श्री महाशिवरात्रि व्रत
श्रीराधे ॥
गाईको रक्षाले सबैको रक्षा हुन्छ !
गाईको रक्षा गरौँ ॥ गौमाताको जय होस् ॥
गोवंशको रक्षाले सबैको रक्षा हुन्छ !
गोवंशको रक्षा गरौँ ॥ गोवंशको जय होस् ॥
श्रीराधे ॥
“गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुदेवो महेश्वरः ।
गुरुरेव परं ब्रह्म तस्मै श्रीगुरवे नमः ॥”
श्रीराधे ॥
यस अज्ञानी पङ्क्तिकारलाई आफ्ना दिव्य चरणकमलमा स्थान दिई सत्सङ्ग रूप दुर्लभ अनि दिव्य अवसरहरूले दुर्लभ कृपाकटाक्षका वर्षणबाट कृतकृत्य अनुभूत गराउनुहुने, श्री वैदिक सनातनी हाम्रो दिव्य एवम् अति दुर्लभ हिन्दु परम्परा- संस्कृत वाङ्मयका विद्याधिराज, दुर्लभ तपस्वीजनले पनि दर्शन पाउन उत्कट हुने यी मोक्षभूमि श्री विराट नेपालमाताका जाज्वल्यमान अति दुर्लभ पुत्ररत्न, परम आदरणीय प्रा. डा. श्री दीर्घराज घिमिरे गुरुदेवज्यूका चरणकमलमा विशेष कृतज्ञतारूपी साष्टाङ्ग दण्डवत् नमन॥
श्रीराधे ॥
श्री वैदिक सनातनी हाम्रो दिव्य एवम् अति दुर्लभ हिन्दु परम्पराको उद्गमस्थल-मस्तिष्क-मुटु श्रीनेपालमाताको जय होस् ॥
भगवान् श्रीपशुतिनाथ र आद्याशक्ति माता देवी श्रीपार्वतीजीको अति प्रिय भूमि-तपोभूमि श्रीनेपालमाताको जय होस् ॥
“मिथिला दर्शनान् मुक्तिः” भनिएको छ; मिथिलाधाम-जनकपुरधामको दर्शन मात्रले मुक्ति प्राप्त हुन्छ !
उनै आद्याशक्ति जगज्जननी श्रीजानकीजीको जन्मभूमि श्रीधाम जनकपुरधाम हाम्रै दिव्य नेपालमा, यस्ती दिव्य हाम्री श्रीनेपालमाताको जय होस् ॥
यस धराकी प्राचीनतम अनि प्राचीनकालै बाट सधैँ स्वाधीन देश श्रीनेपालमाताको जय होस् ॥
श्रीराधे ॥
“तव तत्त्वं न जानामि कीदृशोऽशि महेश्वर ।
यादृशोऽशि महादेव ! तादृशाय नमो नम: ॥”
“हे महेश्वर (भगवान् शिव)!
म हजुरको वास्तविक तत्त्वलाई जान्दिनँ
म हजुरको वास्तविक स्वरूपलाई जान्दिनँ
म हजुरको वास्तविक रहस्यलाई जान्दिनँ –
हजुर वास्तवमा कस्तो हुनुहुन्छ ।
हे महादेव!
