कस्तो हो नयाँ पुस्ताले चाहेको परिवर्तन?
कस्तो हो नयाँ पुस्ताले चाहेको परिवर्तन?चिनियाँ नेता माओले भनेका थिए, “युवा हो, यो संसार तिमीहरुको पनि हो, हाम्रो पनि हो, अन्ततः तिमीहरुकै हो।” विश्वक्रान्तिको इतिहासमा युवाले नेतृत्व गरेर विजय हासिल गरेका र प्रेरणाको श्रोतका रुपमा रहेका कयैन् क्रान्ति, आन्दोलन र विद्रोहहरु छन्।
चाहे भारतीय स्वतन्त्रता संग्रामका लागि सन् १९३० मा २३ वर्षे भगत सिंहले दिएको वलिदानीको आन्दोलन होस् वा राणा शासन विरुद्धको आन्दोलनमा सन् १९४० मा २२ वर्षे गंगालालको वलिदान होस् अथवा बंगलादेश, श्रीलंका, इन्डोनेशिया, मङ्गोलियालगायतका मुलुकहरुमा भएका जेनजी युवाहरुको विद्रोहहरु नै किन नहून्। यी सबै आन्दोलन परिवर्तन चाहने युवाहरुले गरेका उदाहरणीय आन्दोलनहरु थिए।
२०८२ भदौ २२ र २३ गते २ दिन भएको जेनजी आन्दोलनले नेपालमा पनि ऐतिहासिक छाप छोड्न सफल भयो। यो विद्रोह पुस्तौँसम्म सम्झनलायक इतिहास बन्यो। सामाजिक सञ्जालमा पोखिँदै आएको युवा आक्रोश एक्कासी सडकमा पोखियो। देशव्यापी युवाहरु आन्दोलित भए।
युवाहरुमा उठेको भ्रष्टाचार विरुद्धको आक्रोश र अभिव्यक्ति स्वतन्त्रताको प्रतिबन्ध विरुद्धको आवाज के नाजायज थियो? यी माग समयमै सम्बोधन गर्न सकिन्नथ्यो? यी कुरामा राज्य संवेदनशील भएन।
राज्यले आफ्ना कुरामा महत्व नदिएपछि विवेक र आवेगलाई संयम्मा रुपान्तरण गरेर युवाहरु आप्mना मागहरुसहित सडकमा निस्किए। युवाका माग समयमै सम्बोधन नगरी सिंगो राज्य प्रतिकारमा उत्रिन थालेपछि युवाको शान्तिपूर्ण प्रदर्शन एकाएक हिंसमा रुपान्तरण भयो।
राज्यको विवेकहीन र अमानवीय हरकतका कारण सयौँ युवाहरु घाइते भए, करिब ७६ बढी युवाहरुको ज्यान गयो भने अरबौँ मूल्य बारबारको भौतिक सम्पति ध्वस्त भयो। २७ घण्टाभित्रै युवा विद्रोहबाट सत्ता परिवर्तन भएको अकल्पनीय घट्नाका रुपमा यो विद्रोह स्थापित भयो।
डिजिटल युगमै जन्मिएका, मोबाइल र इन्टरनेटमै पढ्ने, काम गर्ने र आप्mनो भविष्य खोज्ने युवापुस्ताका लागि सामाजिक सञ्जाल बन्द गरी डिजिटल स्वतन्त्रता खोस्नु उचित थिएन। देशको अस्तव्यस्त अवस्था परिवर्तन गर्न चाहने युवाहरुको आवाज बन्द गर्नु भन्दा दीर्घकालीन स्थिरता र विकाशप्रेमी चिन्तन आवश्यक थियो। त्यो नगर्दाको परिणाम सत्ता टिक्न सकेन।
वर्षेनि अरबौँ भ्रष्टाचार भइरहँदा पनि त्यसको नियन्त्रणका लागि राज्य संयन्त्रले कुनै काम गरिहेको थिएन। सरकारको तजवीजमा भागबन्डा गरेर राज्यका सबै निकायहरुमा नियुक्त गरिएका प्रमुख तथा विभिन्न आयोगका आयुक्तहरु कसैको पनि राष्ट्र बनाउने बलियो इच्छाशक्ति देखिएन।
राज्यका श्रोत-साधनको दोहनबाट सिर्जित अकूत सम्पतिबाट एउटा एलिट वर्ग, तिनको परिवार, सन्तान दुरसन्तानसम्मले विलासी जीवन बाँचिरहने र करदाता आमनागरिकका सन्तान दिनप्रतिदिन गरीव बन्दै जाने अवस्था सिर्जना भयो।
सामान्य रोजगार नपाएर हजारौं युवाहरु दिनहुँ विदेशिनु पर्ने र देशमा गरिवी र महँगीले साँझविहान चुलो बाल्न पनि असहज बन्दै गएको विद्यमान अवस्थाले समाजमा प्रष्ट दुई धार देखिएकै थियो।
