बजारमा खान अयोग्य सामानको बिगबिगी

अनुसा थापा
११ माघ २०८२ ७:०२
296
Shares

पानीपुरी सर्वसाधारणको लोकप्रिय खाजा हो। पानीपुरी बच्चादेखि बुढासम्मले खान रुचाउँछन्। झन् युवायुवती पानीपुरी भनेपछि हुरुक्कै हुन्छन्।

जसले गर्दा पछिल्लो समय पानीपुरी व्यवसाय फस्टाएको छ। पानीपुरी, चटपटे र चाट पसल जताततै देख्न सकिन्छ। कतिपयले ठेलागाडामा त कतिपयले सटर नै लिएर पानीपुरी बेच्न राखेका छन्।

ठाउँ हेरेर एक प्लेट पानीपुरीको ५० देखि एक सय रुपैयाँ लिइन्छ। चटपटे प्लेटको ६० देखि सय रुपैयाँ छ। त्यसैगरी, खाजाको अर्को रुचाइने परिकार डोनट हो। डोनट पसल पनि छ्याप्छ्याप्ती देखिन्छ। डोनट पसलमा डोनट मात्र बन्दैन, बटारे, निम्की, आलु चिप्स, आलु चपलगायतका परिकार पनि बन्छ।

एउटा सादा डोनटको १५ रुपैयाँ लिइन्छ। त्यसैगरी, बीचमा काटेर थोरै क्रिम हालेपछि २५ देखि ३० रुपैयाँमा बेचिन्छ। निम्की पाउकै ८० देखि एक सय रुपैयाँ छ। बटारे १५ रुपैयाँमा बिक्री गरिन्छ भने आलु चिप्स पाउको १५० रुपैयाँ छ। घरायसी मदिरा एक मानाको एक सयदेखि तीन सय रुपैयाँमा बिक्री गरिन्छ।

यी खानेकुरा जनताको पेटमा जान्छ। तर, के यी खानेकुरा स्वास्थ्यका लागि लाभदायक छ ? छैन। माथि उल्लेखित खानेकुराहरु केमिकल र स्वास्थ्यलाई हानिकारक हुने सामग्रीको प्रयोग गरेर बनाइन्छ। पानीपुरी मैदाले बन्छ। एउटै तेलमा सयौं पटक पानीपुरी फुराइन्छ। यता, पानीपुरीमा कुहिएको आलुको प्रयोग हुन्छ।

हड्डी खियाउने अजिनामोटोको पानीपुरीमा अधिक प्रयोग हुन्छ। पानीपुरीमा प्रयोग हुने पानीबारे उपभोक्ता र सरकार दुवै बेखबर छ। त्यो पानी सफा छ कि फोहोर ? सरकारलाई थाहा छैन। चटपटेमा फुड कलरको प्रयोग हुन्छ। मसलाको नाममा के–के हालिन्छ ? कसैलाई जानकारी छैन।

भाडाकुँडा पनि सफा हुँदैन। हातमा पञ्जा नलगाईकन पानीपुरी र चटपटे बनाइन्छ। रोचक प्रसंग के भने, चटपटे र पानीपुरी खाने अधिक शिक्षित वर्ग छन्। बिहान खानाको सट्टा पनि पानीपुरी र चटपटे खानेहरु छन्। उनीहरुले मँहगो पैसा तिरेर आफ्नै स्वास्थ्य बिगार्ने काम गरिरहेका छन्।

पछिल्लो समय डोनट पसल पनि घरैपिच्छेजस्तो देखिन्छ। एउटा सटर लिएर डोनट बनाइन्छ। तर, के त्यो डोनट पकाएको तेल स्वास्थ्यका लागि ठीक छ ? कसले अनुगमन गर्ने। डोनट बनाउनलाई मैदाको पिठो प्रयोग गरिन्छ। डोनट पसलेले पिठो पसलमा मुछ्दैनन्, अन्तैबाट किनेर ल्याउँछन्।

त्यो पिठो फोहोर पानीले मुछेको हो कि ? कसलाई के थाहा। डोनटमा केमिकल प्रयोग गरिन्छ। अर्कोतिर, एउटै तेलमा पटकपटक डोनट बनाइन्छ। जबकि, एउटै तेलको बारम्बार प्रयोग गर्न हुँदैन। त्यसले मान्छेको महत्वपूर्ण भित्री अंग बिगार्न सक्छ। डोनट पसलले एउटै तेलमा डोनट मात्र बनाउँदैनन्, अन्य सामग्री पनि त्यहीँ तेलमा फ्राई गर्छन्।

चिप्स, बटारे, निम्की डोनट पकाइएकै तेलमा बन्छ। डोनट खाने अधिकांश बालबालिका जमात हुन्। उनीहरुको स्वास्थ्यमा यी परिकारले कति खराबी पुर्याइरहेको होला? जन्मदिनमा पछिल्लो समय केक काट्ने प्रचलन आएको छ। बर्थ–डे भन्नेबित्तिकै केक। तर, केक कहाँ र कसरी बन्छ? कसैलाई जानकारी छैन।

पसलबाट किनेर ल्यायो, काट्यो। त्यो केक कहिले बनेको हो भन्नेपनि जानकारी हुँदैन। कतिपयले कुहिएको अण्डा हालेर केक बनाउने गरिएकोसमेत बताउँछन्। केक व्यवसाय अहिलेको एउटा प्रमुख व्यवसाय बनेको छ। तर, सरोकारवाला निकायले किन अनुगमन गर्दैन?