हजुर जस्तो पनि हुनुहुन्छ,
जो हुनुहुन्छ,
म हजुरलाई बार-बार साष्टाङ्ग दण्डवत् नमन गर्दछु,
हजुर जस्तो पनि रूपमा हुनुहुन्छ,
म हजुरलाई स्वीकार गर्दछु
र बार-बार साष्टाङ्ग दण्डवत् नमन गर्दछु ।”
“सर्वमङ्गलमङ्गल्ये शिवे सर्वार्थ साधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तुते ॥”
“हे आद्याशक्ति महादेवी श्रीनारायणि हजुर सबै प्रकारका मङ्गल प्रदान गर्नेवाली मङ्गलमयी हुनुहुन्छ। कल्याणदायिनी श्रीशिवा हुनुहुन्छ। सम्पूर्ण पुरुषार्थहरू सिद्ध गर्नेवाली, शरणागतवत्सलता, तीन नेत्रवाली एवं श्रीगौरी हुनुहुन्छ। हे आद्यशक्ति हजुरलाई बार-बार साष्टाङ्ग दण्डवत् नमन गर्दछु॥”
“शिवान्वितायै च शिवान्विताय
नमः शिवायै च नमः शिवाय ॥”
“श्रीआदिशक्ति भगवती देवी पार्वतीजी भगवान् श्रीशङ्करजीको र भगवान् श्रीशङ्करजी देवी भगवती श्री पार्वतीजीको शक्तिले समन्वित हुनुहुन्छ । यस्ती श्रीदेवी भगवती पार्वतीजी र श्रीभगवान् शङ्करजीलाई कोटीकोटी साष्टाङ्ग दण्डवत् नमन छ॥
जो महादेवी आदिशक्ति श्रीपार्वतीजीका साथमा महादेव भगवान् शिव हुनुहुन्छ अनि जो भगवान् महादेव शिवजीका साथ श्रीमहादेवी पार्वतीजी हुनुहुन्छ, उहाँहरू दुवै (संयुक्त रूप श्रीअर्धनारीश्वर)का दिव्यातिदिव्य श्रीचरणकमलमा मेरो कोटिकोटि साष्टाङ्ग दण्डवत् नमन छ॥”
माता श्रीगुह्येश्वरीदेवी-भगवान् श्रीपशुपतिनाथ युगल चरणकमलेषु स्मरण-सेवा समर्पितः ॥
“वैष्णवानां यथा शम्भुः ।”
श्रीराधेश्याम ॥ श्रीलक्ष्मीनारायण ॥ श्रीसीताराम ॥ जय श्रीहनुमान् ॥ जय श्रीगुह्येश्वरीपशुपतिनाथ ॥ श्रीराधे राधे राधे… श्रीराधे…
श्रीमहाशिवरात्रीव्रतः
श्रीशिवमहापुराणको अन्तर्गत चतुर्थ कोटिरुद्रसंहितामा व्याधेस्वरमाहात्म्यमा श्रीशिवरात्रिव्रतमाहात्म्यवर्णन नामक चालीसौँ अध्यायमा ऋषिगणद्वारा श्रीसूतजीलाई निश्चित रूपले भगवान् शिवजी प्रसन्न हुनुहुने सर्वोच्च श्री महाशिवरात्रि व्रत यहाँ पहिले कसले गरे र यस्तो सर्वोत्तम व्रत अज्ञान पूर्वक गर्दा पनि के-कस्ता पुण्यफल प्राप्त हुन्छन् भन्ने तीव्र भक्तियुक्त उत्कट जिज्ञासा हुँदा ती उद्यत ऋषिगणलाई श्रीसूतजीबाट सविस्तार व्याख्या हुन्छ;
“हे ऋषिगणहरू! म यस विषयमा एक निषादको सर्वपापनाशक पुरानो इतिहास भन्दछु, यहाँहरू सबैजना सुन्नुहोस् !
“पूर्व समयमा कुनै वनमा गुरुद्रुह नामक कुनै बलवान्, निर्दयी तथा क्रूरकर्ममा तत्पर भील आफ्ना कुटुम्बका साथ रहन्थे । उनी सदैव वनमा गएर प्रतिदिन पशुहरूको वध गर्दथे र त्यही वनमा निवास गर्दै अनेक प्रकारका चोरी पनि गर्दथे ।
“उनले बाल्यावस्था देखि त्यो उमेरसम्म कुनै पनि किसिमका शुभ कर्म गरेनन् । यस प्रकारले वनमा ती दुष्टात्माका धेरै समय बिते । कुनै समय श्री महाशिवरात्रिको उत्तम समय आए, तर विशाल वनमा निवास गर्नेवाला उक्त दुष्टात्मालाई यो कुराको कुनै ज्ञान थिएन।
