फागुन २१ गते हुने चुनावको चुनावी विश्लेषण

कृष्ण बोहरा
५ फागुन २०८२ ७:४७
1.5k
Shares

हुन त यो सांसदहरुले प्रधानमन्त्री छान्ने प्रणाली नेपालको सन्दर्भमा ऐतिहासिक रुपमै असफल साबित भएको देखिन्छ। घरिघरी उही असफल प्रणालीलाई अँगाली राख्नु र अझै देश समृद्धिको लागि भन्दै प्रयोग गरिराख्नु र फेरि पनि असफल हुनु हाम्रो नियति रहँदै आएको छ।

जेनजी आन्दोलनपछि राजनीतिक परिदृश्य फेरिएको छ। २०८४ मा हुने चुनाव २०८२ मै हुने भएको छ। प्रणाली उही संविधान उही, फेरि पनि नयाँ प्रयोग को नाममा संसदीय प्रणालीमा उही अभ्यास फेरि दोहोरिएको छ। पुराना र केही नयाँ शक्तिहरू पुन चुनावी मैदानमा उत्रिएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसमेत आफ्नो बाँकी कार्यकाल छोडेर झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवारको रुपमा उभिनुभएको छ। नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको चुनावी प्रतिस्पर्धा भइरहेको छ।

उहाँ प्रधानमन्त्रीको दावेदार भनी सर्वत्र चर्चा पनि चुलिएको छ। हुन पनि रास्वपा बालेनको सहमतिमा प्रधानमन्त्रीको पद बालेनलाई रविले जिम्मा लगाएका छन्। देशभर घन्टी पार्टीको चर्चा चुलिएको छ।

तैपनि जिल्ला जिल्लामा रास्वपा नाममा कस्ता कस्ता उम्मेदवारहरू उठिरहेका छन् र उनीहरू जनमानसमा कतिको लोकप्रिय छन् जित त्यसैमा भरपर्छ। निश्चय नै बालेन रवि कै जस्तो क्रेज सबैतिरको उम्मेदवारको नहुन सक्छ। यसो भयो भने प्रधानमन्त्रीको पद प्राप्त गर्नको लागि स्पष्ट बहुमत नहुने कुरा पक्का छ।

भलै यसपालि घन्टी चिन्हको मत भने निकै बढ्ने देखिन्छ। समानुपातिकको सिटको प्रावधानले गर्दा पहिलेको दाँजोमा निकै सिट रास्वपाको नआउला भन्न सकिन्न। तर पनि स्पष्ट बहुमत प्राप्त हुने लक्षण भने देखिँदैन।

यसैगरी नेपाली कांग्रेस पार्टीको शेरबहादुर देउवाको विरासत ढलेसँगै नयाँ युवा पिँढीका गगन थापा यसलाई धान्न आइपुगेका छन्। जेन्जी विद्रोहले कांग्रेस भनेको घुसखोरी अनिमित्तता र भ्रष्टाचारको आहालमा डुबेको पार्टी हो।

यसलाई भोट दिनु हुँदैन भन्ने जनमानसमा जुन माहोल सिर्जना भएको थियो त्यसलाई केही भएपनि गगन थापा नेतृत्वले चिर्न सफल भएको छ। यसैले उनीहरूको नारा नै यो छ कि, “बदल्यौं कांग्रेस बदल्छौ देश “भन्ने छ।

राजनीतिक विश्लेषक मुमाराम खनालले त, ” कांग्रेस झुसिलकिराबाट पुतली भइसक्यो तर नेकपा एमाले झुसिल किरा नै छ ” भनी टिप्पणी गरेका छन्। तैपनि नेपाली कांग्रेसको यो नयाँ रूपले नयाँ पार्टीहरूको बढ्दो क्रेजलाई कतिसम्म थाम्न सक्छ जित त्यसमै भर पर्दछ। सामान्यतया पहिलेको दाँजोमा सिटको सङ्ख्या केही घटे पनि संसदमा राम्रो सिट कांग्रेसले पनि ल्याउनेछ भन्ने कुरामा कुनै शंका छैन।