पप, पाउरोटी, बम, क्रिम रोल पनि खाजाकै परिकार हो। त्यो कसरी बन्छ ? कसैलाई थाहा छैन। पाउरोटी केही दिन राख्नेबित्तिकै पुरै हरियो भएर आउँछ। पाउरोटीमा केमिकल हालिन्छ भन्नेमा कुनै शंका छैन। यद्यपि, अनुगमन गर्ने कसले ? मिठाई पसल पनि जनताको स्वास्थ्य बिगार्ने थलो बनेको छ।

पहिलो कुरा त मिठाई पसलले न्यूनतम मापदण्डसमेत पालना गरेको छैन। मिठाई पसल एकदमै फोहोर र दुर्गन्धित छन्। एउटा फोहोर गन्जी लगाएर मिठाई पसलेले मिठाई बनाउने गरेका छन्। मिठाई बनाउन प्रयोग गरिएको सामान कस्तो छ ? न उपभोक्तालाई थाहा छ न सरकारलाई।

मिठाई बनाउन कलर प्रयोग गरिन्छ। त्यो कस्तो कलर हो ? स्वास्थ्यलाई हानिकारक छ कि छैन ? सरोकारवाला निकायले अनुगमन गर्नुपर्छ कि पर्दैन ? मासु पसलले पनि उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन्। मरेका कुखुरा, बाख्रा, खसी, भैंसी, राँगासमेत बेचिरहेको अवस्था छ।

मासुलाई फुलाउन सुईँको समेत प्रयोग गर्ने गरिएको छ। उपभोक्ता मँहगो पैसा तिरेर मरेको पशुको मासु खान बाध्य छन्। माछाको हकमा पनि त्यस्तै छ। माछा पसलले केमिकल हालेर माछालाई महिनौं दिनसम्म नकुहिने बनाउँछन्। त्यो मान्छे सर्वसाधारणको पेटमा गइरहेको छ।

त्यस्तो माछाले क्यान्सर हुने चिकित्सकहरु बताउँछन्। सर्वसाधारणलाई दुध, दही नभईकन हुँदैन। हड्डी मजबुत बनाउन दुध आवश्यक पर्छ। तर, पछिल्लो समय दुध हड्डी खियाउने खालको छ। दुधमा अधिक मात्रामा पाउडर मिसाइन्छ। दुध प्रायः बालबालिका र बुढाले खाने सामग्री हो।

त्यसमा समेत मिसावट छ। फलफूलहरुमा विषादीको प्रयोग हुन्छ। छिटोछिटो ठूलो पार्नका लागि केमिकल हालिन्छ। फलफूल पनि खान नहुने भएको छ। हिजोको चिचिँला केमिकल हाल्नेबित्तिकै बेच्नलायकको हुन्छ। त्यो केमिकल के हो ? कसैलाई थाहा छैन। मःम नेपालमा सबैभन्दा बढी खाइने खाजा हो।

तर, त्यसभित्र प्रयोग भएको मासु कस्तो छ ? मःम कसरी बनेको छ ? मःम बनाउने ठाउँ फोहोर छ कि सफा ? खानेहरु अञ्जान छन्। कोक, फ्यान्टा, स्प्राइट, फ्रुटीलगायतका पेयपदार्थले पनि सर्वसाधारणको स्वास्थ्यमा हानिनोक्सानी पुर्याइएको छ। बोतल र जारको पानी खानु पनि स्वास्थ्यलाई खतरा भइसकेको छ।

केमिकल मिसाएका हुन्छन्। छ्याङ, तुम्बामा केमिकल मिसाइन्छ। घरेलु रक्सीमा पुराना लुगा, हड्डी, युरिया मललगायतका सामग्री मिसाउने गरिन्छ। यसले सिँधै फोक्सो, कलेजो र मिर्गौला ड्यामेज गर्छ। सर्वसाधारण पैसा पनि सकियो, ज्यान पनि। बजारमा केमिकल नभएको खाद्यान्न पाउन छोडिसक्यो।

आफ्नो फाइदाका लागि उत्पादनकर्ताहरुले केमिकल मिसाएका छन्। उनीहरुले त कमाउलान् तर जनता त रोगी भए। उपभोक्ताको हकहित संरक्षणका लागि आपूर्ति, वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग छ। बजार अनुगमनकै निम्ति भनेर त्यहाँ ठूलो संख्यामा कर्मचारी छन्।

तर, उनीहरु ‘दिन कटाउने र माना पचाउने’ काम मात्र गरिरहेका छन्। विभागका कर्मचारी कहिल्यै अनुगमनमा निस्किएको देखिँदैन। चाडपर्व आउँदा कमाउनका लागि यसो बजार अनुगमन गरेकोजस्तो गर्छन्। त्यसपछि फेरि ठापठुप हुन्छ। यता, स्थानीय तहले पनि आफ्नो क्षेत्रभित्र भएको उद्योग, पसलमा अनुगमन गरेको पाइँदैन।

जस्तो सामान बेचेपनि सरकारलाई हाइसञ्चो छ। चट्पटेदेखि डोनट, भट्टी पसललगायत कुनैपनि पसलको दर्ता छैन। दर्ताबेगर खान अयोग्य सामान बेच्ने काम भइरहेको छ। सरकारलाई त जनताको मतलब छैन। तर, अभिभावक गम्भीर होऔं। आफ्ना सन्तानको ज्यान सकाउने खानेकुरा खान नदिऔं।

जसले उत्पादन गर्छ, उसले आफ्ना सन्तानलाई यस्तो खानेकुरा खान दिँदैनन्। यसको उदाहरण केही समयअघि एक प्रतिष्ठित उद्योग व्यवसायीको छोरा नै हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.