“यसै समय भोकले पीडित उनका मातापिता तथा स्त्री(पत्नी)ले उनलाई भन्छन्; “हे वनेचर! हामीलाई भोजन देउ।”
“परिवारजनले यसो भन्दा ती भील पनि धनुष लिएर शीघ्र नै मृगहरूलाई मार्न सारा वनमा घुम्न लागे।
“दैवयोगले उस समय तिनलाई त्यहाँ केही पनि मिलेन, तबसम्म सूर्यास्त भैसकेको थियो, यो कुराले यिनी ज्यादै दुखी भए।
“अब के गरुँ, कहाँ जाउँ? आज मलाई केही पनि प्राप्त भएन। घरमा जो बालक छन्, तिनका अनि माता-पिताका के दशा होला र मेरी जो स्त्री छिन्, उनको के हाल होला, अतः मैले केही न केही त लानै पर्छ, बिना भोजन लिएर घर जानु व्यर्थ हुनेछ।” यस्तो विचार गरेर ती व्याधा कुनै जलाशयको समीप गए अनि जहाँ जलमा उत्रिनलाई घाट निर्मित थियो, त्यहीँ गएर बसि गए।
“यस स्थानमा जल पिउनलाई कुनै न कुनै जन्तु अवश्य नै आउनेछन्, तब त्यसलाई मारेर म आफ्नो कार्यसिद्धिमा आनन्दपूर्वक आफ्नो घर जानेछु।”
“यस प्रकारका विचार गरेर उनी बिहान देखिको आफ्नो भोक अलमल्याउन भए पनि पिउनलाई जल लिएर नगिच मै कुनै बिल्ववृक्ष(बेलवृक्ष)मा चढेर बसि। “कति खेर कुन जीव आउँछ र म त्यसलाई मारुँ” -यस्तै मनमा विचार्दै विभातै देखिका ती भोका-प्यासा व्याधा त्यहीँ बसिरहे ।
“त्यस रातको प्रथम प्रहरमा प्यासले व्याकुल एक हरिणी(पोथी हरिण; मृगी) चकित हुँदै हस्याङफस्याङ त्यहाँ आइपुगिन्। तब उनलाई देखेर ती भील प्रसन्न हुँदै तिनलाई मार्न शीघ्र नै आफ्नो धनुषमा बाण चढाउँछन्।
“यसो गर्दासाथै जल तथा केही बिल्वपत्र तल झरी जान्छन्, जहाँ तल भगवान् श्रीसदाशिवलिङ्ग पैल्यैबाट विराजित हुनुहुन्थ्यो । यस प्रकार प्रथम प्रहरको शिव-पूजा ती व्याधद्वारा अनजान मै सुसम्पन्न हुन पुगी गयो, श्रीशिवपूजनको महिमाले ती शिकारीका पाप नष्ट भैगए ।
“त्यहाँको केही आवाज सुनेर भयले व्याकुल हरिणी व्याधलाई देख्छिन् र यी वचन भन्न लाग्छिन्-
“मृगी भन्छिन्-“हे व्याध ! तपाईँ के गर्न चाहनु हुन्छ, मेरो सामुन्ने साँचो-साँचो बताउनु हुन्छ ? तब हरिणीका ती बात सुनेर व्याध यी वचन भन्दछन्-
“व्याध भन्छन्-“आज मेरा सारा परिवार भोकै छन्, म तिमिलाई मारेर तिनलाई तृप्त गर्छु ।” तब ती व्याधाका दारुण वचनलाई सुनिकन एवं ती महादुष्टलाई देखिकन “म के गरुँ? कहाँ जाउँ, अच्छा ! कुनै उपाय गर्छु”- यस्तो विचारेर ती मृगी त्यहाँ यी वचन भन्दछिन्-