यसैगरी नेकपा एमालेको नेतृत्वमा पुरानो पटकपटक परीक्षण भइसकेको नेता केपी ओली फेरि पनि महाधिवेशनबाट बहुमतका साथ जितेर नेकपा एमालेको अध्यक्ष हुन सफल हुनुभएको छ। यदि नेतृत्व परिवर्तन भएको हुँदो हो त यस चुनावमा सबैभन्दा बढी सिट प्राप्त गर्न एमालेलाई कुनै संकट थिएन तर त्यो हुन सकेन।

तैपनि एमालेको जरा जिल्ला जिल्ला र गाउँ गाउँसम्म छ। यसको संगठन अहिले पनि जीवित छ। यसैकारण निकै सिट ल्याएर कांग्रेसको हाराहारीमा आउन सक्ने कुरामा कुनै दुविधा छैन।

अरु ससाना पार्टीहरुले पनि केही सिट त पक्कै ल्याउनेछन्। यसरी हेर्दा फाल्गुन २१ पछिको संसद पनि स्पष्ट बहुमत कसैको हुन नसक्ने हंग पार्लियामेन्ट हुनेछ। हंक पार्लियामेन्टको अर्थ के हुन्छ, देशलाई कुन दिशा दिन्छ भन्ने कुरा सबैले बुझिसक्नुभएको छ। नेपालको इतिहासमा अस्थिरता अनियमितता घुसखोरी भ्रष्टाचार र बेरोजगारी बढ्नुको मुख्य कारण यही हो।

उही संविधान, उही प्रणालीलाई स्वीकार गरी आएको भएतापनि दलहरू बीचको आपसी प्रतिस्पर्धा असहिष्णु खालको छ। पुरानाका कमी कमजोरी नयाँले खोतली नारा बनाएको कारण नयाँलाई अनेक ढंगले पुरानाले प्रहार गर्दै आएको देखिन्छ।

चुनावको मिति तोकिएसँगै जेनजी आन्दोलनपछि नेपालको संसदीय राजनीतिको बीचमा दुई तीनवटा नयाँ शब्दवलीहरूको प्रयोग पनि निकै बढेको देखिन्छ। ती शब्दहरू हुन् लुसिफर, र जेलेस्की। अनि यसलाई प्रमाणित गर्न अल्गोरिदम र अल्गोच्याम्बर जस्ता शब्द पनि निकै हाइलाइट भइरहेको छ।

अल्गोरिदम भनेको सामाजिक सञ्जाल प्रयोगको क्रममा जसले जुन कुरो टक्क अडिएर हेर्छ। जुन कुरोमा लाइक कमेन्ट गर्छ, त्यही कुरो बारबार देखा परिरहन्छ। एउटै खालको कुरो बारबार मनमस्तिष्कमा परिरहँदा त्यसले मनमस्तिष्कलाई एकथरीलाई नराम्रोसँग घृणा गर्ने र अर्को थरीलाई बचाउने गर्ने गर्छ।

यसबाट जनमानसमा विद्रोही भावना जागृत बनाउँछ भन्ने छ। अल्गोरिदमको अर्थ यसलाई परिभाषा लाउनेले यसरी लगाइदिएका छन्। तर परिभाषा लाउनेले के कुरा चाहिँ भुलेका छन् भने, जनता अन्याय अत्याचार भ्रष्टाचार घुसखोरी जस्ता कुराका विरोधी छन्। सामाजिक सञ्जालमा यस्तै कुराहरू उनीहरू खोजी खोजी हेर्छन्।

सामाजिक सञ्जालको माध्यमबाट देशभरि भएका यस्ता घटना परिघटनाहरूको सूचनाहरू जनताले थाहा पाउँछन् थाहा पाउने प्रयत्न गर्छन् भने के यो नराम्रो हो र? यदि जनतामा यसविरुद्ध विद्रोह पलायो भने पुराना व्यथितिहरू निर्मूल हुन सहयोग नै पुग्छ।

