घटना मात्र देखे र लेखे तर अन्यत्रका त्यसभन्दा संगीन घटना किन चर्चा गरेनन्। दिव्योपदेशकै आधारमा पृथ्वीनारायण शाहको उच्च मूल्यांकन पनि हुन सक्दैन, त्यो त केवल भनाइ थियो गराइ होइन। त्यसैले यस्ता विषयमा बहस चलाउँदै जानुपर्दछ।

पृथ्वीनारायण शाहका कार्य र योगदान विषयमा विभिन्न विचारधारणा र नवीन व्याख्या हुँदै छन्। यस्ता विषयमा निरन्तर अध्ययन अनुसन्धान हुँदै जानुपर्दछ। जसबाट इतिहास लेखन विधा परिस्कृत हुँदै जान्छ। इतिहास र इतिहासका स्रोतलाई एउटै दृष्टिकोणबाट हेर्ने प्रचलनले गर्दा अनेकौं द्विविधा सिर्जना भएको देखिन्छ। यसैले इतिहास र इतिहासका स्रोतलाई पृथक् गर्नैपर्ने हुन्छ।

ऐतिहासिक तथ्य एउटै भए पनि तर विश्लेषण भने नानाथरिका हुन सक्दछन्। हुनु पनि पर्दछ त्यसैले इतिहासलाई कला र विज्ञान दुवै भन्ने गरिन्छ।

नेपालको इतिहासमा पृथ्वीनारायण शाहको आफ्नै पृथक् पहिचान छ। जुन अन्य राजाहरूमा पाइँदैन। मुलुकमा सबै शक्ति एकजुट हुँदा अर्थात् राजा र प्रजाको मेसो मिल्दा उत्साहजनक सफलता पाउन सकिने तथ्य गोर्खाले प्रमाणित गरेको छ।

चौबिसी राज्यको कान्छो, अपहेलित तथा स्रोत र साधनको अभावमा पिल्सिएको टाकुरे राज्य गोर्खाले तत्कालीन अवस्थामा आर्थिक स्रोतसाधनसम्पन्न, संस्कृति र सभ्यतामा उपल्लो श्रेणीमा गणना गरिने काठमाडौँ उपत्यकाका राजालाई पराजित कसरी गर्न सक्यो ? यसको उत्तर एउटै हुन्छ, एकता र गोर्खाली सबैको अर्जुनदृष्टि।

वैभवशाली र समृद्ध उपत्यकाका शासकहरूबीच र जनता र शासकको समभाव र एकता नहुँदा षड्यन्त्रकारी राजनीतिको वीजारोपण भयो यसको कारण सबै मासिए।
आफ्ना भाइ छोरालाई अंशको रूपमा राज्य विभाजन गरी राजा बनाउँदा अर्थात् राज्य विभाजनबाट मुलुक कमजोर हुन्छ भन्ने तथ्य सेन र मल्ल वंशबाट देखिएको हुँदा उनले आफ्ना भाइहरूलाई विजित प्रदेशको राजा बनाएनन्।

यसबाट उनका भाइ उनीबाट टाढिन गए तर वास्ता गरेनन्। उनकै कारणबाट नेपाल सशक्त राज्यको रूपमा देखापर्यो। अङ्ग्रेज जस्तो शक्तिशाली साम्राज्यवादी शक्तिको दास हुनु परेन। उनले निःसन्देह नव नेपाल निर्माण गर्न र यस क्षेत्रलाई अङ्ग्रेजबाट पृथक् राज्य निर्माण गर्न मात्र विजय अभियान सञ्चालन गरेका थिएनन्।

उनको विजय अभियान एक विशाल साम्राज्यको अधिपति हुने महत्त्वाकांक्षाबाट प्रेरित थियो। पृथ्वीनारायणले उठान गरेको सैन्य प्रचलन गरी विजय अभियान सञ्चालनले निरन्तरता पाउँदा वर्तमान नेपाल निर्माण भयो। यस अर्थमा उनलाई राष्ट्रनिर्माता मान्नै पर्ने हुन्छ।

पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्ने कार्य नगरेको भए नेपाल भन्ने राष्ट्र नै सिर्जना हुन सक्दैन थियो। विगतमा भएका तीता घटना मात्र महत्त्व दिँदा कहिल्यै मीठो नहुने तथ्य ध्रुवसत्य हो। भूतलाई मात्र गाली गर्दा त्यही भूतले वर्तमानलाई तर्साएको यथार्थलाई पनि बिर्सन हुँदैन। आज हामी नेपाली भई छाती फुलाएर हिँड्ने सबैले पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता मान्नै पर्दछ।

पुष २७ गतेलाई सबै नेपालीले एक सूत्रमा बाँध्ने दिवसका रूपमा लिनुपर्दछ। पृथ्वीनारायण शाहका कमी कमजोरीलाई उनका दूरदर्शी कार्यका कारण ओझेलमा पार्नुपर्ने हुन्छ। यसैमा सबैको कल्याण छ र भलो पनि हुन्छ। पृथ्वीनारायण शाह नेपालको इतिहासमा सदैव स्मरणीय पात्रको रूपमा रहिरहने विश्वास गर्न सकिन्छ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धासुमन !

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.