“हरिणी भन्दछिन्-“(हे व्याध !) यदि मेरो अनर्थकारी देहको मांसले तपाईँलाई सुख प्राप्त हुन्छ भने, यो भन्दा अधिक पुण्य के हुन सक्ला र, म निःसन्देह धन्य हुनेछु, यसमा सन्देह छैन । लोकमा उपकारी जीवलाई जो पुण्य हुन्छ, त्यो पुण्यको वर्णन सयकडौँ वर्षहरूमा पनि गर्न सकिन्न । तर (तपाईँसँग एक विनति गर्दछु कि) मेरा सबै बच्चाहरू यस समय मेरो आश्रममा छन्, तिनलाई मेरी आफ्नी बहिनी अथवा मेरा स्वामीलाई सुम्पेर म पुनः आई हाल्छु ।
“हे वनेचर! तपाईँ मेरा बातलाई झुट्ठा नजान्नु, म अवश्य यहाँ तपाईँ पास पुनः आउनेछु, यसमा सन्देह छैन । सत्यले नै यी पृथ्वी टिक्नुभएकी हुनुहुन्छ, सत्यले नै समुद्र तथा सत्यले नै जलका धारा बहँदछिन्, सबै कुरा सत्य मै त प्रतिष्ठित(स्थित) हो ।
महाभाग श्रीसूतजी कहिनुहुन्छ-“यिनी हरिणीले यस प्रकार बिन्तीभाउ गर्दा पनि ती व्याधले जब उनको कुरा मान्दैनन्, उनले भनेको नमाने पछि तब विस्मित एवम् भयभीत ती मृगीले पुनः यी वचन भन्दछिन्-
“हरिणी भन्छिन्-“हे व्याध! म जे भन्दछु, त्यसलाई सुन्नुहोस्, म शपथ लिएर भन्दछु कि यदि म गएर आफ्नु घरबाट यहाँका पास नफर्किउँ, त वेदविक्रयी एवं त्रिकाल सन्ध्योपासनहीन ब्राह्मणलाई तथा आफ्ना स्वामीका आज्ञा उल्लङ्घन गरेर कर्ममा तत्पर रहने स्त्रीलाई जो पाप लाग्दछ, कृतघ्नलाई जो पाप लाग्दछ, शिवविमुखलाई जो पाप लाग्दछ, परद्रोहीलाई जो पाप लाग्दछ, धर्मका उल्लङ्घन गर्नेवालालाई जो पाप लाग्दछ, ती सबै पाप मलाई लागुन्, यदि म तपाईँका पास पुनः नफर्किउँ ।
“यस प्रकार अनेक शपथ गरेर ती हरिणी त्यहीँ उभिईरहिन्, तब ती भीलले विश्वास गर्दै ‘घर जाउ!’- यस्तो भनिदिए । तब ती हरिणी प्रसन्न भएर जल पिई आफ्नो स्थानमा गईन् । तबसम्म ती शिकारीको प्रथम प्रहरको निद्रा बितिसकेको थियो ।
“(यसै बिच) अगि गएकी हरिणीकी बहिनी जो अर्की हरिणी थिईन्, उनी उत्कण्ठापूर्वक आफ्नी दिदीलाई खोज्दै जल पिउनका लागि यहाँ आईपुगिन् ।
“उनलाई देखेर भीलले बाणलाई (पुनः) खिँचे, जसका कारण पहिलेको समान जल तथा बिल्वपत्र तल विराजित श्रीभगवान् का उपर गिरी गए । जसले गर्दा संयोगवश महात्मा श्रीसदाशिवको दोस्रो प्रहरको पनि पूजा भैगयो, अनजान मै । जुन कुरा ती व्याधका लागि अज्ञात मै सुखप्रद भैसकेको थियो ।
“तिनी हरिणी तीतिर हेरेर भन्दछिन्-“हे वनेचर! यो के गर्दै हुनुहुन्छ?” उनी व्याधले पहिले कै भाँति (आफ्नो प्रयोजन) भने । यो सुनेर तिनी मृगीले पुनः भन्दछिन्-
“मृगी भन्छिन्-‘हे व्याध! सुन्नुहोस्, म धन्य छु । आज मेरो देह धारण गर्नु सफल भयो; किनकि यस अनित्य शरीरले उपकार हुनेछ, परन्तु मेरा बचेराहरू घरमा छन्, तिनलाई म आफ्ना स्वामीलाई सुम्पेर पुनः यहाँ आईहाल्नेछु ।
“व्याध बोल्छन्-“म तिम्रा बात मान्दिनँ, तिमीलाई अवश्य मार्नेछु, यसमा संशय छैन ।
“यो सुनेर हरिणी भगवान् श्रीविष्णुको सपथ लिएर भन्न लाग्छिन्-