यसो हुँदा के को टाउको दुखाई? अल्गोरिदमले जनतालाई बेफाइदा होइन फाइदै पुर्‍याएको छ। भर्खरै रामकुमारी झाँक्रीले महावीर पुन जस्तो सरल भद्र र समाजसेवी व्यक्तित्वलाई छाड्नु मुख छाडेकी छिन्।

यसको परिणामस्वरूप देशभरबाट मानिसहरुले उनलाई नग्न हुने गरी गाली बर्षाइसकेपछि तीनै झाँक्रीले यही अल्गोरिदम र अल्गोच्याम्बरको सहारा लिएकी छिन्, ” देशभरका मानिसहरुले जति गाली मलाई गरे पनि गर्नुस् तर पुरै देश अल्गगोरिदम र अल्गोच्याम्बरको सिकार भएको छ।

यो देखेर मलाई दया लागेको छ ” भनी टिप्पणी गरेकीले यस्ता शब्द कस्ता मानिसहरूलाई बचाउन शृजना भएको रहेछ भन्ने कुरा प्रष्ट भएको छ।विदेशीबाट अल्गोरिदमको प्रयोग भएको छ भन्ने लागेको छ भने चुनाव जित्न चाहने पार्टीहरूलाई जनताको तर्फबाट निम्न प्रश्नहरूको उत्तर दिन साझा रुपमा अनुरोध छ।
ती हुन्-

१- के तपाईं संविधान संशोधन गराउन सक्नुहुन्छ?

२- के संघीयता खारेज गर्न सक्नुहुन्छ?

३- ट्रेड युनियनहरु खारेज गराउन सक्नुहुन्छ?

४- समानुपातिक लगायत सांसद संख्या घटाउएर १०० मा सिमित गर्न सक्नु हुन्छ?

५- तपाईको दलको आर्थिक कारोबार पारदर्शी गराउन सक्नुहुन्छ?

६- तपाईंहरुको राजर्सी ढंगको जीवन शैली देखिन्छ। यो सम्पतिको स्रोत के हो, कहाँबाट आयो?

७- हिजो तपाईंका नेताले गलत गर्दा तपाईंहरुले एक शब्द किन बोल्नु भएन?

८- तपाईंहरुका नेताका घरमा भेटिएका पैसाका बिटा के नक्कली हो?

९- पूरा गर्न नसक्ने आश्वासनहरु किन बाँड्नु भयो?

१०- जनतामा जुन असन्तुष्टी र आक्रोस छ। त्यसको जिम्मेवार र कारण तपाईं र तपाईंको दलको हैन र?

११- देश जल्दै गर्दा तपाईंका कार्यकर्ताले किन रोक्न खोजेनन्?

१२- के भएका निजी उद्योग व्यवसाय कारखानालाई राज्यले प्रोत्साहन गर्नुपर्दैन?

१३- किसानका शत्रु बनेका जंगली जनावरहरु कालिज, दुम्सी, बँदेल, मृग, बाँदर, स्याल, बाघको नियन्त्रण गर्नु आवस्यक छैन?

१४- देशमा उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउन, नयाँ रोजगारी सृजना गर्न, देशको अर्थतन्त्र सुधार गर्न भावि योजना के छ?

१५- तपाईको शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, परराष्ट्र, सुरक्षा, सुशासनसँग सम्बन्धित नीतिहरु के छ?

१६- माथिका प्रश्नहरुको लागि तपाईंहरुसँग के के योजना र कार्यक्रमहरु छन्?

माथिका प्रश्नहरू को उत्तर व्यवहारिक रुपमै हल गर्न सक्नुभयो भने अल्गोरिदम र अल्गोच्याम्बरले पनि तपाईंहरुकै सेवा गर्नेछ। ढुक्क हुनुहोस्।

नयाँ आउने पार्टीहरूलाई विदेशबाट परिचालित र लुसिफर भएको भनी पुरानो पार्टीहरूले आरोप लगाउँदै आएका छन् भने नयाँ पार्टीहरूले पनि घुसखोरी र भ्रष्टाचारीको रुपमा व्याख्या विश्लेषण गर्दै आएको देखिन्छन्।