राज्य सिर्जित यो असमानताले देशमा हाम्रो भाग खोसिदै छ, हाम्रो भविष्य अन्धकार बन्दै छ, हामीले तिरेको करबाट सीमित वर्गले मोज गरिरहेको छ भन्ने बुझिरहेको जेन्जी पुस्ताको आक्रोश भित्रभित्रै चुलिदै थियो। देशभित्र सुशासनको बलियो जगबिना र भ्रष्टहरुको वहिर्गमनबिना हाम्रो पुस्ताको समृद्धि सम्भव छैन भन्ने अन्तिम निर्यण गरेर नै जेनजी पुस्ता आन्दोलमा होमियो।
विद्यमान राजनीतिक पार्टि र तिनको नेतृत्व पूरै असफल भइसकेको थियो। यसबाट अब राज्यले त्राण पाउनसक्दैन भन्ने बुझेर नै युवाहरु आन्दोलित भएका थिए। शक्तिको आडमा बसेर खुलेआम भ्रष्टाचार गर्ने र राज्यको सम्पति दोहन गर्नेहरुको नालिबेली खोतल्ने काम युवाहरुको आन्दोलनले गर्याे।
कानुनी राज्य, विधिको शासन, पारदर्शीता र नागरिक अस्मिताको रक्षा गर्नुपर्छ भन्ने आवाज उठायो। राजनीतिक तथा आर्थिक अराजकताको फेहरिस्त खोतल्दै राजनीतिक हस्तक्षेपमा जोडिएका स्वार्थजनिन कुलिनतन्त्रकालीन सोचको जञ्जाल तोड्न चाहेको कुरा युवाहरुको आन्दोलनमा देखियो।
परिस्थिति निर्मम बने पनि आखिर युवाहरु सत्ता पल्टाउन सफल भए। आन्दोलनका क्रममा सत्ता र कुर्सीको उन्मनदले संवेदनहीन भएर सरकारद्वारा हानिएका हरेक गोलीको जवाफ इतिहासले खोज्छ। हरेक वलिदानीले नयाँ युग जन्माउँछ।
युवाहरुको यो वलिदानी पनि नयाँ युगको सुरुवात हो। सडकमा पोखिएको जेनजीको रगतले सम्पूर्ण राष्ट्रलाई केही क्षण शोक र आक्रोशमा डुबायो तर शक्तिमा बदलिसकेको यो शोक र आँसु निष्कृय रहेन। त्यही शोक, आँसु र ऊर्जा नै भविष्यको मार्गचित्र बन्यो र त्यसले नयाँ खालको प्रगतिशिल र समावेशी राज्य व्यवस्था निर्माणको मार्ग प्रशस्त गर्याे।
सर्वमान्य नेतृत्व चयन र प्रष्ट मार्गचित्रसहितको कार्ययोजना बनाउन कतै चुकियो भने फेरि पुरानै सभ्रान्तवर्गले आन्दोलनका नाममा सत्ता कब्जा गर्नसक्छन्। यसमा होशियारी हुनु जरुरी छ।
युवाहरुको आन्दोलनले माग गरेको जननिर्वाचित कार्यकारी प्रमूख, रानीतिक स्थिरता, भ्रष्टाचारमुक्त विधिको शासन, पारदर्शीता, अभिव्यक्ति स्वतन्त्रता, समानुपातिक प्रतिनिधित्व, शोषित पीडितवर्गको सहभागिता र हरेक समस्यामा विदेशी हस्तक्षेपविहीन समाधानबाट राज्य बाहिर नजाओस् भन्नेमा विचार पुर्याउनुपर्छ।
वर्तमान संविधानले युवाहरुका माग पूरा गर्न नसक्ने हुँदा यो संविधानलाई निलम्बन गरी अन्तरिम संविधानमार्फत अघि बढ्नुपर्ने र संसदीय बहुमत सँधै अस्थिर रही सरकार छोटो अवधिमै ढल्ने हुँदा जननिर्वाचित कार्यकारी राष्ट्रप्रमूख रहने व्यवस्था आन्दोलनको माग हो। भ्रष्टाचार एकदुई व्यक्तिको कुरा नभएर यो संस्थागतरुपमा राज्यको प्रणालीसँग गाँसिएको कुरा हो र यसलाई निर्मूल गरी आर्थिक रुपान्तरण गर्नु पहिलो आवश्यकता हो।
परिस्थिति असहज भएका बेला गलत तत्वहरुले फाइदा लिन खोज्छन्। त्यता चनाखो हुनुपर्दछ। यस्तो विषम परिस्थितिमा स्थिर, पारदर्शी र जिम्मेवार नेतृत्वबीना मुलुकको भविष्य सुनिश्चित हुन सक्दैन। निश्कलंक छवि भएको, वौद्धिक, दुरद्रष्टा र देशलाई नयाँ दिशा दिनसक्ने नेतृत्व नै जेन्जीले खोजेको नेतृत्व हो।
नयाँ नेतृत्वले देशमा राजनीतिक स्थिरता मात्र होइन आर्थिक रुपान्तरणलाई मूल एजेण्डा बनाओस्। शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता र प्रविधिमा लगानी बढाएर रोजगारको अवसर नपाइ विदेश पलायन हुन वाध्य परिएका लाखौँ युवापुस्ताको सपना स्वदेशमै पूरा गर्ने वातावरण बनाओस्।