“मृगी भन्छिन्-“हे व्याध! म जे भन्दछु, त्यसलाई सुन्नुहोस्, यदि म पुनः न आउँ त आफ्ना कुराबाट विचलित हुनेवालाका जुन प्रकारले सुकृत नष्ट हुन्छन् अथवा जो मनुष्य आफ्नी विवाहिता स्त्रीलाई छोडेर दोस्रो स्त्रीसँग समागम गर्दछ, जो वेदधर्मलाइ उल्लङ्घन गरेर मनमानी मार्गले हिँड्दछ, श्रीभगवान् विष्णुभक्त भएर जो भगवान् शिवको निन्दा गर्दछ, माता-पिताका क्षयाह आउँदा जो (बिना श्राद्ध गरी) त्यसलाई सुनसान बिताउँदछ, आफूले दिएका वचनलाई पनि सन्तापका अनुभव गरेर पुरा गर्दछ-यिनलाई जो पाप लाग्दछन्, ती पाप मलाई लागी जाउन्, यदि म न आइजाउँ ।
श्रीमहाभाग सूतजी अगाडि कहिनुहुन्छ-“ती हरिणीले यसो भने पछि व्याधले मृगीलाई भन्दछन्-‘जाउ’। तब ती मृगी पनि प्रसन्न हुँदै जल पिएर आफ्नो स्थानमा गई गईन् ।
“तबसम्म ती व्याधका दोस्रो प्रहर पनि बिना निद्रा कै बिती गयो । यसै समय तेस्रो प्रहर आउँदा मृगीलाई आउन विलम्ब जानेर ती चकित हुँदै तिनलाई यताउता हेर्दै ती विल्ववृक्ष(बेलवृक्ष)मा बसेकै स्थानबाट खोज्न लागे । तब त्यस प्रहरमा एक मृग जलमार्गको तर्फ आउँदै गर्या देखिन्छन् ।
“त्यस पुष्ट मृगलाई देखेर ती व्याध ज्यादै नै प्रसन्न हुन्छन् र धनुषमा बाण चढाएर तिनलाई मार्नका लगि उद्यत भए । हे द्विजहरू ! त्यस समय पनि ती व्याधले यस्तो गर्नासाथ प्रारब्धवश केही बिल्वपत्र(बेलपत्र) तल स्थित रहिरहनुभएका परब्रह्म श्रीभगवान् शिवका उपर गिरी गए ।
“यस प्रकार त्यस रात्रीमा ती भीलका भाग्यले तेस्रो प्रहरको पनि शिवपूजा हुन पुगी गो, यसरी परम आशुतोष परमात्मा श्री भगवान् ले उनी उपर आफ्ना कृपालुता प्रकट गर्नु भो ।
“त्यहाँ त्यस शब्द(आवाज)लाई सुनेर ती मृग भन्दछन्-“(हे वनेचर!) यो के गर्दे हुनुहुन्छ ?” तब ती व्याध भन्छन् कि “म आफ्ना कुटुम्बका लागि तिम्रो वध गर्नेछु ।”
“हरिण भन्छन्-“म धन्य छु, जो यत्तिको पुष्ट छु, जसबाट यहाँको तृप्ति हुनेछ, जसका शरीर उपकारका लागि प्रयुक्त नहुन्, तिनका सबकुछ निष्फल हुन पुग्दछन् । जो सामर्थ्ययुक्त रहँदा पनि, उपकार गर्दैन, उसको सामर्थ्य निष्फल नै हो अनि त्यो परलोकमा जाँदा नरक प्राप्त गर्दछ, तर म आफ्ना बच्चालाई तिनका आमालाई सुम्पेर अनि ती सबैलाई धैर्य दिएर पुनः आईजानेछु ।
“ती मृगले यस्तो भने पछि आफ्ना मनमा शिकारी ती बहुतै विस्मित भईगए, परम करुणामयी-करुणामूर्ति परम कृपालु श्रीआशुतोष भगवान् का कल्याणकृपाले अबसम्म त थोरै शुद्ध मनवाला तथा नष्ट भएका पापसमूहवाला ती व्याध यी वचन भन्दछन्-
“व्याध भन्दछन्-“जो-जो यहाँ आए, ती सबै तिमीले जस्तै भनेर गईगए, किन्तु ती वञ्चक अहिलेसम्म फर्केकनन् । हे मृग ! तिमी पनि सङ्कटमा प्राप्त भएर त्यसै प्रकार झुट बोलेर गई हाल्नेछौ, आज यस प्रकार म जीवन-निर्वाह कसरी हुन्छ ?