यो पार्टीहरूको बीचको आरोप प्रत्यारोपको पुरानै परम्परा दोहोरिएको मात्र हो भन्न सकिन्छ। फरक यति छ नयाँ पार्टीहरू परीक्षण हुन बाँकी छ भने पुरानाहरू परीक्षण भइसकेका छन्। जनतामा आशा छ नयाँले केही गर्छन् कि भन्ने तर के गर्छन्, कुनै ग्यारेन्टी छैन।

तैपनि नयाँ उम्मेदवारीका अनुहारहरूमा झापा २ का स्वतन्त्र उम्मेदवार डाक्टर युवराज संग्रौला, म्याग्दीबाट उठ्नुहुने डाक्टर महावीर पुन, राष्ट्रिय श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र खोटाङका हरि रोका भने केही भिजन भएका व्यक्तिमा गनिन्छन्।

प्रा. डा. युवराज संग्रौला एउटा प्रांगिक व्यक्तित्व हुनुहुन्छ उहाँमा देश कसरी बनाउन सकिन्छ भन्ने स्पष्ट भिजन पनि छ। उहाँ स्वतन्त्र उम्मेदवारको रुपमा झापा २ बाट उठ्नुभएको छ। कुनै पार्टीमा आबद्ध भएर उठ्दा आफ्नो भिजन स्पष्ट रुपमा संसदमा राख्न नसकिने भन्ने उहाँको ठम्याइ रहेको छ।

किनकि दलको ह्वीप मान्नुपर्ने अवस्था त्यसबेला सिर्जना हुन्छ। स्वतन्त्र रुपमा उठेर संसदमा पुग्न सकेमा सबै पार्टीका राम्रा सोच भएका युवाहरूसँग हातेमालो गरी अगाडि बढ्न सकिनेछ भन्ने उहाँको अड्कल छ। आफ्नो एजेन्डाहरू संसदमा रेकर्ड गर्न यस्तो अवस्थामा सम्भव हुन्छ भन्ने उहाँको विश्वास रहेको छ।

उहाँको एजेन्डाहरु संविधानको सवालमा, शिक्षाको सवालमा, शक्ति केन्द्रको बारेमा, शान्ति र स्थायित्वको लागि के गर्नुपर्छ? लोकतन्त्रमा शासक कस्तो हुनुपर्छ? संसद कस्तो हुनुपर्छ? जस्ता बिल्कुल नयाँ कुरा उहाँले उठाउनुभएको छ। हेरौँ झापा २ का जनताले उहाँलाई जिताएर पठाउँछन वा पठाउँदैनन्।

यसैगरी महावीर पुन देशको विकासको लागि पैसा कमाउनुपर्छ, पैसा कमाउन कारखाना खोल्नुपर्छ। नयाँ नयाँ सामानको निकासी बढाउनुपर्छ। यसको लागि नवप्रवर्धन र अनुसन्धानको काममा युवाहरुलाई प्रोत्साहन गर्नुपर्छ भन्दै राष्ट्रिय आविष्कार केन्द्र खोलेर देस विकासको लागि स्वयंसेवी रूपमा लाग्दै आउनुभएको एउटा उच्च विचार बोकेको व्यक्तित्व हुनुहुन्छ।

त्यसैले म्याग्दीका जनताले उहाँलाई चुनेर संसदमा पठाउनु ज्यादै आवश्यक छ। धरानका मेयर हर्क साङपाङ आफैंमा श्रम संस्कृतिको प्रायाय बनेर धरानमा विकास निर्माणको सवालमा धेरै नमुना देखाउन सफल व्यक्तित्व हुनुहुन्छ।

यसैगरी हरिरोका निकै लामो समयदेखि आफ्नै जिल्ला खोटाङ फर्केर आधुनिक कृषि कार्यमा जुट्दै कृषि कर्ममा योगदान गरेर गफाडी नेताहरूलाई पाठ सिकाउन प्रयत्नरत व्यक्तित्व हुनुहुन्छ। स्वतन्त्र अथवा कुनै पार्टीका भए तापनि यी चार व्यक्तित्वको आगमनले संसदबाट जनतामा नयाँ सन्देशको प्रवाह हुनेछ भन्ने विश्वास लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.