महान ग्रन्थ गीताले भन्छ, “निश्वार्थ, निष्ठामा काम गर्ने, साहस र लचिलोपन भएको र व्यक्तिगत चहाना भन्दा कर्तब्यलाई माथि राखेर काम गर्नसक्ने मानसिकता भएको व्यक्तिले मात्र सफल नेतृत्व गर्नसक्छ।” अब देश चलाउने नेतृत्वमा पनि यी शास्त्रीय गुणहरु कायम रहून्।
जनतन्त्रमा जनताको हित गर्न नसक्ने र जनताका आवशयकता र अपेक्षाभन्दा निरपेक्ष व्यक्ति नेता हुन सक्दैन। नेतृत्व भनेको अवसर नभइ जिम्मेवारी हो, स्वार्थ नभइ समर्पण हो। शासकीय जिम्मेवारीमा रहेकाहरुसँग यही नभएका कारण राष्ट्रका सपना, नागरिकका अपेक्षा र हामी सबैको भविष्य लामो समयसम्म अन्धकारतर्फ धकेलियो तर २०२५ सेप्टेम्बरको क्रान्तिले फेरि एकचोटी सुधारको एउटा सुन्दर मौका दिएको छ। यो खेर नजाओस्।
नेपाली जनताले आफ्नो नेताको एउटा गतिलो विम्व बनाउने अधिकार एकचोटी फेरि पाएका छन्। अब नेपाली जनताले आफ्ना नेता आफैंले आफ्नै समाजबाट खोज्नुपर्छ। आमनागरिकले विश्वास गरेर हरेक निकायहरुको नेतृत्व तहमा पुर्याएका हाम्रा नेताहरु अहंकारको सगरमाथा नबनून्। शालिनताको सागर बनून्।
कसैको भावानात्मक वाध्यतामा कसैले नखेलून्। सबै न्याय र विवेकमा विरेचित होऊन्। अनुचर र दुराचारीबाट टाढा बसून्। समाज, सभ्यता र सँस्कृतिको ज्ञान लिऊन्। उनिहरुको हरेक बोली र व्यवहार अनुकरणीय बनोस्। धैर्य बनून्, सत्कार्य गरुन्।
राष्ट्र र राष्ट्रियताप्रति समर्पित रहून्। समयको माग र युवाहरुको चाहनाको प्रतिनिधित्व गर्न सकून्। हामी सबैका अभिभावक बनून्। राज्यलाई इमान्दारहरुको संस्था बनाउन असल मानिस खोजून्। यति अपेक्षा गर्ने हक नागरिकसँग छ, त्यो उनिहरुले पूरा गर्नुपर्छ। पूरा गरुन्।
उत्पादन, उत्पादन र फेरि पनि उत्पादनको नीति लिएर औधोगिक क्रान्तिबाट गरीवीको अन्त्यसँगै जनताको जीवनस्तर उकास्ने आमूल परिवर्तन अहिलेको जनअपेक्षाको विषय हो। यो परिवर्तन सुशासन, सामाजिक न्याय र समृद्धितर्फ अघि बढ्न वाधक रहेको पूरानो शासकीय रुढीवादभित्रको क्रमभंगता हो।
मूख्य समस्याका रुपमा रहेको अस्थिर व्यवस्थाको कारण उत्पन्न शासकीय स्वरुप, विदेशी हस्तक्षेप, चरम भ्रष्टाचार, बेरोजगारी, कुशासन, नातावाद र नोकरशाहीतन्त्रको अन्त्यबिना देशको समृद्धि र जनचाहनाको पूर्ति सम्भव छैन।
डिजिटल युगसँगै हुर्किएर देशविदेशका हर क्षेत्रको उन्नति र प्रगति देखेको र बुझेको युवापुस्ताले जनचाहना अनुसार राज्यका हरेक निकायमा जिम्मेवार राष्ट्रसेवकहरुलाई राष्ट्रनिर्माको प्रष्ट मार्गचित्र दिएर त्यसैमा कर्तब्यनिष्ट रहनसक्ने बनाउनुपर्छ। यसका लागि देशको हर क्षेत्रका जागरुक युवाहरुले अब शासक होइन सेवक छान्न सक्नुपर्छ।
आफ्नैं वलिदानीबाट प्राप्त यो अवसरमा फेरि पनि आशाहरु नमरुन्, भविष्य नभत्कियोस् भन्नेतिर पनि उत्तिकै ध्यान पुर्याउनुपर्छ। चरम राजनीतिकरणलाई रोक्दै स्वतन्त्र र सार्वभौम राष्ट्रको अस्मिता बचाएर राष्ट्रवादी सोच र चिन्तनले आफ्नो सपना पूरा गर्न र भविष्य उज्ज्वल बनाउन अघि बढ्नुमा नै सबैका लागि हितकर हुनेछ। यसका लागि युवाहरु हो उठ, देश तिमीहरुको हो। संसार तिमीहरुकै हो।
















Facebook Comment