“मृग भन्दछन्-“हे व्याध! म जो भन्दछु, त्यसलाई सुन्नुहोस्, म झुठो बोल्दिनँ, यो सारा चराचर ब्रह्माण्ड सत्यले नै प्रतिष्ठित(अवस्थित) छ । जसको वाणी मिथ्या हुन्छ, उसको पुण्य क्षणभर मै नष्ट हुन पुग्दछन् । तथापि हे भील ! तपाईँ मेरा सत्य प्रतिज्ञालाई सुन्नुहोस् । सन्ध्याकालमा मैथुन गर्दा, शिवरात्रिमा भोजन गर्दा, झुटा गवाही दिँदा, धरोहरलाई हरण गर्दा, सन्ध्यारहित ब्राह्मणको जुन मुखबाट ‘शिव’ नामको उच्चारण हुँदैन, समर्थ हुँदा हुँदै पनि जो उपकार गर्दैन, शिवपर्वका दिन बेल टिप्दा, अभक्ष्य भक्षणले र बिना शिवपूजन गरी एवं शरीरमा बिना भस्मका लेप गरी, जो भोजन गर्दछन्, ती पाप मलाई लागुन् । यदि म पुनः फर्केर नआई जाउँ ।
महाभाग श्रीसूतजी भन्नुहुन्छ-“ती हरिणका यी वचन सुनिकन व्याधले उनलाई भन्दछन्-“जाउ, छिट्टै फर्किएर आउनु ।” तब त ती हरिण जल पिएर गैगए ।
“त्यसको बाद भलिभाँती प्रतिज्ञा गरेका सबै (मृग र मृगी) आफ्ना आश्रममा गएर परस्पर भेट्दछन् र एक-अर्कालाई सारा समाचार परस्पर निवेदन गर्दछन् । यसरी सारा वृत्तान्त सुनेर सबैले सत्यपाशमा नियन्त्रित हुनाका कारण विचार्दछन् कि हामीले त्यहाँ निश्चितरूपले जानु पर्दछ तब आफ्ना बालखहरूलाई धीरज दिएर ती सबै जानलाई तयार हुँदछन् ।
“ती मध्ये सबैभन्दा ठुली हरिणीले आफ्नी स्वामीलाई भन्दछिन्-“हे मृग! यहाँ बिना यी बालख यहाँ कुन प्रकारले बास गर्लान् ? हे प्रभो ! म (व्याधका पास जानका लागि) पहिल्यै प्रतिज्ञा गरिसकेकी छु । अतः पहिले मैले त्यहाँ जानु पर्छ । यहाँ दुई यहीँ रहनु होस् ।”
“उनको यो कुरा सुनेर सानी बहिनी हरिणीले यी वचन भन्दछिन्-“म यहाँकी सेविका हुँ, आज म जाँदैछु, यहाँहरू यहीँ रहनुहोस्।”
“यो सुनेर मृग भन्दछन्-“म नै त्यहाँ जाँदैछु, तपाईँहरू चैँ बरु यहीँ रहनुहोस्; किनकि माताको द्वारा नै बालखहरूको रक्षा हुन्छ।”
“तब स्वामीका कुरा सुनेर उनले त्यसलाई धर्मको अनुकुल सम्झिनन् । उनले बडा प्रेमले आफ्ना पतिलाई भन्न लागिन् कि आफ्ना पतिलाई कालको मुखमा पठाएर विधवा बनेर बाँच्न धिक्कार हो । यसरी सबै एक अर्काप्रति अनन्य प्रेमले युक्त एक अर्कालाई कालका मुखमा जान दिन सक्दैनन् ।
“त्यसपछि ती बालखलाई धैर्य दिएर तथा तिनलाई छिमेकीका जिम्मा लाउँदै ती सबै शीघ्र नै एकैसाथ त्यहाँ जान्छन्, जहाँ व्याधश्रेष्ठ स्थित थिए । तब ती सबै बच्चा पनि यो सोचेर आफ्ना माता-पिता पछिपछि जान लागे कि “उहाँहरूको जो गति हुनेछ, त्यही गति हाम्रो पनि होस्” ।
“ती सबैलाई देखेर व्याध अत्यन्त हर्षित भएर उठे र धनुषमा बाण चढाउन लागे । यत्तिकैमा यी सबै महाकार्यका महाकारण एवं साक्षी ब्रह्म श्रीपशुपतिनाथ भगवान् उपर पुनः जल र बिल्वपत्र अरू गिर्न पुगे। व्याधबाट चतुर्थ प्रहरको पनि उत्तम पूजा सम्पन्न भैगयो, अन्जान मै, फेरि त क्षणभर मै उनका सारा पाप नष्ट भएर सक्किगए । त्यस समय दुवै मृग र मृगीले शीघ्रतापूर्वक भन्दछन्-“हे व्याधश्रेष्ठ! अब तपाईँ (हामीमा) कृपा गर्नुहोस् र हाम्रा शरीरलाई सार्थक गर्नुहोस् ।
“तिनका बात सुनेर भील आश्चर्यचकित भए । ज्ञानमूर्ति-दक्षिणामूर्ति भगवान् शिवको पूजाको प्रभावले उनलाई दुर्लभ ज्ञान प्राप्त भैसकेको थियो ।
“ज्ञानरहित यी मृग धन्य छन्, यी परम सम्माननीय छन्, जो आफ्ना शरीरले परोपकार गर्नमा तत्पर छन् । मैले यस समय मनुष्य जन्म पाएर पनि के फल प्राप्त गरेँ, मैले अरूका शरीरलाई पीडित गरेर आफ्नो शरीरको पालन गरेँ । हाय ! मैले नित्य अनेक पाप गरेर आफ्ना कुटुम्बका पालन-पोषण गरेँ । यस प्रकारका पाप गर्नाका कारण (अब अगाडि) मेरो के गति हुनेछ ? म कुन गतिलाई प्राप्त हुनेछु ? हाय ! मैले त जन्म देखि नै पाप गरेको छु, म यस समयमा आएर यो सोच्तैछु, मेरो जीवनलाई धिक्कार छ ! धिक्कार छ !!”
“विद्यार्थं गिरीशं यजेत्”, विद्या-ज्ञान प्राप्तिका लागि परम आशुतोष ज्ञानमूर्ति ब्रह्म – भगवान् गिरीश-शङ्कर-महेश्वर-भगवान् शिवको उपासना गर्नु भनिएको छ ।
यस प्रकार अज्ञान मै पनि केवल बिल्वपत्र र जलको अर्पणले अति प्रसन्न परम आशुतोष ज्ञानमूर्ति ब्रह्मका कृपाबाट मोक्ष जस्तो अति कठिन गतिका लागि शिकारी जस्तो ज्यादै जटिल अवस्थाका ती जीवात्मा पनि ज्ञानलाई प्राप्त भई गएका ती व्याध आफ्ना बाणलाई धनुषबाट उतार्दै भन्न लागे कि-“हे श्रेष्ठ मृगहरू ! तपाईँहरू धन्य हुनुहुन्छ, अब जानुहोस् ।”
“यसको बाद कृपापूर्वक ती व्याधलाई स्पर्श गरेर परम आशुतोष परब्रह्म परमात्मा श्रीभगवान् शिवजीबाट प्रसन्नतापूर्वक मर्जी हुन्छ-“हे भील! म (तिम्रो) यस व्रतले प्रसन्न छु, वर माग ।”
“परम विशुद्ध-अमृत शिवज्ञानमा उपलब्ध भैसकेका व्याध पनि साक्षात् परब्रह्म भगवान् श्रीपशुपतिनाथका दिव्यातिदिव्य स्वरूपको दुर्लभातिदुर्लभ दर्शन हुँदा क्षणमात्रमा मुक्त हुन पुग्दछन् र “मैले आज सबकुछ पाई लिएँ”-यस्तो भनेर भावविह्वल उनी श्रीभगवान् का दिव्य चरणकमलमा पर्दछन् ।
“श्रीभगवान् शिवजीले पनि प्रसन्नचित्त भएर उनका तर्फ कृपादृष्टिले निगाह हुँदै दिव्य वर बक्स हुन्छ ।
“श्रीभगवान् बाट मर्जी हुन्छ-“हे व्याध ! सुन, यस समय तिमी शृङ्गवेरपुरमा (आफ्नु) श्रेष्ठ राजधानी बनाएर यथेष्ट दिव्य सुखहरूका भोग गर । त्यहाँ अक्षयरूपले तिम्रो वंशको वृद्धि हुनेछ, हे व्याध ! तिमी देवताहरूका लागि पनि प्रशंसनीय रहनेछौ, तिम्रो घर (साक्षात्) श्रीरामचन्द्रजी पधार्नु हुनेछ । मेरा भक्तलाई प्रेम गर्नेवाला उहाँ तिमीसित मित्रता गर्नुहुनेछ र मेरा सेवामा आसक्त चित्तवाला तिमी दुर्लभ मोक्षको प्राप्ति गर्नेछौ ।”
महाभाग श्रीसूतजी भन्नुहुन्छ-“यसै बिच ती सबै मृग पनि श्रीभगवान् का दर्शन गर्दै उहाँलाई नमन गरेर मृगयोनीबाट मुक्त भैगए । ती सबै श्रीभगवान् का दर्शन मात्रले शापमुक्त भैगए र दिव्य शरीर धारण गरेर सुन्दर विमानमा आरूढ हुँदै स्वर्गलोक गई गए ।
“तबबाट नै महात्मा भगवान् शिवजी अर्बुदाचल पर्वतमा श्रीव्याधेश्वर नामले प्रसिद्ध हुनुभो, जो दर्शन तथा पूजनले शीघ्र भोग एवम् मोक्ष प्रदान गर्नेवाला हुनुहुन्छ ।
“हे ब्राह्मणश्रेष्ठहरू ! ती भीलले पनि त्यसै दिव्यातिदिव्य दिनबाट सुखहरूका उपभोग गरे उपरान्त भगवान् श्रीरामचन्द्रजीका कृपा प्राप्त गरेर श्रीशिवसायुज्य जस्तो दुर्लभातिदुर्लभ मोक्ष प्राप्त गरिलिए ।
“अज्ञानवश यी महानतम व्रत गरेर उनले श्रीसायुज्य मुक्तिलाई प्राप्त गरे, त्यसो भए फेरि यदि भक्तिभावले युक्त मनुष्य शुभ सायुज्य मुक्तिलाई प्राप्त गर्दछन् भने यसमा आश्चर्य नै के छ ?
“मैले समस्त शास्त्रहरू तथा अनेक धर्महरूका चिन्तन गरेर यस शिवरात्रि व्रतलाई सर्वोत्कृष्ट भनेको छु। अनेक प्रकारका व्रत, अनेक प्रकारका तीर्थ, अद्भुत दान, विविध यज्ञ, नाना प्रकारका तप एवं अनेक प्रकारका जप पनि यस श्रीमहाशिवरात्रीको तुलना गर्न सक्दैनन्। यसैले आफ्ना हित चाहनेवालाले अत्यन्त शुभ, दिव्य भोग एवम् मोक्ष दिनेवाला यस श्रीमहाशिवरात्रि व्रतलाई सदा गर्नुपर्दछ।
“यस प्रकार मैले व्रतराज-यस नामले विख्यात यी शुभ श्रीमहाशिवरात्रीव्रतका सम्पूर्ण रूपले वर्णन गरेँ”, महाभाग श्रीसूतजी ऋषिगणलाई व्याख्या पुरा गर्नुहुन्छ ।
साभारः श्रीमहर्षि वेदव्यासप्रणीत श्रीशिवमहापुराण (द्वितीय-खण्ड – उत्तरार्ध), वि.सं. २०७६, प्रथम संस्करण, गीताप्रेस, गोरखपुर ।
“करचरणकृतं वाक्कायजं कर्मजं वा
श्रवणनयनजं वा मानसं वाऽपराधं।
विहितमविहितं वा सर्वमेतत् क्षमस्व।
जय जय करुणाब्धे श्रीमहादेव शम्भो ॥”
“न मत्रं नो यन्त्रं तदपि च न जाने स्तुतिमहो
न चाह्वानं ध्यानं तदपि च न जाने स्तुतिकथाः ।
न जाने मुद्रास्ते तदपि च न जाने विलपनं
परं जाने मातस्त्वदनुसरणं क्लेशहरणम् ॥१॥”
श्रीराधे ॥
गाईको रक्षाले सबैको रक्षा हुन्छ !
गाईको रक्षा गरौँ ॥ गौमाताको जय होस् ॥
गोवंशको रक्षाले सबैको रक्षा हुन्छ !
गोवंशको रक्षा गरौँ ॥ गोवंशको जय होस् ॥
श्रीराधे ॥
श्रीमहादेवमहादेवी ॥ श्रीराधेश्याम ॥ श्रीलक्ष्मीनारायण ॥ श्रीसीताराम ॥ जय श्रीहनुमान् ॥ जय श्रीगुह्येश्वरीपशुपतिनाथ ॥ श्रीराधे राधे राधे…
श्रीराधे…















Facebook Comment